अन्तर्वार्ता

‘निर्लज्जता हाम्रो समयको सबैभन्दा ठूलो सार्वजनिक हतियार हो’

‘फतवा’ जारी भएको ३० वर्षपछि सन् २०२२ को अगष्टमा उनीमाथि घातक छुरा प्रहार भयो । उनको एक आँखा गुम्यो । यसपटक पनि उनी बाँचे । उनको पछिल्लो किताबको नाम यसै घटनासँग जोडिएको छ— नाइफ : मेडिटेसन अप्टर एन एटेम्पड् मर्डर ।

नेपालभ्युज

‘निर्लज्जता हाम्रो समयको सबैभन्दा ठूलो सार्वजनिक हतियार हो’

सन् १९८८ मा प्रकाशित सलमान रुस्दीको ‘द सटानिक भर्सेस’ उनको चौथो उपन्यास थियो । दोस्रो उपन्यास ‘द मिडनाइट चिल्ड्रेन’ ले सन् १९८१ को बुकर पुरस्कार पाइसकेको थियो । रुस्दी सन् १९४७ मा एक काश्मिरी मुसलमान परिवारमा भारतमा अङ्ग्रेज शासन हुँदै मुम्बईमा जन्मेका थिए । सन् १९६४ मा पढ्न बेलायत गएका रुस्दी उतै बसे । अहिलेसम्म उनले १३ उपन्यासहित २५ वटा पुस्तक लेखिसकेका छन् ।

‘सटानिक भर्सेस’ को प्रकाशनपछि इरानी सर्वोच्च नेता आयतुल्ला रोहल्ला खोमेनीले रुस्दी विरुद्ध ‘फतवा’ जारी गरे । फतवा अर्थात् इस्लामको अवज्ञा वा अपमान गरेको आरोपमा जारी गरिने सार्वजनिक हत्या आदेश ।

यो घटनाले उनलाई विश्वभर चर्चित बनायो । तर, व्यक्तिगत जीवनमा भने जोखिम बढ्यो र भूमिगत बस्नुपर्ने भयो । सन् १९८९ को अगस्ट ३ मा उनको पहिलो हत्या प्रयास भयो । मुस्तफा मोहम्मद मजेह नामका एक लेबनानी इल्लामिक जिहादीले उनलाई लन्डनमा पुस्तक बम प्रहार गरेर मार्न खोजेका थिए, तर, संयोगले रुस्दी बाँचे । विष्फोटमा आक्रमणकारी आफैँ मारिए ।

त्यसपछि रुस्दीमाथि ४ पटक हत्या प्रयास भए । तर, उनी कसो-कसो बाँचे । संयोगले बाँच्दै आए । ‘फतवा’ जारी भएको ३० वर्षपछि सन् २०२२ को अगष्टमा उनीमाथि घातक छुरा प्रहार भयो । उनको एक आँखा गुम्यो । यसपटक पनि उनी बाँचे । उनको पछिल्लो किताबको नाम यसै घटनासँग जोडिएको छ— नाइफ : मेडिटेसन अप्टर एन एटेम्पड् मर्डर ।

रुस्दी समकालीन विश्व साहित्यका एक जीवित किंवदन्ती हुन् । उनको जीवन र लेखनबारे पाठकमा थुप्रै उत्सुकता र जिज्ञाशा छन् । प्रस्तुत छ, यिनै युगान्तकारी उपन्यासकार रुस्दीसँग द न्यूयोर्क टाइम्सका लागि इज्रा क्लेनले लिएको अन्तर्वार्ताको सारसंक्षेप ।

प्रश्न : नमस्ते रुस्दी, म तपाईंले उल्लेख गरेको एक कथा हान्स क्रिञ्चियन एन्डर्सनको ‘छाया’ बाट कुरा सुरु गर्न चाहन्छु ।

रुस्दी : मलाई लाग्छ, त्यो मेरो मन पर्ने कथा हो । यो एक यस्तो मान्छेको कथा हो, जसको छाया उबाट अलग र टाढा हुन्छ । धेरै वर्षसम्म उसले आफ्नो छाया गुमाउँछ । छायाले उसलाई छोडेर संसार घुम्छ । छाया धेरै बाठो, परिष्कृत बन्छ ।

कुनै दिन छाया फर्किन्छ । मान्छे र छायासँग हुन्छन् । मान्छेले एक राजकुमारी भेट्छ र मन पराउँछ । तर, राजकुमारीको रुचि भने छायाप्रति हुन्छ । छायाले राजकुमारीलाई यो विश्वास दिलाउँछ कि ऊ वास्तविकता हो, मान्छेचाहिँ उसको ईको वा प्रतिध्वनी हो । मान्छे छायाको छाया हो ।

कथाको अन्त्यमा यस्तो हुन्छ, छायाले राजकुमारीमार्फत मान्छेलाई मृत्युदण्ड दिलाउँछ । आफ्नै छायाले मान्छेको जीवन लिन्छ ।

प्रश्न : यो कथाको अर्थ के हो त ?

रुस्दी : यसको अर्थ मलाई के लाग्छ भने छाया मान्छेबाट अलग हुन सक्दछ । मान्छेका लागि एउटा यस्तो अवस्था पनि आउँछ, मान्छेले मान्छेलाई हैन, उसको छायालाई विश्वास गर्न थाल्दछ । छाया मूल व्यक्तिभन्दा बढी वास्तविक बन्न पुग्दछ ।

प्रश्न : यदि मैले यो प्रश्न सन् १९८६ मा सोधेको भए तपाईंका लागि सलमान रुस्दी भनेको के हुन्थ्यो ?

रुस्दी : सन् १९८० को दशक मेरा लागि धेरै राम्रो थियो । सन् १९८१ मा ‘मिडनाइट चिल्ड्रेन’ को प्रकाशन र सफलताबाट यो दशक सुरू भयो, जो मेरा लागि धेरै महत्त्वपूर्ण थियो । पहिलो— मैले पहिलो साहित्यिक सफलता पाएँ, दोस्रो— आर्थिकरूपमा एक लेखकका रूपमा बाँच्न सक्ने भएँ ।

म यी कामको सफलताका लागि भारतसँग गहिरो गरी जोडिएको थिएँ । लन्डनमा बस्दा मलाई आफ्नो जराबाट उखेलिएको त छैन भन्ने चिन्ता हुन्थ्यो । भारतमा मेरा किताबको जसरी स्वागत भयो, त्यसले म खुसी भएँ । मलाई लाग्यो कि मेरो जरा उखेलिएको छैन ।

प्रश्न : त्यतिखेर तपाईंको सार्वजनिक प्रतिष्ठा कस्तो थियो ?

रुस्दी : म एक बेलायत बस्ने उदाउँदो लेखकको रूपमा चिनिएको थिएँ । इयान म्याकवान, काजुओ इसिगुरो, मार्टिन एमिस, एञ्जेला कार्टर र जेनेट विन्डर्सनजस्ता लेखकको पङ्क्तिमा गनिन्थेँ ।

म अलिक बढी राजनीतिमा पनि संलग्न थिएँ । बेलायतमा जातिवाद, उत्तरउपनिवेशिकतावाद र साम्राज्यवादका अवशेषबारे लेख्ने, बोल्ने गर्थेँ । टिभीमा जाने गर्थेँ । त्यसपछि ‘द सटानिक भर्सेस’ को कुरा आयो र सबै चिज बदलियो ।

प्रश्न : यो किताब लेख्दा तपाईंमा म कस्तो किताब लेख्दैछु भन्ने सोच आएको थियो ?

रुस्दी : त्यो बेला म तीनवटा कथा लेख्दै थिएँ । पहिलो— जिव्राइल, जो ग्याब्रियलको भारतीय संस्करण हो । जो एक चलचित्र अभिनेता हुन्छ तर, उसको मानसिक स्थिति बिग्रिँदै जान्छ । ऊ नाटकीय ढङ्गले त्यहाँ आइपुग्छ र एक जहाज विष्फोटनको परिणाम ल्याउँछ ।

त्यो मार्गरेट थ्याचर सरकारको समय थियो र लन्डनमा जातीय सम्बन्ध तनावपूर्ण थिए । म एक संस्कृतिबाट अर्को संस्कृतिमा बसाइँ सर्दा मान्छेमा कसरी पहिचानको सङ्कट आउँछ भन्ने प्रश्नमा सोच्दै थिएँ ।

मान्छे अचानक एक यस्ता भाषामा पुग्दछन्, जो तीनको पहिलो भाषा हैन । एक यस्तो समुदायमा पुग्दछन्, जसको बारेमा थाहा हुन्न । मान्छे फरक विश्वास प्रणालीले घेरिएका हुन्छन् । मान्छेले यी सबै चुनौतीको सामना गर्नु पर्दछ ।

मैले मस्तिष्क गुमाएको जिब्रायलका सपनालाई चित्रण गर्न खोजेको थिएँ ।

जिब्राइल धर्मको जन्मबारे सपनामा सोच्दै हुन्छ । ऊ यस्तो ठाउँमा हुन्छ, जहाँ धर्मलाई इस्लाम भनिँदैन । पैगम्बरलाई मोहम्मद भनिँदैन र शहरलाई मक्का भनिँदैन । यो सबै कुरा त्यो मानिसको सपनामा भइरहेको हुन्छ, जसले आफ्नो दिमाग गुमाएको छ । मैले सोचेँ, यो त एउटा आख्यान हो, उपन्यास हो तर, मान्छेले यसलाई गलत तरिकाले बुझे ।

प्रश्न : कथाको वास्तविकता के थियो, जसले तपाईंको किताबमाथि त्यति ठूलो आक्रमण भयो ?

रुस्दी : ममाथि अपराधजन्य आक्रमण गर्नेहरूले यो किताब नै पढेका थिएनन् । त्यहाँ इस्लाम परम्पराको एक प्रसिद्ध कथा छ । सरल भाषामा भन्नुपर्दा मक्काको नगर प्रवेशद्वारमा तीनवटा देवीका मन्दिर थिए ।

यो ठूलो व्यापारिक शहर हो । मान्छे त्यही गेटबाट आउने जाने गर्थे । तिनले मन्दिरमा विभिन्न चिज चढाउने गर्थे । अर्को प्रकारले भन्नुस्, देवीलाई कर तिर्थे । मन्दिर सञ्चालन गर्ने परिवार शहरमा धेरै धनी र शक्तिशाली थिए ।

एक दिन सन्देशबाहक पहाड उत्रिएर हिँड्दै शहरमा आए । उनले देवीहरूलाई स्वर्गका दूत स्वीकार गर्न केही श्लोक सुनाए । त्यसपछि नयाँ आस्थावान्‌द्वारा त्यसको विरोध हुन थाल्यो ।

मान्छेको विरोधको सामना गर्न सन्देशवाहकले भने कि यी त ‘शैतानका श्लोकहरू’ थिए । मैले यसर्थ, यहाँ सुनाएको हुँ कि यिनलाई कुरानबाट हटाइनु पर्दछ । देवीहरू यी श्लोकद्वारा बाँधिनु हुँदैन । देवीहरू स्वतन्त्र हुनु पर्दछ ।

मैले विश्वविद्यालय तहमा इस्लामको प्रारम्भिक इतिहास पढेको हुँ । यो कथा मैले क्याम्ब्रिजमा पढ्दा सन् १९६८ मा फेला पारेको थिएँ । कथा खुबै राम्रो लागेको थियो । यो कथा खासमा मान्छेमा हुने लोभ, अस्वीकृति र भ्रमित चाहनासँग जोडिएको थियो । २० वर्षपछि मैले भोगेँ कि यो कथा कति राम्रो भयो ।

प्रश्न : तपाईंको बुझाइमा ‘फतवा’ किन जारी भयो ?

रुस्दी : मलाई लाग्छ कि खुमेनीले फतवा जारी गर्नुको राजनीतिक कारण थियो । इरान-इराक युद्ध भर्खरै सिद्धिएको थियो । इरानी युवाको एक पुस्ताले विना कुनै फाइदा क्रान्ति र युद्धमा कुर्वानी गरेको थियो ।

सायद त्यो बेला इरानको क्रान्ति अरु क्षणभन्दा बढी खतरामा थियो । मलाई लाग्छ, खोमेनी नयाँ सिपाही जम्मा गर्ने कुनै नयाँ निहुँ खोज्दै थिए, उनले मलाई फेला पारे ।

प्रश्न : किताबभन्दा अघि हामी तपाईंको सार्वजनिक व्यक्तित्वबारे कुरा गर्दै थियौँ । तपाईं एक उत्तरऔपनिवेशिक लेखक, एक प्रकारले राजनीतिक व्यक्ति, वामपन्थी, मार्गरेट थ्याचरको आलोचक, त्यसपछि ?

रुस्दी : मैले आफूलाई जसरी सोचेको थिएँ, ती रातारात मेटिँदै गए । म त्यही थ्याचर सरकारको प्रखर आलोचक थिएँ, जुन सरकारले मलाई सुरक्षा गर्‍यो । मलाई त एक महान् विश्व धर्मको अपमान गर्ने र त्यसलाई हानि पुर्‍याउने एक अत्यन्तै खराब लेखक बनाउन खोजेका थिए ।

साहित्यको क्षेत्रमा पनि एक प्रकारको शत्रुताको भावना हुन्छ । केही लेखकले समेत धर्मको अपमान गर्ने व्यक्तिले दण्डहीनताको लाभ पाउनु हुँदैन भनेर लेखे ।

इरानी शासन एक अधिनायकवादी निरङ्कुश थियो । यसले अत्याचारी व्यावहार गर्नु कुनै आश्चर्यको कुरा थिएन । तर, केही पश्चिमा लेखकले समेत त्यसो गरे । र, भारतमा पनि त्यही हो ।

म कश्मीरी परिवारसँग जोडिएको छु । कश्मीरको बारेमा मैले धेरै लेखेको छु । भारतमा मलाई सुरक्षित हुन गाह्रो थियो । मेरो बुबाआमाको चिहान पाकिस्तानको कराँचीमा छ । तर, म त्यहाँ पनि जान सक्दिनँ ।

प्रश्न : भइहाल्यो, ती कुरा छोडौँ । यो बताउनुस् कि तपाईंको व्यक्तित्वको सबैभन्दा पवित्र सार्वजनिक विम्ब के हो जस्तो लाग्छ ?

रुस्दी : म एक कार्यशील कलाकर्मी हुँ जस्तो लाग्दछ । म आफूले गरेका कामले चिनिन त्यसैबाट न्याय पाउन चाहन्छु । म अभिव्यक्ति स्वतन्त्रताका लागि हुन चाहन्छु ।

म पेनको ब्रिटिस शाखामा सम्बद्ध छु, यसले विश्वभरका समस्यामा परेका लेखकको बचाउ गर्छ । मलाई पर्दा विश्वभरका लेखकहरू मेरो पक्षमा उभिएका थिए । त्यसप्रति म आभारी भएँ र त्यसैको एउटा अंश बन्न चाहेँ ।

प्रश्न : सन् २००० मा तपाईं न्यूयोर्क आउनुभयो । यहाँ नयाँ प्रकारको प्रतिष्ठा कमाउनुभयो । एक प्रकारको ‘पार्टी प्राणी’ भन्नुभयो हैन ?

रुस्दी : ‘पार्टी प्राणी’ हैन, ‘पार्टी ब्वाई’ । तर, मलाई पार्टी त्यति मन पर्दैन । आफूलाई सामाजिक बनाइराख्न मात्र म पार्टीमा जान्छु । खासमा मलाई एकपटकमा एक मित्रसँग भेट्न मन लाग्दछ, जससँग लामो र गहिरो कुराकानी गर्न सकियोस् ।

जब म न्युयोर्कमा बस्न थालेँ, मैले बुझेँ कि म मान्छेहरूसँग डराउनुपर्ने कारण छैन । बरु मान्छेहरू मसँग डराउँछन् । किनकि मेरो टाउकोमाथि सधै जोखिम मडारिइरहेको छ । मलाई लाग्न थाल्यो कि म डराउनु हुन्न । जब तिनले देख्नेछन् कि म डराएको छैन, ती पनि डराउन छोड्दछन् ।

त्यसपछि म जानीबुझी सार्वजनिक हुन, देखिन थालेँ । मान्छे मसँग फोटो खिच्न थाले । न्यूयोर्क टाइम्सले मेरो बारेमा लेख्यो । मान्छेलाई लाग्यो— म ठीक छु, म यहीँ छु, वरिपरि छु । यसले मलाई एक प्रकारको सामाजिक पुतलीजस्तो बनायो, खासमा म त्यो हैन ।

प्रश्न : अब अलिकति आजको आचरणगत पाटोलाई हेरौँ । यहाँ डोनाल्ड ट्रम्पजस्ताको समर्थनमा एक पागलपनपूर्ण शक्ति छ । आफ्ना गल्तीमा ती क्षमायाचना गर्न चाहँदैनन् । यदाकदा म आफैँ लज्जित हुन्छु । तर, तिनीहरू ठान्छन् कि तिनले कुनै गल्ती गरेका छैनन् । यसलाई कसरी हेर्नुहुन्छ ?

रुस्दी : निर्लज्जता हाम्रो समयको सबैभन्दा ठूलो सार्वजनिक हतियार हो । तपाईंसँग निर्लज्जता छ भने मात्र तपाईं पनि अर्कोले जे गर्‍यो, त्यो गर्न सक्नुहुन्छ ।

उनी राजनीतिमा आएपछि हैन, त्यसअघिदेखि नै निर्लज्ज थिए । मैले यसलाई लज्जाको अभाव भन्छु । बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई पनि मैले यही ब्यागभित्र राख्छु । पूर्णत झुटो र सम्पूर्णतः निर्लज्ज ।

प्रश्न : यसको अर्थ आज हामी त्यस्तो ‘अल्गोरिदम’ भएको विश्व समुदायमा छौँ, जसको अनुशासन भन्नु नै एकअर्कालाई लज्जित बनाउनु वा लज्जाहीन पार्नु हो ?

रुस्दी : म सामाजिक मिडियातिर सकेसम्म कम जान्छु । यसको बिरलै प्रयोग गर्दछु । जब त्यहाँ जान्छु, प्रत्येक पटक नगएको भए हुने रहेछ भन्ने लाग्छ । मलाई लाग्छ, अब म जति वर्ष रहौँला, म यस प्रकारको आधुनिकताको अंश बन्न सक्दिनँ ।

प्रश्न : तपाईंको जीवनमा बारम्बार घातक हमाल, शारीरिक आक्रमण भए । ती आक्रमणकारीप्रति तपाईंको धारणा कस्तो हुन्छ ?

रुस्दी : मलाई तिनको बारेमा कमै थाहा हुन्छ । ती मेरा लागि एक प्रकारले अज्ञात हुन्छन् । जस्तो कि सन् २०२२ अगष्ट घटनाको आक्रमणकारीबारे मैले पछि समाचार पत्रबाट मात्र थाहा पाएँ ।

उनका बुबाआमा लेबनानी मूलका थिए, जो अमेरिका आए । ती आक्रमणकारी जर्सीमा जन्मे हुर्केका थिए । उनका बुबा लेबनान फर्केपछि उनी छुटे । आमा न्यू जर्सीमा बहिनीको परिवारसँग बस्न थालिन् । उनी १९ वर्षसम्म जर्सीमै हुर्के, बढे, र उनको कुनै आपराधिक रेकर्ड थिएन ।

त्यसपछि उनी बुबालाई भेट्न लेबनान जान्छन् । उनका बुबा इजरायली सीमा नजिकको एक गाउँमा बसेका हुन्छन्, जहाँ हिज्बुल्लाहको प्रभाव हुन्छ । त्यो त्यस्तो गाउँ हुन्छ, जहाँ हिज्बुल्लाहका नेताहरु सडकमा हिँडिरहेका भेटिन्छन् ।

उनकी आमा भन्छिन् कि सुरुमा उसलाई यो कुरा मन परेको थिएन । तर, एक महिना बसेर फर्किँदा उनी अर्कै भइसकेका थिए । आफ्नो धर्मको बारेमा नसिकाएको, नबताएको भन्दै उनी उल्टै आमासँग रिसाए ।

उनी परिवारबाट एक्लिएर, भिडिओ र सामाजिक सञ्जाल मात्र हेरेर बस्ने एकोहोरो भएका थिए । करिब ४ वर्ष उनले यस्तो जीवन बिताए, थोरै मात्र सामाजिक सम्बन्धमा रहेर । यसले के देखाउँछ भने लेबनान भ्रमणले उनलाई ममाथि आक्रमण गर्ने बनायो ।

उनले मलाई एक संस्थाको कार्यक्रममा बोल्दै गरेको युट्यूब हेरेका थिए । त्यसपछि उनी मलाई मार्ने मनस्थितिमा पुगे ।

प्रश्न : उसको लक्ष्य तपाईं कसरी बन्नुभयो ? त्यहाँ धेरै चिज बदलिइसकेका थिए । सटानिक भर्सेसको प्रसङ्ग धेरै पुरानो भइसकेको थियो । ऊ किन तपाईंमै केन्द्रित भयो भन्ने प्रश्नमा सोच्दा के पाउनुहुन्छ ?

रुस्दी : यो मलाई थाहा हुन नसकेको कुरा हो । अनुमान गर्न सक्छु । उनी लेबनानमा हिज्बुल्लाह प्रभावित गाउँमा बुबासँग बस्दा कसैले मेरो नाम एक इस्लाम विरोधी खराब मान्छेका रूपमा लियो होला । र, सामाजिक सञ्जालमा मसँगको कुराकानी सुनेर उसको दिमागमा त्यस्तो भावना उत्पन्न भयो होला । वास्तविकताचाहिँ म भन्न सक्दिनँ ।

पछि मैले आफ्ना सम्पादकसँग यसबारे कुरा गरेँ । त्यो कुराकानी मलाई सम्झना छ । मैले भनेँ कि यदि यस घटनालाई हामीले एक कथा लेखनका दृष्टिकोणले हेर्‍यौँ भने के यो लेख्न सकिन्छ कि कुनै मान्छे केही युट्यूब भिडिओ हेरेका भरमा कसैको हत्या गर्ने निर्णयमा पुग्न सक्दछ ।

उनले भने कि यो कुरा त्यति विश्वासनीय छैन, हत्या प्रेरणाका लागि त्यो पर्याप्त कारण हैन ।

प्रश्न : तपाईं आफ्नो किताबमा यो भन्नुहुन्छ कि तपाईंको हत्या प्रयास ‘अपर्याप्त अभिप्रेरणा’द्वारा प्रेरित छ । यो एक प्रकारको रमाइलो कुरा हो, मतलब एक ‘ब्लाक फन्नी’ जस्तो ।

रुस्दी : मलाई लाग्छ कि खराब मान्छेलाई गलत काम गर्न कुनै ठूलो प्रेरणा चाहिँदैन । लेबनान भ्रमणअघि उनी एकदमै राम्रा व्यक्ति थिए । लेबनान भ्रमणले उनमा जुन प्रकारको रूपान्तरण भयो, त्योचाहिँ चाखलाग्दो कुरा हो ।

उनले मेरो बारेमा अध्ययन गरेका थिएनन् । उनले लेबनानमा जे सुने, त्यो पत्याए । मलाई त्यहाँ एक सैतान चरित्रको मान्छेका रूपमा चित्रण गरियो होला । उनी त्यसबाट प्रभावित भए । इस्लामिक संसारमा हुने दानबीकरणको मात्रा धेरै प्रभावकारी हुन्छ ।

इस्लामिक विश्वमा मेराबारे थुप्रै अफवाह फैलाइएको छ । म एक दुष्ट मान्छे हुँ भन्ने सोच्दै हुर्किएका त्यहाँ थुप्रै छन् । उसको अमेरिकाको आफ्नो परिवार त्यस्तो थिएन । त्यो धर्मनिरपेक्ष अमेरिकी परिवार थियो । त्यस्तो सोच उनले कोबाट टिपे, मैले जान्ने कुरा भएन ।

प्रश्न : अन्तिममा यो सोधौँ कि तपाईंले पाठकलाई सिफारिस गर्ने ३ वटा किताब कुन-कुन हुन सक्दछन् ?

पहिलो त ‘डन क्वीजोट’ हो, जो मैले धेरैलाई सिफारिस गरेको छु । उपन्यासको रूपमा यो पहिलो र महान् कृति हो । अहिले यसको नयाँ अङ्ग्रेजी अनुवाद आएको छ । नढाँटीभन्दा यसको पुरानो अनुवाद त्यति राम्रो थिएन ।

इडिथ ग्रसम्यानको पछिल्लो अनुवाद साँच्चै जीवन्त र सजीव छ । अर्को ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्यूट’ हो । यो साँच्चै नै रोमाञ्चक लेखाइ हो । पहिलो वाक्यबाटै तपाईं जादुको संसारमा डुब्नुहुन्छ । तेस्रो काफ्का हुन् । उनको ‘द ट्राइल’ वा ‘द क्यास्टल’ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved