अन्तर्मनको अभिव्यक्ति : यसकारण म माओवादीमा फर्किएँ

यही पार्टीका लागि अनेक रात भोकै, प्यासै बसेर, अनेक त्रास र सङ्कट झेलेका थियौँ । यो पार्टी निर्माणको जगमै प्रगतिशीलता छ । जनताप्रतिको जिम्मेवारी बोध छ । त्यसकै आलोकमा यसलाई नेतृत्वदायी पार्टी बनाउन सकिन्छ । यसलाई जोगाउँदै अझ सबल र सफल बनाउनु मेरो पनि दायित्व हो भन्ने लाग्यो ।

अन्तर्मनको अभिव्यक्ति : यसकारण म माओवादीमा फर्किएँ

म माओवादी केन्द्रमै फर्किएँ । मेरो यस निर्णयले कसैलाई आश्चर्यमा पार्‍यो होला, कसैलाई स्वाभाविक लाग्यो होला । मेरा लागि भने यो निर्णय विशेष थियो ।

यो मेरा लागि सजिलो निर्णय थिएन । किनभने निजी वा सार्वजनिक जीवनमा कुनै निर्णय यस्ता हुन्छन्, जसका लागि निर्णय गर्नेले महिनौंसम्म आन्तरिक वैचारिक सङ्घर्षबाट गुज्रिनुपर्छ । उकुस‐मुकुस र कष्ट सहनुपर्छ । कैयन् रात अनिदो बस्नुपर्छ । माओवादी केन्द्रमा फर्किनुअघि मैले ती सबै चरण पार गरेँ ।

मैले एकातिर बाबुराम भट्टराईलाई छोडेको प्रचार हुने थियो । मान्छेका प्रतिक्रियाहरू राजनीतिकभन्दा बढी व्यक्तिगत र भावनात्मक हुनेछन् भन्ने कुरा पनि मैले बुझेको थिएँ । आखिर मैले सोचेजस्तै भयो । मेरो निर्णयप्रति अनेक किसिमका प्रतिक्रियाहरू आए । धेरैलाई मैले सुनेँ, सुन्दैछु । राम्रा र नराम्रा, सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाहरू मेरा लागि प्रेरणा र शिक्षा हुन् । खासमा यो लेख मप्रति व्यक्त तिनै प्रतिक्रियाहरूको विनम्र सम्बोधन हो ।

मैले अहिलेसम्मको मेरो राजनीतिक जीवनलाई तीनवटा चरणमा बाँडेको छु । पहिलो– माओवादी जनयुद्धको चरण । त्यसको लगभग प्रारम्भदेखि नै मैले सङ्घर्षमा भाग लिएको थिएँ । दोस्रो— नयाँ शक्ति वा वैकल्पिक पार्टी निर्माणको चरण । यो नयाँ राजनीतिक आन्दोलन निर्माण गर्ने एक प्रयत्न थियो । तेस्रो— फेरि माओवादी केन्द्रमै फर्किने चरण । यी सबै चरण मेरा लागि उत्तिकै महत्त्वपूर्ण छन् । मेरो जीवनमा गहिरो प्रभाव पारेका छन् । मलाई अनुभव र ज्ञानले समृद्ध गरेका छन् । मेरो जीवनका यी अभिभाज्य क्षणप्रति म गर्व गर्छु ।

माओवादीमा आउनु र बाबुराम भट्टराईसँग जोडिनु मेरा लागि गर्वको विषय थियो । म माओवादी आन्दोलनको एक महत्त्वपूर्ण नेतासँग जोडिन पाएँ । पार्टी र सङ्घर्षका अनेक क्षणहरू आफ्नै आँखाअगाडि घटित हुँदै गरेको देखेँ । युगलाई बदल्ने निर्णयहरू आफ्नै अगाडि भइरहेको रोमाञ्चक क्षणमा मैले नेताहरूले त्यसलाई कसरी अनुभूति गर्दछन् भन्ने बोध गरेँ ।

म जनयुद्धकालदेखि नै पार्टी र आन्दोलनमा छु । माओवादी हुनु मेरा लागि एउटा स्वप्निल क्षण थियो । रोमाञ्चकता थियो । देश बदल्ने र जनताप्रतिको दायित्वबोध थियो । किनभने हामी क्रान्ति चाहन्थ्यौँ । परिवर्तन चाहन्थ्यौँ । जनवाद चाहन्थौँ । समाजवाद चाहन्थ्यौँ । त्यो हाम्रो मनैदेखिको सपना थियो ।

हामी यस्तो परिवर्तनका लागि काम गरिरहेका थियौँ, जसको सफलताले सत्य र न्याय स्थापित गर्नेछ । नेपाल धर्तीकै स्वर्ग हुनेछ । आर्थिक र सामाजिक गरिबी, छुवाछुत, हेलाहोचो अन्त्य हुनेछ । यस्तै-यस्तै उदात्त कल्पना र सपनाले म माओवादी बनेको थिएँ । मलगायत हजारौंले जोखिम मोलेका थियौँ । अवश्य नै त्यो समय त्रासयुक्त थियो । तर, त्यसभन्दा ठूलो थियो, परिवर्तनको सपना । परिवर्तनको सङ्कल्प । परिवर्तनको हुटहुटी । जसले हामीलाई दृढतापूर्वक काम गर्न प्रेरित गर्दथ्यो ।

माओवादीमा आउनु र बाबुराम भट्टराईसँग जोडिनु मेरा लागि गर्वको विषय थियो । म माओवादी आन्दोलनको एक महत्त्वपूर्ण नेतासँग जोडिन पाएँ । पार्टी र सङ्घर्षका अनेक क्षणहरू आफ्नै आँखाअगाडि घटित हुँदै गरेको देखेँ । युगलाई बदल्ने निर्णयहरू आफ्नै अगाडि भइरहेको रोमाञ्चक क्षणमा मैले नेताहरूले त्यसलाई कसरी अनुभूति गर्दछन् भन्ने बोध गरेँ ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभयो, त्यस पदमा बसेर मान्छेले कसरी सोच्छ भन्ने अनुभव गरेँ । पार्टी, जनयुद्ध र आन्दोलनमा सँगसँगै काम गर्दै जाँदा बाबुराम भट्टराई र मेरो सम्बन्ध राजनीतिक मात्र रहेन । सामाजिक र पारिवारिक पनि बन्यो । एक सुखद् सम्बन्ध बन्यो । यसरी म उहाँसँग जोडिएँ ।

सायद त्यही सम्बन्धको प्रभावले हुनुपर्छ, म बाबुराम भट्टराईसँगै नयाँ शक्ति निर्माणमा लागेँ । तर, अनेक प्रयत्नका बाबजुद पनि हामीले चाहेजस्तो वैकल्पिक पार्टी बनेन । बरु समयक्रममा हामी आफैँले निर्माण गरेको आन्दोलन र रगतसँग साटेका उपलब्धिमाथि मान्छेले प्रश्न उठाइरहे । तर, हामी जवाफ दिनसक्ने ठाँउमा पनि रहेनौँ । आफू र आफ्नो परिवारलगायत तमाम योद्धाहरूको बलिदानबाट बनेको पार्टी र आन्दोलनमाथि उठिरहेका अनेकौं प्रश्नहरूलाई पार्टीबाहिर बसेर चुपचाप हेरिरहनु मेरा लागि निकै दुखद् अवस्था बन्यो ।

मलाई लाग्यो, आफूसमेतले निर्माण गरेको पार्टी, आफैँले लडेर ल्याएको परिवर्तन र आफ्नै पार्टीले सरकारमा बसेर गरेका कामहरूको रक्षा गर्नुपर्छ । आजका लागि मैले निर्वाह गर्नुपर्ने भूमिका यही हो । मैले यी विषयमा धेरै विचार गरेँ । राजनीति त मेरो जीवनमा थियो तर, पार्टी थिएन । विस्तारै मलाई लाग्यो, यस्तो बेला पार्टीभन्दा अलग बसेर कसरी हुन्छ ? राजनीतिक सङ्कट बढ्दै जाँदा आफैँले बनाएको पार्टीलाई छोडेर भौँतारिनुको के अर्थ ? त्यसपछि नै मैले आफूमाथि आउने आलोचना र प्रश्नलाई स्वीकार गर्ने तर, माओवादी केन्द्रमै फर्किने निर्णय गरेँ ।

यो निर्णय गरिरहँदा मेरो मनमा तीनवटा कुरा थिए । पहिलो— माओवादी केन्द्रलाई नै आजको नेतृत्वदायी, लोकतान्त्रिक र प्रगतिशील पार्टी बनाउन योगदान गर्ने । किनभने यो शहीदको रगतले बनेको पार्टी हो । यो कयौं वीर योद्धाहरूको सपनाले सिञ्चित पार्टी हो । यो पार्टीमा मैले मेरो रहरलाग्दो युवाकाल बिताएको छु । यो पार्टी बनाउन मेरा स्व.बुवा (भक्ति प्रसाद पाण्डे)ले समेतको ठूलो योगदान थियो ।

हामी जनयुद्धमा सहभागी भइरहँदा देखेका सपनाहरू यही पार्टीको नेतृत्वमा मात्र पूरा हुन सम्भव छ । किनकि जनयुद्धको सपना देख्ने र त्यसको कार्यान्वयन गर्ने पार्टी यही थियो । त्यसका पूर्ण गाथाहरू लेखिनै बाँकी छन् । यतिचाहिँ भन्न सकिन्छ कि माओवादी नहुँदो हो त, नेपालमा ठूला-ठूला राजनीतिक परिवर्तन हुन सम्भव थिएन ।

यही पार्टीका लागि अनेक रात भोकै, प्यासै बसेर, अनेक त्रास र सङ्कट झेलेका थियौँ । यो पार्टी निर्माणको जगमै प्रगतिशीलता छ । जनताप्रतिको जिम्मेवारी बोध छ । त्यसकै आलोकमा यसलाई नेतृत्वदायी पार्टी बनाउन सकिन्छ । आज यसलाई जोगाउँदै अझ सबल र सफल बनाउनु मेरो पनि दायित्व हो भन्ने मलाई लाग्यो ।

दोस्रो— हामी जनयुद्धमा सहभागी भइरहँदा देखेका सपनाहरू यही पार्टीको नेतृत्वमा मात्र पूरा हुन सम्भव छ । किनकि जनयुद्धको सपना देख्ने र त्यसको कार्यान्वयन गर्ने पार्टी यही थियो । त्यसका पूर्ण गाथाहरू लेखिनै बाँकी छन् । यतिचाहिँ भन्न सकिन्छ कि माओवादी नहुँदो हो त, नेपालमा ठूला-ठूला राजनीतिक परिवर्तन हुन सम्भव थिएन । त्यसैले जनयुद्धका सपना, सङ्घर्ष र उद्देश्यलाई आज पनि यसैले नजिकैबाट अनुभूत गर्न सक्छ ।

तसर्थ पछिल्ला राजनीतिक उपलब्धिको रक्षा गर्न र त्यसलाई जनताले अनुभूत गर्न सक्ने बनाउन सक्छ । त्यसैले पनि मलाई लाग्यो, इतिहासको सम्मान गर्न र भविष्यलाई ठीक ढङ्गले नेतृत्व गर्न पनि मैले माओवादी पार्टीलाई सफल बन्नुपर्छ र मैले त्यसमा योगदान दिनुपर्छ ।

तेस्रो— प्रधानमन्त्री प्रचण्डले त्यत्रो ठूलो क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले आज सरकारमा बसेर जुन ढङ्गले काम गर्ने बाचा र प्रयत्न गरिरहनुभएको छ, उहाँलाई साथ दिनु प्रत्येक परिवर्तनकामी व्यक्ति र शक्तिको दायित्व हो । उहाँ सफल हुँदा मात्र सरकार सफल हुन्छ । सरकार सफल हुँदा मात्र देश सफल हुन्छ र हामी सुन्दर भविष्यतर्फ अगाडि बढ्न सक्छौँ । यस अर्थमा, आजका दिनमा प्रम प्रचण्डको सफलता नै देशको सफलता हो । अतः यावत् अर्थमा मैले गरेको निर्णय एक व्यक्ति वा पार्टीप्रतिको झुटो अनुरागबाट निर्धारित भएको होइन । बरु मेरो सुविचारित दायित्वबोधको उपज हो । यो मेरा लागि निकै ठूलो र सुखद राजनीतिक निर्णय हो ।

मान्छे आफैँमा एक गतिशील प्राणी हो । गतिशीलको अर्थ समय र परिस्थितिको सही पूर्वानुमान हो । असफल भएका वा हुने निश्चितप्रायः देखिएका प्रयत्न दोहोर्‍याएर कुनै पराक्रम अवश्य हुँदैन । हामीले हुँदै नभएका कृत्रिम शब्दजालमा रम्नेभन्दा पनि भएका व्यावहारिक सम्भावनालाई कसरी देश र जनताको हितमा अधिकतम् उपयोग गर्न सकिन्छ भन्ने कोणबाट पनि अवश्य सोच्न पर्छ ।

मलाई लाग्छ, समयले माओवादीलाई अहिले एक अवसर दिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार संसद्को बाँकी कार्यकालभर रहने कुराले राजनीतिक स्थायित्व र सुशासनको आकाङ्क्षा दुवैलाई सम्बोधन गर्न मद्दत गर्दछ । यस्तो हुन सक्यो भने विकास र समृद्धिको सपना पूरा गर्न पनि यथेष्ट योगदान गर्न सकिन्छ । अतः यो सरकार र गठबन्धनको सफलतामै माओवादी, एमालेलगायत वामपन्थी तथा समाजवादी शक्तिहरूको राजनीतिक भविष्य जोडिएको छ । व्यापक अर्थमा भन्नुपर्दा यो सरकारसँग देशकै भविष्य जोडिएको छ ।

आज प्रतिक्रियावादी तथा दक्षिणपन्थी शक्तिहरू जसरी प्रस्तुत हुने आँट गरिरहेका छन्, त्यसमा हामीभित्रको फुट, विग्रह र विभाजन पनि परोक्ष/प्रत्यक्ष जिम्मेवार छ । ती शक्तिलाई असफल बनाउनका लागि उपलब्धिहरूलाई थप संस्थागत गर्न जरुरी छ । त्यसलाई आम मान्छेको जीवनसँग जोड्न जरुरी छ । त्यो सामर्थ्य माओवादी पार्टी र क.प्रचण्डसँग छ । यस अर्थमा अहिले आन्दोलन र नेतृत्वलाई सफल बनाउने समय हो । यस्तो बेलामा हामीभित्रका स-साना मतभेदलाई निहुँ बनाएर ऐतिहासिक महत्त्वका उपलब्धिलाई जोखिममा पार्ने आत्मघाती भूल किमार्थ गर्न हुँदैन ।

मैले माओवादी केन्द्रमा फर्किने निर्णय लिँदा कुनै विशेष अपेक्षा राखेको छैन । केवल देश, जनता र इतिहासको आवश्यकतालाई काँध हाल्ने जमर्को गरेको छु । एक महान् र सामूहिक अनुष्ठानमा कुनै न कुनैरूपमा जोडिएको छु भन्ने बोध र अनुभूति नै मेरा लागि पर्याप्त हुनेछ ।

मलाई लाग्छ, यो सबैले ठन्डा दिमागले सोच्ने समय हो । आ-आफ्ना कमजोरीको समीक्षा गर्ने समय हो । कमजोरीलाई स्वीकार गर्ने र पुनः एकताबद्ध भएर अगाडि बढ्ने समय हो । यो आ-आफ्नो भागमा परेको जस र अपजसमा साझेदारी गर्दै इतिहासको रथलाई अगाडि बढाउने समय हो । हिजोको जस्तै तर, फरक ढङ्गको बलिदान गर्ने समय हो ।

मैले माओवादी केन्द्रमा फर्किने निर्णय लिँदा कुनै विशेष अपेक्षा राखेको छैन । केवल देश, जनता र इतिहासको आवश्यकतालाई काँध हाल्ने जमर्को गरेको छु । एक महान् र सामूहिक अनुष्ठानमा कुनै न कुनैरूपमा जोडिएको छु भन्ने बोध र अनुभूति नै मेरा लागि पर्याप्त हुनेछ ।

अब देश सधैँ निम्छरो र कमजोर रहनु हुँदैन । जनता निराश हुने र निरासामा प्रतिक्रियावादी शक्तिले खेल्ने दुर्भाग्यपूर्ण अवस्थाको अब अन्त्य हुनैपर्छ । क.प्रचण्ड नेतृत्वको पार्टी र सरकारलाई नि:शर्त सहयोग गरेर, यसलाई अझ प्रभावकारी बनाएर नै देश र जनताप्रतिका आजका दायित्व पूरा हुन सक्दछन् भन्ने ठानेको छु । यो आजको आवश्यकता हो र म यो आवश्यकता पूर्तिको हिस्सेदार हुन चाहान्छु । यही नै मेरो राजनीतिक अनुष्ठान हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved