किन विभाजित हुन्छन् राजनीतिक दल ? यस्ता छन् मुख्य ११ कारण

नेपालमा दलको विभाजन एक नियमित र सामान्य प्रक्रियाजस्तो भइसकेको छ । कतिखेर कुन दल फुट्छ, कसैलाई पत्तो हुँदैन । नेता पनि विभाजनबाट खुसी हुन्छन् हुँदैनन् तर, उनीहरू (न)चाहेरै विभाजनसम्म पुग्न बाध्य हुन्छन् । दलभित्र त्यसका अनेकन कारण हुन्छन् । के-के हुनसक्छन् त्यस्ता कारण ?

किन विभाजित हुन्छन् राजनीतिक दल ? यस्ता छन् मुख्य ११ कारण

काठमाडौं । राजनीतिक दल बारम्बार फुटेका देखिन्छन् । नेपालमा दलको विभाजन एक नियमित र सामान्य प्रक्रियाजस्तो भइसकेको छ । कतिखेर कुन दल फुट्छ, कसैलाई पत्तो हुँदैन । भर्खरै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेको छ ।

दलहरू विभाजित भएको तिनका कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदातालाई मन पर्दैन । दल विभाजित हुँदा उनीहरू निराश हुन्छन् । नेतालाई गाली गर्छन् । आफूले समर्थन गरेको दल विभाजित नभइदिए हुन्थ्यो भन्ने आकाङ्क्षा राख्छन् । तर, तिनको यस्तो पवित्र कामनाले पनि विभाजनलाई रोक्न भने सक्दैन ।

नेता पनि विभाजनबाट खुसी हुन्छन् भन्ने हैन । राजनीतिक दलभित्र त्यस्ता अनेकन् कारण हुन्छन् कि कहिलेकाहिँ चाहेर वा नचाहेर पनि विभाजन अपरिहार्य बन्न पुग्दछ । के-के हुन सक्दछन् त्यस्ता कारण ?

यहाँ मुख्य ११ कारणबारे चर्चा गरौँ ।

१. विचारधाराको भिन्नता

हुन त दलहरू निश्चित विचारधारामा आधारित भएर स्थापित भएका हुन्छन् । दल एउटै विचारधाराका नागरिकको समूह हो भन्ने ठानिन्छ । तर, समयक्रमभित्र दलहरूमा विचारधाराकै भिन्नता पनि उत्पन्न हुन सक्दछ ।

जस्तो कि माओवादीबाट मोहन वैद्य र डा. बाबुराम भट्टराईको बहिर्गमन विचारधारात्मक थियो । वैद्य समूह चीन, उत्तर कोरिया, क्युवाजस्तो एकदलीय कम्युनिष्ट प्रणालीमा जान चाहन्थ्यो, प्रचण्डले बहुदलीय लोकतन्त्र, ‘नयाँ जनवादी गणतन्त्र’ को साटो ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्वीकार गरे । तसर्थ, वैद्य समूह फुट्यो । यो विचारधारात्मक भिन्नता हो ।

ठीक त्यसैगरी डा. बाबुराम भट्टराईले माओवाद र कम्युनिष्ट विचार नै परित्याग गरेको सन्दर्भमा दल विभाजन विचारधारात्मक हो । विवेकशील-साझा पार्टीबाट राजावादी बनेर निस्किएका रवीन्द्र मिश्रको बहिर्गमन विचारधारात्मक हो ।

विचारधारात्मक एकरूपता राजनीतिक दलको आधारभूत शर्त हो । विचारधारा नै भिन्न भएपछि दल फुट्नुलाई स्वाभाविक र आवश्यक मान्नु पर्दछ ।

२. एजेन्डाको भिन्नता

कतिपय फुट यस्ता हुन्छन्, जसको कुनै विचारधारात्मक भिन्नता हैन, निश्चित सवालमा दृष्टिकोण वा पक्षधरताको मात्र भिन्नता हुन्छ । एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) बन्ने फुटलाई यस अर्थमा लिन सकिन्छ ।

यी दुवै दलको विचारधारा एउटै हो, मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवाद । तर, वर्तमान संवैधानिक व्यवस्थामा प्रधानमन्त्रीसँग असंवैधानिक प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुन्छ कि हुँदैन भन्ने एजेन्डामा दृष्टिकोण नमिल्दा मात्र यिनको फुट भएको हो ।

एकीकृत समाजवादीले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दुई-दुईपटकको प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्‍यो, जो सर्वोच्च अदालतको पनि ठहर थियो । एमाले समूहले भने त्यस्तो विघटनलाई अहिले पनि जायज ठान्दछ । यो भिन्नतालाई छोड्ने हो भने यी दुई दलबीच अरु ठूलो मतभेद देखिँदैन ।

३. कार्यदिशाको भिन्नता

कार्यदिशाको भिन्नता विचारधारा र सवालभन्दा भिन्न हो । यसभित्र मुख्यतः कार्यनीति र रणनीतिको कुरा, सङ्घर्षको रूपरेखाको प्रश्न, कार्ययोजना निर्माण र कार्यान्वयनको प्रश्न, आक्रमण र प्रतिरक्षाको प्रश्न जोडिएको हुन्छ । कुन रणनीतिभित्र कस्ता कार्यनीति अपनाउने, कस्ता निर्णय गर्दै अघि बढ्ने, कस्ता दल र शक्तिसँग नजिक वा टाढा हुने, कोसँग सहकार्य र कोसँग मुख्य प्रतिस्पर्धा गर्ने जस्ता विषय कार्यदिशासँग जोडिएका हुन्छन् ।

कांग्रेसभित्र बेलाबेला उठ्ने निर्वाचनपूर्वको गठबन्धन गर्ने कि नगर्ने, कम्युनिष्टहरूसँग सहकार्य गर्ने कि गैरकम्युनिष्ट गठबन्धन गर्नेजस्ता बहस कार्यदिशासँग सम्बन्धित हुन् । भलै कि यही कारणले कांग्रेस फुटेको भने छैन । अल्पमत पक्षलाई पनि लोकतान्त्रिक ‘स्पेश’ भएको दलमा कार्यदिशाकै कारणले पार्टी नफुट्न सक्दछ ।

कार्यदिशाको कारण तहसनहस भएको दलको उदाहरण नेपालमा नयाँ शक्ति पार्टीलाई मान्न सकिन्छ । यसभित्र विचारधारा र एजेन्डाको भिन्नता थिएन । नेतृत्वको पनि कुनै प्रतिस्पर्धा थिएन । डा. बाबुराम भट्टराई एक मात्र सर्वसम्मत नेता थिए । तर, पनि यो दल किन बारम्बार खण्डित र क्षयीकृत हुँदै अन्ततः समाप्त भयो त ? यसको कारण कार्यदिशाको अलमल थियो ।

२०७४ को स्थानीय चुनावभन्दा अघि नै दल बनाउने हतारो, भिन्नै चुनाव चिह्नको अभाव, सङ्घीय समाजवादी फोरमको चुनावचिह्न प्रयोग, २०७४ को आम निर्वानचमा वाम गठबन्धनमा प्रवेश र बहिर्गमन, सङ्घीय समाजवादी फोरमसँग एकता र विभाजन, २०७९ को चुनावमा माओवादी केन्द्रको चुनावचिह्न साझेदारीजस्ता कार्यदिशामा भएका गल्तीले यो दलमाथि लाग्न सकेन ।

४. कार्यशैलीको भिन्नता

अहिले विभाजित भएको जसपा नेपालको विभाजनको मुख्य कारण भने विभाजकारी पक्षले विचारधारा, सवाल र कार्यदिशालाई हैन, कार्यशैलीलाई बनाएको छ । कार्यशैलीभित्र भने विधि, पद्धति, नीति, नियम, नियमावली र आचारसंहिताको पालनाको प्रश्न उठ्दछ । पारदर्शीता, पार्टी कोषमा सबैको पहुँच वा निर्णय प्रक्रिया र व्यवस्थापनको प्रश्न आउँदछ ।

राजनीतिक दलको एकता र संस्थागत विकासका लागि कार्यशैलीमा एकरूपता धेरै महत्त्वपूर्ण विषय हो । नेपालमा अधिकांश नेताको कार्यशैली व्यक्तिकेन्द्रित, अपारदर्शी, मनोमानीपूर्ण र दोहोरो चरित्रको हुन्छ । यस्तो कार्यशैलीले सहकर्मीको विश्वास जित्न सक्दैन । आन्तरिक द्वन्द्व बढाउँछ र व्यवस्थापन पक्षमा गन्जागोल सृजना गर्दछ । राजनीतिक दलमा हुने कतिपय फुट कार्यशैलीको भिन्नतासँग जोडिएका हुन्छन् ।

५. अन्तर्पार्टी लोकतन्त्र र फरक विचारलाई स्पेशको अभाव

दलभित्र अन्तर्पार्टी लोकतन्त्र सुनिश्चित गर्ने विषयमा मुख्यतः संस्थापन पक्ष जिम्मेवार हुन्छ । नेतृत्वको चरित्र कस्तो छ ? अधिनायकवादी कि लोकतान्त्रिक ? एकमनावादी कि बहुआयामिक ? एकलकाँटे कि समूहमा सहकार्य गर्ने ? अल्पमत पक्षको सम्मान गर्ने कि अपमान गर्ने ? यी प्रश्नले दल विभाजनमा ठूलो अर्थ राख्दछन् ।

एकल नेतृत्वको स्कूलिङ्ग र संस्कृतिमा हुर्किएको दलभित्र तानाशाही नेतृत्वले पनि काम गर्न र राम्रो परिणाम दिन सक्दछ । किनकि ऊ चुनौतीहीन हुन्छ । तर, आधुनिक युगका लोकतान्त्रिक दलहरूमा अन्तर्पार्टी लोकतन्त्र अपरिहार्य तत्त्व हो ।

अन्तर्पार्टी लोकतन्त्र नभएका वा कमजोर भएका दल छिटो विभाजित हुन्छन् । त्यसैगरी संस्थापन पक्षले अल्पमत पक्षको सम्मान नगर्ने, पार्टी सत्ता अवसर र कोषमा न्यायपूर्ण पहुँच नदिने दलहरू विभाजित हुने सम्भावना धेरै हुन्छ ।

६. नेतृत्वका लागि प्रतिस्पर्धा

मान्छे प्रतिस्पर्धा र सहकार्यको प्राकृतिक सम्मिश्रण हो । उनै मान्छेबीच कहिले प्रतिस्पर्धा हुन्छ र कहिले सहकार्य । राजनीतिक दलभित्रको सहकार्यको मुख्य पक्ष अस्तित्व रक्षा हो । दल कमजोर भएको, अस्तित्वमै प्रश्नचिह्न खडा भएको बेला सबै मिल्ने र सहकार्य गर्ने सम्भावना बढी हुन्छ ।

त्यसैगरी प्रतिस्पर्धाको मुख्य पक्ष भनेको नेतृत्व प्राप्तिको आकाङ्क्षा हो । पार्टीभित्र नेतृत्वको आकाङ्क्षा राख्नेहरू धेरै भए, तिनको यथोचित समायोजन र व्यवस्थापन हुन सकेन भने दल विभाजित हुन सक्दछ ।

७. ‘ईगो’ र प्रतिशोधको भावना

एउटै दलभित्र लामो समय बसेपछि स्वाभाविक हो, मान्छे-मान्छेबीच अनेक प्रकारका ‘ईगो-प्रोब्लम’ सृजना हुन्छन् । विभिन्न कारणले रिस, ईर्ष्या, अपमान, घमण्ड, अहङ्कार र हीनताको भावना पैदा भएको हुन्छ । बोल्दा कसैले कसैप्रति तीखा वचन प्रयोग गरेको वा दुर्व्यवहार गरेको हुन सक्दछ । सबैले पार्टीभित्रका ठूला पद, चुनावको टिकट र अन्य लाभका पद नपाएका हुन सक्दछन् ।

मान्छेका सबै अपेक्षा भगवान् र यो धर्तीले त पूरा गर्न सक्दैन, कुनै दलले गर्न सक्ने कुरै हुँदैन । तसर्थ, पार्टीभित्र सफल र असफल, उत्साहित र निराश दुवै खाले मान्छे हुन्छन् ।

पार्टीभित्र सफल र बलियो हुँदै गएकाहरूमा अहङ्कारको भावना हुन्छ । असफल र कमजोर हुँदै गएकाहरूमा हीनताको भावना हन्छ । जब हीनताको भावना भएकाहरूको सङ्ख्या ठूलो हुँदै जान्छ, तिनले अहङ्कारको भावना भएकाप्रति प्रतिशोध साँध्ने बाटो रोज्दछन् । प्रथमतः तिनले दलभित्रै सत्ता परिवर्तनको प्रयास गर्दछन् । सम्भव नभए दल विभाजन गर्ने सोच बनाउँदछन् । फलतः दल विभाजित हुन्छ ।

८. राजकीय पद प्राप्ति वा सरकारमा जाने चाहना

जस्तै ‘आदर्शवादी’ दल किन नहोस्, केही न केही पदलोलुप, सत्ता वा सरकारमा छिटो जान चाहने, राजकीय पद प्राप्तिप्रति आशक्ति राख्ने मान्छेको एउटाअवसरवादी, पदलोलुप र सुविधा-आकाङ्क्षी समूह हुन्छ, हुन्छ ।

यिनले मौका पाउनेबित्तिकै सत्ता पक्षसँग आन्तरिक संवाद, सम्झौता गर्दछन् र दल फुटाइदिन्छन् । यस कारणबाट दल विभाजित हुन सत्तापक्षको आश्वासन र सहयोगले ठूलो काम गरेको हुन्छ । पदलोलुपहरूलाई सत्ता पक्षको आश्वासन वा सहयोग नहुने हो भने यो कारणबाट हुने दल विभाजन रोकिन सक्दछ ।

९. बाह्य पक्षको चलखेल र उक्साहट

राजनीतिक दल सधै आन्तरिक कारणले मात्र फुट्दैनन्, त्यसभित्र बाह्य पक्षको चलखेल, हस्तक्षेप र उक्साहट हुन सक्दछ । बाह्य तत्त्वमा मूलतः अन्तर्राष्ट्रिय शक्ति केन्द्र, विरोधी दल, गुप्तचर संयन्त्र र सत्ता पक्ष हुन्छन् ।

यिनले विरोधी विचार, आन्दोलन र दललाई कमजोर पार्ने उद्देश्यले प्रेरित भएर कुनै दलभित्र चलखेल र उक्साहट गर्दछन् । फलतः राजनीतिक दलहरूको विभाजन हुन्छ ।

१०.सामाजिक मनोविज्ञानहरूको द्वन्द्व

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजमा एउटै राजनीतिक दलभित्र विभिन्न समुदायका मानिस हुन्छन् । तिनले सामुदायिक भावना पनि आफूसँगै लिएर आएका हुन्छन् । सामुदायिक वर्चस्वको भावना यसरी दलभित्र प्रवेश गर्दछ ।

दलभित्र सार्थक र न्यायसङ्गत समावेशीता हुन सकेन भने सामाजिक विविधताको मनोविज्ञान टकराउन थाल्दछ । दलभित्र कुन समुदायको वर्चस्व वा अनुपात बढ्दैछ भन्ने हेरिन्छ । सीमान्तकृत तथा कमजोर हुँदै गएको समुदायले कुन्ठित, राजनीतिक सुरक्षाको अभाव अनुभूति गर्न थाल्दछ । यस्तो मनोवैज्ञानिक दूरी दल विभाजनसम्म पुग्न सक्दछ ।

११. कमजोर हुँदाका अपजस

राजनीतिक दल कमजोर हुनुका आन्तरिक कारण मात्र हुँदैनन् । अनेक ऐतिहासिक परिस्थिति र समय सन्दर्भ हुन्छन् । मतदाताको सोचमै परिवर्तन आउन सक्दछ । जनतामा कुनै दलप्रतिकूल बहाब हुन सक्दछ । विचारधारामै नयाँ विकास हुन सक्दछ । अन्तर्राष्ट्रिय शक्ति-सम्बन्ध फेरिन्छन् । यस्ता अनेकन् बाह्य वा दीर्घकालीन प्रभाव पार्ने कारणले राजनीतिक शक्ति र दलहरू कमजोर हुन्छन् ।

तर, कमजोर भएको बेला दलभित्र भने स्थापित नेतृत्वलाई अपजस दिइन्छ । ‘सफलताका हजार पिता हुन्छन्, असफलता सधै टुहुरो हुन्छ’ भनेजस्तो सफलताको जस लिने चाहना सबैमा हुन्छ, असफलताको अपजस भने मान्छेले आफूबाट पन्छाउन र अरुमाथि थोपर्न खोज्दछ । यो कारणले पनि राजनीतिक दलहरू विभाजित हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved