सेयर बजार २०८० : खराब स्थितिमा बैंकिङ समूह, उत्साहमा उत्पादन र होटेल व्यवसाय 

सेयर बजार २०८० : खराब स्थितिमा बैंकिङ समूह, उत्साहमा उत्पादन र होटेल व्यवसाय 

काठमाडौं । गत वर्ष नेप्से परिसूचकले १९३४ को विन्दुमा पुगेर विश्राम लिएको थियो भने यस वर्ष नेप्से परिसूचक २०२५ को विन्दुमा पुगेर बन्द भएको छ । एक वर्षे अवधिमा पनि सेयर बजारमा खासै सकारात्मक उपलब्धि भने देखिएन ।

एक वर्षमा नेप्से मात्र ९४ दशमलव २ अंकले बढेको छ । २०८० सालको नेप्सेको आँकडा हेर्ने हो भने २२२७ अंकभन्दा माथि चढ्न सकेको छैन । त्यस्तै, यस वर्ष नेप्सेले न्यूनतम १८१८ अंकको विन्दुमा समेत यात्रा गरेको थियो ।

२०७९ फागुन मसान्तमा १९५३.०६ रहेको नेप्से सूचकाङ्क २०८० फागुन मसान्तमा २१०८.७३ कायम भएको नेपाल राष्ट्र बैंकको रिर्पोटले देखाएको छ ।

२०८० फागुन मसान्तमा धितो पत्र बजार पुँजीकरण ३३१४ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ, जुन गत वर्ष फागुन मसान्तमा २८२३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

नेप्सेमा थपिएका कम्पनीहरू 

२०८० फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

२०७९ फागुनमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २४५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशतत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

सबैभन्दा खराब स्थितिमा बैङ्किङ समूह

२०८० सालको सेयर बजारमा सबैभन्दा कमजोर प्रस्तुतिसहित प्रदर्शित हुने समूहमा बैङ्किङ समूह रहेको छ । यो वर्ष उक्त समूह १५.६० प्रतिशतले घटेको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको मात्रै कुल ३ अर्ब ९७ करोड ९५ लाख कित्ता सेयर सूचीकृत छ ।

बजारको कुल पुँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा वाणिज्य बैंकहरूको ‘बैंङ्किङ’ समूहको मात्रै ८ खर्ब ७२ अर्ब छ । २३ चैतमा यो समूह ४५ महिनायताकै न्यूनतम विन्दु १०५० अंकमा झरेको थियो । हाल भने १०५९ अंकमा अडिएको छ ।

उत्साह छाएको समूहमा उत्पादन र होटेल व्यवसाय

यो वर्ष उत्पादन समूह र होटेल व्यवसायमा उत्साह देखिएको छ । २०८० सालमा होटेल तथा पर्यटन ४६ दशमलव २२ प्रतिशतले बढेको छ भने  उत्पादन प्रशोधन समूह ५० दशमलव ३३ प्रतिशतले बढेको छ । उत्पादन समूहमा जम्मा ९ कम्पनी सूचीकृत छन्, जसमध्ये सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट कम्पनी यो वर्षमै थपिएका हुन् ।

वार्षिक सेयर कारोबार 

यस वर्ष २०८० मा नेपाली सेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्याङ्कले यस्तो देखाएको हो ।

यो वर्ष २०८० वैशाख २ गतेदेखि चैत २८ गतेसम्म गरेर कुल २३१ दिन शेयर कारोबार भएको भएको छ । त्यसमा १२७ दिन नेप्से परिसूचक घटेको छ । यसैगरी १०३ दिन भने नेप्से परिसूचक बढेको तथ्याङ्कमा उल्लेख छ ।

योबाहेक असार २१ गते भने नेप्से परिसूचक २०४९.३८ विन्दुमा स्थिर रहेको थियो । यो वर्ष माघ ४ गते सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको थियो । त्यो दिन ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाएको छ ।

सबैभन्दा कम रकमको कारोबार भने मङ्सिर १४ गते भएको थियो, त्यो दिन ३३ लाख १२ हजार रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।

लचिलो नीति अवलम्बन

२०८० सालमा लिइएका सेयर बजारसम्बन्धीका केही लचिला नीतिहरूले सेयर बजारलाई केही राहत मिले पनि अपेक्षानुरूप फस्टाउन सकेन । ठूलो सेयर धितो कर्जामा जोखिम भार १ सय ५० प्रतिशत कायम गरिएकोमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा त्यसलाई १ सय २५ मा झारियो, जुन हाल कायम छ ।

त्यस्तै सेयर धितो कर्जामा जाने रकम व्यक्तिलाई १२ करोड रहेकोमा असोजमा निर्देशनमार्फत बढाएर १५ करोड कायम गरियो भने संस्थालाई १५ करोडबाट २० करोड पुर्‍याइयो । २०७९ को तुलनामा सहज तर, समग्रमा कसिलो नीति कायमै रह्यो ।

कात्तिक २० मा नेपाल धितो पत्र बोर्डले मुच्यूअल फन्डहरूलाई निर्देशन जारी गर्दै आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गर्‍यो ।

यसले आईपीओ सूचीकृतपछि म्युच्यूअल फन्डबाट बजार आउन सक्ने आपूर्ति ६ महिनासम्म नियन्त्रणमा रह्यो ।

सूचीकृत कम्पनीले ‘लकईन’ मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था मंसिरमा गरियो ।

जुन व्यवस्था हाल लागु भइरहेको छ । नयाँ स्टक एक्सचेन्ज खोल्ने वा नखोल्ने विषय पनि यो वर्ष विवादमा नै रह्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved