‘हिरामन्डी : द डायमन्ड बजार’, ब्रिटिस-ईन्डियाकालीन ‘रेडलाईट-एरिया’ को प्रेम र राजनीति

मनिषाका लागि समेत सायद हिरामन्डी सिरिजको ठूलो अर्थ र महत्व छ । क्यान्सरमाथिको विजय, नेपाली राजनीतिमा सरोकार र आलोचनापछि उनी एक महत्वाकांक्षी सिने परियोजनामा देखिएकी छन् ।

नेपालभ्युज

‘हिरामन्डी : द डायमन्ड बजार’, ब्रिटिस-ईन्डियाकालीन ‘रेडलाईट-एरिया’ को प्रेम र राजनीति

काठमाडौं । बुधबार (मे १) नेटफिल्क्समा रिलिज नयाँ वेब सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ को विशेष चर्चा छ अहिले । चर्चाका कारण भने फरक छन् ।

कसैले यसका निर्देशकलाई चर्चाको आधार बनाएका छन् । चर्चित सिने निर्देशक सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको पहिलो वेब सिरिज हो यो । भन्सालीको वेब सिरिज डेब्यूका कारण हिरामन्डीको चर्चा गर्नेको कमी छैन ।

चर्चाको अर्को कारण बनेकी छन्— मनीषा कोइराला । कोइराला ‘मल्लिका जान’ को भूमिकामा छन्, जो सिरिजको ‘लिड रोल’ हो ।

त्यसो त निर्देशक भन्साली र मनीषा कोइरालाको कार्य-संयोगका दृष्टिले पनि सिरिजको चर्चा छ । सन् १९९६ को ‘खामोशी : द म्युजिकल’ मनीषा कोइराला अभिनित सर्वाधिक चर्चित तथा सफल चलचित्रमध्ये एक थियो । निर्देशक भन्सालीको पहिलो निर्देशन थियो यो ।

त्यसपछिका दिनमा भन्सालीले ‘हम आपके हे कौन’, ‘देवदास’, ‘पद्मावत’, ‘बाजिराओ-मस्तानी’, ‘गंगुवाई कथियावाडी’जस्ता दर्जनौं सिनेमा निर्देशन गरे । तर, भन्सालीका कुनै पनि सिनेमामा मनीषा थिइनन् । २८ वर्षपछि फेरि एकपटक वेब सिरिज डेब्यूका लागि भन्सालीले मनीषालाई छाने, जसरी फिल्म डेब्यूका लागि छानेका थिए ।

मनीषाका लागि समेत सायद हिरामन्डी सिरिजको ठूलो अर्थ र महत्त्व छ । क्यान्सरमाथिको विजय, नेपाली राजनीतिमा सरोकार र आलोचनापछि उनी एक महत्वाकाङ्क्षी सिने परियोजनामा देखिएकी छन् ।

नेपालमा उनका राजनीतिक अनुयायी थोरै छन् तर, अभिनयका प्रशंसकको अहिले पनि कुनै कमी छैन । मनीषा आफ्नो समयकी एक अब्बल अभिनेत्री हुन् भन्नेमा दुई मत छैन ।

मनीषा ‘सौदागर’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको पहिलो सिनेमा नै सुपरहिट भएको थियो । ‘अग्निसाक्षी’, ‘खामोशी’, ‘स्केप फ्रम तालिबान’, ‘१९४२ः ए लभ स्टारी’, ‘बाम्बे’, ‘तुलसी’देखि ‘डियर माया’सम्मका सिनेमामा मनीषाको अभिनय जादू दर्शकले बिर्सेका छैनन् ।

हिरामन्डीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भने यसको कथा हो । यो आजको हैन, ब्रिटिश-ईन्डियाकालीन लाहोरको कथा हो, जो अहिले पाकिस्तानमा छ । यो त्यतिखेरको कथा हो, जतिबेला पाकिस्तान भन्ने देश जन्मिएकै थिएन । पाकिस्तान ब्रिटिश-ईन्डियाकै एक अङ्ग थियो ।

भन्सालीले करिब १४ वर्षदेखि हिरामन्डीको कथाबारे सोचिरहेका थिए । सन् २०१२ बाट उनी यो प्रोजेक्टका लागि काम गर्दै थिए । सन् २०१८ मा एकपटक भन्सालीको मनमा हिरामन्डी सिनेमाका रूपमा बनाउने विचार आयो । उनले मनमनै रेखा, रानी मुखर्जी र करिना कपुरलाई लिने सोचसमेत बनाएका थिए ।

यदि उनको यो सोच कार्यान्वयन हुन्थ्यो त आज मनीषाको ठाउँमा रेखा हुन्थिन् । सोनाक्षी सिन्हाको ठाउँमा रानी मुखर्जी र ऋचा चड्डाको ठाउँमा करिना कपूर । तर, हिरामन्डीको कथा निकै लामो थियो । २/३ घण्टाको सिनेमामा यसलाई देखाउन निकै गाह्रो थियो । तसर्थ, उनी वेब सिरिज बनाउने सोचमा गए । कथालाई पटकथाको रूप दिन केही वर्ष लाग्यो । यसबीच भन्सालीको सोचमा उल्लेखनीय परिवर्तन भए ।

हिरामन्डी : द डाइमन्ड बजार अन्ततः ८ इपिसोडमा बन्यो । ५० मिनेटदेखि १ घन्टासम्मको एपिसोड ।

वेब सिरिजको कथा सन् १९२० तिरबाट सुरु हुन्छ र सन् १९४० को दशकसम्म तानिएर आउँछ । भनिन्छ— हिरा सिंह नामका कुनै नबावले लाहोरमा हिरामन्डी स्थापना गरेका थिए । यसको उद्देश्य थियो, हिराको खरिद बिक्री केन्द्र बनाउने । तर, प्रकारान्तले यो बन्न पुग्यो, यौन बजार अर्थात् रेडलाइट एरिया ।

यौन व्यापार गर्ने महिलाबीच एक मातृवंश नै तयार भयो, त्यहाँ । मनीषा कोइरालाले गरेको मल्लिका जानको भूमिका त्यही मातृवंशकी माताको हो ।

सिने दर्शक तथा समीक्षकको भनाइमा मल्लिका जानका लागि मनीषाको छनोट र अभिनय ‘फरफेक्ट’ हो । मनीषाले भन्सालीको सोचमा आफूलाई सम्पूर्णतः डुबाएकी छन् ।

बजारका सबैभन्दा ठूला र नियमित ग्राहक मुस्लिम समाजका नबावहरू हुन्थे । नबावहरू ठान्थे कि यौन व्यवसायी महिला उनीहरूको संरक्षण, कृपा र आशीर्वादले बाँचेका छन् । नबावहरू नजाने हो भने मल्लिका जानको परिवार भोक-भोकै मर्छ ।

तर, हिरामन्डीका महिला आफूलाई त्यति निरिह र कमजोर ठान्दैनन् । उनीहरू यौन व्यावसाय गरेर कमाएको पैसाको एउटा हिस्सा स्वतन्त्रता संग्रामका योद्धालाई दिन्थे । त्यो बेला लाहोरका अधिकांश नबावले अंग्रेजको दासता स्वीकार गरेका थिए । स्वतन्त्रता संग्रामलाई सहयोग गर्नुलाई उनीहरू एक प्रकारको राज्यद्रोह ठान्थे । डराउँथे । हिरामन्डीका महिलालाई त्यस्तो जोखिम नउठाउन चेतावनी दिन्थे ।

वेब सिरिजको ‘कोर थिम’ नै यही हो कि लाहोरका मुस्लिम यौन व्यावसायी महिलाले भारतीय स्वतन्त्रता संग्राममा कसरी र कति ठूलो योगदान गरे । तर, इतिहासको यो पक्ष लेख्ने साहस कसैले गरेनन् । भन्सालीले त्यही कथा खोजे जो इतिहासको गर्तमा दबिएको थियो ।

मल्लिका जानका दुई छोरी हुन्छन्— आलमजेब र बिब्बोजान । आलमजेबलाई शायरीको शौख छ, बिब्बोजानलाई स्वतन्त्रता संग्रामको योद्धा बन्ने । मल्लिका जान भने मातृवंश रक्षाको चाहना राख्दिछन् र आफ्ना छोरी यही पेशामा रहनु भन्ने इच्छा गर्छिन् । छोरीहरूसँग मल्लिकाको यो द्वन्द्व कथाको एक महत्त्वपूर्ण पाटो हो ।

अर्की हुन्छिन भतिजी— फरदिन । फरदिनको भूमिकामा भएकी सोनाक्षी सिन्हा मल्लिका जानसँग सन्तुष्ट छैनन् । उनी मल्लिका जानका लागि अनेक चुनौती सृजना गरिरहन्छिन् । त्यसका लागि उनका सहयोगी छन्— लज्जो (ऋचा चड्डा)।

सोनाक्षीको अभिनय उत्तिकै जोडदार छ । आलमजानको भूमिकामा शर्मीन सहगल र बिब्बोजानको भूमिकामा अदिती राव हैदरी छन् । अर्की एक यौन व्यवसायी छन्— बाहिदा । कथा यिनै ५ महिलाको वरिपरि घुम्छ । त्यसको केन्द्र भने मल्लिका जान बनेकी मनीषा हुन्छिन् ।

सिरिजमा त्यस्ता पुरुष पात्र आउँछन्, जो कि हिरामन्डी धाउने नबाव हुन्छन् कि स्वतन्त्रता संग्रामका योद्धा । यिनैबीचको प्रेम र घृणाले तन्किन्छ कथा । नबाव जोराबर र जुल्फिकारको दोहोरो भूमिका गरेका कलाकार शुखर शेखर सिरिजमा काम गर्न पाउनुलाई आफ्नो अहोभाग्य ठान्दछन् ।

नबाव जोराबर र लज्जोको प्रेम कथाको एक उल्लेखनीय पक्ष हो । प्रेममा जोराबरले लज्जोलाई धोका दिन्छ र लज्जो प्रेममा धोका पाएको प्रेमिकाका रूपमा चित्रित हुन्छिन् । यस्ता अनेक कथा र उपकथा जोडिँदै जान्छन् ।

हिरामन्डीका लागि निर्देशक भन्सालीले भारतीय सिने समीक्षकबाट व्यापक प्रशंसा पाइरहेका छन् ।

(भाष्कर दैनिकको सहयोगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved