काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णुप्रसाद सुवेदी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
वैशाख २८ गते पाँचखाल नगरपालिका-४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा सुवेदी मृत अवस्थामा भेटिएका थिए ।
मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा मृत अवस्थामा भेटिएको थियो ।
उनको ललितपुरमा समेत घर छ । प्रहरीका अनुसार उनी वैशाख २३ मा दोलखा हिँडेका थिए ।
सुवेदीले फोन भने घरमै छोडेका थिए । विना फोन जिरो किलो पुगेका उनले अन्य व्यक्तिको फोनबाट वैशाख २८ गते घर आउँदैछु भनेर परिवारका सदस्यलाई जानकारी दिएका थिए ।
तर, सो दिन सुवेदी घर नआएपछि खोजी सुरू भएको थियो ।
हत्या रहस्यमय देखिएको र घटनामा संलग्नबारे अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
Facebook Comment
Comment