काठमाडौं । संघीय संसदका दुवै बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने छ । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै कांग्रेसको अवरोधका कारण संसद बैठक आजका लागि स्थगित गरिएको थियो ।
सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।
गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबल हुन सकेको छैन । कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेन । संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले गरेको प्रयास समेत सफल हुन सकेको छैन ।
सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिन पाउनुपर्ने अडान दोहोरयाएको छ । हिजो बसेको सत्ता गठबन्धन दलको बैठकले गृहमन्त्रीले संसदमा बोलेपछि मात्रै समिति गठनका बारेमा सोच्न सकिने निर्णय गरेको छ ।
त्यस्तै, एमालेको संसदीय दलले कांग्रेसले गर्दै आएको सदन अवरोध सहेर नबस्ने निर्णय गरेको छ ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस कराइरहने, आफूहरु सुनिरहन नहुने बताएका छन् । उनले संसदमा कांग्रेसले गरेका ‘बदमासी’हरुका सम्बन्धमा कुरा उठाउने बताएका छन् ।
‘संसदमा हामीले भोलिदेखि बहस गर्न पाउनुपर्छ’ सांसदहरुलाई निर्देशित गर्दै ओलीले भने, ‘हाम्रा साथीहरु ढुक्कले बहस गर्न तयार भएर जान्छौं ।’ ‘कांग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने ? हामी बोल्दा चाहिँ कांग्रेस कराउने कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब’, ओलीले भने ।
ओलीले संसदमा नारा लगाउन आफूलाई मात्रै आउँछ जस्तो नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् ।
Facebook Comment
Comment