इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण

इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन कस्तो होला भन्ने धेरैमा उत्सुकता थियो । मतगणना हेर्दा रास्वपाप्रति इलामेली मतदातामा खासै आकर्षण देखिएन । यसका केही गहिरा कारण छन्, त्यो पनि एउटा मात्रै होइन धेरै ।

इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन कस्तो होला भन्ने धेरैमा उत्सुकता थियो । मतगणना हेर्दा रास्वपाप्रति इलामेली मतदातामा खासै आकर्षण पैदा भएको देखिएन । उपनिर्वाचनमा रास्वपाको प्रदर्शन बिल्कुलै निराशाजनक देखिएको छ ।

गत आमनिर्वाचनमा रास्वपाले यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १ हजार ३८० र समानुपातिकतर्फ ४ हजार ६८६ मत प्राप्त गरेको थियो । यसपटक रास्वपा उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म प्रत्यक्षतर्फको पुरानो लक्ष्य मात्र छोएका छन् । यही अनुपातमा अघि बढे गत आमनिर्वाचनमा प्राप्त गरेको समानुपातिकतर्फको मत भेट्नसमेत हम्मे-हम्मे पर्ने देखिन्छ ।

अर्को कुरा, रास्वपा गत आमनिर्वाचनमा तेस्रो स्थानमा थियो । यसपटक चौथो स्थानमा धकेलिएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम सम्मानजनक मत ल्याउँदै तेस्रो स्थानमा पुगेका छन् ।

गत आमनिर्वाचनपछि भएका ३ वटा उपनिर्वाचनमध्ये रास्वपाले चितवनमा पुनर्विजय हासिल गरेको थियो भने तनहुँमा उल्लेखनीय प्रगति गरेको थियो । तनहुँमा कांग्रेसले आफ्नो मत जोगाइरहँदा पनि एमाले र अन्य दलको मतमा उल्लेखनीय ह्रास आएर रास्वपा उम्मेदवार डा. स्वार्णिम वाग्लेले शानदार विजय हासिल गरेका थिए ।

इलाममा तनहुँकै जस्तो प्रवृति देखिएला नदेखिएला भन्ने उत्सुकता थियो । तर, त्यस्तो भएन । इलाममा रास्वपाले कमजोर चौथो स्थानमै चित्त बुझाउनु परेको छ ।

किन यस्तो भयो ? बागमती र गण्डकी प्रदेशमा नयाँ दलका रूपमा रास्वपाप्रति चर्को जनाकार्षण देखिएको थियो तर, सुदूरपूर्वको इलाममा भने किन त्यसो भएन ? यो प्रश्नमाथि अनेक कोण र आयामबाट विश्लेषण हुन थालेको छ ।

एक त पूर्वी नेपालको सामाजिक संरचना र मतदाता मनोविज्ञान नै फरक छ । यसका अतिरिक्त रास्वपाकै पाँच कमजोरीले इलाममा जनमत आकर्षित नभएको देखिन्छ । यी हुन सक्दछन् ती पाँच कारण ।

१. मन्त्री हुन मरिहत्ते

रास्वपाप्रति मतदाताको आकर्षण नयाँ र वैकल्पिक दलका रूपमा हो, सबै पुराना दलको विकल्प दिन्छ भन्ने अर्थमा यो निर्मित थियो । तर, यसका नेताले मतदाताको यो भावना बुझ्न सकेनन् । चुनावअघि यिनले ‘नो नट अगेन’ को नारा लगाए । २०८४ को चुनावसम्म प्रतिपक्षीय भूमिका गरेर देशलाई नयाँ राजनीतिक विकल्प दिने कुरा गरेका थिए । तर, चुनाव जितेलगत्तै कुरा फेरियो ।

चुनावमा भोट माग्न एउटा कुरा गर्ने, जितेपछि कुरा फेर्ने, मतदातालाई ढाँट्ने सवालमा रास्वपा पुराना दलजस्तै देखियो । मतदाता रास्वपा पुरानै दलहरूको गठबन्धन सरकारमा साझेदार नबनोस्, प्रतिपक्षीय भूमिकामार्फत भविष्यका लागि एक राजनीतिक विकल्प बनोस् भन्ने चाहन्थे । तर, पार्टीले यो बाटो रोजेन ।

यसका मूल नेता रवि लामिछानेको सत्तालिप्सा र स्वार्थ-बाझन हुने मन्त्रालयप्रतिको मरिहत्ते जनतालाई मन परेन । पदप्रतिको उस्तै आशक्ति, उस्तै व्यक्तिवाद र उस्तै स्वार्थ-बाझनको संस्कृति क्रियाशील हुने भए यसलाई नयाँ दल नै किन मान्ने भन्ने मनोभावना मतदाताका पैदा भयो ।

२. नवप्रवेशी र असङ्गत उम्मेदवार

रास्वपाले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, उम्मेदवार छनोट गर्दा प्राईमरी गर्ने प्रतिबद्धता गरेको थियो । तर, यो गफैमा सीमित भयो । उम्मेदवार छनोट गर्दा कुनै प्राईमरी गरेन, न त आन्तरिक लोकतन्त्र नै सुनिश्चित गर्‍यो ।

बरु एक विवादास्पद व्यक्तिलाई प्रवेश गराएर टिकट दियो । मिलन लिम्बू रास्वपा उम्मेदवार हुनयोग्य थिएनन् । किनकि उनी फरक विचारधाराका मानिस थिए । उनी पहिचानवादी कार्यकर्ताको छवि बनाएका एक सक्रिय युवा थिए । तर, रास्वपाले पहिचानविरोधी दलको छवि बनाएको थियो । दलअनुरूपको उम्मेदवार र उम्मेदवार अनुरूपको दल दुवै भएन ।

उम्मेदवार हुनु केही दिनअघिसम्म मिलनले रास्वपासँगको सहकार्य ठाडो शब्दमा अस्वीकार गरेका थिए । जनताको नजरमा मिलन लिम्बू अवसरवादी देखिए भने पहिचानको मुद्दामा रास्वपाले द्धैध चरित्र देखाएको पाइयो । पहिचान आन्दोलनको आफ्नै जनमत र स्पेश भएको इलाममा यो असङ्गतिले थप भ्रम सृजना गर्‍यो ।

३.सहकारी काण्ड 

यसबीच रास्वपा सभापति रवि लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया प्रालि र ग्यालेक्सी टेलिभिजनले गरेको सहकारी ठगी काण्डको पर्दाफास भयो । यद्यपि यस काण्डमा लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सबै दोष अर्का साझेदार जीबी राईमाथि थोपर्दै उनले आफूलाई निर्दोष बताउँदै आएका छन् ।

यस काण्डमा पनि रास्वपामा द्धैध चरित्र र नैतिक उत्तरदायित्व बहन नगर्ने चरित्र देखियो, जो मतदातालाई मन पर्ने कुरै थिएन । विपक्षमा हुँदा लामिछानेले जीबी राईलाई सरकारले नै लुकाएको आरोप लगाएका थिए । तर, गृहमन्त्री भएको २ महिना हुन लाग्दा पनि उनले आफ्ना पुराना व्यापारिक साझेदारलाई पक्राउ गर्ने सकेका छैनन् ।

लामिछानेले राईप्रति व्यक्त गरेका निष्ठा र भक्तिका पुराना भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । त्यसले उनीहरूबीचको निकट सम्बन्ध र गहिरो मित्रतालाई व्यक्त गर्दछ । राई कहाँ र कसरी लुकेका छन् भन्नेबारे लामिछाने वृत्त जानकार भएको सहकारीपीडितको विश्वास छ । तर, यस मामिलाबाट उनी उम्किन खोजिरहेका छन् ।

सहकारी काण्डको पर्दाफासले रास्वपाका लागि एक भयानक विरोधाभास सृजना गरेको थियो, फलतः इलामे मतदातामा घण्टी चिन्हप्रति आकर्षण पैदा भएन ।

४. असहिष्णु ‘फेसबूके’ कार्यकर्ता

पुराना दलका कार्यकर्ताले आफ्ना पार्टी र नेताको गलत कार्यको बचाउ गर्ने प्रवृति जनतालाई मन पर्न छोडेको थियो । त्यो प्रवृतिलाई जनताले ‘झोले’ र ‘अरिङ्गाल’ को संज्ञा दिने गरेका थिए । रास्वपा पार्टी पङ्क्ति तथा कार्यकर्ता पुराना दलको यो चरित्रभन्दा फरक सहिष्णु, आलोचनात्मक चेतना भएका र सृजनशील बन्लान भन्ने धेरैको अपेक्षा थियो ।

तर, रास्वपा पङ्क्तिमा ‘नयाँ झोले’ र ‘नयाँ अरिङ्गाल’ प्रवृति देखियो । तिनले समाजमा नयाँ र सृजनशील आलोचनात्मक चेतना प्रवाह गर्न सकेनन् । नयाँ पार्टी संस्कृति पनि देखाएनन् । बरु पुरानै तरिकाले नेतृत्व र पार्टीको भद्दा प्रतिरक्षा गर्न थाले । स्वयम् पार्टीप्रति सहानुभूति राख्ने स्वतन्त्र र तटस्थ मतदातालाई सामाजिक सञ्जालमा गाली गर्ने वा चिढ्याउने व्यवहार गर्न थाले ।

गत आमनिर्वाचनमा रास्वपाप्रति सहानुभूतिशील रहेको स्वतन्त्र र तटस्थ जनमतलाई रास्वपा पङ्क्तिको असहिष्णु व्यवहार र अभद्र ‘फेसबूके’ टिप्पणी मन परेन । यो जनमत रास्वपाबाट आफैँ टाढिँदै गयो । विस्तारै विरुद्धमा बोल्ने भयो ।

५. पुरानैजस्ता नयाँ पार्टी

देशमा वैकल्पिक राजनीतिक र नयाँ दलको औचित्यबारे एक गहिरो मनोवैज्ञानिक विभाजन छ । देशलाई पुरानैजस्तो एक नयाँ दल चाहिएको हो कि सोच, संस्कृति, कार्यशैली र चरित्र नै फरक भएको दल चाहिएको हो ? थप एक थान दल चाहिएको हो कि देश बनाउने, राष्ट्र निर्माण गर्ने दल चाहिएको हो ?

यो वर्गीकरणमा रास्वपाले पहिलो बाटो रोजे जस्तो, एक नयाँ दल हुने तर, सोच, संस्कृति, कार्यशैली र चरित्रचाहिँ पुरानैजस्तो गर्ने मार्गमा हिँडेजस्तो भान भयो । तसर्थ, वैकल्पिक राजनीति र फरक चरित्रको दलको चाहना राख्नेले रास्वपालाई विकल्प मान्न सकेनन् । अथवा विकल्प मान्न छोडे ।

गत चुनावमा यस्तो चाहना राख्ने जनमतले रास्वपाप्रति आशा गरेको थियो, शंकाको सुविधा दिएको थियो । धैर्यतापूर्वक प्रतिक्षा गर्दै स्थिति पर्गेल्दै थियो । तर, रास्वपाको यस बीचको चरित्रले यो पुरानैजस्तो थप एक थान दल मात्र हो, पुरानै गठबन्धन र सिन्डिकेटको नयाँ साझेदार मात्र हो, नयाँ चरित्र र विकल्पिक राजनीतिको आवश्यकता पूरा गर्न सक्ने दल हैन भन्ने पुष्टि गर्‍यो ।

जब कसैको भक्त नै हुन छ भने ‘राम’ छोडेर ‘हनुमान’ को भक्त किन हुने भन्ने प्रश्न खडा भयो । पुराना दल रामजस्तो देखिए र रास्वपा तिनको गठबन्धनको हनुमानजस्तो । सायद मतदाताले ठाने पुरानैजस्तो सिकारु नयाँ दललाई दिनुभन्दा अनेक गल्ती कमजोरीको बाबजुद पुरानै अनुभवीलाई भोट किन नदिने ?

रास्वपाको अनुभवले पनि हिजो विवेकशील साझा र नयाँ शक्तिकै जस्तो तथ्यलाई पुष्टि गर्दछ कि जनताले पुरानै जस्तो एक थान थप दल खोजेका हैनन, पुरानाको सोच, चरित्र र कार्यशैलीको समग्र विकल्प खोजेका हुन् । नयाँ त्यस्तो विकल्प बन्ने हैसियत राख्दैनन् भने पुराना त छँदैछन । सम्भवत: इलामेली मतदाताको मनोविज्ञानको सार यही हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved