अन्तर्वार्ता

ऋण लिनु आत्महत्या गर्नुजस्तै भएको छ : अध्यक्ष कटुवाल

'बैंकको ब्याजदर ६/७ प्रतिशतमा नआएसम्म नेपालमा लगानीमैत्री वातावरण बन्दैन'

नेपालमा लगानी गर्ने प्रशस्त ठाउँ छन् । तर, हामी अहिले आयातमुखी भएका छौं । जबसम्म युवा र लगानीकर्ता उत्पादनसँग जोडिँदैनन् तबसम्म नेपालमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन गाह्रो हुन्छ ।

ऋण लिनु आत्महत्या गर्नुजस्तै भएको छ : अध्यक्ष कटुवाल

काठमाडौं । पछिल्लोसमय नेपालको अर्थतन्त्र सन्तोषजनक छैन । व्यापार व्यवसाय पनि पछिल्लोसमय उत्साहजनक देखिँदैन । साना तथा मझौला व्यवसाय सञ्चालन गरेर बसेकाहरूको समस्या अझ बढि छ । साना व्यवसायी पलायन हुने क्रम बढ्दो छ ।

साना तथा मझौला व्यवसाय किन धराशायी हुँदैछ ? उनीहरूको माग र गुनासा तथा सरकारसँग उनीहरूका अपेक्षा के छन् ? नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालसँग यस्तै विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।

पछिल्लोसमय नेपालका साना तथा मझौला व्यवसायीको अवस्था कस्तो छ ?

समग्रमा व्यापार व्यवसायको अवस्था नाजुक छ । उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा छन् । व्यापार व्यावसाय ठप्प जस्तै छ । मूलतः जति व्यापार भइरहेको छ, त्यसले धानिरहेको छैन । लागत बढेर गएको छ । कतिपय पलायन भएका छन् । कतिपय ‘पर्ख र हेर’को अवस्थामा छन् ।

नेपालको अर्थतन्त्र सुध्रिएको भन्ने कुरा नेपाल राष्ट्र बैंकले देखाएको मात्र हो र त्यसलाई केही विज्ञले समर्थन जनाएका मात्र हुन् । तर, वास्तवमै अर्थतन्त्र सुध्रिसकेको छैन । सटर व्यवसायी,  साना मझौला घरेलु उद्योग धराशायी हुने स्थिति छ र यो अवस्था दिनप्रतिदिन बढ्दो छ । यसमा मुख्य कारण पहिलो बैंक तथा वित्तीय क्षेत्र नै देखिएको छ र दोस्रोमा चलायमान वर्गले देश छाड्नु हो ।

चलायमान वर्गमा रहेका शिक्षित युवा वर्गले देश छाड्नु एउटा संस्कार बनिसकेको छ । जसको कारण पनि साना तथा मझौला व्यवसाय जन्मन सकेका छैनन् । जन्मिएका व्यवसाय पनि हुर्कन र फक्रन सकेका छैनन् । र, अर्को भनेको हरेक कुरामा महङ्गी बढेको छ ।

बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्छ भनेर हामीले बारम्बार आवाज उठाइरहे पनि हुन सकेको छैन । नेपाल सरकारको तथ्यांक र बैंकहरूको तथ्यांक हेर्ने हो भने ब्याजदर केही घटेको देखिए पनि त्यो हात्तीको देखाउने र चपाउने दाँतजस्तो मात्र भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर सिंगल डिजिटमा नआउनु भनेको नेपालका उद्योगी व्यवसायीको लागि घातक हो । जबसम्म ६ देखि ७ प्रतिशतको हाराहारीमा बैंकको ब्याजदर आउँदैन तबसम्म नेपालमा लगानीमैत्री वातावरण बन्दैन ।

अहिले बैंकमा पैसा राखेर ब्याज खाने वर्ग बढेर गएको छ, यसलाई निरुत्साहित गरेर गरिखाने वर्गलाई कर्जा प्रवाह गर्न सके मात्र नेपालका साना व्यवसायीले राहत पाउने थिए ।

देशमा लगानीको वातावरण छैन भन्ने अधिकांश व्यवसायीको गुनासो छ । यही कारण साना तथा मझौला व्यवसायी पलायन भएका हुन ?

नेपालमा लगानी गर्ने प्रशस्त ठाउँ छन् । तर, हामी अहिले आयातमुखी भएका छौं । जबसम्म युवा र लगानीकर्ता उत्पादनसँग जोडिँदैनन्, तबसम्म नेपालमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन गाह्रो हुन्छ ।

हामी लगभग ९० प्रतिशत आयातमुखी छौं र ठूलो संख्यामा युवा निर्यात गरिरहेका छौं । त्यसैले आत्मनिर्भर हुने कुरामा हामी चुकेका छौं । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । बैंकले लगानी गर्न पनि चाहन्छन् तर, व्यवसायी हच्किने अवस्था छ ।

ऋण लिनु भनेको आत्महत्या गर्नुजस्तो हुन थालेको छ । अहिले तल्लो वर्ग र मझौला व्यवसायीसँग पैसा छैन । नेपालमा एक खालका वर्ग छन्, उनीहरूसँग मात्र पैसा छ । तर, त्यो चलायमान छैन । निष्क्रिय भएको छ । जुन पैसा उनीहरूले ब्याजमा लगाएर खाने गरेका छन् ।

सरकारका राम्रा नीति पनि कार्यान्वयन भएका छैनन् । कोभिड महामारीलाई हामीले भर्खरै मात्र छाडेका छौं । तर, त्यसको त्रास जीवितै छ । त्यसले पनि व्यवसायीमा लगानी गर्दा कतै डुब्ने पो हो कि भन्ने चिन्ता छ । त्यो भ्रमलाई चिर्न जरुरी छ ।

आयातित वस्तुसँग नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैनन् भनिन्छ नि ? 

यस विषयमा नेपाल सरकारले नै कस्ता खालका वस्तु तथा सामान आयात गर्न हुन्छ र कस्ता सामान आयात गर्नहुन्न भनेर छुट्टाउन जरुरी छ । जस्तै, कृषिजन्य वस्तु हामी नेपालमै उत्पादन गर्न सक्छौँ भने बाहिरबाट किन ल्याउनु पर्‍यो ? जुत्ता चप्पलकै कुरा गर्दा पनि नेपालमा चाहिने जति हामी आफैँ उत्पादन गर्न सक्छौँ भने बाहिरबाट किन ल्याउनु पर्‍यो ?

नेपालमा बजार नै छैन भन्ने हैन । नेपालमै उत्पादित वस्तु हामी प्रयोग गर्न हिँच्किचाउँछौं । कम्तीमा नेपालमा उत्पादित सामान प्रयोग गर्न थाल्यौँ भने ती वर्ग त आत्मनिर्भर हुन्छन् नि ।

अर्कातिर हामीले देशमै केही गर्छु भन्ने मान्छेलाई निरुत्साहित गर्छौं र बाहिर गएर आएको व्यक्तिलाई भने प्रोत्साहित गर्छौं । हामीले श्रमको सम्मान गर्न सिक्नुपर्छ । त्यो जतासुकै गरेको किन नहोस् कामको सम्मान गर्न सक्नुपर्छ ।

नेपालमा केही पनि छैन भनेर भ्रम सिर्जन गर्न लागिपरेका एक खालका वर्गलाई विस्थापित गर्न नेपाल सरकारदेखि आम सर्वसाधारणसम्म नै लाग्नुपर्ने स्थिति देखिएको छ ।

यति भनिरहँदा स्वदेशमै उत्पादित वस्तुले बजार नपाएर, मूल्य नपाएर  भुक्तानी नपाएर सडकमा फालेका दृश्य त सत्य हुन् नि ? 

सडकमा टमाटर, दूध फालिएको सत्य हो । तर, शुद्ध दूध खाएको रेकर्ड अहिलेसम्म छैन । त्यो सडकमा फालिएको दूध नक्कली हो । काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने पनि यहाँका ९० प्रतिशत मानिसले पाउडर दूध खान्छन् । साँच्चैको शुद्ध दूध पाउनका लागि गाईको थुनसम्म पुग्न कति लामो लाइन हुन्छ, तपाईं कहिलेकाहीँ आफैँ गएर अवलोकन गर्न सक्नुहुन्छ ।

हामीसँग शुद्ध दूध छैन । टमाटरकै कुरा गर्ने हो भने पनि काठमाडौंका बासिन्दाले चर्को मूल्य तिर्नु परिरहेको छ, उता भने फालिरहेका छन् । किसानले उत्पादन पनि गरिरहेका छन् र उपभोक्ताले खोज पनि गरिरहेका छन् । तर, बिचौलियाले भने भ्रमको खेती गर्न विभिन्न देखावटी नाटक गरिरहेका छन् ।

यसलाई चिर्न र चिन्न जरुरी छ । यही उत्पादित भैँसी र गाईको दूध फ्याँक्नुपर्छ जस्तो मलाई लाग्दैन । किनकि खोज्दा पनि पाइँदैन भने त्यो सामान कसरी फ्याँक्नुपर्छ ? वास्तविक उत्पादित वस्तु छन् भने त्यो बिक्री हुन्छ र त्यसको बजारीकरणमा सहज गर्नका लागि म सबै स्थानीय सरकारहरूलाई आग्रह पनि गर्छु ।

एकाथरीले पलायन हुनमा व्यवसायी आफैँ नै जिम्मेवार छन् पनि भनिरहेका छन्, बैंकरसँग मिले क्षमताभन्दा बढी कर्जा लिने र त्यो चुक्ता गर्न नसक्ने त्यसपछि पलायन हुने । यसलाई कसरी लिनुभएको छ  ?

यो सिधासिधी गलत हो । बैंक तथा वित्तीय क्षेत्रबाट ऋण लिन त्यति सजिलो छैन । एक करोडभन्दा माथिको सम्पत्ति धितो राख्दा मुस्किलले ३०/३५ लाख रुपैयाँ दिन्छन् भने क्षमताभन्दा माथि दिने त कुरै भएन । त्यो पनि चार/पाँच पुस्तासम्मको कागजपत्र गरेर मुस्किलले मात्र पास गर्छन् । अनुत्पादक क्षेत्रमा व्यवसायीले पैसा लगायो भन्ने कुरा पनि गलत हो ।

आफ्नै व्यवसायमा लगानी गर्छन् अनुत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता नै छैन । बैंक तथा वित्तीय क्षेत्रमा भएको पैसा पनि उद्योगी व्यवसायीको हैन । व्यवसायीले यसरी राख्नै सक्दैन । उसले त स्रोत तथा साधनमा लगानी गरेको हुन्छ । छरपस्टिएर लगानी गरेको हुन्छ भने बैंकमा पैसा राख्ने उसलाई फुर्सदै छैन ।

बैंकमा पैसा राखेर ब्याज खान खोज्ने, कर्जा लिएर सेयरमा लगानी गर्नेजस्ता वर्गलाई निरुत्साहित गरेर गरिखाने वर्गलाई प्रोत्साहन गर्दै कर्जा प्रवाह गरेमा अहिले थुप्रिएको पैसा सर्लक्क बजारमा जान्छ । भोलिदेखि अर्थतन्त्र चलायमान हुन थाल्छ ।

सरकार परिवर्तन हुँदा पनि व्यवसायीले समस्या झेल्नुपरेको छ भनिन्छ, समस्या समाधानका लागि यसले कतिको अप्ठेरो पारेको छ ? 

अहिले त गुनासा कसैले सुन्दै सुन्दैन । सरकार परिवर्तन हुँदा व्यवसायीलाई खासै फरक पनि पर्दैन । फरक पर्ने त केवल बिचौलियालाई हो । सरकार परिवर्तन हुँदा कुन पार्टीको मन्त्री आयो र कुन पार्टीको मन्त्री गयो ।

अब कुन बिचौलिया परिचालित हुन्छन् र कुन बिचौलिया थन्किने हुन् भन्ने कुरा मात्रै फरक हुन्छ । व्यवसायी त हिजो पनि पेलानमै थिए । आज पनि त्यही छन् र भोलि पनि त्यही हुनेछन्।

अर्थतन्त्र र देशको निजी क्षेत्र सुधार्नका लागि एउटा सही भिजन भएको नेतृत्व आवश्यकचाहिँ छ । तर, सरकार परिवर्तन हुँदा मात्रै भने व्यवसायीलाई फरक पर्दैन । सकारात्मक कुरा बाहिर आउन, प्याकेजमा आउन । लगानीमैत्री वातावरण बनोस् । बैंक तथा वित्तीय क्षेत्रले गरेको दादागिरीको अन्त्य होस् । अहिले थुप्रिएको पैसाचाहिँ सरल ढङ्गले लगानीमा जाओस् । उत्पादनसँग सबै जोडिउन भन्न चाहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved