काठमाडौं । पछिल्लो पार्टी विभाजनसम्म आइपुग्दा उपेन्द्र यादव कमजोर मात्रै हैनन्, निरीह पनि बनेका छन् । हुन पनि उनी सङ्घीय संसद् प्रतिनिधि सभामा पाँच सांसदका नेतामा सीमित हुन पुगेका छन् । यतिसम्म कि उनी शक्तिमा हुँदा आफैँद्वारा उपेक्षित अर्का मधेसी नेता महन्थ ठाकुरसँग आशीर्वाद लिने अवस्थामा आइपुगेका छन् ।
१२ सांसदका नेता हुँदा उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठूलै भाग पाएका उपेन्द्र अहिले ‘न सत्ता, न पार्टी’को अवस्थाबाट गुज्रिएका छन् । जे होस्, उपेन्द्रको हिजोआजको मनोदशा ठीक चलिरहेको छैन । पार्टी विभाजनविरुद्ध अन्तिम विकल्पस्वरूप सर्वोच्च अदालत पुगेका उपेन्द्र अदालतसँग पनि विश्वस्त देखिँदैनन् ।
राष्ट्रिय राजनीतिमा स्थान बनाएयता सधैँ सत्ताको वरिपरि घुमिरहनुपर्ने, जसरी पनि सत्ता-शक्तिमा पुग्नैपर्ने, ठूलै पद लिनुपर्ने बानी परेका उपेन्द्रका लागि योभन्दा ठूलो सङ्कट के होला र ? उनी सत्ता र शक्तिबिना बाँच्न सक्दैनन् भन्ने कुरा धेरैपटक उनी स्वयम्द्वारा प्रदर्शित क्रियाकलापले देखाइसकेका छन् । त्यसमध्ये ताजा उदाहरण हो, २०८० वैशाख १० को बारा-२ उपनिर्वाचन । जहाँबाट उनले पछिल्लो संसदीय यात्रा सुरु गरेका थिए ।
किन विभाजित भइरहन्छ उपेन्द्र यादवको दल ?
त्यसो त उनी २०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँग दोब्बर मतले हारेका थिए । तर, सत्ताबिना बाँच्न नसकेपछि उनले बारा २ बाट निर्वाचित सांसद राम सहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएरै भएपनि उपनिर्वाचन लडे, जिते र उपप्रधानमन्त्रीसम्म बने ।
भनिन्छ— उनी आफ्नो पार्टी विभाजन हुनुपूर्व प्रधानमन्त्री बन्ने कसरतमा थिए । त्यो प्रलोभन हालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बाँडेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बदला लिने दाउ हेरिरहेको संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री बनाउने प्रस्ताव बाँडेपछि सत्ता नै ‘सबैथोक’ सम्झिने उपेन्द्रका लागि गजब नै भयो ।
तर, अहिले आएर त्यही प्रलोभनका कारण उपेन्द्रको प्रधानमन्त्री त के, हुँदाखाँदाको उपप्रधानमन्त्रीसमेत गुम्यो । त्यसैले अहिले उपेन्द्र ‘न सत्ता, न पार्टी’ भएका छन् ।
त्यसो त कुनै बेला उपेन्द्र मधेसका एक्ला प्रभावशाली नेता थिए । मधेसका जिल्लामा त उनी सर्वेसर्वा नै थिए । यतिसम्म कि ठूला दल त्यहाँ उपेन्द्रसँग डराउँथे । नेकपा (एमाले) त अझ प्रतिबन्धित जस्तै अवस्थामा थियो । तर, अहिले त्यही एमाले मधेसको सबैभन्दा ठूलो दल बनेको छ ।
यसबाट प्रष्ट हुन्छ कि उपेन्द्रका लागि मधेस नै पनि सुरक्षित छैन । त्यसको सङ्केत गत निर्वाचनले गरेको हो । हार-जित एउटा सामान्य प्रक्रिया भएपनि उपेन्द्र मधेसमा नै जुन मतान्तरसहित हारे, त्यो विश्लेषणयुक्त विषय थियो ।
उपेन्द्रको शक्ति क्षय, आइपुगे राजनीतिक ‘करिअर’को कठोर घुम्ती !
अन्तरिम संविधान २०६३ मा सङ्घीयता नअटाएपछि त्यसविरुद्ध उठेको आन्दोलनबाट राजनीति राजनीतिमा छाप छाड्न सफल उपेन्द्र मधेसी जनअधिकार फोरमबाट जनता समाजवादी पार्टी, नेपालसम्म आइपुग्दा ‘सेनाबिनाका सेनापति’झैँ भएका छन् ।
काठमाडौं उक्लिएपछि उपेन्द्रले मधेसका मुद्दा भुलेको सत्य हो । मधेसका विभिन्न मुद्दासँगै सङ्घीयता, पहिचानलगायतका एजेन्डा उठाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र अहिले आफ्नै कार्यशैली र आफ्नै इतिहास उपेक्षा कारण निरीह बन्न पुगेका छन् ।
मधेसी राजनीतिका जानकार एवम् विश्लेषक सुरेन्द्र लाभको ठम्याइँ पनि यही छ । भन्छन्— उपेन्द्रजी अब मधेसको नेता रहनुभएन । सुरुमा मधेसको आन्दोलनमा उहाँले योगदान गरेको पक्कै हो तर, सत्तामा पुगेपछि उहाँले मधेसको नेता हुने ‘क्वालिटी’ नै गुमाउनुभयो । मुद्दाहरू छाड्दै जानुभयो, अहिले त उहाँलाई कुनै वास्ता पनि छैन । त्यसकारण यो पछिल्लो प्रकरणसम्म उहाँ आइपुग्नुपर्यो ।
मधेसको बुझाइ छ कि उपेन्द्रले पार्टीको नाम मात्रै फेरेनन्, त्यससँगै पार्टीको मूलभूत उद्देश्य र मुद्दा पनि भुल्दै गए । “मधेसका मूलभूत मुद्दालाई नै उहाँले उपेक्षा गर्नुभयो, मधेसीलाई नै उपेक्षा गर्नुभयो । फलत: उहाँ यहाँ आइपुग्नुभयो । मधेसको बुझाइ यही हो,” विश्लेषक लाभ भन्छन् ।
उसो त उपेन्द्रले जतिबेला मधेसी जनअधिकार फोरमलाई सङ्घीय समाजवादी फोरम बनाउँदै थिए, त्यसबेला एउटा अभिव्यक्ति दिएका थिए—नेपालमा मधेसवाद भन्ने कुनै राजनीतिक विचारधारा छैन ।
किन विभाजित हुन्छन् राजनीतिक दल ? यस्ता छन् मुख्य ११ कारण
उपेन्द्रको यो भनाइप्रति मधेसमा एक तहमा बहस नै उठेको थियो । मधेसी जनताबाट स्थापित भएका उपेन्द्रले मधेसबारे त्यो तहको अभिव्यक्ति दिन नहुने ‘पब्लिक रिभ्यूईङ्ग’ थियो । त्यसैले धेरैले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँगको उनको पछिल्लो हारलाई त्योसँग तुलना गरे । त्यसबेला धेरैले सामाजिक सञ्जालमा लेखेको देखिन्थ्यो— उपेन्द्र मधेसवादी नेता होइनन्, मधेसवादमा विश्वास गर्दैनन्, त्यसैले दोब्बर मतले निर्वाचन हार्नुपर्यो ।
मधेस र मधेसी मुद्दालाई बिर्सनु उपेन्द्रको एउटा-घटनारेखा थियो तर, त्यससँगै उनले ‘जातीय राजनीति’ लाई बढावा दिए । मधेसलाई बिर्सिँदै, मुद्दाहरू भुल्दै र पार्टी/सङ्गठनभित्र पनि स्वेच्छाचारीता प्रदर्शन गर्दै आएपछि पार्टीभित्र उनको आलोचना बढ्यो । आलोचना बढेपछि उनी आफू-संरक्षित सङ्गठन विस्तारमा लागे । फलत: उनी पछिल्लो विभाजनसम्म आइपुगे । यतिसम्म कि उनी मधेस आन्दोलनबाट आएका नेता/कार्यकर्तालाई ‘बाईपास’ गर्दै आफूअनुकूलको सङ्गठन विस्तारमा उत्रिए ।
पछिल्लो पार्टी विभाजनको एउटा प्रमुख कारण त्यही भएको विभाजनकर्ता नेताहरूको भनाइ छ । सतही रूपमा मात्रै हेर्दा पनि त्यो देखिन्छ । उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेका अशोक राईले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि भनेका थिए— नेतृत्व स्वेच्छाचारी ढङ्गले चलेपछि हामी बाध्य भयौँ । यो असन्तुष्टि निकै पहिलेदेखि थियो, त्यो अहिल्यै उत्सर्जन भएको होइन ।
राम्रो छैन संसद्भित्रबाट जन्मिएका दलको ‘ट्रयाक रेकर्ड’, अशोक राई नेतृत्वको जसपा बन्ला अपवाद ?
उपेन्द्र इतिहास र मुद्दा बिर्सेर सत्ता-शक्तिमा रमाएको तथ्य संविधान जारी भएपछिको घटनाक्रमले मज्जैसँग देखाउँछ । नेपालको संविधान २०७२ संविधान सभाबाट जारी भयो । मधेसले चित्त बुझाएन र झन्डै ६ महिना मधेस बन्दको आह्वान भयो । तर, सोचेअनुरूप मधेस बन्द सफल भएन । उपेन्द्रको ध्यान बन्दको सफलतामा भन्दा शक्ति र सत्तामै केन्द्रित भयो ।
बन्द छाडेर उनी निर्वाचनकै तयारीमा लागे । निर्वाचनलगत्तै उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । त्यसबेला उनको ‘सडकको मुद्दालाई अलपत्र छाडेर संसद्मा रमाएको’ भन्दै व्यापक आलोचना भएको थियो । तर, उपेन्द्रलाई छु:मतलब ! सत्ताको रस्वादन गरिरहेका उनलाई त्यसले छोएन ।
त्यसैले उपेन्द्रलाई तत्कालीन असर त खास पारेन तर, गहिरो दीर्घकालीन असर पार्यो । यही असरको सामना उनले अहिले गरिरहेका छन् ।
उपेन्द्र यो अवस्थामा आउनुको पछाडि उनकै ‘मै हुँ’ भन्ने प्रवृत्ति मुख्य कारण रहेको बताउँछन् मधेस राजनीतिका जानकार सुरेन्द्र लाभ । “उहाँमा मै हुँ भन्ने प्रवृत्ति बढ्यो । उहाँले आफ्नो इतिहास मात्रै होइन, राजनीतिक मुद्दासमेत भुल्नुभयो । आफू शक्तिमा पुगेपछि आफूलाई त्यहाँ पुर्याउनेहरूलाई, आफू स्थापित आन्दोलनमा साथ दिनेहरूलाई भुल्नुभयो । मबाहेक अरु छैनन् जस्तो व्यवहार देखाउनुभयो । त्यसकारण उहाँले यी सबैको सामना गर्नु परिरहेको छ,” विश्लेषक लाभ भन्छन् ।
प्रचण्ड-उपेन्द्र सम्बन्ध : संघर्ष, सहयात्रा र ‘दुश्मनी’
मधेस आन्दोलनबाट यहाँसम्म आइपुग्दा उपेन्द्र कमजोर हुनुमा राजनीतिक विश्लेषक चन्द्रकिशोर भने मूलत: दुईवटा कारण देख्छन् ।
“सीमान्तकृत समुदायबाट, पिछडिएको समुदायबाट स्थापितहरूलाई ढाल्न राज्य नै लाग्छ । यो नेपालमा देखिँदै आएको हो,” विश्लेषक चन्द्रकिशोरले भने । त्यसो त पछिल्लो उपेन्द्रको पार्टी जनता समाजवादी पार्टी, नेपाल विभाजनमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली परोक्ष रूपमा जोडिएका छन् भनिन्छ ।
दोस्रो कारणमा विश्लेषक चन्द्रकिशोर त्यसरी स्थापितहरू पनि इतिहासबाट नसिक्ने बताउँछन् । “त्यो कमजोरी उपेन्द्रले पनि गरेका छन् । उनीहरू इतिहासबाट सिक्दै सिक्दैनन् । मुद्दा भुल्छन् । कमजोरी गर्छन् । यी नै कारणले उपेन्द्र आज कमजोर बने,” उनले भने ।
जे होस्, अहिले उपेन्द्र आफ्नो राजनीतिक जीवनको एउटा अप्ठ्यारो घुम्तीमा आइपुगेका छन् । पहाडी भेगमा खास पार्टी बनाउन नसकेर मधेसआश्रित बनेका उपेन्द्रलाई अब मधेसमै पनि सहज छैन । त्यहाँ डा. चन्द्रकान्त राउतजस्तो नेता आएका छन् । अब यो घुम्ती उपेन्द्रले कसरी मोड्छन्, हेर्न बाँकी छ ।
Facebook Comment
Comment