काठमाडौं । नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले केन्द्रीय समितिको जारी बैठकमा ‘आजको पार्टी निर्माणबारे संगठनात्मक प्रस्ताव’ प्रस्तुत गर्दै पार्टीको समस्यालाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।
भुसालले पार्टी निर्माणका बाह्य चुनौतिको समीक्षा गरेर मात्रै आफूहरूको कार्यभार ठिकसँग निर्क्यौल हुन नसक्ने बताएका छन् । ‘संगठन निर्माणमा हामीले आज सामना गरिरहेका आन्तरिक समस्याहरुका बारेमा यथार्थपरक भएर छलफल गर्नु पनि उत्तिकै क्रान्तिकारी काम हो’, भुसालको प्रतिवेदनमा उल्लेख छ, ‘आजको संगठनका समस्याबारे छलफल गर्दा ती समस्या कुन परिस्थतिले उत्पन्न गर्यो भन्नेबारे छलफल गर्नु आवश्यक छ ।’
भुसालले आफूहरूले पार्टीको निर्माण माथिबाट गर्नु परेको र धेरैजसो कमिटीहरू सम्पूर्णरूपले नयाँ बनाउनु परेको भन्दै कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध नभएको बताएका छन् । ‘जसले गर्दा व्यक्तिको मूल्यांकन मनोगत हुने अवस्था आयो’, प्रतिवदेनमा उल्लेख छ ।
भुसालले अहिले पार्टी संगठनमा सिर्जना भएका समस्याहरूलाई विभिन्न ११ बुँदामा प्रस्तुत गरेका छन्-
१. एकै समयमा देशैभरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साङ्गठानिक योग्यता र अनुभव विना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरू विभिन्न क्षेत्रमा देखिँदै गएका छन् । त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।
२. नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरूको ठूलो संख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरूको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरू पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन् कमरेडहरूले साङ्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।
३. तुलनात्मकरूपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरू र तुलनात्मक रूपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरूका बीचमा हुने अन्तरविरोधहरूले पनि माथिदेखि तल्ला कमिटीहरूमा समस्या देखिएका छन् ।
४. हामीले पार्टीको निर्माण माथिबाट गर्नुपर्ने थियो । धेरैजसो कमिटीहरू सम्पूर्णरूपले नयाँ बनाउनु पर्ने थियो । तर, कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्यांकन मनोगत हुने अवस्था आयो ।
५. निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरूले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरू गर्नुपर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुने प्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।
६. पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासिल गर्न सकेनौँ । जसले गर्दा पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ ऊर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।
७. पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सङ्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रीयताअनुसार सञ्चालन गर्न कठिनाइहरू छन् ।
८. एउटा राम्रो पार्टी अनेकौँ कामहरूको एउटा सिङ्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।
९. पार्टीमा रहेका उपरोक्त समस्याहरूको नकारात्मक प्रभाव जनसङ्गठनमा पर्नु स्वाभाविक छ । केही जनसङ्गठनहरूले सन्तोषजनक काम गरेका छन्, केही औपचारिकरूपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्त्वका साथ सञ्चालन गर्नुपर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटिलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरूको राष्ट्रव्यापी परिचालनविना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन् ।
१०. संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर, पार्टीमा विद्यमान साङ्गठानिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।
११. सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रूपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन् । तर, संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।
Facebook Comment
Comment