अर्घाखाँचीकी राधिकाको दुखान्त : नेत्रप्रसादले भारतमा बिहे गरे, यूएई लगेर ज्यान लिए ! (भिडिओ)

ढलिन् राधिका । टाउकोबाट भल्भली रगत आयो । ‘बचाउ’ भन्दै चित्कार गर्दै थिइन् । चोटले रन्थनिएर ढल्दा पनि राधिकालाई पतिप्रति अझै पनि विश्वास मरेको थिएन । ‘आवेशमा आएर हाने होलान्, अस्पताल लैजालान्’ भन्ने सोचिन् । राधिकालाई नेत्रप्रसादले दुई हातले जुरुक्क उचाले । टाउकोबाट रगत भल्भली आएपछि आत्तिएकी राधिकाले सोचिन्— मलाई अस्पताल लैजान लागे । तर, नेत्रप्रसादले राधिकालाई उचालेर झ्यालबाट फालिदिए ।

अर्घाखाँचीकी राधिकाको दुखान्त : नेत्रप्रसादले भारतमा बिहे गरे, यूएई लगेर ज्यान लिए ! (भिडिओ)

काठमाडौं । सौन्दर्यसम्बन्धी राम्रो सीप र कला । यूएईकै ‘रेसिडेन्ट कार्ड होल्डर’ । त्यही ब्यूटीपार्लरमा काम गर्दै आएकी थिइन् अर्घाखाँचीकी २९ वर्षीय राधिका घिमिरे ।

पाणिनी–५ मैदान अर्घाखाँचीका उनको परिवार कपिलवस्तु चार नम्बरमा बस्छ । उनी भने रोजगारीका लागि यूएई पुगेकी थिइन् । दोस्रो बिहे गरेकी उनी १३ महिनादेखि उतै थिइन् ।

उनको व्यावसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर, पारिवारिक जीवनमा आइलागेको कलहले उनको जीवन नै समाप्त गरिदियो; त्यो पनि आफ्नै जीवनसाथीबाट ।

०००

७ अप्रिल २०२४ अर्थात् २५ चैत २०८० । साँझको समय, संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान शान्त थियो । जून उदाउँदै थियो ।

आकाशमा अँध्यारो पोखिँदै थियो । शहर बत्तीले झिलिमिली हुँदै थियो । परिवार पाल्न सङ्घर्षरत मजदुरहरू डेरामामा फिर्दै थिए । कोही सुस्ताउन पार्कतिर जाँदै थिए । यत्तिकैमा हल्लाखल्ला भयो— छतबाट कोही युवती खसिन्, शरीर टुक्राटुक्रा भयो ।

नेपालीको बाहुल्य रहेको त्यो ठाउँमा केहीले घटनास्थलको फोटो/भिडिओ खिचे । ह्वाट्सएप्स ग्रूपमा पठाए । तुरुन्तै पत्ता लाग्यो, छतबाट खस्ने युवती नेपाली रहिछन्, अर्घाखाँची पाणिनीकी राधिका घिमिरे रहेछिन् ।

केही वर्षअघिको कुरा हो । टीकापुर ७ कैलालीका नवीन भनिने नेत्रप्रसाद न्यौपाने राधिकालाई औधी मन पराउँथे । त्यो बेलामा राधिकाको परिवार भारतमा बस्थ्यो ।

राधिका पनि पतिसँग डिर्भाेस गरेर बसेकी थिइन् । नेत्रप्रसाद पनि पत्नीसँग अलग थिए । दुवै जनाको घरबार बिग्रिएको थियो । राधिकाकी सानी छोरी थिइन् ।

राधिका झट्ट हेर्दा आकर्षक थिइन् । ज्यान पनि मिलेको । डिर्भाेसी भए पनि धेरै युवाहरू उनीदेखि फिदा हुन्थे ।

सायद त्यही आकर्षणले तानेको थियो, नेत्रप्रसादलाई पनि । उनी राधिकालाई भन्थे— तिमी मलाई जति प्रेम गर्छौ, त्यसको कैयन् गुणा धेरै म गर्छु ।

नेत्रप्रसादको कुरा पत्याउन गाह्रो पर्‍यो राधिकालाई । श्रीमान्‌सँग छुट्टिएर एक्लै बस्दै आएकी उनी भन्थिन्— बिहे गरेको मान्छे त सधैँ आफ्नो भएन, तपाईं त पराइ मान्छे । कसरी विश्वास गरौँ ।

नेत्रप्रसाद फेरि फकाउँथे— तिमी जहाँ-जहाँ पैताला राख्छौ, त्यहाँ-त्यहाँ गुलाफको फूल ओछ्याइदिन्छु । तिमीलाई हेरेर मेरा आँखा कहिल्यै थाक्दैनन् । तिमीलाई चुमेर मेरा ओठ कहिल्यै गल्दैनन् । तिम्रो मुटुको गतिमा मेरो मुटु चल्ने छन् ।

नेत्रप्रसादको यस्तै मीठा-मीठा कुरा सुनेर राधिका प्रभावित भइन् । सिधा अर्थमा भन्दा फकिइन् उनी । उनको पनि को थियो र ? भर्खरै पतिले छाडेका थिए । सानी छोरी हुर्काउनुपर्ने दायित्व थियो । नेत्रप्रसादको कुरामा विश्वास गरी प्रेममा परिन् राधिका ।

बिछोडको पीडामा रहेकी उनले सोचिन्— हरेक दुःख-सुखमा साथी भइएला । सानो घरलाई मायाको महल बनाउँला । अरू के चाहियो र जिन्दगीमा ।

यूएईको अग्लो भवनमा नेपाली दम्पतीको झगडा, श्रीमतीलाई धकेलेर खसाएपछि श्रीमान् फरार

घर परिवारले पनि भने— राम्रो घर-परिवार र पढे/लेखेको केटा रहेछ ।

त्यसपछि राधिका नेत्रप्रसादसँग नजिकिइन् । प्रेममा परिन् । ‘अब बिहे गर्नुपर्छ’ भनेर पारिवारिक निर्णयमा पनि दुवै जना पुगे । २०७८ तिर सहमतिमै घरपरिवारले उनीहरूको बिहे गराइदिए । पहिलो बिहे भत्किएको दुवै जनाको अब सुरु भयो नयाँ जीवन ।

०००

बिहेको केही समयपछि दुवैजना भारततिर बसे । राधिकाको माइती भारतबाट कपिलवस्तु चार नम्बरमा फर्कियो । राधिका र पती नेत्रप्रसाद भने यूएईतिर लागे ।

नेत्रप्रसाद अजमानकै एउटा मोटरपार्ट्ससम्बन्धी कम्पनीमा काम गर्न थाले । राधिकाको काम त्यही नजिकै ब्यूटीपार्लरमा थियो । दुवैजनाले राम्रो आम्दानी गरिरहेका थिए ।

भनिन्छ, बिहेपछि पहिलाभन्दा अझै गाढा माया हुन्छ । तर, नेत्रप्रसादको हकमा यो लागू भएन । बिहेअघि ठूलो स्वर कहिल्यै गर्दिनँ भनेर कसम खाएका नेत्रप्रसादले बिहेपछि सानो स्वर कहिल्यै गरेनन् । हेर्ने आँखा तर्न सुरु भयो ।

पतिको यस्तो व्यवहारबाट आजित राधिका सोच्दथिन्— सिन्दूरको रङ्गमा के छ त्यस्तो, जसले मेरो श्रीमान्‌को रङ्ग नै बदलियो ?


पत्नी राधिकाले बालेको कुरा नेत्रप्रसादलाई झर्को लाग्न थाल्यो । जबकि बिहेअघि त्यही स्वर कालजयी गीतझैँ सुमधुर लाग्थ्यो । श्रीमान् बदलिए पनि राधिकाले भने बाहिर अरूको अगाडि भने आफ्नो पीडा लुकाइरहिन्, आफूलाई खुसी देखाइरहिन् ।

राधिकाले भाइलाई पनि रोजगारीको लागि यूएई बोलाइन् । भाइ थानेश्वर भिजिट भिसामा यूएई पुगे । भिजिट भिसामा बोलाइएका भाइलाई वर्किङमा ट्रान्सफर गराउने तयारी थियो ।

७ अप्रिल आइतबार राधिका पति नेत्रप्रसाद र भाइ थानेश्वर तीनैजना कोठामै थिए । अजमानस्थित चाइना मलको भवनमा बस्थे, उनीहरू ।

त्यहाँ नेत्रप्रसाद, राधिका र भाइ थानेश्वर थिए । साँझको समयमा नेत्रप्रसाद बियर पिउँदै थिए । यत्तिकैमा वादविवाद सुरु भयो । दिदी-भिनाजुको झगडा भएपछि भाइ थानेश्वरलाई अफ्ठेरो लाग्यो ।

उनी बाहिर गए । विवादकै क्रममा राधिकाले कुन्नि के भनेकी थिइन्, आफूले पिउँदै गरेको बियरको बोतल उठाएर नेत्रप्रसादले ताके । नेत्रप्रसादले बोतल उठाए, राधिकाको टाउकोमा प्रहार गरे ।

यूएईमा राधिका मृत्यु प्रकरण : पक्राउ परेका भाइ रिहा, पति अझै फरार

ढलिन् राधिका । टाउकोबाट भल्भली रगत आयो । ‘बचाउ’ भन्दै चित्कार गर्दै थिइन् । चोटले रन्थनिएर ढल्दा पनि राधिकालाई पतिप्रति अझै पनि विश्वास मरेको थिएन । ‘आवेशमा आएर हाने होलान्, अस्पताल लैजालान्’ भन्ने सोचिन् ।

तर, त्यसो गरेनन उनले । बरु राधिकालाई दुई हातले जुरुक्क उचाले । टाउकोबाट रगत भल्भली आएपछि आत्तिएकी राधिकाले सोचिन्— मलाई अस्पताल लैजान लागे ।

तर, होइन रहेछ नेत्रप्रसादले दुई हातले राधिकालाई उचालेर झ्यालबाट फालिदिए

झ्यालबाट फालेपछि नेत्रप्रसाद कोठाबाट बाहिरिए । भिनाजु बाहिर आएपछि भाइ थानेश्वर भित्र कोठामा छिरे । कोठामा दिदीलाई पनि देखेनन् । उनलाई पछि थाहा भयो, भिनाजुले दिदीलाई तल फालेर भागेका रहेछन् । तर, पुगेर दिदीको हालत देखेर थानेश्वर आत्तिए ।

उनी पनि डराएर भागे । पछि फेरि आफैँ प्रहरी कार्यालयमा पुगे । उनले ‘सुरुमा आफू डराएर भागेको तर, आफ्नै दिदीको मृत्युमा बिना गल्ती किन भाग्ने ?’ भनेर आफैँ प्रहरीकहाँ पुगेको बताएका छन् । उनले आफू छुटिसकेको विषय फेसबूकमा लेखेका छन् ।

“दिदीको लास देखेपछि डराएर भागेँ । सारजाह गएर होटेलमा कोठा लिएर बसेँ । तर, निदाउन सकिनँ, यूएईमा रहनुभएका अर्का दिदी-भिनाजुकोमा ब्याग राखेर फेरि राधिका दिदीको मृत्यु भएको कुरा नजिकै प्रहरी चौकीमा म आफैँ पुगेको हुँ,” थानेश्वरले भन्छन् ।

थानेश्वरले भने दिदी राधिकाको हत्या भए/नभएको बारे आफूलाई प्रहरीले केही नभनेको बताएका छन् । तर, उनका श्रीमान् नेत्रप्रसाद कहाँ छन् भनेर आफूलाई सोधेको र घटनास्थलबाट डराएर भागेको देखेको बताएको उल्लेख गरे ।

घटना हुनु अघिसम्म आफू दिदी-भिनाजुसँगै रमाइलो गरिरहेको उनले बताएका छन् । “दिदी-भिनाजुबीच सामान्य भनाभन थियो । मलाई असहज लागेर बाहिर गएको थिएँ । पछि त्यस्तो भएछ,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved