काठमाडौं । “हमारा सिस्टम इतना गंदा हो चुका है कि इसमें कोई सुधार नहीँ हो सकता । इसे साफ करने के लिए किसी को इसकीजड़ तक जानाहोगा” बलिउड फिल्म ‘नायक’माशिवाजी राव (अनिलकपूर)को यो संवादले राजनीतिमा रहेको खराबीलाई औँल्याउँदै सुधारको आह्वान गर्छ ।
बलिउड र दक्षिण भारतीय फिल्म हेर्न रुचाउने नेपालीमा पनि ती फिल्महरूको प्रभाव परेको देखिन्छ ।
ती फिल्ममा देखाइने चमत्कारमा तत्कालै सबै समस्या समाधान हुन्छ । त्यही जादुयी प्रभावले होला नेपाली समाजका हरेक क्षेत्रमा पनि त्यस्तै चमत्कार खोज्न थालेका छौँ ।
भारतीय फिल्म ‘नायक’मा जस्तै तत्कालै चामत्कारिक काम हुनुपर्ने अपेक्षा अधिकांशमा देखिन्छ ।
धेरै नाम सुनिएको र हेरिएको यो फिल्मका मुख्य पात्र शिवाजी राव, जसको भूमिका अनिल कपूरले निर्वाह गरेका छन् । उनी सामान्य क्यामेराम्यान र टेलिभिजन प्रस्तोताबाट मुख्यमन्त्री बन्छन् ।
पदमा पुगेपछि उनले देखाएको चामत्कारिक कामकै कारण उनी ‘नायक’ बन्छन् ।
पद सम्हालेलगत्तै जनताको जीवन सहज बनाउने प्रभावशाली कदम चाल्छन् । भ्रष्ट कर्मचारीलाई तुरुन्त निलम्बन गर्छन्, ठगी गर्ने व्यापारीहरूको लाइसेन्स खारेज गर्छन्, अन्यायमा परेकालाई न्याय दिलाउँछन् । त्यही कामले उनी नायकको रुपमा कहलिन्छन् ।
राजनीति भने फिल्मजस्तो कल्पना मात्रै होइन तैपनि फिल्मको यस पक्षले दर्शकलाई गहिरो प्रभाव पारेको छ । ‘नायक’ फिल्ममा शिवाजीले रातारात चमत्कार गरे झैँ राजनीतिमा सम्भव छैन ।
यद्यपि, पर्दामा देखाइएको अनिलको भूमिकाले आममानिसमा छाप छोडेको देखिन्छ —‘नेता भनेको शिवाजीजस्तो हुनुपर्छ ।’
यसै फिल्मको प्रभाव भनौँ, नेपाली राजनीतिमा उही शिवाजीकै खोजी भइरहेको छ । साढे दुई वर्षअगाडि भएको स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारको उदय यसैको उदाहरण मानिन्छ ।
युवा अभियन्ता तथा र्यापर इन्जिनियर बालेन शाह काठमाडौं महानगरको मेयर बन्नु, अभियन्ता हर्क साम्पाङ धरानमा विजयी हुनु, स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीमा जित्नु यस्तै प्रभावको उदाहरण हुन् ।
नयाँ दलको उदय : आशा र असफलता
स्थानीय चुनावको छ महिनापछि भएको संसदीय चुनावमा पनि मतदाताले नायकको अपेक्षासहित भोट गरेका थिए । विसं २०७९ मङ्सिरको संसदीय चुनावमा मतदाताको प्राथमिकता अझ स्पष्ट भएको थियो र यसले नयाँ दलहरूको उदयलाई प्रोत्साहित गर्यो ।
पूर्वी तराईमा सीके राउतको जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी राम्रो प्रदर्शन गर्दै नयाँ दलको रूपमा उदाए ।
जनमत पार्टीले स्थानीय निकायमा दुई स्थानमा जित हासिल गरेको थियो भने प्रदेशमा अहिले उसकै नेतृत्वमा सरकार बनेको छ । सङ्घीय संसद्मा जनमतको ६ सिट छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा दुई गाउँपालिका र दुई नगरपालिकामा जित हासिल गरेको थियो । सङ्घीय संसद्मा ३ सिट जित्यो ।
थरुहट प्रदेशको मुद्दा बोकेर उदाएको यो पार्टी पनि वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्यमा छ । थोरै सिट भए पनि मतदाताले उनीहरूको काम हेरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । पछि उपचुनावमा थप एक सिट बढायो । परिणामलगत्तै कतिपयले रास्वपाले आउँदो चुनावमा बहुमत नै ल्याउने आकलन गरेका थिए ।
यसरी नयाँ दलहरूको उदयले नेपाली राजनीतिमा परिवर्तनको सङ्केत दिएको थियो तर, ती दलले मतदाताको अपेक्षाअनुसार आफ्नो गौरवशाली भूमिका निर्वाह गर्न सकेनन् ।
सीकेको जनमत पार्टीका सांसद विवादमा मुछिए, पटकपटक सरकार बनाउने र ढाल्ने खेलमा सरिक भए ।
नागरिक उन्मुक्ति पार्टी भने श्रीमानश्रीमतीको झगडाबाट बदनाम बन्यो । चौथो ठूलो दल रास्वपाका सभापति भने सहकारी ठगी काण्डमा मुछिए । उनी अहिले पनि प्रहरी हिरासतमै छन् ।
यी दलको असफलता र विवादले मतदातामा निराशा उत्पन्न गरेको छ । अब मतदाता पुनः विकल्पको खोजीमा छन् ।
स्वतन्त्र उम्मेदवार दलको तयारी या अड्कलबाजी
बालेन, हर्क र गोपी हमालजस्ता नेताहरूको सक्रियतामा नयाँ पार्टी खोल्ने विषयले चर्चा पाइरहन्छ ।
यी मेयरहरू सबैले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेका थिए र अहिले उनीहरू भ्रष्टाचार र बेथितिको विरोध गर्दै वैकल्पिक राजनीति अघि बढाउने सोचमा रहेको बताइन्छ ।
केही समयअघि धरानबाट काठमाडौं आएका हर्कले बालेनसँग वैकल्पिक राजनीतिबारे छलफल गरेका थिए । फेसबुकमा प्रश्न राखेका थिए, ‘यदि हामीले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने ककसले साथ दिनुहुन्छ ?’ त्यसपछि विभिन्न टीकाटिप्पणी सुरु भए र नयाँ दलको गठनको सम्भावनालाई लिएर चर्चा चुलियो ।
हालै रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परेपछि कतिपयले विशेषगरी बालेन र उनको समूहबाट नयाँ दल गठनको अपेक्षा राखेका छन् ।
दुई वर्षअघि बालेनले प्रतिनिधि सभाका नयाँ सांसदलाई ‘नयाँ गफाडी’ भन्दै आलोचना गरेका थिए, जसको अर्थ उनले पुरानो राजनीतिक प्रणाली र दलहरूको असफलता व्यक्त गर्न खोजेका थिए ।
उनले आफ्नो आलोचनात्मक आवाज उठाउँदै सामाजिक सञ्जालमा एमालेको विरुद्ध सङ्घर्ष जारी राखेका छन् । वर्ष दिनअघि उनले स्पष्ट रूपमा भनेका थिए, ‘देश बन्छ तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सकिएर बन्छ, तिमीहरूलाई सकाएर बन्छ !’ यसलाई लिएर उनले पार्टी खोल्ने सङ्केत दिएको कतिपयको बुझाइ छ ।
नयाँ पार्टी खोल्नेबारे विभिन्न चरणमा छलफल भइरहे पनि कहिलेसम्ममा घोषणा हुनेबारे हालसम्म कुनै टुङ्गो नलागेको बालेनका निकटस्थ बताउँछन् ।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भने पार्टी बनाएर अगाडि बढ्नेबारे नसोचेको दाबी गर्छन् । उनी भन्छन् ‘उहाँले पार्टी बनाएर अगाडि बढ्नेबारे अहिल्यै सोच्नुभएको छैन । तयारी पनि छैन । अहिले मेयरमा जनताले दिएको म्यान्डेटअनुरूप काम गर्ने हो ।’
औपचारिक रूपमा बालेन निकटकाले नकारे पनि भित्रभित्रै तयारी गरिरहेको दाबी कतिपयको छ ।
वैकल्पिक दल बन्न पुरानालाई गाली मात्रै हैन, विचार पनि चाहिन्छ
स्वतन्त्र उम्मेदवारहरूले स्थानीय तहमा राम्रो सुरुवात गरेकाले दल खोलेर आउँदा राम्रो सम्भावना देखिने लेखक तथा विश्लेषक जुगल भुर्तेलको टिप्पणी छ ।
जुगल भुर्तेल, लेखक तथा विश्लेषक
तर, राजनीतिक दलको रूपमा सङ्गठित हुनु सस्तो नाराबाट नभई, दूरदृष्टि, प्रतिबद्धता र सही नेतृत्व विकास हुनुपर्ने उनको तर्क छ ।
पुराना दलप्रति जनताको निराशा र आक्रोशको लहरले नयाँ दललाई अवसर दिएको गाली गरेर मात्र विकल्प बन्न नसक्ने भुर्तेलको टिप्पणी छ ।
भुर्तेल भन्छन् –
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले महत्त्वपूर्ण उपस्थिति जनाउँदै जनताको आशा र विश्वास जितेका छन् । मिडिया र सामाजिक सञ्जालमा उनीहरूको कामको प्रशंसा भइरहे पनि वास्तविक उपलब्धि हेर्नको लागि बजेट खर्च र विकास कार्यको अवस्था बुझ्नुपर्छ ।
स्थानीय तहको मुख्य जिम्मेवारी भनेकै विकास निर्माण र जनताको जीवनस्तर उकास्नु हो । तर, पुँजीगत खर्च प्रभावकारी रूपमा नभइरहेको अवस्थामा स्वतन्त्र जितेका उम्मेदवारले धेरै ठूला परिवर्तन गरेका जस्तो देखिँदैन । तैपनि, स्वतन्त्र उम्मेदवारहरूप्रति आम जनतामा अझै पनि आशा र भरोसा कायम छ ।
स्वतन्त्र उम्मेदवारहरू भ्रष्टाचारमा मुछिएका छैनन्, जुन जनताका लागि सकारात्मक सन्देश हो । यसले केन्द्र सरकार र पुराना राजनीतिक दलमाथि सुधारको दबाब पनि सृजना गरिरहेको छ ।
स्वतन्त्र उम्मेदवारको सफलताले पुराना दललाई सन्देश दिएको छ कि अब जनताले ‘राम्रो उम्मेदवार’ खोजिरहेका छन् । योबाट शिक्षा लिने अवसर दलहरूले आफ्नो सुधार र नयाँ नेतृत्वको विकासका लागि उपयोग गर्न सक्छन् ।
केही स्वतन्त्र सांसदले चुनाव जिते संसद्मा जनताको पक्षमा आवाज उठाउने र भ्रष्टाचार तथा विकृतिमाथि खबरदारी गर्न सक्छन् । तर, सरकार नचलाएसम्म परिवर्तन सम्भव हुँदैन । यसको लागि वैकल्पिक दल चाहिन्छ ।
पुराना दलप्रति जनताको निराशा र आक्रोशको लहरले नयाँ दलहरूलाई अवसर दिएको छ । तर, सिर्फ पुराना दललाई गाली गरेर चुनाव जित्ने कुरा पर्याप्त हुँदैन ।
नयाँ दलले स्पष्ट विचारधारा, दीर्घकालीन दृष्टिकोण र ठोस योजना लिएर आउन सक्नुपर्छ । ‘सबै चोर छन्’ भन्ने पपुलिस्ट नाराले जनतालाई आकर्षित त गर्न सकिएला तर, विकल्प बन्न ठोस भिजन चाहिन्छ ।
स्थानीय तहमा हेर्ने हो भने पुराना दलहरूले पनि उल्लेखनीय काम गरिरहेका छन् । तर, तिनीहरूको कामको चर्चा हुँदैन । सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवारको चर्चा भएजस्तो पुराना दलप्रति निराश देखिने गरेको छ ।
सरकारले स्थायित्वतर्फ ध्यान दिँदै समयमा काम गर्न सक्न सक्यो भने मात्रै जनताको निराशा हटाउन सकिन्छ ।
स्वतन्त्र उम्मेदवारहरूले स्थानीय तहमा राम्रो सुरुवात गरेका छन् । तर, देशव्यापी रूपान्तरणको लागि यसले मात्र पुग्दैन । यदि स्वतन्त्र उम्मेदवारहरू वैकल्पिक शक्ति बन्न चाहन्छन् भने उनीहरूले राजनीतिक दलको रूपमा सङ्गठित हुनुपर्छ ।
त्यसका लागि स्पष्ट विचार, यथार्थपरक नीति, र दीर्घकालीन सोचका साथ अघि बढ्न जरुरी छ । वैकल्पिक दल सस्तो नाराबाट होइन, दूरदृष्टि, प्रतिबद्धता र सही नेतृत्वको विकासबाट मात्र सम्भव छ ।
वैकल्पिक शक्ति बन्ने सपना र सम्भावना
स्वतन्त्र उम्मेदवारमा विशेषगरी चर्चा र लोकप्रिय नेता बालेनप्रति आममानिसको अपेक्षा रहेको लेखक तथा विश्लेषक डा. इन्द्र अधिकारी बताउँछिन् ।
डा. इन्द्र अधिकारी, लेखक तथा विश्लेषक
एक व्यक्तिको प्रयासले मुलुकको व्यापक परिवर्तन सम्भव नभएकोले मुलुक परिवर्तनका लागि वैकल्पिक सङ्गठित राजनीतिक दलको आवश्यकता रहेको उनको तर्क छ ।
यसका लागी उनीहरूले दल खोलेर पुराना दलका कमजोरी नदोहोर्याई वैकल्पिक सोच र नीतिगत स्पष्टताका साथ अघि बढे मात्र नयाँ दलले सफलता पाउन सक्ने अधिकारी बताउँछिन् । नत्र नयाँ दलले पनि पुराना दलजस्तै परिणाम नदिन नसक्ने उनको तर्क छ ।
अधिकारी भन्छिन्-
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजय लोकतान्त्रिक अभ्यासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बन्यो । स्थानीय तहको कार्यकारी प्रमुख बन्ने अवसर पाएका स्वतन्त्र उम्मेदवारले एक्लै भए पनि आफ्नो एजेन्डालाई आंशिक रूपमा कार्यान्वयन गर्ने मौका पाए ।
उनीहरूले जितेको नगरमा आफ्ना योजना लागू गरेर राम्रो काम गर्ने अवसर पाए । तर, एक व्यक्तिको प्रयासले मात्र मुलुककै व्यापक परिवर्तन सम्भव छैन ।
यदि मुलुक नै रूपान्तरण गर्ने लक्ष्य लिएर राजनीतिमा प्रवेश गरेको हो भने दल खोलेर सङ्गठित शक्ति निर्माण गर्नुको विकल्प छैन ।
पालिकामा जितेको एक स्वतन्त्र मेयरले काम गरेर सीमित क्षेत्रको समस्या समाधान गर्न सक्छ । तर, मुलुकको सामूहिक परिवर्तनका लागि यस्तो प्रयास अपर्याप्त देखिन्छ । सबै क्षेत्रमा सुधार गर्न सांसद बन्नुपर्छ, संसद् छिर्नुपर्छ ।
तर, संसद्मा पनि एकजना मात्रै सांसदको प्रयासले कानून निर्माण र सरकार गठन जस्ता कार्यहरू गर्न सकिँदैन । त्यसका लागि सङ्गठित र बलियो दल चाहिन्छ, जसले धेरैभन्दा धेरै सांसद संसद्मा पुर्याउन सक्नुपर्छ ।
यसको देशमा साँच्चै केही गर्न चाहने नेतृत्वले एकल सङ्घर्षभन्दा ठूलो राजनीतिक दल निर्माण गर्नुपर्छ ।
अहिलेका स्वतन्त्र उम्मेदवारलाई स्थानीय सरकारमा ‘टेस्ट’ गरियो । उनीहरूले राम्रो काम गरेर राम्रो परिणाम दिन सके भने जनताले विश्वास र आशा गर्नेछन् । पुराना दलप्रति जनतामा आक्रोश छ, निराशा छ ।
खासमा अलि बढी चर्चा र लोकप्रियताको शिखरमा छन्, बालेन । यदि उनको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरूले आफूलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न चाहन्छन् भने राजनीतिक पार्टी विकास गर्नैपर्छ । तर, यो बार्गेनिङको राजनीति गरेर टिक्ने प्रयासको लागि होइन ।
काम गरेर देखाउने र सकारात्मक परिवर्तनको उदाहरण बन्न सक्नुपर्छ । सबै क्षेत्रमा वैकल्पिक शक्तिको रूपमा उभिने प्रतिबद्धता हुनुपर्छ ।
समस्याको वास्तविक समाधान खोज्ने चिन्तनका साथ राजनीतिमा प्रवेश गरे मात्र नयाँ दलले वैकल्पिक शक्तिको रूपमा पहिचान बनाउनेछ ।
आचरण आनीबानी, सोच सबै वैचारिक हिसाबले वैकल्पिक हुनुपर्छ । नत्र नयाँ दल खोल्दैमा र चुनाव जित्दैमा मात्र केही परिवर्तन हुँदैन ।
यदि अरू दलमा रहेको संरचनागत कमजोरी नयाँ दलमा दोहोर्याइयो भने, नयाँ दलको परिणाम पनि पुराना दलसरह हुने खतरा हुन्छ ।
त्यसैले अरू दलको जस्तै कमजोरी दोहोर्याउने होइन, समस्याको समाधानमा वैचारिक र नीतिगत स्पष्टताका साथ अघि बढ्नुपर्छ ।
अरू दलमा नीतिगत संरचना कहाँ समस्या छ त्यहाँ समाधान गर्ने गरी आएमा मात्र वैकल्पिक शक्ति हुन्छ । नत्र अर्को कम्युनिस्ट, अर्को काङ्ग्रेस, अर्को राप्रपा पार्टी हुन्छ । कुनै नयाँ वैकल्पिक दल हुँदैन ।
Facebook Comment
Comment