FactCheck

विदेशी सर्कसको हात्तीको भिडिओ शेयर गरेर बहकिँदै नेपाली, रुद्रकली र खगेन्द्र चितवन निकुञ्जमै !

हात्ती ट्रक चढेको भिडिओ शेयर गर्दै धेरैले बिलौना गरिरहेका छन् । भन्दैछन्, ‘कठै बिचरा । धेरैले दाबी गरेका छन्, यी हात्तीहरू बुधबार चितवनबाट काठमाडौं विमानस्थलसम्म ट्रकमा लगिन लागिएको हो । २४ अप्रिलकै दिन (बुधबार) हात्तीहरू ट्रकमा लोड गरिएको भन्दै भिडिओ भाइरल छ । तर, त्यो  भिडिओ २७ दिन अघि नै चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले पहिलोपटक अपलोड गरेको देखिन्छ । चितवनका हात्ती निकुञ्जमै छन् ।

विदेशी सर्कसको हात्तीको भिडिओ शेयर गरेर बहकिँदै नेपाली, रुद्रकली र खगेन्द्र चितवन निकुञ्जमै !

काठमाडौं । बुधबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ, ‘२ वटा हात्तीलाई २ जना माउतेले ट्रकमा चढाइरहेका देखिन्छन् ।’

एउटा फलामे मेचमा टेकेर पहिलो हात्ती ट्रकमा उक्लन्छ । लगत्तै दोस्रो हात्ती उसैगरी ट्रकमा चढ्छ र आफू चढेर उक्लिएको फलामे मेच सूँडले तानेर ट्रकमै हाल्छ ।

‘रुद्रकली र खगेन्द्र हात्ती ट्रक चढेर एयरपोर्ट जाँदै कतार जान भन्दै हार्दिक मल्ल नाम गरेका फेसबुक युजरले बुधबार दिउँसो भिडिओ रिल्समा अपलोड गरेका थिए ।

भिडिओमा बिहीबार बिहान यो सामग्री पोस्ट हुँदासम्म पाँच हजार बढीले कमेन्ट गरेका छन् । झन्डै ९० हजार बढीले  लाइक गरेका छन् । त्यो भिडियो १५ हजारभन्दा बढीले शेयर गरेका छन् ।

नेपालको दाबी गर्दै नेपालमा भाइरल भएको भिडिओको स्कृनसर्ट

उनीजस्तै कैयौँले भिडिओ डाउनलोड गरेर अपलोड गरिरहेका छन् । ती पोस्ट पनि धेरै पटक शेयर भइरहेका छन् ।

यो भिडिओ शेयर गर्दै धेरैले बिलौना गरिरहेका छन् । भन्दैछन्, ‘कठै बिचरा ! आफू बिदेसिने बेलामा ट्रकबाट ओर्लनुपर्छ भनेर मेचसमेत आफैँ उठाएर लग्यो । त्यो दृश्यले मन छोयो ।’

यस्ता ज्ञानी हात्तीहरू अरू देशलाई दिनुहुँदैनथ्यो भन्दै सरकारलाई गाली बर्साइरहेका छन् । धेरैले बुझेका छन् यी हात्तीहरू चितवनबाट काठमाडौं विमानस्थलसम्म ट्रकमा लगिँदै छ ।

देश छाड्न लागेको भन्दै हात्तीप्रति विधायिका भावना छताछुल्ल छ । हात्तीको यो भिडियोमा अधिकांशले मार्मिक गीतको साउन्ड हालेका छन् । बिदेसिन लागेको र बिछोडका गीतहरू र मार्मिक धुनहरू राखेर भिडिओलाई थप मनछुने बनाएका छन् ।

ती भिडिओहरू जति पनि पोस्ट र शेयर भइरहेका छन्, त्यहाँ कमेन्टहरू समेत ‘बिलौनायुक्त र रोनाधोनापूर्ण छन् । ज्यादै दु:ख पूर्णभावनाका कमेन्टहरू देखिन्छन् ।

तर, नेपालभ्यूजको तथ्य जाँचमा भने यो भिडिओ नेपालको नभएको देखिएको छ । नेपालले कतारलाई उपहार स्वरूप पठाउने भनिएको हात्ती उनीहरु होइनन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार तत्काल कतार नजाने भएका नेपाली हात्ती त अर्का छन् । भाइरल भइरहेको भिडिओ विदेशको हो ।

के हो तथ्य ?

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २३ अप्रिल (११ वैशाख मंगलबार) नेपाल आएका थिए । २४ अप्रिल (१२ वैशाख बुधबार) स्वदश फर्किए ।

२४ अप्रिलकै दिन (बुधबार) हात्तीहरू ट्रकमा लोड गरिएको भन्दै भिडिओ भाइरल छ । तर,  ४८ सेकन्ड लामो त्यो  भिडिओ २७ दिन अघि नै मार्च २८ अर्थात् (गत चैत १५ गते ) थाइल्यान्डको एक फेसबुक पेजले  पहिलोपटक अपलोड गरेको देखिन्छ  । भिडिओमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।

थाइल्यान्डमा त्यस्ता दृश्य प्रत्यक्ष देखेकाहरूले उतैको हुनसक्ने अनुमान गरेका छन् । उनीहरूले त्यहाँ सर्कसमा देखाउन ती हात्तीहरू प्रयोग हुने बताएका छन् ।

१४ अप्रिलमा  एक विदेशी नागरिकले त्यही भिडिओ कपि डाउनलोड गरेर अपलोड गरेका छन् । बायोमा ‘क्यानडाका क्याप्टेन’ लेखेका एन्डी ग्रिन्ले (Andy Greenlay) नामका फेसबुक युजरबाट दुई भिडिओ पोस्ट भएको देखिन्छ ।

उनले पहिलो भिडिओको क्याप्सनमा लेखेका छन्, ‘के तपाईँले कहिल्यै ट्रकमा दुई वटा हात्ती लोड गर्ने प्रयास गर्नुभएको छ। मलाई मनपर्छ कि दोस्रो हात्तीले आफ्नो सुँडले सबैलाई अभिवादन गर्छ र उसले कुर्सी पनि उठाउँछ । ’

अहिले नेपालमा भाइरल भिडिओ २७ दिन अघि नै चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले पहिलोपटक अपलोड गरेको देखिन्छ । (स्कृनसर्ट)

अन्तैको वयस्क हात्तीलाई देखाएर नेपालको ‘छावा’ भन्दै

भाइरल भिडिओमा हात्तीका शरीर ठुलै छ । घाँटी र अगाडिको एउटा खुट्टामा सिक्री बाँधिएको छ । हेर्दा लाग्छन्, उनीहरु वयस्क हात्ती हुन् । कान पनि ठुलाठुला छन् । कानको मुनी सेता छिर्काहरू देखिन्छन् । तीमध्ये एक हात्तीको दाह्रा छैन, अर्को हात्तीको लामालामा दाह्रा देखिन्छ ।

तर, कतार लैजाने भनिएका नेपालका हात्तीहरू त्यस्ता छैनन् । एक हात्तीको दाह्रा नभएको र अर्काको दाह्रा भएको हुलिया मिले पनि अरू मिल्दैन ।

तर, नेपालका हात्तीको दाह्रो धेरै सानो छ, भर्खरै पलाउँदै गरेको देखिन्छ । जुन फोटोमा पनि प्रस्ट देखिन्छ । भाइरल भिडिओमा देखिए झैँ धेरै ठुला छैनन् ।

किनकि नेपालका रुद्रकली र खगेन्द्रप्रसाद छावा (बच्चा हात्ती) हुन् । चार वर्ष चार महिनाका भाले छावा खगेन्द्रप्रसाद र पाँच वर्षीया पोथी छावा रुद्रकली हो ।

कतारलाई पठाउने भनिएको चितवन राष्ट्रिय निकुञ्जमा रहेको ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती

कतार पठाउन साईटीसको सिफारिस कुर्दै

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो ।

तर, कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजासँगै ती हात्ती नगएका वन मन्त्रालयले जनाएको छ ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले नेपाल भ्यूजसँग भने, ‘‘हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । साईटीसले सिफारिस गर्नुपर्छ । त्यो सिफारिस आइसकेको छैन । कतारलाई हात्ती दिने विषयमा साईटीसले सिफारिस गरेपछि बल्ल हात्ती पठाउने तयारी गर्छौँ ।’’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि हात्तीहरूलाई ट्रकमा राखेर कतै ल्याउने लैजाने नगरेको बताए । उनले ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै रहेको जानकारी दिए । दुवै छावा सौराहास्थित निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा हुर्किरहेका छन् ।

कतारलाई उपहार दिन लागिएको ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका हात्ती चितवन राष्ट्रिय निकुन्जमा चराउँदै माहुते । ( फोटो – नयाँ पत्रिका )

तथ्य जाँच

दाबी : कतार पठाउन विमानस्थलसम्म पुर्‍याउन ट्रकमा लोड गरिन लागिएको चितवन राष्ट्रिय निकुञ्जको हात्ती । (२४ अप्रिल दिउँसोदेखि नेपालमा पोस्ट र शेयर भइरहेको भिडिओ)

दाबी गर्ने : सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य : मिथ्या सूचना ।   भिडिओ २७ दिन अघि नै चैत १५ गते  थाइल्यान्डको एक फेसबुक पेजले  पहिलोपटक अपलोड गरेको देखिन्छ । 

तसर्थ :सामाजिक सञ्जालमा भाइरल भिडिओ नेपालको होइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved