काठमाडौं । सप्तरीकी प्रतिमा चौधरी चार वर्षअघि एक दिन कामको सिलसिलामा इटहरीमा रहेको अचार फ्याक्ट्रीमा पुगेकी थिइन् । त्यहाँ भइरहेको अचार उत्पादन र प्याकिङले उनी आकर्षित भइन् । त्यसपछि उनलाई लाग्यो, अचार बनाउन त आफूले पनि सक्छु ।
नेपालमा आँप धेरै फल्ने जिल्लामध्ये अग्र स्थानमै आउँछ सप्तरी । केटाकेटीदेखि नै उनी आँपसँग खेल्दै हुर्किइन् । कैयौँपटक गाउँलेले आँपसँग नुन साटेको देखिन् । आँपको उपयोगिता नै पाकेको बेलामा खाने, घरायसी प्रयोजनका लागि अचार बनाउने र नुन साट्ने मात्रै हुने गरेको देखिन्थ्यो । बाँकी आँप खेर जान्थ्यो । आँपकै राजधानीमा आँप खेर जाँदा कसैले वास्ता पनि गर्दैनथ्यो ।
चौधरी जब इटहरीबाट फर्किइन्, त्यसपछि उनको दिमागमा नयाँ उपाय सुझ्यो- आँपको अचार किन नबनाउने ? किन यसैलाई उद्योगको रुपमा विकास नगर्ने ? खेर गइरहेको आँपको सदुपयोग किन नगर्ने ?
सप्तरीकी स्थायी बासिन्दा उनी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमै व्यस्त हुन्थिन्, हुन्छिन् । उनीसँग हरेक दिन बिहान र बेलुकाको समय तथा शनिबार लगायतका बिदाको दिन फुर्सद हुन्थ्यो । त्यसैलाई सदुपयोग गर्ने सोच बनाइन् ।
त्यसपछि सुरु भयो एक शिक्षिकाको उद्यम-यात्रा । उनै शिक्षिका तथा अचार उद्यमी चौधरी यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा भेटिइन् । वैशाख २६ गतेदेखि ३० गतेसम्म चल्ने १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सहभागी हुन उनी सप्तरीदेखि आएकी हुन् । मेलामा लघु, घरेलु तथा साना उद्यमीहरूद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी भइरहेको छ ।
साना घरेलु तथा महिला उद्यमले आफ्नो उत्पादनलाई प्रचारप्रसारको अवसर दिएकाले अध्यापनरत विद्यालयको पनि बिदा पाएपछि उनी काठमाडौं आएकी हुन् ।
श्रीमान्ले भने- तिम्रो अचार कसले किन्छ ?
इटहरीको फ्याक्ट्रीमा उनी अचार उत्पादनसँग आकर्षित मात्रै भइनन्, त्यहाँबाट प्रारम्भिक जानकारी पनि लिएर आइन् । अब उनी खेर जाने आँपहरूलाई काटेर अचार बनाएर बेच्ने सोचमा परिसकेकी थिइन् ।
सुरुवातमा आफ्नै श्रीमान्ले यो व्यवसाय सुरु गर्न सहयोग नगरेको उनको भनाइ छ । उनी सम्झिन्छिन्, ‘सुरुमा मेरै श्रीमान्ले भन्नुहुन्थ्यो- यस्तो काम नगर । कसले किन्छ तिम्रो अचार ? सबैको घरमा आँप फालाफाल छ । तिम्रो व्यवसायले बजार पाउन सक्दैन ।’
आफ्नो कर्म र मेहनतमा विश्वास गर्ने प्रतिमालाई उनको श्रीमान्को कुराले रोकेन । उनले श्रीमानलाई सम्झाइन्, ‘यहाँ पो फालाफाल छ । त्यसैले कसैलाई मतलब छैन । तर, सहरतिर अरू ठाउँतिर यसको माग धेरै हुन सक्छ । हामीले उता बजारीकरण गर्न सक्छौँ ।’
अचार उद्योग दर्ता गरेर आधिकारिक रूपमा व्यवसाय सुरु गर्न उनले आफूले शिक्षिका जीवनमा कमाएर बचत गरेको रकमलाई सदुपयोग गरिन् । नभन्दै उनले पहिलो पटकमै कैयौँ बट्टा अचारलाई बजारसम्म पुर्याउन सफल भइन् ।

सफल अचार उद्यमी
आँपको अचार बनाएर बेच्न थालेको केही समयमै प्रतिमाले सकारात्मक प्रतिक्रिया पाइन् । उनले उत्पादन गरेको अचारले पनि थप बजार पाउँदै गयो । ग्राहकबाट राम्रो प्रतिक्रिया आउन थाल्यो । उनले उत्पादन गरेको अचारको स्वाद मन पराएका कैयौं ग्राहकहरू अहिले फोन गरेरै मगाउँछन् । ‘अहिले मैले घरमै अचार उद्योग स्थापना गरेको छु’, उनी भन्छिन् ।
पछिल्लो चार वर्षयता उनले सिजनअनुसार आँप, करेला, कटहर माछा, मासु लगायतको अचार बनाएर बेचिरहेकी छिन् ।
परिवारको आशंकाबीच अचार उद्योग सुरु गरेकी प्रतिमाले अहिले सन्तोषजनक आम्दानी गरिरहेकी छिन् । सिजनको बेलामा त मासिक कमाइ नै ४/५ लाखसम्म कमाइ हुने उनको भनाइ छ ।
अर्थात्, यसबीचमा शिक्षिकाको अतिरिक्त उनी एक सफल उद्यमीसमेत बन्ने दिशातिर अग्रसर छिन् ।

अहिले त उनलाई परिवारको पनि राम्रो साथ छ । श्रीमान्ले नै उनको काममा सहयोग गर्छन् ।
प्रतिमा भन्छिन्, ‘मेरी छोरी सानी छिन् तर पनि अचार सम्बन्धी धेरै काम जानिसकेकी छिन् । हामीले नभ्याएको बेला उनले आफैं लेबल लगाउने, प्याकिङ गर्ने काम गर्छिन् ।’
आफूले सुरु गरेको अचार उद्यमबाट उनले घर परिवारलाई मात्र नभएर गाउँघरका अन्य २/३ जना व्यक्तिलाई समेत ‘पार्ट टाइम’ रोजगारी दिएकी छिन् ।
आफूमा भएको ज्ञान र सीप अरूलाई बाँड्न रुचाउने उनले अचार उद्यममा पाएको सफलतापछि धेरै महिला दिदीबहिनीहरुलाई अचार बनाउने तालिम दिएकी छिन् ।
Facebook Comment
Comment