सुधारात्मक अर्थतन्त्रले छोएन साना व्यवसायीलाई, पलायन हुने क्रम जारी 

सरकारले दिएको अनुदानमा पनि भ्रष्ट्राचारीतन्त्र मिसिएकाले वास्तविक किसान र व्यवसायी मर्कामा परेको छ । उदयपुरमा पछिल्लो समय व्यवसायबाट पलायन भएर वैदेशिक रोजगारीमा जाने लहर नै चलेको पाइन्छ । 

सुधारात्मक अर्थतन्त्रले छोएन साना व्यवसायीलाई, पलायन हुने क्रम जारी 

काठमाडौं । पछिल्लो समय देशको आर्थिक सूचकहरू नियाल्ने हो भने अर्थतन्त्रले लय समातेको तथ्यांकले देखाउँछ । आर्थिक क्षेत्रका जानकार तथा अर्थमन्त्रीहरूले पनि अर्थतन्त्र सुध्रिएको दाबी गर्दै आइरहेका छन् ।

अर्थतन्त्रका धेरै पक्षहरू सबल बन्दै गइरहेको उनीहरूको भनाइ छ । विगतका दिनमा रुस-युक्रेन युद्ध, कोभिड महामारी, विश्व आर्थिक मन्दीको चपेटामा परेर देशका धेरै व्यापारव्यवसाय डामाडोल भएका थिए ।

यद्यपि, पछिल्लो समय बजारमा केही चहलपहल त देखिन्छ । अर्थतन्त्रका आँकडाहरूमा पनि सुधार देखिन्छ । तर त्यसले देशका साना व्यवसायीहरूलाई छुन भने सकेको छैन ।

अप्ठ्यारोमा बैंकसँग ऋण लिएका व्यवसायी

व्यवसायीहरूको अप्ठ्यारो समयमा बैंक तथा वित्तीय संस्थाले सहयोग गर्नुको साटो उल्टै व्यवसायीलाई आक्रमण गरिरहेको उद्योग वाणिज्य महासंघ रामेछापका जिल्ला अध्यक्ष नबिनकुमार थापा मगर बताउँछन् ।

‘व्यवसाय राम्रो हुँदा हामीले एउटै बैंकबाट २०, २५ वर्षसम्म कारोबार गर्यौं तर अहिले हाम्रो अप्ठ्यारो समयमा बैंकहरु नै दुश्मन भएका छन्, जसका कारण व्यवसायहरू पलायन हुने क्रम बढिरहेको छ.’ उनले भने ।

रामेछापमा दुई वर्षको अन्तरालमा २० देखि २५ प्रतिशत व्यवसायीहरू व्यवसायबाट पलायन भइसकेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघ महोत्तरीका जिल्ला अध्यक्ष जीतेन्द्र चौधरी पनि बैंकको ऋणकै कारण अधिकांश व्यवसायीहरूले व्यवसाय छोडेको दाबी गर्छन् ।

‘व्यवसाय सञ्चालनका लागि लिएको ऋणको भारी सटर भाँडा तिर्दैमा सक्कियो, आर्थिक मन्दी र कोभिड महामारीले बजार थलिएपछि व्यापार भएन, अब तपाई नै भन्नुहोस् व्यवसायीहरूले ऋण कसरी तिर्ने ?’ उनले भने ।

महोत्तरीमा बैंकीङ ज्यादती र मिटरबाजीको समस्याले प्रश्रय पाएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर पछिल्लो समय घट्दै गइरहेको छ । यद्यपि, यस अगावै लिएका ऋणहरूको भने चर्को ब्याज तिर्नुपरेको उनी बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय बजारमा कर्जा लगानी गर्न छाडेको कारण पनि व्यवसायहरू उदाउन नसकिरहेको उद्योग वाणिज्य महासंघ उदयपुरका अध्यक्ष जमन सिंह बस्नेत बताउँछन् ।

उनका अनुसार पछिल्ला केही दिनयता मात्र ४-५ जना व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर भागिसकेका छन् भने अझै भाग्ने तयारीमा धेरै व्यवसायीहरू छन् । धनकुटाको समस्या पनि उही छ । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिए पनि व्यवसायीहरूले कर्जा पाएका छैनन् ।

थलिएको व्यवसाय पुनरुत्थान गर्न व्यवसायीहरूले पुन: कर्जा वा आकस्मिक कर्जाको माग गरेता पनि बैंक तथा वित्तीय संस्थाले नदिएको उद्योग वाणिज्य महासंघ धनकुटाका जिल्ला अध्यक्ष विजय सन्तोष राई बताउँछन् ।

‘बैंकमा पैसा फालाफाल छ व्यवसायीसँग छैन, कर्जामा डुबेका धेरै व्यवसायीहरू विदेशी रहेका छन्’ उनी सुनाउँछन् ।

व्यवसायी भन्छन्- अर्थतन्त्र डामाडोल भयो, अर्थमन्त्रीको जवाफ- अलि खस्केको मात्रै हो, बिग्रिसकेको छैन

ढुवानी समस्याले उत्पादन र बजार नै प्रभावित 

धनकुटामा बाटोको समस्याका कारण स्थानीयस्तरमा उत्पादन भएका वस्तु तथा सामानहरूले बजार पाउँदैनन् । जसको प्रत्यक्ष असरमा किसानमात्र नभएर व्यवसायीहरू पनि परेका छन् । उत्पादन भएका अधिकांश वस्तु तथा सामानले बजार नपाएर स्थानीय स्तरमै थन्किन परेको जिल्ला अध्यक्ष राई बताउँछन् ।

सरकारले दिएको अनुदानमा पनि भ्रष्ट्राचारीतन्त्र मिसिएकाले वास्तविक किसान र व्यवसायी मर्कामा परेको अध्यक्ष बस्नेतको भनाइ छ । उदयपुरमा पछिल्लो समय व्यवसायबाट पलायन भएर वैदेशिक रोजगारीमा जाने लहर चलेको उनले सुनाए ।

‘ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लाको मुख्य व्यापारिक केन्द्र उदयपुर हो, यी जिल्ला जोड्ने करिब ७३ किलोमिटर बाटो अहिले अलपत्र छ जसको कारण पनि उदयपुरको व्यवसायमा असर परेको हामीले महसुस गरेका छौं ।’ अध्यक्ष बस्नेत बताउँछन् ।

ठुला सवारी साधनको प्रवेशमा रोक लगाएसँगै रामेछापका व्यापारीहरू थप मारमा परेका छन् । सामान ढुवानीमा समस्या भएसँगै त्यहाँका व्यवसायहरू पनि खस्किन थालेको अध्यक्ष मगरको दाबी छ ।

लगानीको वातावरण नहुँदा कर्जा प्रवाह सुस्त, ओझेलमा पर्दै व्यवसायी

देशमा लगानीको वातावरण नभएको विषय पटक-पटक नउठेको पनि हैन । निजी क्षेत्रका विभिन्न छाता संगठनहरुले सो कुरालाई बारम्बार उठान गरेता पनि दीर्घकालीन समाधानका लागि सरकारले कुनै कदम चालेको भने पाइँदैन ।

व्यापार व्यवसायमा मन्दी छाएसँगै बैंक तथा वित्तीय संस्थाले पनि साना तथा मझौला व्यवसायीहरूलाई कर्जा दिन छाडिसकेको रामेछापका अध्यक्ष मगर बताउँछन् । तर, यो समस्याबाट रामेछापका व्यवसायीहरू मात्र पीडित छैनन् । देशभरिकै समस्या एकै छ ।

पछिल्लो समय बैैंक तथा वित्तीय संस्थामा तरलता (लगानी योग्य पुँजी) अधिक मात्रामा थुप्रिएको छ । तर पनि सुस्त बजारको कारण बैंकमा भएको पैसा व्यवसायीसमक्ष पुग्न सकेको छैन ।

सोही कारण पनि नेपालका साना तथा मझौला व्यवसायीहरू धराशायी अवस्थामा पुगेको महोत्तरीका अध्यक्ष चौधरी बताउँछन् । केही पुँजी भएका लगानीकर्ताहरू पनि पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।

सरकार फेरिए पनि फेरिएन साना व्यवसायीको अवस्था

सरकार परिवर्तन भए पनि साना व्यवसायीहरूको अवस्था परिवर्तन हुन सकेको छैन । अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको निजी क्षेत्रलाई सरकारले टेको दिनुपर्नेमा बेवास्ता गरेको अध्यक्ष बस्नेत बताउँछन् ।

उनी भन्छन्, ‘सरकार फेरिएको फेरिएकै गर्छ, एउटा मन्त्रीलाई चिन्न नपाउँदै अर्को मन्त्री नियुक्त हुन्छ, हाम्रो गुनासाहरू कस्लाई सुनाउने रु’, उनले भने ‘व्यवसायीहरूलाई नाफा कमाउने भन्दा पनि कसरी टिक्ने भन्ने पिर छ । अहिलेको अवस्थामा टिक्न सके भोलिका दिनमा राम्रो होला की भन्ने थोरै आस बचेको छ ।’

व्यापारीलाई तङ्ग्रिनै सकस, चाडपर्वले उकास्ने आश !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved