सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

नेपालभ्युज

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो ।

‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताउँदै अझै दुई÷चार आरोही समूहले अनुमति लिनसक्ने बताए । अहिले विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन् । धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved