व्यापारीलाई तङ्ग्रिनै सकस, चाडपर्वले उकास्ने आश !

पछिल्लो समय चाडपर्व नजिकिएसँगै धेरथोर व्यापार बढ्ने आशमा पसल कुरिरहेका छन्, व्यापारीहरु ।

व्यापारीलाई तङ्ग्रिनै सकस, चाडपर्वले उकास्ने आश !

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र निकै कमजोर भएको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय गर्नेहरुको स्थिति क्रमशः नाजुक बन्दै गइरहेको छ ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड, महाबौद्धसँगै देशभरका मुख्य सहर बजारमा व्यापारिक चहलपहल पनि कम भइरहेको छ । व्यापार नभएका कारण भाडासमेत तिर्न नसकेर थुप्रै व्यापारीहरु विस्थापित भएका छन् भने थुप्रै व्यवसाय छाड्ने मनस्थितिमा पुगेका छन् ।

व्यापारमा टिक्न नसकेर पसल छाड्न ठिक्क परेकाहरुको पसल पनि बिक्री भइरहेको छैन । जसकारण मुख्य बजारकै सटरहरु बन्द देखिन्छन्, थुप्रै सटरमा ‘टू लेट’ लेखिएको देखिन्छ । कुनै बेला सटर पाउनै मुस्किल पर्ने बजारमा अहिले जताततै देखिने सटर खालीको सूचनाले पनि व्यापार व्यवसायको कमजोर स्थितिलाई प्रष्ट पार्छ ।

कोरोना कहरका कारण थला परेको व्यवसाय अझै राम्ररी तङ्ग्रिन सकेको छैन । पछिल्लो समय त झन् विश्वव्यापी आर्थिक मन्दीको असरले व्यापारीहरुलाई टिक्नै धौधौ परिरहेको छ ।

आर्थिक मन्दीको असरस्वपरुप बैंकहरुमा पैसा थुप्रिने र व्यापारीहरु पैसाको अभावमा तड्पिनुपर्ने परिस्थिति निर्माण भएको छ । अझ पहिला नै लिएको ऋण तिर्नै नसकेर व्यापारीहरु पीडामा छट्पटाइरहेका छन् । बैंकहरुले ब्याजको बोझ समायोजन गर्ने भने पनि त्यति प्रभावकारी नभएको गुनासो व्यापारीहरुको छ ।

पछिल्लो समय चाडपर्व नजिकिएसँगै धेरथोर व्यापार बढ्ने आशमा पसल कुरिरहेका छन्, व्यापारीहरु ।

के भन्छन् उद्योग वाणिज्य संघका जिल्ला नेता ?

उद्योग वाणिज्य महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोष राईका अनुसार चाडपर्व नजिकएसँगै बजरमा धेरथोर चहलपहल बढेको छ, जसकारण व्यापारीहरुमा झिनो आशा पलाएको छ । ‘व्यापार व्यवसायको अवस्था सन्तोषजनक चाहिँ छैन तर अब तङ्ग्रिन्छ कि जस्तो देखिएको छ’, उनले भने, ‘चाडबाड पनि नजिकएको छ, अब केही होला कि !’

बैंकहरुले ब्याजदर समायोजन गरेको र अब केही लगानी पनि बढ्ने संकेत देखिएको उनले बताए ।

उद्योग वाणिज्य महासंघ बर्दिवासका अध्यक्ष विष्णुबहादुर खड्का भने व्यवसायको अवस्था झन् चौपटक हुँदै गएको अनुभव सुनाउँछन् । बैंकहरुले ब्याज घटाएको भने पनि व्यापारीहरुले त्यसको लाभ लिन नपाएको उनको भनाइ छ । अरु व्यवसायसँगै पर्यटन व्यवसायको स्थिति पनि तनावग्रस्त नै रहेको उनले बताए ।

आर्थिक मन्दीको मार खेपिरहेको जनकपुरका उद्योग वाणिज्य महासंघ अध्यक्ष जितेन्द्र कुमार महासेठको बुझाइमा पछिल्लो समय बैंक तथा वित्तीय संस्था झन् आक्रमक भएका छन् ।

उनले भने, ‘बैंक तथा वित्तीय संस्था बाघजस्तै बनेको छ । सर्वसाधारण ऋणीहरूले पनि आत्मसमर्पण गरिसके, उनीहरू ‘म कर्जा चुक्ता गर्न सक्दिनँ । मेरो घर जग्गा लिलाम गरे नि गर’ भनेर आत्मसमर्पण गरेर बसेका छन् । व्यापारीहरुको अवस्था पनि उस्तै छ ।’

२०७२ सालमा आएको भूकम्प, कोरोना महामारी र मधेस आन्दोलनले जनकपुर क्षेत्रको व्यापार व्यवसाय चौपट भएको उनको भनाइ छ । त्यसपछिको आर्थिक मन्दीले त व्यापारीहरुलाई उठ्नै नसक्ने गरी थला पारेको उनले बताए ।

आर्थिक मन्दीलाई टाल्न सरकारले ल्याएको मार्गनिर्देशनप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सरकारले आत्तिएर, डराएर चालु पुँजी कर्जा मार्गनिर्देशन २०७९ ल्यायो तर त्यो सही थिएन । यो भनेको १०० मा गुडिरहेको गाडीलाई एक्कासी ब्रेक लगाउनुजस्तै भयो ।’

उनका अनुसार व्यवसायीहरूले अहिलेको परिस्थितिको सामना गर्नपर्नुमा सरकारी नीति नै दोषी छ । सरकारले चालु पुँजी कर्जा मार्गनिर्देशन ल्याउँदा पर्ने असरबारे दूरदृष्टि नराख्दा अहिलेको स्थिति आएको उनको भनाइ छ ।

उनका अनुसार अहिले जनकपुरका करिब ३० प्रतिशत उद्योग कलकारखाना मात्रै चलिरहेका छन् । यस्तै स्थिति रहने हो भने अझै धेरै उद्योग बन्द हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved