काठमाडौं । २०२८ साल, कम्युनिष्ट आन्दोलनमा यो वर्षलाई बारम्बार सम्झना गरिने मुख्य कारण हो— झापा विद्रोह । कम्युनिष्ट विरोधीले यसलाई ‘नक्सलाईट’ वा ‘मूड कट्टा’ आन्दोलन भन्दछन्, समर्थकले ‘झापा किसान विद्रोह’ ।
यसको पृष्ठ भागमा थियो, चीनमा माओ च तोङको सांस्कृतिक क्रान्ति र भारतमा चारु मजुमदार नेतृत्वको नक्सलवारी आन्दोलन । नक्सलवारी झापा पारि सिलिगुडी छेउको एक सानो गाउँ हो । यसै गाउँबाट ‘नक्सलवाद’ शब्द व्यक्तिहत्या केन्द्रित कम्युनिष्ट विद्रोहको पर्यायवाची बनेर संसारभर फैलियो ।
त्यो बेला तेह्रथुमको आठराईबाट झापा बसाइँ सरेका खड्गप्रसाद शर्मा ओली ऊर्फ केपी ओली एक पेशेवर युवा विद्रोही थिए । न उनको कुनै उद्यम/इलम थियो, न जागिर । रामनाथ दाहालको संरक्षकत्वका उनी ‘नक्सलवादी विद्रोही’ बनेका थिए ।
त्यो बेला रौतहट गौरका माधवकुमार नेपाल भने विराटनगरको एक बैंक शाखामा जागिरे थिए, खजान्चीको ।
रौतहट त्यो दुर्लभ जिल्लामध्ये एक थियो, जहाँ २०१० सालपछि नेपाल कम्युनिष्ट पार्टीको बलियो प्रभाव थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जितेका ४ सिटमध्ये २ सिट रौतहटबाटै थिए ।
बैंकका जागिरे माधवकुमार नेपाल भित्रभित्रै कम्युनिष्ट समर्थक थिए, उनी झापा विद्रोहलाई समर्थन र सहयोग गर्थे । यही क्रममा ओली झापाबाट विराटनगर आउँदा नेपालको डेरामा बस्ने गर्थे ।
यदाकदा माधवकुमार नेपाल रिसको झोकमा भन्ने गर्दछन्, केपीका लागि विराटनगरको उनको डेरा सधैँका लागि खुला थियो । केपीले माधवकुमार नेपालको कति छाक भात खाए, कुनै हिसाब छैन । हिँड्ने बेलामा गोजी खर्च पनि ओलीलाई नेपालले दिने गर्थे रे !
त्यो बिन्दुबाट ओली-नेपाल मित्रताको हिसाब गर्दा ५ दशकभन्दा केही बढी हुने रै’छ । ५ दशकभन्दा बढीको मित्रतापछि ओलीलाई लाग्छ, माधवकुमार नेपालको नाम लिँदा मुख कुल्ला गर्नु पर्दछ ।
माधव नेपाललाई लाग्छ, उनी प्रधानमन्त्री होलान् भन्ने पीरले ओलीको मन भत्भती पोल्ने गर्छ । ओलीको सम्पूर्ण ध्यान नै नेपाललाई रोक्न, कमजोर पार्न र सिध्याउन केन्द्रित छ ।
ओली-नेपाल सम्बन्धको दुर्दशा हेर्नेलाई भने लाग्छ, यस्तो पनि के मित्रता, जो ५ दशकपछि मुख कुल्ला गर्ने र स्वयम् मित्रलाई सिध्याउने बिन्दुमा पुग्दछ । ओली-नेपालको जस्तो मित्रता त कसैको नहोस् ।
झापा आन्दोलन शिथिल हुँदै गएपछि हराएका मोहनचन्द्र अधिकारीलाई खोज्न ओली भारततिर गएका थिए । फर्किँदा उनीहरू गौरबाट नेपालतिर पसे । २०३० साल असोज २३ गते प्रहरीले ओली र अधिकारीलाई रौतहटबाट पक्राउ गर्यो ।
झापा आन्दोलनको रापतापमा नेपालले जागिर छोडे, बिशृङ्खलित भएको कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्न कोअर्डिनेशन केन्द्र बनाउन लागे । यो पनि संयोगकै कुरा हो कि झापा विद्रोहको शिथिलतापछि भूमिगत भएका ओली-नेपालको गृहजिल्ला रौतहटबाट पक्राउ परे ।
झापा आन्दोलन शिथिल हुँदै गएपछि हराएका मोहनचन्द्र अधिकारीलाई खोज्न ओली भारततिर गएका थिए । फर्किँदा उनीहरू गौरबाट नेपालतिर पसे । २०३० साल असोज २३ गते प्रहरीले ओली र अधिकारीलाई रौतहटबाट पक्राउ गर्यो ।
२०३० कात्तिक १३ गते गौर प्रहरीको हिरासतमा दिएको बयानमा ओलीले भनेका छन्— झापा जिल्ला कमिटीका साथीहरूसँग मेरो विचार मिल्न छोडेपछि मलाई हटाएर साथीहरूले जिल्ला कमिटी पुनर्गठन गरे । झापा जिल्लामा उग्रवादी विचारधाराको बहुमत भएपछि म आफ्नो कार्यक्षेत्र अन्यत्रै बनाउन लागेँ । ४५ दिनअघि यहाँ इनरबारी गाउँमा आएको हुँ ।
ओलीको यो बयानले पुष्टि गर्दछ कि उनलाई झापाभन्दा आफ्नो विचारका लागि रौतहट अनुकूल हुन्छ भन्ने लागेको थियो ।
बैंकको जागिर छोडेर पेशेवर कम्युनिष्ट कार्यकर्ताको भूमिगत जीवन प्रारम्भ गरेपछि नेपालको आधार क्षेत्र पनि मध्य तराई नै थियो । नेपाल भने अधिकांश समय धनुषाका गाउँमा भूमिगत बस्थे ।
रौतहटमा पक्राउ परेसँगै ओलीको लामो जेल जीवन सुरु भयो । यता नेपालसहित जीवराज आश्रित, मदन भण्डारीलगायतले पार्टी पुनर्गठन प्रक्रिया प्रारम्भ गरे । नख्खु जेल ब्रेक गरेर भागेका सीपी मैनालीलगायतका नेता पनि यसमा सामेल भए ।
झापाली समूह र पुष्पलाल समूहबाट निस्किएको मुक्ति मोर्चाबीच सहकार्य र एकता प्रारम्भ भएको थियो । मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितलगायतका नेता मुक्ति मोर्चा समूहका थिए ।
ओली जेलमा हुँदा पार्टीको आन्तरिक शक्ति संरचना फरक भइसकेको थियो । तत्कालीन मालेको सर्वोच्च शक्ति-संरचना पोलिटब्यूरोमा ५ जना थिए । मदन भण्डारी, जीवराज आश्रित, झलनाथ खनाल, माधवकुमार नेपाल र सीपी मैनाली । यसरी नेपाल ओलीभन्दा अघि लागिसकेका थिए ।
२०३५ सालमा माओ च तोङको जन्म दिन डिसेम्बर २६ पारेर नेकपा (माले) को गठन भयो । मदन भण्डारीको गाउँ मोरङको इटहारामा । मालेको संस्थापक महासचिव थिए, सीपी मैनाली । तर, आफ्नै गाउँमा पार्टी स्थापनाको भूमिगत भेला सफलतापूर्वक आयोजना गर्न सकेका कारण मदन भण्डारीको स्वीकार्यता र प्रभाव बढ्दै गयो । एक दशकपछि २०४५ साल भदौमा भएको सिरहाको सर्रे अब्बासको चौथो महाधिवेशनबाट भण्डारी महासचिव भए ।
ओली जेलमा हुँदा पार्टीको आन्तरिक शक्ति संरचना फरक भइसकेको थियो । तत्कालीन मालेको सर्वोच्च शक्ति-संरचना पोलिटब्यूरोमा ५ जना थिए । मदन भण्डारी, जीवराज आश्रित, झलनाथ खनाल, माधवकुमार नेपाल र सीपी मैनाली । यसरी नेपाल ओलीभन्दा अघि लागिसकेका थिए ।
बाहिर भने लामो जेल बसेको कारणले आरके मैनाली, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र ओलीको लोकप्रियता बढी थियो । राम्रा लेखक भएको कारणले प्रदीप नेपाल पनि चर्चामा थिए, सञ्जय थापाको नामले ।
तर, यी जनताका बीच लोकप्रिय र नाम चलेका नेताहरू पार्टीको आन्तरिक शक्ति संरचनामा बलिया थिएनन् । ५ सदस्यीय पोलिटब्यूरोमा सीपी मैनाली एक्लाजस्ता थिए । पूर्वमहासचिवका रूपमा मात्र उनलाई स्थान दिइएको थियो ।
झलनाथ खनालको कथा भिन्नै छ । २०३८ सालको विवाद र सीपी मैनालीको राजीनामापछि चौथो महाधिवेशनसम्म खनाल महासचिव रहे । खनाल मैनालीझैँ भण्डारीका सदाबहार विरोधी थिएनन् । तर, बलिया समर्थक पनि थिएनन् ।
बाँकी तीनजना मदन भण्डारी, माधवकुमार नेपाल र जीवराज आश्रितको भने बलियो गुट बन्यो । ५ जनाको पोलिटब्यूरोमा ३ जनाको सदाबहार बहुमत हुन्थ्यो । भण्डारीका लागि यो सहजता थियो । नेपाल मदन भण्डारीका सबैभन्दा ठूलो सहयोगी र व्यवस्थापक भएर उदाए ।
जेलबाट छुट्दा ओलीको काठमाडौंमा डेरासमेत थिएन । केही महिना त उनले साथीहरूको डेरामा एकदुई रात गर्दै बिताए । काठमाडौं क्षेत्रमा नेपालको प्रभाव थियो । उनैले काठमाडौंमा ओलीको आधारभूत व्यवस्थापन मिलाए ।
माधवकुमार नेपाल त योसमेत भन्छन् कि उनैले ओलीको बिहेका लागि सुरेन्द्र पाण्डेमार्फत राधिका शाक्यसँग कुरा चलाएका थिए । राधिका शाक्य त्यो बेला भूमिगत पार्टीको ललितपुर जिल्ला कमिटीमा सदस्य थिइन् । पछि उनी जागिरे भइन् । राधिकाको जागिरले ओलीको जेलपश्चात्को जीवन व्यवस्थित गर्न ठूलो मद्दत गर्यो ।
२०४६ सालको जनान्दोलनताका ओली भूमिगत पार्टीको लुम्बिनी अञ्चल इन्चार्ज थिए । उनको डेरा बुटवलतिर थियो । आन्दोलनको सफलतापछि भने माधवकुमार नेपाल संविधान सुझाव आयोगको सदस्य भए, झलनाथ खनाल अन्तरिम सरकारको मन्त्री । पार्टी सङ्गठन विभाग प्रमुख जीवराज आश्रित थिए भने मदन भण्डारी शक्तिशाली महासचिव ।
झापा विद्रोह, जसको जगमा नेकपा (माले) बनेको थियो, चारै ठूला हस्ती सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी र केपी ओली दोस्रो दर्जाका नेताजस्ता देखिए । ओली त यी चारमध्ये पनि सबैभन्दा ‘जुनियर’ मानिन्थे ।
मदन भण्डारी २०४७ साल कात्तिक २४ गतेदेखि मात्र सार्वजनिक जीवनमा आए । खुलामञ्चमा उनको पहिलो भाषण नै भव्य भयो । सार्वजनिक जीवनमा मदन भण्डारीको चर्चा र लोकप्रियता एकाएक चुलियो ।
२०४८ को आम निर्वाचनअघि माले र मार्क्सवादी एकता भएर एमाले बनिसकेको थियो । तीन ठूला नेताहरू थपिएका थिए मनमोहन अधिकारी, सहाना प्रधान र भरतमोहन अधिकारी ।
२०४८ सालको आम निर्वाचनपछि मदन भण्डारीले मनमोहन अधिकारीलाई विपक्षी दलको नेता र सीपी मैनालीलाई उपनेता बनाएर पार्टी भित्रको शक्ति सन्तुलन मिलाए । माधवकुमार नेपाल राष्ट्रिय सभामा विपक्षी दलको नेता हुन गए ।
२०४९ सालको पाँचौँ महाधिवेशनले एमालेभित्र नयाँ ध्रुवीकरण ल्यायो । मदन भण्डारीले पार्टीको नयाँ सोचका रूपमा ‘जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरे । सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ नामको दस्तावेज अघि सारे । मोहनचन्द्र अधिकारीले पार्टीको पुरानो कार्यक्रम ‘नयाँ जनवाद’ नै अघि बढाउनुपर्ने प्रस्ताव ल्याए ।
मोहनचन्द्र अधिकारीले मोरङबाट चुनाव हारे । जीवराज आश्रितले गुल्मी र मोदनाथ प्रश्रितले अर्घाखाँचीबाट चुनाव हारे । चुनाव हारेका नेताहरूको भूमिका त्यसै पनि कमजोर देखियो ।
चुनाव जितेका झलनाथ खनाल, आरके मैनाली र ओलीको भूमिका र स्थान अझै माथि पुग्न सकेको थिएन । पश्चिमबाट वामदेव गौतमको समानान्तर उदय भइरहेको थियो । उनले बर्दियाबाट जितेका थिए । यो अवधिमा ओली युवा सङ्घका अध्यक्ष थिए ।
झापाली र गैरझापाली नेताबीच मनोवैज्ञानिक दूरी बढ्दै गइरहेजस्तो देखिन्थ्यो । आरके-सीपी निरन्तर असन्तुष्ट देखिन्थे । तर, भण्डारीले तीनै पक्ष झापाली, गैरझापाली र मार्क्सवादीबाट आएकाहरूको बीचमा सन्तुलन कायम गर्ने अधिकतम् प्रयत्न गरिरहे ।
२०४९ सालको पाँचौँ महाधिवेशनले एमालेभित्र नयाँ ध्रुवीकरण ल्यायो । मदन भण्डारीले पार्टीको नयाँ सोचका रूपमा ‘जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरे । सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ नामको दस्तावेज अघि सारे । मोहनचन्द्र अधिकारीले पार्टीको पुरानो कार्यक्रम ‘नयाँ जनवाद’ नै अघि बढाउनुपर्ने प्रस्ताव ल्याए ।
झलनाथ खनाल सीपी मैनालीतिर लागे । मनमोहन अधिकारीको ‘मौन समर्थन’ पनि मैनालीलाई थियो । ठीक यही बेला मदन भण्डारी समर्थकको बलियो टिम बन्यो । भण्डारीको टिममा माधव नेपाल र केपी ओलीको सहकार्य नयाँ स्तरमा विकास भयो ।
मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा निधनपछि यही सहकार्य प्रकारान्तले पार्टीको नयाँ संस्थापन पक्षका रूपका विकास भयो, जसलाई पछि ‘माधव-केपी गुट’ भन्न थालियो ।
२०२८ सालको मित्रताको प्रारम्भबाट हेर्दा करिब ५ दशक भएजस्तो माधव-केपी बलियो सहकार्यको दोस्रो अवधि २०४८ सालयता ३ दशकभन्दा बढीको हुन्छ ।
२०५० साल जेष्ठ ३ गतेको दासढुङ्गा दुर्घटनाले एमाले राजनीतिमा नयाँ मोड आयो । मदन भण्डारी-जीवराज आश्रित, जो त्यो बेलाको पार्टीको आन्तरिक शक्ति संरचनाको वास्तविक मुटु थिए, दुवै एउटै दुर्घटनामा सँगै यो संसारबाट बिदा भए ।
त्यसपछि पार्टी महासचिव बने, माधवकुमार नेपाल । यसरी प्रारम्भ भएको नेपालको पार्टी प्रमुखको जिम्मेवारी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीको पराजय र राजीनामासम्म करिब १५ वर्ष निरन्तर रह्यो ।
२०३५ सालमा स्थापित भएको माले धारको इतिहासमा नेपाल अहिलेसम्म पनि सबैभन्दा लामो समय निरन्तर पार्टी प्रमुख हुने नेता हुन् । यस्तो अवसर अरु कसैले पाएनन् ।
सीपी मैनालीको कार्यकाल २०३५-२०३९ सम्म करिब ४ वर्षको थियो । झलनाथ खनालको २०३९-२०४५ सम्म करिब ६ वर्षको । मदन भण्डारीको २०४५-२०५० सम्म करिब ५ वर्षको । २०६४ मा माधवकुमार नेपालको राजीनामापछि झलनाथ खनालले दोस्रोपटक २०७१ सम्म करिब ७ वर्ष नेतृत्व गरे । ओलीको कार्यकाल अहिले पनि माधवकुमार नेपालको जति पुगेको छैन । उनी अहिले १०औं वर्षमा छन् ।
यो मित्रता र सहकार्यको सबैभन्दा बलियो र जटिल क्षण थियो, २०५४ को एमालेको छैठौँ महाधिवेशन अघिपछिको परिवेश । माधव-केपीले एकीकृत महाकाली सन्धिको पक्षपोषण गरे । वामदेव-सीपीको नेतृत्वमा विपक्षी ध्रुव निर्माण भयो । पूर्वमार्क्सवादी नेतामा मनमोहन-भरतमोहन अधिकारी दाजुभाइ माधव-केपीको पक्षमा लागे भने सहाना प्रधान वामदेव-सीपीको पक्षमा । एमाले इतिहासमा यो सत्ता सङ्घर्ष सर्वाधिक घमासानपूर्ण थियो ।
दासढुङ्गा काण्डपछि माधव-केपी सहकार्य झनै बलियो भयो । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा माधवकुमार नेपाल उप्रधान, रक्षा तथा परराष्ट्रमन्त्री थिए भने केपी शक्तिशाली गृहमन्त्री ।
यो मित्रता र सहकार्यको सबैभन्दा बलियो र जटिल क्षण थियो, २०५४ को एमालेको छैठौँ महाधिवेशन अघिपछिको परिवेश ।
माधव-केपीले एकीकृत महाकाली सन्धिको पक्षपोषण गरे । वामदेव-सीपीको नेतृत्वमा विपक्षी ध्रुव निर्माण भयो । पूर्वमार्क्सवादी नेतामा मनमोहन-भरतमोहन अधिकारी दाजुभाइ माधव-केपीको पक्षमा लागे भने सहाना प्रधान वामदेव-सीपीको पक्षमा । एमाले इतिहासमा यो सत्ता सङ्घर्ष सर्वाधिक घमासानपूर्ण थियो । अन्ततः २०५४ साल फाल्गुन २१ गते एमाले विभाजित भयो । वामदेव-सीपीले सहाना प्रधानको अध्यक्षतामा भिन्नै पार्टी बनाए, २०३५ सालको नाम ब्युँताए नेकपा (माले) ।
शक्ति सङ्घर्षको यो चरण २०५६ को आम निर्वाचनमा पुगेर समाप्त भयो । चुनाव प्रचारप्रसारकै क्रममा भावी प्रधानमन्त्री घोषित मनमोहन अधिकारीको निधन भयो । मालेले ‘शानदार शून्य’ सिट ल्यायो । वामदेव गौतम-सीपी मैनालीको फुरफुर सधैँका लागि समाप्त भयो ।
त्यसपछिका दिनमा भने माधव-केपीबीच राजनीतिक तथा मनोवैज्ञानिक दूरी बढ्न थाल्यो । यिनीहरू नै फरक तथा समानान्तर नेताजस्तो देखिन थाले । माधवकुमार नेपाल केपी ओलीले गुटबन्दी गरेर दु:ख दिएको गुनासो गर्थे । केपी अब एकपटक माधवले आफूलाई पार्टी प्रमुखका लागि सहयोग गर्नुपर्ने धारणा राख्थे । तर, जब ओलीले बुझे कि माधव उनलाई सहयोग गर्ने मनस्थितिमा छैनन्, कहिल्यै गर्ने छैनन्, उनले भिन्नै गुट बनाउन थाले ।
यतिको लामो सहकार्य भएको साथी एकपटक त माधवले केपीलाई सहयोग गरेको भएको भए पनि त हुन्थ्यो । के सधैँ केपीले मात्र माधवलाई काँध थाप्नुपर्ने हो र ? केपीले माधवलाई ४ पटक काँध थापे ।
दासढुङ्गा काण्डपछि महासचिव हुँदा । एकीकृत महाकाली सन्धिको जटिल मतभेदको समयमा । छैठौँ महाधिवेशन र त्यसपछिको पार्टी विभाजनमा । २०५६ सालको आम निर्वाचन र लोकप्रिय नेता मनमोहन अधिकारीको निधनपछिको अवस्था ‘व्यवस्थापन’ गर्न ।
यदि यस बिन्दुबाट सोच्ने हो भने केपीका कुरा पनि नाजायज हैनन् । केपीले माधवलाई धेरैपटक काँध थापेकै हुन् तर, माधवले केपीलाई पार्टी प्रमुखको लागि कहिल्यै सहयोग गरेनन् । माधव नेपालको यही कृतघ्नता त थिएन, जसको बदला अहिले केपी माधवलाई सकेसम्म कमजोर पारेर, अपमानित गरेर लिँदैछन् ।
ओली गुट २०५६ को आम निर्वाचनपछि नै बन्न थालेका थियो । तर, यो गुट निकै कमजोर थियो । ओलीको सबैभन्दा ठूलो सहयोगी नेता थिइन्, विद्या भण्डारी । पार्टीका वरिष्ठ नेताहरूले साथ नदिएपछि ओलीले कनिष्ठ नेताहरूलाई लिएर गुट बनाउन थाले ।
महिला सङ्घ, युवा सङ्घ, मजदुर सङ्घ र विद्यार्थी सङ्गठनलाई ओलीले आफ्नो गुट बलियो बनाउने आधार बनाए । महिला सङ्घको नेतृत्व विद्या भण्डारीले गर्थिन् । युवा सङ्घमा महेश बस्नेत थिए । मजदुर सङ्घमा विष्णु रिमाल र विद्यार्थी गङ्गठनमा भानुभक्त ढकाल ।
जब ओली गुटको शक्ति बढ्दै गयो, माधवकुमार नेपालको नजिक रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप नेपाल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली पनि विस्तारै ओली गुटमा पुगे ।
२०६५ को बुटवलको महाधिवेशन केपी ओलीको माधवकुमार नेपालसँग चित्तदुखाइको अर्को ठूलो कारण थियो । किनकि माधवकुमार नेपालले आफू प्रतिस्पर्धी हुन्जेल त ओलीलाई साथ दिएनन् दिएनन्, आफूले छोडेको बेला पनि ओलीलाई समर्थन गरेनन् ।
जनकपुरको सातौँ महाधिवेशनसम्म ओली एक कमजोर र निरिह जस्तो देखिन्थे । बुटवलको आठौँ महाधिवेशनसम्म पुग्दा उनी निकै शक्तिशाली भइसकेका थिए ।
२०६५ को बुटवल महाधिवेशन केपी ओलीको माधवकुमार नेपालसँग चित्तदुखाइको अर्को ठूलो कारण थियो । किनकि माधवकुमार नेपालले आफू प्रतिस्पर्धी हुन्जेल त ओलीलाई साथ दिएनन् दिएनन्, आफूले छोडेको बेला पनि ओलीलाई समर्थन गरेनन् ।
पार्टीभित्र झलनाथ खनालको कुनै बलियो गुट थिएन । आन्तरिक पार्टी राजनीतिमा उनी अत्यन्त कमजोर नेता मानिन्थे । तर, २०६४ को पहिलो संविधान सभाको हारपछि जब माधवकुमार नेपालले राजीनामा गरे, त्यसपछिका दिनमा आफूलाई सहयोग गर्न सक्ने केपीको अपेक्षा थियो । तर, त्यसो भएन । माधवकुमार नेपालको गुट सरक्कै झलनाथ खनालमा सर्यो । करिब १०० मतको झिनो अन्तरले ओली खनालसँग अध्यक्षमा पराजित भए ।
अब ओलीको ‘ईगो’ झन् कठोर हुँदै गयो । २०७१ असारको नवौँ महाधिवेनमा केपी-माधवकै बीचमा सिधा भीडन्त भयो । नेपाल ५८ मतको झिनो अन्तरले ओलीसँग पराजित भए । यसरी दशकौँ लामो सङ्घर्ष, धैर्यता र प्रतिस्पर्धापछि ओली एमालेमा हाबी हुन सके ।
आठौँ महाधिवशेनबाटै केपीमा माधवसँगका अपेक्षा समाप्त भइसकेका थिए । त्यसैको परिणाम थियो, नवौँ महाधिवेशनको भीषण सङ्घर्ष । यसपटक ओलीले कुनै पनि गोटी चाल्न बाँकी राखेनन् । तटस्थ बसेका झलनाथलाई अन्तिम समयमा ‘राष्ट्रपतिको लोभ’ दिएर आफूतिर ताने । वामदेव समूहलाई आफू प्रधानमन्त्री भएपछि पार्टीभित्र ‘कार्यवाहक पार्टी अध्यक्ष’ दिने आश्वासन दिएर मिलाए ।
यद्यपि ओलीका यी दुवै आश्वासन झुट सावित भए । उनले न झलनाथ खनाललाई राष्ट्रपति बनाए, न वामदेवलाई कार्यवाहक अध्यक्ष । दुवैलाई बढो नराम्ररी ढाँटे । यो बुझेपछि दुवै ओलीसँग नराम्ररी बिच्किए । अहिलेसम्म नै राम्ररी लाइनमा आएका छैनन् ।
माधवकुमार नेपालबारे ओलीको निष्कर्ष त्यतिखेर सही सावित भयो, जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालमा पनि नेपालले ओलीको साटो प्रचण्डलाई साथ दिए । नेकपा (नेकपा) लाई सर्वोच्च अदालतले नफुटाइदिएको र एकीकृत पार्टी महाधिवेशन भएको भए प्रचण्ड-माधव मिल्दा ओली अल्पमतमा पर्ने निश्चित थियो ।
माधवकुमार नेपालबारे ओलीको निष्कर्ष त्यतिखेर सही सावित भयो, जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालमा पनि नेपालले ओलीको साटो प्रचण्डलाई साथ दिए । नेकपा (नेकपा) लाई सर्वोच्च अदालतले नफुटाइदिएको र एकीकृत पार्टीको महाधिवेशन भएको भए प्रचण्ड-माधव मिल्दा ओली अल्पमतमा पर्ने निश्चित थियो ।
खासमा दुई-दुईपटक असंवैधानिक संसद् विघटन गर्नुपर्ने अवस्था आउनु पनि यही खेलको एक कडी थियो । ओलीलाई थाहा थियो कि प्रतिनिधि सभाको असंवैधानिक विघटन राम्रो हैन, यो इतिहासमै पनि एक कलङ्कको विषय हो । तर, ओली आफ्नो ठाउँमा बाध्य थिए ।
प्रचण्ड-माधव समूहले उनलाई घोक्रेठ्याक लगाएर निकाल्ने, दशकौँ लगाएर बनाएको ओली गुट एकाएक मटियामेट हुने सम्भावना थियो । यही बिन्दुमा ओलीले बरु इतिहासमा कलङ्कित भएर पनि नेतृत्व र गुट जोगाउने बाटो रोजे । एक प्रकारले सफल भए ।
जीवनमा बारम्बार काँध थापे पनि आफूलाई पार्टी प्रमुख बन्न कहिल्यै सहयोग नगरेको कृतघ्नताको बदला ओलीले नेपाललाई प्रधानमन्त्री बन्न रोकेर लिएका छन् ।
यसपटक शेरबहादुर देउवा र माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको चर्चा थियो । अमेरिका पुगेका उपेन्द्र यादव फर्किएपछि कुनै निष्कर्षमा पुग्ने तयारी रहेको भनिएको थियो । देउवा र नेपालले यादवसँग संयुक्त भिडिओ कल गरेको पनि बाहिरिएको छ ।
तर, ओली-प्रचण्डले अशोक राई-राजेन्द्र श्रेष्ठको सहयोगमा जनता समाजवादी पार्टी, नेपाल विभाजित गरेर माधवकुमार नेपालको प्रधानमन्त्री हुने सपना फेरि समाप्त गरिदिए । अबको ‘टार्गेट’ मा स्वयम् माधव नेपालको पार्टी छ । एकीकृत समाजवादीको एउटा समूह पार्टी विभाजन गरी एमालेसँग मिल्न गएमा कुनै आश्चर्य हुने छैन ।
समय-समयको कुरा हो, कुनै समय थियो केपी ओली माधवकुमार नेपालसँग सहयोगको याचना गर्थे । आज माधव नेपाल ओलीका सामु निकै कमजोर भएका छन् । युवाकालको गहिरो दोस्ती बुढेशकालमा भीषण दुश्मनीमा परिणत भएको छ ।
तर, विश्व कम्युनिष्ट आन्दोलनका जानकार भन्छन्— ‘कम्युनिष्ट-कल्चर’ मा यो सामान्य कुरा हो । सोभियत सङ्घ, पूर्वी यूरोप र चीनमा पार्टीभित्रको सत्ता सङ्घर्षको बेला जेल जानुपर्ने वा मारिनुपर्ने अवस्थासम्म थियो । यी त एकअर्काको नाममा मुख कुल्ला मात्र गर्दैछन्, कुन ठूलो कुरा भयो ?
Facebook Comment
Comment