टिप्पणी

प्रचण्ड-बाबुरामको सम्बन्ध : न गाली गर्न बेर, न गला मिलाउन

प्रचण्ड एमालेसँगको सत्ता साझेदारी र सहकार्य कसरी अगाडि जान्छ र आगामी निर्वाचनसम्म माओवादीको स्थिति के हुन्छ भन्ने प्रश्नमा केन्द्रित छन् । प्रचण्डको प्राथमिकता बाबुरामले भनेको ‘नेकपा’ को टाउको परित्यागतिर हैन, अझ बलियोगरी समाउन र नेकपा (नेकपा) ब्युँताउनतिर छ । 

प्रचण्ड-बाबुरामको सम्बन्ध : न गाली गर्न बेर, न गला मिलाउन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार आफ्नो लामो समयदेखिका राजनीतिक सहकर्मी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गर्दै भने— उहाँ सत्ताका लागि जे पनि गर्न सक्नुहुन्छ । चुनावअघि पानीमा भिजेको बिरालोजस्तो र चुनाव जित्नेबित्तिकै शेरजस्तो गर्जिन थाल्नुभएको छ ।

गत आमनिर्वाचनमा भने डा. भट्टराईले नै प्रचण्डको सङ्कट टारेका थिए । प्रचण्डको कुनै स्थिर निर्वाचन क्षेत्र थिएन र छैन पनि । १० वर्षे जनयुद्धको बैठान र शान्ति प्रक्रियापछि चुनावी राजनीतिमा आएयता चुनावैपिच्छे प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपरिरहेको थियो । २०७९ को आमनिर्वाचन कहाँबाट लड्ने भन्नेमा उनी अन्योलमै थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट चुनाव लडे, दुवैमा जिते । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा छोडेर सिरहा पुगे भने काठमाडौं १० मा मा पराजित भए ।

२०७४ को आमनिर्वाचनमा नेकपा (एमाले) सँग गठबन्धन थियो, आफ्नै गृहजिल्ला चितवनबाट सजिलै विजयी भए । त्यहीबीच चितवनको राजनीति गजमज भयो । छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएर गृहजिल्ला चितवनमा स्थिर निर्वाचन क्षेत्र बनाउने प्रचण्डको रणनीति र आकांक्षामा कल्पना नगरेको सङ्कट आयो । अनेक कारणले चितवन-राजनीतिले नयाँ मोड लियो ।

रवि लामिछाने चितवनको राजनीतिमा एक नयाँ स्टारका रूपमा देखा परे । प्रचण्डलाई यो सङ्कटको आभास भइसकेको थियो । तसर्थ, उनी कुनै नयाँ निर्वाचन क्षेत्रको खोजीमा थिए ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार पार्टीभित्र अध्यक्ष प्रचण्डका लागि निर्वाचन क्षेत्रको खोजी भइरहेको थियो । रोल्पा, सिन्धुली र गोर्खाको चर्चा थियो । यी ३ मध्ये पनि गोर्खा २ सहज हुने तर, त्यसका लागि डा. बाबुराम भट्टराईको सहमति र सहयोग आवश्यक पर्ने निष्कर्ष निकालियो ।

डा. भट्टराईले गोर्खा छोड्न नचाहे प्रचण्ड गोर्खा १ र बाबुराम गोर्खा २ बाट चुनाव लड्ने र दुवैले एकअर्कालाई सहयोग गर्नेसम्मको विकल्पमा छलफल भएको थियो । त्यसपछि प्रचण्ड-बाबुरामबीचको दूरी घट्दै गयो । बाबुराम गोर्खा १ मा सहयोग गर्ने प्रस्तावबाट अघि बढेर गोर्खा २ नै प्रचण्डलाई छोड्न राजी भए ।

त्यो बेलाका कुरा अझ धेरै गहिरा, परसम्मका र घनिष्ठ थिए । प्रचण्ड र बाबुरामबीच नयाँ स्तरको एकता र सहकार्य हुने भनिएको थियो । प्रचण्ड पार्टीको नाम परिवर्तन गर्न, माओवाद परित्याग गर्न र नेकपा (समाजवादी केन्द्र) बनाउनसमेत राजी भएको बताइएको थियो ।

बताइएअनुसार भट्टराई चुनावपछि पार्टीमा एकीकृत हुने, प्रचण्डले संसद् र सरकारको नेतृत्व गर्ने, भट्टराई संसद्‌मा नगएर प्रचण्डलाई संसदीय र राजकीय काममा सहजता सृजना गरिदिने, पार्टीको ‘नयाँ समाजवादी विचार’ को नेतृत्व, प्रशिक्षण र स्कूलिङ्ग निर्माण भट्टराईले गर्नेसम्मको छलफल भएको थियो ।

भट्टराई गोर्खा २ छोड्न राजी भएपछि प्रचण्डका लागि यो धेरै ठूलो राहत भएको थियो । त्यो बेला भट्टराई आफ्ना निकटस्थसँग भन्ने गर्थे— प्रचण्ड पार्टी रूपान्तरण गर्न सहमत भएका छन् । चुनावपछि नयाँ कोर्स पक्रिन सकिन्छ । लेफ्ट ग्राउन्डमा खेलेरै देशमा नयाँ शक्ति बनाउने हो अब । बाहिरबाट त झन् नहुने भयो ।

भट्टराईले गोर्खा २ छोड्नु र करिब १ दशकको दूरीपछि फेरि प्रचण्डसँग मिल्नुको दोस्रो कारण शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभारलाई देखाउने गरेका थिए । विश्लेषक भन्छन् कि अन्य कारणले जतिसुकै दूरी सृजना भए पनि यो कारणले सबै माओवादी वा पूर्वमाओवादी तुरुन्तै एक ठाउँ हुन सक्दछन् । तसर्थ, यिनीहरूबीच घृणाको कुनै भर हुन्न, प्रेम नै मुख्य रसायन हो ।

जस्तो कि बुधबारको भट्टराईको प्रतिक्रियापछि कनकमणि दीक्षितले एक्समा भनेका छन्— बाबुराम भट्टराई र पुष्पकमल दाहालबीच जति नै दूरी देखिए पनि द्वन्द्वकालका ज्यादतिमा जवाफदेहिताको कुरा वा सङ्क्रमणकालीन न्यायलाई सही बिन्दुमा पुर्‍याउने कुरा आयो भने एउटै टेबुलमा बसिल्छन् । नआएसम्म एकअर्कालाई कटाक्ष गर्‍यो, बस्यो ।

दीक्षितको यो भनाइले ‘प्रचण्ड-बाबुराम प्रेमघृणा’ बाह्य पक्षमा कसरी बुझिन्छ भन्ने एउटा दृष्टान्त दिन्छ ।

भट्टराईले गोर्खा २ मा प्रचण्डका लागि घर-घर चुनाव प्रचारमा हिँडे । गोर्खा त्यसै पनि माओवादी प्रभावित जिल्ला; त्यसमाथि दुवै नेता सँगै भोट माग्न घर-घर पुगेपछि प्रचण्डले जित्ने कुरामा कुनै शङ्का थिएन । प्रचण्ड ढुक्क भए ।

त्यो बेला भट्टराई गोर्खाली मतदातालाई भन्थे— मैले छोडेँ भनेर निराश नहुनुहोला । मभन्दा राम्रो र गोर्खाका लागि धेरै गर्न सक्ने उम्मेदवार ल्याएको छु । अब हामी मिलेर गोर्खाका लागि झन् धेरै काम गर्छौँ । मेरो कार्यकालका बाँकी विकासका अधुरा कार्य पूरा गर्दछौँ ।

माओवादी समर्थक जनता र कार्यकर्तालाई लाग्यो कि अब यी दुई नेता साँच्चै मिलेछन् । गोर्खामा दुवै नेताका समर्थक र कार्यकर्ता खुसी भए । नयाँ शक्तिमा लागेर करिब ७ वर्ष दु:ख पाएका कार्यकर्ता पनि आफ्नो मूलघर फर्किन पाउने आशाले उत्साहित देखिन्थे ।

तर, प्रचण्ड-बाबुराम सहकार्यको ‘अल्झो’ बाँकी नै थियो । प्रचण्ड पार्टीको नाममा ‘नेकपा’ कायम राखेर पछाडिको ‘माओवादी केन्द्र’ मात्र हटाउन चाहन्थे, बाबुराम पार्टीको नाम पूरै बदलेर ‘नेपाल समाजवादी पार्टी’ वा ‘नेपाल समाजवादी केन्द्र’ राख्न चाहन्थे । प्रचण्ड-बाबुरामको पछिल्लो ‘प्रेम’ फेरि यो बिन्दुबाट ‘घृणा’मा बदलियो ।

भर्खरै भट्टराईसँग सम्बन्ध तोडेर माओवादी केन्द्रसँग पार्टी एकताको तरखरमा रहेका महेन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठको कुरा भने अर्कै छ ।

उनीहरूका अनुसार चुनावअघि दुवै पार्टीले माओवादी केन्द्रको ‘गोलाकारभित्रको हसियाँहथौडा’ चुनावचिह्न लिने सहमतिसँगै चुनावपछि ‘नेकपा (समाजवादी केन्द्र)’ नाममा पार्टी एकता गर्ने सहमति भएको थियो ।

‘नेकपा नै फेर्ने वा नफेर्ने भन्नेबारेचाहिँ एकता महाधिवेशनसम्म बहस चलाउँदै जाने र निर्णयमा पुग्ने’ सहमति थियो । उनीहरूको भनाइमा प्रचण्डले धोका दिएका हैनन्, भट्टराई नै चुनावअघिको सहमतिबाट पछि हटेका हुन् ।

भट्टराईले प्रचण्डसँगको पछिल्लो सहकार्य तोड्ने आधार यसैलाई बनाए । उनले भने— नेकपा भनेको टाउको हो र माओवादी केन्द्र भनेको पुच्छर । टाउको कायमै राखेर पुच्छर हटाएर के हुन्छ ?

तर, यादव-श्रेष्ठ समूह ठान्दछ कि यही कारणले मात्र एकता रोकिएको हैन । त्यसका अन्य आन्तरिक कारण पनि छन् । भट्टराईपुत्री मानुषी यमीको छनोटमा गोर्खा २ हैन, काठमाडौं ७ परेको छ । उनी काठमाडौंबाटै दीर्घकालीन राजनीति गर्न चाहन्छिन् ।

माओवादीको चुनावचिह्नबाट उनले गत चुनावमा काठमाडौं ७ को परीक्षण गरिन् । काठमाडौंको सहरिया मध्यम वर्ग र नयाँ पुस्ताले माओवादी चुनावचिह्न स्वीकार गर्ने सम्भावना कम देखियो । पाँचदलीय गठबन्धनको समर्थन हुँदासमेत उनी पराजित हुन पुगिन् ।

चुनावमा धेरैले उनलाई भने— नयाँ पार्टी वा स्वतन्त्र चिह्नबाट उठ्नुभएको भए भोट दिन्थ्यौँ, हसियाँहथौडामा त चाहेर पनि दिन सकिन्नँ । नभन्दै त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले बाजी मारे ।

यादव-श्रेष्ठ समूहको आरोपअनुसार त भट्टराई दम्पत्तीका लागि प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एकका लागि पहल गर्ने सहमति थियो । यादव-श्रेष्ठ समूहको यो आरोप भने भट्टराईले अस्वीकार गर्दै आएका छन् । उनले राष्ट्रपति-उपराष्ट्रपतिको कुरा हैन, ‘नेकपा’ टाउको फेर्ने कि नफेर्ने भन्ने कुरा नै मुख्य राजनीतिक प्रश्न हो भन्ने गरेका छन् ।

हिजो यी सबै परिस्थिति थाहा हुँदा-हुँदै प्रचण्डलाई गोर्खा २ मा जिताउन सहयोग गर्ने र अहिले फेरि प्रचण्डमाथि नै सत्तालिप्साको आरोप लगाउने भट्टराईको तरिकालाई धेरैले राम्रो मानेका छैनन् ।

भट्टराईमाथि ‘सही समयमा सही निर्णय लिन नसक्ने र पछि पछुताउने’ नेताको आरोप लाग्ने गरेको छ । यही कारणले उनका नजिकका सहयोगीले एकपछि अर्को गर्दै साथ छोड्दै गएका छन् ।

भट्टराईनिकट कतिपय नेता भने ‘चुनावअघि भएका कुराकानीबाट भट्टराई उत्साहित भएको तर, चुनावपछि माओवादीभित्रको आन्तरिक शक्ति सन्तुलन नै बदलिएको’ कारण यस्तो अवस्था आएको ठान्दछन् ।

जानकारका अनुसार वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ हिजो प्रचण्डका निकटका सहयोगी एक प्रकारले दायाँ र बायाँ हात जस्तो मानिन्थे, अब त्यो स्थिति रहेन । दुवैलाई प्रचण्डले यसबीच नराम्रोगरी ‘साईजिङ्ग’ गरिदिएका छन् । यी दुवैको ‘आन्तरिक बार्गेनिङ्ग’ प्रचण्डलाई मन पर्न छोडेको छ । यसअघि जनार्दन र वर्षमानको जोड प्रचण्ड-बाबुरामलाई मिलाउने हुन्थ्यो । तर, अब परिस्थिति परिवर्तन भएको छ ।

पार्टी विधान अधिवेशनको समयमा प्रचण्ड-शर्माबीच दूरी देखियो पनि । एक प्रकारकले सार्वजनिक भनाभन नै भयो । प्रचण्डलाई लाग्यो कि शर्माले बाबुरामलाई पार्टीभित्र ल्याएर आफ्नाविरुद्ध समानान्तर गुट बनाउन खोज्दैछन् । यो विश्लेषणपछि प्रचण्ड झस्किए ।

प्रचण्डको दृष्टिकोणमा बाबुराम बडो ‘अप्ठ्यारो स्वभावका मान्छे’ हुन् । उनले एकपटक भनेका थिए— बाबुरामजस्तो अप्ठ्यारो मान्छेलाई मैले ३ दशक झेलेँ, कसैले १ वर्ष झेलेर देखाओस् !

प्रचण्डलाई बाबुरामको बेलाबेला आवश्यकता नपर्ने हैन । तर, उनी बाबुरामसँगको सम्बन्धमा कहिल्यै सहज र विश्वस्त हुँदैनन् । प्रचण्डले बाबुरामको पछिल्लो अभिव्यक्तिलाई पनि खासै महत्त्व दिएका छैनन् । उनका प्राथमिकता अन्तै छन् । प्रचण्ड एमालेसँगको सत्ता साझेदारी र सहकार्य कसरी अगाडि जान्छ र आगामी निर्वाचनसम्म माओवादीको स्थिति के हुन्छ भन्ने प्रश्नमा केन्द्रित छन् ।

प्रचण्डको प्राथमिकता बाबुरामले भनेको ‘नेकपा’ को टाउको परित्यागतिर हैन, अझ बलियोगरी समाउन र नेकपा (नेकपा) ब्युँताउनतिर छ । प्रचण्ड-बाबुराम सम्बन्धलाई लामो समयदेखि नजिकबाट नियालिरहेका जानकार भन्छन्— यिनीहरूको सम्बन्ध यस्तै हो, न गाली गर्न बेर लगाउँछन्, न गला मिलाउन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved