कस्तो देश हो कतार ? को हुन् अमिर ?

४३ वर्षीय थानी सन् १९८० मा दोहा दरबारमा जन्मिएका हुन् । उनका तीन रानी छन् । सन् १८२५ मा कतारमा ‘अल थानी’ शाही परिवारका रूपमा स्थापित भएको थियो । त्यसयता तमिम बिन अल थानी ११ औं अमिर हुन् । कतार मध्यपश्चिम एशियाको एक सानो देश हो । यो विश्वका पाँच उच्च प्रतिव्यक्ति आय भएका देशमध्ये एक हो ।

नेपालभ्युज

कस्तो देश हो कतार ? को हुन् अमिर ?

काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । नेपालका तर्फबाट कतारको बारम्बार उच्चस्तरीय भ्रमण हुँदै आएपनि कतारी राज्य प्रमुख नेपाल आउन लागेको यो पहिलोपटक हो ।

कतारमा राज्य प्रमुखलाई ‘अमिर’ भनिन्छ । ‘अल थानी’ कतारको शाही परिवारको नाम हो । वर्तमान अमिर तमिम बिन हमाद अल थानी अमिर हमद विन खलिफा अल थानी र उनकी दोस्री पत्नी मोजा विन नासिरका सन्तान हुन् । तमिम बिन थानी सन् २०१३ को जूनदेखि कतारको अमिर छन् ।

४३ वर्षीय थानी सन् १९८० मा दोहा दरबारमा जन्मिएका हुन् । उनका तीन रानी छन् । सन् १८२५ मा कतारमा ‘अल थानी’ शाही परिवारका रूपमा स्थापित भएको थियो । त्यसयता तमिम बिन अल थानी ११ औं अमिर हुन् । औपचारिक गणनामा उनलाई आठौँ अमिर भनिन्छ ।

कतार मध्यपश्चिम एशियाको एक सानो देश हो । यसको क्षेत्रफल ११ हजार ५८१ वर्गकिमी मात्रै छ । क्षेत्रफलमा कतार विश्वको १५८औं स्थानमा छ । यसको जनसङ्ख्या भने करिब २८ लाख छ ।

कतार विश्वका पाँच उच्च  प्रतिव्यक्ति आय भएका देशमध्ये एक हो । कुनै-कुनै आर्थिक वर्षमा प्रतिव्यक्ति आएमा कतार १ नम्बरमा समेत पुगेको हुन्छ । सन् २०२३ मा चौथो स्थानमा रह्यो । यसको प्रतिव्यक्ति आय अहिले वार्षिक १ लाख १४ हजार २१० डलर छ । कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार छन् ।

सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर कतार विश्वभर विशेष चर्चामा आएको थियो । विश्वकप फुटबल प्रतियोगिताका लागि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणमा नेपाली कामदारको भूमिका र जोखिमपूर्ण श्रम संलग्नतालाई लिएर विश्वका सञ्चारमाध्यमले आलोचनात्मक रिपोर्ट प्रसारण गरेका थिए ।

कतारी जनसङ्ख्या अनुपातमा ४० प्रतिशत अरबी जाति र करिब ६६ प्रतिशत इस्लाम धर्मावलम्बी छन् । कतारमा दक्षिण एशियाली मूलको जनसङ्ख्या उल्लेखनीय करिब ४३ प्रतिशत र त्यसमध्ये करिब १५ प्रतिशत हिन्दू र ३ प्रतिशत बौद्धमार्गी छन् । करिब १४ प्रतिशत इसाई छन् ।

कतार राजतन्त्रात्मक मुलुक हो तर, ४५ सदस्य संसद्‌मा ३० सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् । १५ सदस्य अमिरले मनोनीत गर्दछन् । यहाँ दलीय प्रणाली भने छैन । यस्तो संसद्को चुनाव सन् २०२१ मा पहिलोपटक भएको हो ।

कतार एक इस्लामिक देश हो । विश्वका विभिन्न इस्लामिक सङ्गठनहरूसँग कतार सरकारको नजिकको सम्बन्ध छ । इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टाइनी सङ्गठन हमासलाई कतारको सहयोग भएको विश्वास गरिन्छ ।

तर, मूलधारको विश्वसँग पनि कतारको राम्रो कूटनीतिक सम्बन्ध छ । अमेरिका, चीन, फ्रान्स, टर्की, भारत जस्ता देशसँग पनि कतारले राम्रो सम्बन्ध बनाएको छ ।

तेल अर्थतन्त्रमा प्रवेश गर्नुअघि कतारको अर्थतन्त्र समुद्रमा माछा मार्ने र हिरा-मोती सङ्कलन गर्ने कार्यमा आधारित थियो । सन् १९४० बाट कतार तेल अर्थतन्त्रमा प्रवेश गरेको हो । तेल निर्यातका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार र पर्यटन कतारी अर्थतन्त्रका आधार हुन् ।

कतारी अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान न्यून, उद्योग र सेवागत क्षेत्रको योगदान उच्च छ । कतार संसारकै सबैभन्दा कम कर तिर्नुपर्ने र बेरोजगारी शून्य भएको देश मानिन्छ ।

कतारका अमिरको स्वागतमा काठमाडौं सिँगारियो, पखालियो सडक

कतारसँग यी विषयमा हुँदैछन् सम्झौता, आधा दर्जनबढी परियोजनामा हस्ताक्षरको तयारी

कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक

कतारसँग यी विषयमा हुँदैछन् सम्झौता, आधा दर्जनबढी परियोजनामा हस्ताक्षरको तयारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved