गायिका एलिना पतिको चरणमा लम्पसार, ‘पैसाको भिख मागेको’ भन्दै आलोचना (भिडिओ)

नेपालभ्युज

गायिका एलिना पतिको चरणमा लम्पसार, ‘पैसाको भिख मागेको’ भन्दै आलोचना (भिडिओ)

काठमाडौं । चर्चित गायिका एलिना चौहान बिहे गरेर बागलुङ आइसकेकी छिन् । पति विष्णु सापकोटाको घरमा आएपछि एलिनाले पतिलाई लम्पसार परेर ढोगेको भिडिओ भाइरल छ ।

उनकै नातेदारले ती भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको छ । भिडिओमा एलिनाले पतिको खुट्टा लामै समय ढोगिरहन्छिन् । उनी जति आफ्नो खुट्टामा निधार राखिरहन्छिन् उति विष्णुले पैसा दिइरहन्छन् ।

यो दृश्य हेर्नेहरूले आलोचना गरिरहेका छन् । व्यापक शेयर भइरहेको भिडिओमा सकारात्मक भन्दा नकारात्मक क्याप्सन र कमेन्ट बढी देखिन्छन् ।

कतिपयले भनेका छन्, ‘श्रीमान्ले भन्नुपर्थ्यो, तिमी मेरो जीवन साथी हौ, तिमी र मेरो हैसियत बराबर छ । यसैले म तिमीलाई मेरो खुट्टामा होइन शीरमा सजाएर राख्छु ।’
कतिपयले लेखेका छन्, ‘लोग्नेको चरणमा लम्पसार परेर स्वाभिमानसँग पैसाको भिक मागेको दृश्य हेर्दा श्रीमान् श्रीमती दुवैको चेतनामाथि दया लाग्यो । कसैले कसैको खुट्टा ढोग्नु पर्दैन । बरु, अंकमाल गरेको पनि भए हुन्थ्यो ।’

नेपाली समाजमा आमाबुबाले छोरीलाई, तथा मामा माइजूले भाञ्जा भान्जीलाई ढोगेकोमा अहिलेसम्म कसैले पनि विमति जनाएका छैनन् । दाजुभाइहरूले दिदी बहिनीहरूको गोडा ढोग्नुलाई कसैलेपनि विरोध गरेका छैनन् । आमाबुबा, गुरु मान्यजनलाई त ढोग्नै पर्छ भनिन्छ ।

तर, पतिले पत्नीलाई गोडामा ढोग्दा आलोचना हुने गर्छ । आलोचना गर्नेहरूको तर्क हुन्छ, ‘जीवनसाथी भनेको आफूसँग बराबर हुन्छ । महिला र पुरुष जीवनका बराबर हिस्सा हुन् । यसैले ढोग्ने होइन, बरु अंकमाल गर्ने हो । ढोग्ने नै भए पतीले पनि पत्नीको खुट्टामा ढोग्नुपर्छ ।’

एलिना चौहान गायिका हुन् । उनको लाखौँ फ्यान फलोअर्स छन् । यसको अर्थ उनी समाजको रोल मोडल हुन् । यसले पनि उनको ढोगाईको चर्चा भएको हो ।

‘जसले समाजको कुरीति, कुसंस्कार, हिंसालगायत समाजका राम्रा नराम्रा सबै कुरालाई प्रकाशमा ल्याएर समाजलाई सुसूचित गर्ने काम गर्छ, उसकै मानसिकतामा उही परम्परावादी सोचले डेरा जमाएर बसेको छ भने अरूको के कुरा ?’ आलोचकहरू भन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved