कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक

हात्ती उपहार दिइने

राजाको सवारी हुने सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइने छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दूरविन प्रयोग गरी निगरानी गर्नेछन् । नेपाली सेनाले हवाई गस्ती समेत गर्नेछन् ।

कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भ्रमण सुरु हुनु अघिल्लो दिनदेखिनै गुप्तचर निकायका सुरक्षाकर्मी खटिएका छन् । साथै काठमाडौं भित्रिने विभिन्न नाकामा कडाइका साथ चेकजाँच थालिएको छ ।

कतारी राजा आउनुअघि नै कतारका सुरक्षा निकायका टोली नेपाल आएर सूक्ष्म निगरानी गर्न थालिसकेको छ । उनीहरू सादा पोशाकमा परिचालित भएको गृह मन्त्रालय स्रोतले बताएको छ । भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुनेछन् ।

मङ्गलबार उनीहरू आएदेखि सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिने गृहमन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, “राजाको सवारी हुने सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइने छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दूरबिन प्रयोग गरी निगरानी गर्नेछन् । नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछन् ।”

कतारी राजा दुईदिने भ्रमणका लागि मङ्गलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ ।

बिदा भएकाले सडकमा सवारी साधन अरू दिनको तुलनामा कम चल्नेछन् । यसले कतारी राजाको सवारीमा सडक खाली गरिँदा सकडमा खासै जाम नहुने अनुमान सुरक्षा स्रोतले गरेको छ ।

कसरी खटिन्छन् सुरक्षाकर्मी ?

सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिने गृहमन्त्रालय स्रोतले बताएको छ ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन हुनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नपाली सेना रहनेछन् ।

कतारी राजा दुई निजी जहाज लिएर मंगलबार साँझ ५ः३५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन् । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउनेछन् ।

सुरक्षाकर्मीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, कतारी राजा बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइने छ । साथै काठमाडौं भित्रने विभिन्न नाकामा चेकजाँच कडाइ जारी रहनेछ ।

कतारी राजा काठमाडौं उत्रिएलगतै नै नेपाली सेनाले हवाई गस्ती गर्दै थाल्नेछ । विमानस्थलबाट बस्ने ठाउँ होटल सोल्टी प्रस्थान गर्दा पनि सेनाले ‘एरियल रेकी’ अर्थात् हवाई स्कर्टिङ गरेको छ । कार्यक्रममा जाने बेलामा सडकमा अन्य गाडी र पैदलयात्रीको आवतजावत बन्द गरिनेछ ।

विशिष्ट पाहुनाको भ्रमणलाई लक्षित गरी सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी नराखिएको प्रहरी केन्द्रीय प्रवक्ता भीम ढकालले बताए ।

सवारीका क्रममा सडक पूर्णरूपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

कतारी राजको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरूले सुरक्षा रेकी अर्थात् रिहर्सल’ समेत गरेका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कतारी अमिर रहने सोल्टी होटलसम्म पूरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘रिहर्सल’ गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारी राजाको भ्रमण हुन लागेको हो । पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका कतारी अमिरलाई राष्ट्रपति  पौडेलले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मङ्गलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलले मंगलबार बेलुका रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिरबीच द्विपक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुनेछ । उनी बुधबार बेलुका नै कतार फर्कनेछन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । कतारबाट पहिलोपटक उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने पटक–पटक उच्चस्तरीय भ्रमण भएका छन् ।

गिरिजाप्रसाद कोइरालाले सन् १९९८ मा कतारको भ्रमण गरेका थिए । सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह पनि कतार गएका थिए ।

राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको भ्रमण गरेका थिए ।

 

कतारी अमिरलाई हात्ती उपहार दिइने

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुई हात्ती उपहार दिने तयारी गरिएको छ । ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्ती उपहार दिने तयारी गरिएको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा रुद्रकली ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved