गीत विमर्श

‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठीक छ हजुर पैसाकै कमी छ’

यसैले होला, काठे लोकभाकाको यो गीत अहिले धरैको मुखमा झुन्डिएको छ । गीतको शब्दले नै धेरैको मन जितेको छ । टिकटकको ‘ट्रेन्डिङ’ मा बाँकी सबै गीतलाई पछि पारेर यही अत्यधिक छ ।

‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठीक छ हजुर पैसाकै कमी छ’

चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठीक छ हजुर पैसाकै कमी छ…

आम युवाको ‘फ्रस्टेसन र पीडा’ लाई उतारिएको यी शब्द हुन् गायक तथा सङ्गीतकार भूपू पाण्डेको नयाँ गीतको । यो गीतको शब्द मात्र होइन, समाजको साझा कथा पनि हो ।

आम मानिसले भोगेको जीवन र देखेको घटनाक्रमका साझा भनाइ हुन् । बाहिरबाट हेर्दा उसको जीवन ठीकठाक देखिन्छ । तर, भित्र उसको कथा पैसाकै कारण बिथोलिरहेको हुन्छ ।

राम्रो जीवन जिउने, परिवारलाई सुखमा राख्ने र सन्तानको भविष्य उज्ज्वल बनाउने सबैको चाहना हुन्छ । तर, निकै थोरैको मात्रै पूरा हुन्छ, किनकि आजका समयमा प्रशस्त पैसाबिना कुनै काम सम्भव छैन ।

यसैले होला, काठे लोकभाकाको यो गीत अहिले धरैको मुखमा झुन्डिएको छ । गीतको शब्दले नै धेरैको मन जितेको छ । टिकटकको ‘ट्रेन्डिङ’ मा बाँकी सबै गीतलाई पछि पारेर यही अत्यधिक छ ।

युट्यूबमा र फेसबूकमा पनि यही गीत छाइरहेको छ । गीतका शब्दहरू साभार गर्दै धेरैले क्याप्सनसमेत राखिरहेका छन् ।

तीन साताअघि युट्यूब उनकै च्यानलमा अपलोड गीत करिब ४० लाखले हेरेका छन् । गीतका अंशलाई लिएर सामाजिक सञ्जाल टिकटकदेखि रील्ससम्म थुप्रै भिडिओ बनिरहेका छन् ।

गीतको थप अन्तरा छ—

फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ…

गीतको यो अन्तरा जति चर्चामा छ, दोस्रो अन्तरा अझ बढी भाइरल छ, ‘सबै ठीक छ हजुर पैसाकै कमी छ ।’

विशुद्ध ठेट भाकाको गीतमा मौलिक बाजाको प्रयोग गरिएको छ । भिडिओका मादल गायक भूपू आफैँले बजाएका छन् । शब्द तथा लय सङ्कलन उनी आफैँ रहेको गीतको एरेन्जर उनी आफैँ छन् ।

व्यावसायिक गीत/सङ्गीतको दबदबा रहेको अहिलेको समयमा काठेभाका यसरी लोकप्रिय हुनु आफैँमा अर्थपूर्ण छ । तर, भूपूले यो गीतले यति चर्चा पाउँछ भन्ने उनले सोचका थिएनन् । काठेभाका गाउने सोच भने पहिल्यै उनमा पहिल्यै थियो ।

“काठे भाका गाउने रहर पहिल्यै देखिको हो । धेरै पनि यो गीत गाएँ । खासमा यो गीत यति धेरै चल्छ होला भनेर सोचेकै थिइनँ । बेरोजगार युवाको भनाइ समेटेर गीत बनाएँ,” उनले भने ।

जसले जन्माउँछन् ‘भावनाको पाठेघर’मार्फत् सन्तान !

“भिडिओ पनि गाउँघरमा गएर साथीहरू मिलेर सामान्य बनाइयो । तर, रुचाइदिनुभयो । अहिले यत्तिको चर्चा पाउँदा अत्यन्तै खुसी लागेको छ,” भूपूले थपे ।

मध्यपश्चिममा जन्मिएका मान्छे हुन्, भूपू । तर, काठेभाका काठमाडौं आसपास क्षेत्रको भाका हो । किन यो भाकाले तान्यो त उनलाई ?

उनी भन्छन्, “यो गीत मैले काठेभाकामा प्रभावित भएर बनाएको गीत हुँ । म मध्यपश्चिमको मान्छे हुँ । तर, काठक्षेत्रको गीत पनि गर्नु मन थियो । यो मेरो पहिल्यैदेखिको चाहना थियो । यो क्षेत्रका चर्चित हस्तीहरू घमेश दुलाल, नवराज घोरासैनी, रेसम थापा, हरि थापा, माधव थापा दाइलगायतसँग हिँड्ने मौका पाएको थिएँ । जतिबेला म उहाँहरूसँग वाद्यवादन बजाएर हिँड्थे । मेरो सङ्घर्षचाहिँ वाद्य-वादनबाट सुरू भएको हो । उहाँहरूको सङ्गतले मलाई काठे गीतमा झुकाव भयो ।”

यसरी जन्मियो ‘पिरै पिरमा छ’

भूपू पाण्डेको धेरैजसो युवाका कथा, बेरोजगारी, वैदेशिक रोजगारीका पीडा समेटिएका हुन्छन् । यो गीत पनि उस्तै भावका छ ।

युवाहरूको ‘फ्रस्टेसन’ र उनीहरूको भनाइ समेटिएको छ । यो गीतमा पनि उनले जादुमयी प्रस्तुति दिएका छन् ।

मुलुकको समसामयिक विषयमा उनको गीतको शब्दले भन्छ—

जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा…

अहिले नेपालका धेरै गाउँ/ठाउँका मानिसको ‘मूड’ स्तब्ध देखिन्छ । कारण, आफन्त विदेशनुपर्ने बाध्यता । वैदेशिक रोजगारीमा जाने लागेका आफन्त, साथीभाइ, छोरा-छोरीलाई अँगालेर आँसु खसाल्नुपर्ने नियति दैनिक चलिरहन्छ ।

यसबारेमा २०७६ मै ‘छोटो छ जिन्दगी’ गाएर चर्चा कमाएका भूपूले अहिले पनि यसबारे गीतमा बोलेका छन् । अहिले भने विदेश जान चाहे पनि भिसा नलागेको र जवानी पनि ढल्कँदै गएको दुखेको गरेका छन् ।

आम युवाको कथा गीतले यसरी बोलेको छ—

विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनि हजुर पुग्दैछ दुई बीसा…

कतिपय युवाको भिसा नलागे पनि थोरै पारिश्रमिकमा भए पनि काम गर्न जान बाध्य छन्, भिसा लाग्नेहरू । जसको विमानस्थलमा दैनिक भीड लाग्छ ।

हिमाल चढ्न गएका श्रीमान् उतै अस्ताए, काखमा छोरी लिएर गीत गाउँदै मन भुलाउँछिन् सपना (भिडिओ)

हाँसोले बिदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरू बिछोडको पीडा सहन नसकेर भक्कानिइरहेको देखिन्छन् ।

विमानस्थलको त्यो दृश्य देख्दा भूपूलाई लाग्छ—

र्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी…

भूपूको भूपू कथा : दोहोरी साँझमा पैसा नलिइ मादल बजाउँथे

भूपूका गीत चर्चित भएको यो पहिलो होइन । ‘छोटो छ जिन्दगी’लगायत थुप्रै छन् । २०७६ मा त्यो गीत खुबै चल्यो । आफ्ना सपना पूरा गर्न विदेशमा पसिना बेच्नुपर्ने नेपाली युवाको कथा थियो त्यो ।

गीतमा भिडिओका कन्सेप्ट अरूभन्दा फरक बनाएका भूपूले त्यसताका गीत र भिडिओबाट खुबै प्रशंसा पाएका थिए ।

यहाँसम्म आइपुग्दा उनको सङ्घर्षको यात्रा सजिलो थिएन । २०६२ सालमा गायक बन्छु भनेर काठमाडौं आएका थिए, दाङबाट । सिनेमाको हिरो भन्ने चक्करका काठमाडौ छिरेका उनले जिरोबाट सङ्घर्ष गर्नुपर्‍यो । काठमाडौं आएपछि सङ्घर्षको मैदानमा उत्रिएको विगतका दिन सजिला थिएनन् ।

हिरोमा आफूलाई कसैले लिँदैन भन्ने लागेपछि अर्को सपना पूरा गर्न सङ्गीत सिकेनन् मात्रै त्यही विषय पढे । दोहोरी साँझमा पैसा नलिई मादल बजाउन थालेका थिए भूपू ।

केही टिप्स पाउँथे, त्यहीबापत् उनले खर्च टार्नुपर्थ्यो । पछि हार्मोनियम बजाउन थाले । ड्रमप्याड बजाउन थाले । त्यसपछि उनको दिन फिर्‍यो ।

“त्यो बेलामा मैले धेरै दुख गरेँ । सिकाइको रूपमा लिएँ । एउटा लक्ष्य मनमा भएपछि अरू दुखहरू दु:ख लाग्दोरहेनछ । मैले सुरूमा गाउँमा मादल बजाउने काम गरे, दोहोरी साँझमा । सुरूमा मैले सिक्नको लागि पैसा नलिइ काम गरेँ । टिप्स पैसा भने पाउँथेँ । पछि हार्मोनियम बजाउन थालेँ,” उनले भने ।

उनी थप्छन्, “बुवाले ड्रमप्याड किन्दिनुभयो । मैले पहिल्यै सिकेको भएकाले त्यो बजाउन गाह्रो भएन । विभिन्न स्टेज कार्यक्रममा ड्रमप्याड बजाउन गएँ । काठमाडौंका सबैजसो क्यासिनोमा बजाउन गएँ । बिस्तारै गाउन पनि थाँले ।”

उनले गीत गाउन थालेका धेरै भयो । एल्बम निकाल्न थालेको पनि उत्तिकै भयो । तैपनि दर्शक स्रोताको नजरमा पर्न सकेनन् । त्यसको लागि उनलाई सन् २०१८ (२०७६) सम्म कुर्नुपर्‍यो, जति बेला उनले गाएका थिए— छोटो छ जिन्दगी, फोटो खिचेर राख ।

उनको करियरको टर्निङ प्वाइन्ट बनेको त्यो गीत ‘छोटो छ जिन्दगी’ बाट उनी साङ्गीतिक दुनियाँमा छाउन सफल भए ।

उनले हालसम्म करिब पाँच दर्जन गीतमा स्वर दिइसकेका छन् । थुप्रै गीतमा सङ्गीत भरेका छन् । तर, उनलाई गीत गाएर रातारात हिट हुने रहर छैन ।

अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’

अहिले समाजमा भाइरल गायक/गायिकाको खोजी बढी छ । तैपनि यो भीडमा भूपूले छुट्टै स्थान बनाउन सफल छन् ।

समाजको प्रतिनिधित्व गर्ने शब्दहरू गाउने उनको रुचि हो । तर, अहिले साङ्गीतिक क्षेत्रमा भाइरल कलाकारको प्रतिस्पर्धा बढेको छ ।

विभिन्न रियालिटी शो, कभर गीत, टिकटकलगायतका माध्यमबाट गायक/गायिकाको आवागमन बढ्दो छ ।

तर, भूपू भन्छन्, “हिजो पनि हतार थिएन । आज पनि छैन । धेरै गीत गाएपछि दर्शक स्रोताको नजरका परेको हुँ । यसैले कुनै दिन आफूले गाएको गीत हेर्दा पछुतो नहोस् । म सधैँ समाजकै कथा गाइरहन्छु ।”

सङ्गीत र गायनमा जत्ति अब्बल छन् भूपू, अभिनयमा पनि उत्तिकै । थिएटर एक्टिङको सीप सिकेका छन् । उनले केही गीतमा आफैँ मोडलिङ गरेका छन् ।

‘पिरै पिरमा’ गीतको गीतको पूरा शब्द

फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ 

गारो भयो हजुर खुलेर हाँस्नलाई
बेरोजगारी हजुर भएर बाँच्नलाई

चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमी छ

न त पढाई हजुर न ठुलो लगानी
अब खाँडी हजुर जाने त होला नि

जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा

फ्रस्टेसनले हजुर जाँड बोक्छु झोलामा
उमेर बित्यो हजुर चुरोट र भोलामा

विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनि हजुर पुग्दैछ दुई बीसा

बाउ आमाको हजुर साहारा छोरो
कस्तो देशमा हजुर जन्मेछु मै मोरो

घरबारी हजुर राखेर बन्धकी
उधारोमा हजुर चल्दै छ जिन्दगी

एउटै डर हजुर लाग्दछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देश पनि

ऐर्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी ।

दाताबाट सङ्कलित रकम पुग्दैन पीडितसम्म, सचिनका लागि उठेको ८ लाख बाबु र युट्यूबरले अपचलन गरेको आरोप

‘भेलुबाजे’को नियति : लाखौं कमाएर युट्यूबर लाखापाखा, रोगले थलिँदा छैन सुका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved