उपनिर्वाचन नतिजा विश्लेषण : कांग्रेस किन झन् कमजोर ?

कांग्रेस र कम्युनिष्टबीच हिजो गहिरो वैचारिक भिन्नता थियो । तर, आज यो वैचारिक नभएर एक प्राविधिक छनोटको विषय बन्न पुगेको छ । कांग्रेस–कम्युनिष्ट दुवैलाई मान्छेले एउटै ‘लेफ्ट– लिवरल’ प्याकेजभित्र राख्न थालेका छन्। अन्य शक्तिको कमजोरी वा विभाजनले मात्र कांग्रेस बलियो हुन सक्दैन । कांग्रेस बलियो हुन आफैँ सुध्रनुपर्छ ।

उपनिर्वाचन नतिजा विश्लेषण : कांग्रेस किन झन् कमजोर ?

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएका दुवै निर्वाचन क्षेत्र इलाम–२ र बझाङ प्रदेशसभा १ मा प्रमुख प्रतिपक्षी तथा प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस पराजित भएको छ । पराजित मात्र भएको छैन, कांग्रेसको समर्थन-आधार सङ्कुचन र मतसमेत घटेको छ ।

कांग्रेस पराजयको एक महत्त्वपूर्ण कारण कम्युनिष्ट गठबन्धनलाई मान्ने गरिन्थ्यो । २०७९ को आमनिर्वाचनमा यो तर्क प्रणाली ठीकै जस्तो देखिन्थ्यो । तर, यसपटकको उपनिर्वाचनमा कम्युनिष्ट एकता र वामपन्थी गठबन्धन थिएन ।

इलाममा एमालेलाई माओवादी केन्द्रको समर्थनबाहेक कम्युनिष्ट समूह भिन्नाभिन्नै चुनाव लडेका थिए । यहाँसम्म कि इलाममा एकीकृत समाजवादीले भिन्नै उम्मेदवारी दिएको थियो । तर, यस दलका उम्मेदवार जीतबहादुर राईले उल्लेखनीय मत प्राप्त गर्न सकेनन् ।

इलाममा दशकौंदेखि नेपाली कांग्रेस पराजित हुँदै आएको हो । वि.सं. २०४० को दशकदेखि नै इलाम एमालेको आधार क्षेत्रजस्तो जिल्ला हो । यहाँ पञ्चायती व्यवस्थाको उत्तरार्धतिरको राष्ट्रिय पञ्चायत निर्वाचनसमेत तत्कालीन प्रतिबन्धित तथा भूमिगत दल नेकपा (माले) का डा. नोवलकेमी राईले जितेका थिए ।

इलाममा कांग्रेस पराजित हुनु कुनै नयाँ घटना भएन । भोट किन घट्यो भन्ने प्रश्न कांग्रेसका लागि महत्त्वपूर्ण हुन सक्दछ । तर, तुलनात्मकरूपमा पार्टीको बलियो पकड रहँदै आएको बझाङ प्रदेशसभा १ मा कांग्रेस किन हार्‍यो ? बझाङमा कम्युनिष्ट गठबन्धन थिएन । नयाँ दल रास्वपा वा कुनै प्रभावशाली स्वतन्त्र उम्मेदवार पनि थिएनन्, जस्तो कि इलाममा थियो ।

बझाङमा तीनवटै ठूला कम्युनिष्ट समूह एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले भिन्नाभिन्नै उम्मेदवारी दिएका थिए । एमालेका दमनबहादुर भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह ११ हजार ३४६ मतमा सीमित भए ।

माओवादीका जनकबहादुर बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २१४ मत पाए । यसको अर्थ यी दुई दलले कम्युनिष्ट भोट पर्याप्तरूपमा चुँडेका पनि हुन् । तीन ठूला कम्युनिष्ट समूहबीच उल्लेखनीय मत विभाजन भएको हो । तर, पनि झिनै मतले सही, नेपाली कांग्रेस पराजित भयो ।

गत निर्वाचनमा यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए । हुन त त्यो बेला कांग्रेसलाई माओवादीलगायत पाँचदलीय गठबन्धनको समर्थन थियो । तथापि कांग्रेसले पछिल्लो महासमिति बैठकबाट निर्वाचनपूर्वको गठबन्धन कसैसँग नगर्ने निर्णय गरिरहँदा उसको धरातलीय यथार्थचाहिँ के छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

इलाम २ मा कांग्रेसले गत आमनिर्वाचनमा २९ हजार ९०६ मत पाएको थियो । एमालेका सुवास नेम्वाङसँग कांग्रेसका डम्बरबहादुर खड्का ११४ को झिनो मतान्तरले हारेका थिए । कांग्रेसको समानुपातिक मत नै यो निर्वाचन क्षेत्रमा २२ हजार ३३३ थियो ।

यसपटक पनि खड्का नै कांग्रेसका उम्मेदवार थिए । तर, उनले २१ हजार ९४२ मत मात्र पाए । उनी सुवासकै छोरा सुहाङसँग ५ हजार ८३० को मतान्तरले पराजित भए । सुहाङले २७ हजार ७७२ मत पाएका छन् ।

हुन तः पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपाका उम्मेदवार मिलन लिम्बूले मत काटेको तर्क गर्न सकिन्छ । मत त एमालेको काटिएको र घटेको छ । तर, काटिने मत अनुपात एमालेको भन्दा कांग्रेसको धेरै भयो । गत निर्वाचनमा भन्दा एमालेको २ हजार २४८ मत घटेको छ । त्यसका बाबजुद एमालेले फराकिलो मतान्तर बनाएको छ ।

नेपाली कांग्रेस देशको एक मात्र उदार-लोकतान्त्रिक धारको ठूलो पुरानो दल हो । उदाउँदो रास्वपालाई एक क्षण बिर्सने हो भने कम्युनिष्टका धेरै समूहजस्तो कांग्रेसको स्पेशमा मत चुड्ने कुनै बलियो दल छैन ।

राप्रपा राजावादी दल हो । निर्दलीय पञ्चायत र शाहवंशको शासनको गर्भबाट जन्मिएको रुढीवादी दल हो । राप्रपालाई नेपाली जनमतले लोकतान्त्रिक धारको एक प्रतिस्पर्धी दल मान्दैन । इतिहासका सबै कालखण्डमा परिवर्तन, लोकतन्त्र, आधुनिकता, विज्ञानसम्मत सोच र जनआकांक्षाको विरुद्धमा रहँदै आएको यो दल कहिल्यै गतिलो प्रतिस्पर्धामा छैन । यो नेपाली कांग्रेसको विकल्प पनि हैन । दुवै उपनिर्वाचनमा राप्रपाले उल्लेख गर्नलायक मत प्राप्त गरेको पनि छैन ।

कम्युनिष्टहरूको विभाजनले कांग्रेसलाई निर्वाचन परिणाम हात पार्न सहज बनाउने भाष्यले उपनिर्वाचनमा काम गरेको देखिन्न । कम्युनिष्टहरू जति विभक्त हुँदै गएका छन्, उत्तिकै उनीहरूले कांग्रेसकै मत चुँडेका छन् । कांग्रेस विरोधी सोच र चिन्तन नै विस्तार गरेका छन् ।

कम्युनिष्टहरूको पनि वैचारिक विरासत, विश्व इतिहास र लोकतान्त्रिक निष्ठा त्यति गलितो छैन । सन् १९९१ मा सोभियत संघको विघटन हुनुअघि नेपालका सबै कम्युनिष्ट समूह एक दलीय प्रणालीमा विश्वास गर्थे । एमाले २०४९ सालको पाँचौं महाधिवेशनदेखि मात्र ‘बहुदलीय जनवादी’ भएको हो । अहिले त एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीमाथि दुई-दुईपटक असंवैधानिक र अलोकतान्त्रिक संसद् विघटन गरेको आरोप पनि छ ।

माओवादी समूहहरू अस्ति भर्खरैसम्म नयाँ जनवादी क्रान्तिका लागि सशस्त्र विद्रोह गर्दै थिए । मधेसकेन्द्रित दल मधेसमै सीमित छन् । राष्ट्रियस्तरमा प्रतिस्पर्धी छैनन् ।

यस दृष्टिबाट आफ्नो राजनीतिक स्पेशमा कांग्रेस एक प्रकारले निर्विकल्पजस्तो देखिन्छ तर, पनि उ झन्झन् कमजोर हुँदै गएको छ । पहाडमा कम्युनिष्ट समूहहरूले र मधेसमा मधेसकेन्द्रित दलले कांग्रेसको जनमत खोस्दै लगेका छन् । कांग्रेस निरिह र निरुपायजस्तो देखिएको छ ।

यसले के पुष्टि गर्दछ भने अन्य शक्तिको कमजोरी वा विभाजनले मात्र कांग्रेस बलियो हुन सक्दैन । कांग्रेस बलियो हुन आफैँ सुध्रनुपर्छ । कांग्रेस आफैँ बलियो हुन नसक्नुका मुख्य तीनवटा कारण देखिन्छन् ।

एक– नेपाली कांग्रेसको गतिहीन, अकर्मण्य र असान्दर्भिक भइसकेको पुरानो नेतृत्व । जति नै फाइँफुट्टी लगाए पनि जनताले महामन्त्री गगन थापालाई कांग्रेसको मूल नेतृत्व मान्दैनन् । कांग्रेस भन्नेबित्तिकै मतदाताको अनुहारमा सभापति शेरबहादुर देउवाकै झझल्को आउँछ । थापा एक स्टार प्रचारकजस्ता मात्र हुन्, थापाको पार्टीभित्रको निर्णाधिकार कमजोर छ भन्ने जनतालाई राम्रो थाहा छ ।

पार्टीभित्र गुट व्यवस्थापनको कलाबाट देउवा दुईपटक पार्टी सभापति र ५ पटक प्रधानमन्त्री त भए तर, उनको व्यक्तित्व र बोलीले मतदातालाई कुनै अपील गर्ने क्षमता राख्दैन । एउटै उमेर समूह र पुस्ताका भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली यस मानेमा देउवाभन्दा अगाडि छन् । एमालेलाई यसको फाइदा पनि भएको छ । यति ठूलो गुटीय झगडा र दल विभाजनका बाबजुद ओलीले आफ्नो दलको अस्तित्व जबर्जस्त जोगाउँदै आएका छन् ।

दुई– कम्युनिष्ट समूहसँगको दशकौं लामो सहकार्य र गठबन्धनले गर्दा मतदातालाई कांग्रेस र कम्युनिष्टबीच कुनै भिन्नता छ जस्तो लाग्दैन । कांग्रेस र कम्युनिष्टबीच हिजो गहिरो वैचारिक भिन्नता थियो । तर, आज यो वैचारिक नभएर एक प्राविधिक छनोटको विषय बन्न पुगेको छ । कांग्रेस–कम्युनिष्ट दुवैलाई मान्छेले एउटै ‘लेफ्ट– लिवरल’ प्याकेजभित्र राख्न थालेका छन्।

वैचारिकी, मौलिकता र भिन्न पहिचान निर्माणको भाष्यमा कांग्रेस निरन्तर ओरालो यात्रामा छ ।

तेस्रो- कांग्रेससँग देशका ज्वलन्त सवाल, आर्थिक तथा वित्तीय संकट, सेवाप्रदायन प्रारुप तथा राष्ट्रको भविष्यबारे बलियो कल्पनाशीलता र मार्गदर्शन नदेखिनु हो । कांग्रेसले कुनै नयाँ भिजन दिन्छ, देश बनाउँछ, राष्ट्र निर्माणमा योगदान गर्दछ भन्ने मान्छेमा कुनै विश्वास बाँकी छैन ।

ठूला भ्रष्टाचारका काण्डमा कम्युनिष्टसरह कांग्रेसी नेताहरूको संलग्नताले जनतालाई थप विकर्षित गर्दछ ।

दुवै क्षेत्रको उपनिर्वाचन परिणामले यो पुष्टि गर्दछ कि कांग्रेस सहज स्थितिमा छैन । विचार, संगठन र नेतृत्वको समग्र पुनर्गठनद्वारा आफूभित्रको तागतलाई पुनर्जिवित गर्न नसके कांग्रेस आगामी दिनमा झनै कमजोर हुन सक्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved