बहस

वैकल्पिक राजनीति : कनेक्टिङ्ग द डट्स

पहिलेका मान्छेले लोभलालचमा भोट हालेर सबै बिग्रेको हो भन्छन् आफू भने भोटर कार्ड बनाउँदैनन् । तर, पनि राजनीति ठीक भएन भन्न कसैले छाड्दैनन् । 

वैकल्पिक राजनीति : कनेक्टिङ्ग द डट्स

वैकल्पिक राजनीति भनेको के हो ? यसले के फरक गर्छ ? राजनीतिको पनि प्रकार हुन्छ र ? राजनीति भनेको त साम दाम दण्ड भेद सबै अपनाउनु पर्ने खेल हो ! 

यहाँ वैकल्पिक, सैकल्पिक हुँदैन भनेर कट्टर विश्वास गर्नेहरू पनि रहेको समाजमा, पहिल्यैदेखि स्थापित पुरातन राजनीतिको परिभाषा बदल्नु र व्यवहारमा परिवर्तन ल्याउनु नै वैकल्पिक राजनीतिको अभिप्राय हो तर, यो सजिलो कुरा भने होइन ।

शहरी युवा पुस्ताले बुझेको राजनीति

देशमा गृहयुद्ध सुरु भएकै वर्ष जन्मिएको म र त्यसको केही वर्ष अघि पछिको फरकमा जन्मिएका पुस्तालाई नेपालको राजनीति भनेको आन्दोलन, हत्या, हिंसा, धाँधली, संसद् भवन भित्रको कुर्सी तानातान नै हो भन्ने लाग्यो । कतिपय नागरिक त अझैपनि हाम्रो सङ्घमा ६०१ सांसद छन् भन्ने ठान्छन् । पहिलेका मान्छेले लोभलालचमा भोट हालेर सबै बिग्रेको हो भन्छन् आफू भने भोटर कार्ड बनाउँदैनन् । तर, पनि राजनीति ठीक भएन भन्न कसैले छाड्दैनन् । 

लोकतान्त्रिक राजनीति नेता एक्लैले बन्दैन, जनताको उत्तिकै सहभागिता चाहिन्छ भन्ने चेतना न्यून भएको समाजमा वैकल्पिक राजनीति भनेको कठिन विषय हो । वैकल्पिक राजनीतिको अर्थ बहुदलीय लोकतन्त्रमा खुलेको कुनै एक अमुक पार्टी होइन । पार्टी खोल्न त अहिले नेपालको कानूनअनुसार सहज नै छ । वैकल्पिक राजनीति त बदलिँदो समयमा समय सापेक्ष सुरु हुने महाअभियान हो । जस्तै, जनमञ्च याने बौद्धिक राजनीतिक विमर्शको चौतारी हुँदै २०५० सालमा स्थापना भएको प्रजातान्त्रिक लोकदल (लोकदल) सो समयको नयाँ विचार, वैकल्पिक राजनीतिको सुरुवात गर्ने हेतुले सङ्गठित हुन खोजेको दल थियो, जसको निरन्तरता धेरै कारणले हुनसकेन । वैकल्पिक राजनीति समयक्रमअनुसार अघि बढ्छ, स्थापना हुन्छ । लोकदलको स्थापना र बन्द गर्ने बेलाका कैयौँ कुराहरू २०-३० वर्ष पछिको अवस्थामा पनि मिल्न जान्छ जस्तो मलाई लाग्छ ।

विसं २०७० कार्तिकको महिनामा काठमाडौंमा तापक्रम घट्न सुरुवात हुँदै थियो तर, राजनीतिक तापक्रम बढ्दै थियो । किनभने मङ्सिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन हुने मिति थियो । म सो समय पहिलो पटक भोट हाल्ने नागरिक थिएँ । आफ्नो पहिलो भोट पाउन लायक नेता, पार्टी मैले भेटिरहेकी थिइनँ । त्यसको केही समय अघि मात्रै आमाको नामबाट नागरिकता नपाएर प्रशासनको दुःख भोगेकी मैले देशको सिस्टममा गडबडी छ भन्ने थाहा पाएर पनि पुराना दल त हुँदै हुँदैन भन्नेमा विश्वस्त थिएँ । त्यसैले कोही नयाँ खालको, आफ्नो कुरा बोल्दिने खालको व्यक्ति खोज्दै थिएँ । एकदिन नेपाल खुला छ भन्ने अभियानबारे थाहा पाएँ । नेपाल बन्द मात्र सुनेको मैले नेपाल खुला छ भन्दा मन फुरुङ्ग भयो किनभने बन्दले देश बन्दैन भन्ने लाग्थ्यो । पृथक र देशको हित हुने कार्यक्रम गरेको नै मलाई चित्त बुझ्यो त्यही भएर म आफैँ ति अभियानकर्तालाई खोज्दै जोडिन पुगेँ । 

ति अभियानकर्ताहरू प्राय सबै पढेलेखेका, जुझारु, प्रोग्रेसिभ सोचाइका लाग्यो । महिला, युवा, लैङ्गिक अल्पसङ्ख्यक पनि नेता बन्नुपर्छ भन्थे उनीहरू । राजनीति गर्ने हो तर पुरानाले जस्तै होइन नयाँ तरिकाले गर्ने भन्थे र त्यो समयको आवश्यकता पनि थियो ।  सोही अभियानकर्ताका मुख्य नेता उज्ज्वल थापा हुनुहुँदो रहेछ जसको चुनावी अभियानमा मैले अहोरात्र स्वयंसेवा गर्न पाएँ र जिवनभरको लागि मार्गदर्शन पनि पाएँ । 

पछि यही कुरा विश्लेषण गर्दा मैले के बुझेँ भने जब भइरहेका यथास्थितिका पार्टीहरूले आम मानिसको पिरमर्का बुझिदिँदैनन्, आफ्नै रजगजमा रमाउँछन्, तब आम मानिसले विकल्प खोजिरहेको हुन्छ । जुन पार्टी त्यो समयमा नयाँपन बोकेर आउँछ उसैलाई आम मानिसले छान्ने गर्दछन् र, वैकल्पिक राजनीतिको एजेन्डा दमदार रूपले पस्किने बेला पनि यही हो । विनेद (विवेकशील नेपाली दल) नयाँपन बोकेर आउन सुरु गरेको थियो तर, मानिसहरूले पहिलो पटक मै धेरै थाहा पाएनन् र विश्वास पनि गरेनन्।

वैकल्पिक राजनीति र विवेकशील नेपाली

वैकल्पिक राजनीतिको कुरा गर्दा “विकल्प” भन्ने शब्द टाँसिएरै आएको हुन्छ र सामान्य बुझाइमा वर्तमान अवस्थामा रहेका राजनीतिक पार्टीमध्येको विकल्प भनेर बुझिन्छ, जुन अर्ध सत्य हो । किनभने वैकल्पिक राजनीतिले अघि बढ्ने राजनीति सिकाउने हो, लोकतन्त्र बलियो बनाउने, प्रशासन सुधार वा नयाँ अभ्यास, शक्ति पृथकीकरणको अभ्यास सिकाउने हो नकि एकल नेतृत्व । उदाहरणको लागि शक्ति केन्द्रिकृत मात्रै गरौँ, निर्वाचन नगरी आआफैँ पढेलेखेका मान्छेलाई छानौँजस्ता विचार बोकेर नयाँ दल आयो भने उ दलहरूमध्येको विकल्प भनिन सक्छ तर, वैकल्पिक राजनीति गर्ने दल भन्न मिल्दैन ।

वैकल्पिक राजनीति भनेको यथास्थितिमा रहेका पार्टीहरूको विकल्प त हो नै तर, त्यो समयसम्म राजनीति भनेर बुझिएको परिभाषा कै नयाँ रूप र सार दुवै हो । यसबारे प्रष्ट पार्न मैले विवेकशील नेपाली दलको कुरा राख्नैपर्ने हुन्छ । विवेकशील नेपाली दलको इतिहास कुनै अरु समय चर्चा गरौँला । अहिले विवेकशील नेपाली दल कसरी गणतन्त्रको जगमा उठेको वैकल्पिक राजनीतिको सुरुवातकर्ता थियो र त्यसमा के अपुग थियो भन्ने तर्फ लागौँ ।

प्रविधिको उपयोगले विश्वभर जोडिएको

विनेदमा प्राय: गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति थिए । मूल नेतृत्वमा उज्ज्वल थापा, गोविन्द नारायण, अर्जुनसिंह ठकुरी अनि पुकार बम हुँदै हामी धेरै साथीभाइ थियौँ । यो सङ्गठन धेरै कोण र विश्वका धेरै समयबाट चल्दथ्यो । नेपालमा दिन हुँदा सुदूरपूर्वदेखि सुदूरपश्चिमका हामीहरू “नेपाल हाम्रो घर हो डेरा होइन” को टिसर्ट लगाएर भौतिक रूपमै काम गर्थ्यौँ भने नेपालमा निद्रा पर्दा अमेरिकामा “नेपाली भन्ने कि नेपाली बन्ने” टिसर्ट लाउँदै सन्तोष गिरि, सञ्जय रिमालहरू इन्टरनेटबाट काम गर्नुहुन्थ्यो ।

त्यस्तै जर्मनीबाट कर्मा तामाङ, बोध मास्केहरू लागि पर्नुभएको थियो, फिनल्याण्डबाट जगन्नाथ काफ्ले, बेलायतबाट अभिषेक बस्नेत, न्युजिल्याण्डबाट शीतल शर्मा, राज महर्जनहरू, भारतबाट राज क्षेत्री, कतारबाट सुरेश भट्ट जी, ओमानबाट जीवन कार्की, साउदीबाट रविन गुरुङ, लेखु जीहरू, युएईबाट ड्रोना श्रेष्ठ, कृष्ण उप्रेतीलगायत अन्य धेरै व्यक्ति देशविदेशबाट सुरुवाती समयदेखि हुनुहुन्थ्यो । जसले विवेकशील नेपालीलाई २४ सै घण्टा चलायमान राख्नुभएको थियो । विवेकशील नेपाली दलले चलिआएको राजनीतिको परिभाषा बदल्न बहुआयामिक कोणबाट काम सुरु गरेको थियो ।

राजनीतिक दृष्टिकोण, काम, मूल्य मान्यतामा जोड र राजनीतिक कार्यक्रम सबै फरक थिए । राजनीति साम दाम दण्ड भेदले होइन निष्ठा, समानुभूति, साहस, उत्कृष्टता, पारदर्शिता जस्ता मूल्यमान्यतालाई अनुसरण गरेर गर्न सकिन्छ । क्षणिक फाइदाको लागि होइन, दूरदर्शि हितको लागि लामो दौडको यात्रा तय गर्नुपर्छ भन्ने खालको राजनीतिक संस्कारले राजनीतिको यात्रा दूरगामी हितको लागि भनेर स्पष्ट पार्दथ्यो। वामपन्थी र दक्षिणपन्थी बीचको मध्यमार्ग, प्राग्म्याटिजम भन्ने वाद धेरैले नबुझेको र नसुनेको बेला विनेदले नेपाली राजनीति भूमिमा नौलो दर्शन पस्कियो । यस दलको राजनीतिक कामहरू पनि डर नदिने खालका, भय हटाउने खालका थिए जस्तै चक्काजाम कहिल्यै नगर्ने, बन्दको उल्टो विरोध गर्ने, सटर खोल्दै हिँड्ने, विपत्ति आयो भने मद्दत गर्न पुगिहाल्ने । यस्ता नौला र पुरानो परिभाषालाई चुनौती दिने खालको राजनीति वैकल्पिक राजनीतिमा पर्दछ जसको सुरुवात विवेकशीलले गर्‍यो तर, केही कुरा अपुरै रहेका कारण बीचमा अलमल भयो ।

 चर्चित फेस नभएको पार्टी

उज्ज्वल थापा दाइ पार्टी अध्यक्ष भएपनि जनतामाझ चर्चित हुनुहुन्थेन । उहाँ त खासमा कम बोल्ने धेरै काम गर्ने खालको हुनुहुन्थ्यो, जुन कुरा आम जनमानसलाई चित्त बुझेन । नेता भनेको त बोल्ने नै हुनुपर्छ भन्ने बुझाइ थियो । जुन बुझाई कालान्तरमा दाइको देहान्तपछि धेरै नागरिकले परिवर्तन गरे । नेता भनेको त फररररर नबोल्ने तर, सुरुसुरु आफ्नो काम गर्ने खालको पनि हुँदा रहेछन् भन्ने बुझाइ स्थापना भयो । पार्टीको स्थापनापछि उज्ज्वल दाइसँगै गोविन्द दाइ हुनुहुन्थ्यो, जो प्रखर वक्ता भएपनि जति पार्टी भित्र चर्चित हुनुहुन्थ्यो, बाहिर हुनुहुन्थेन ।

विवेकशील नेपाली दल एउटा यस्तो पार्टी थियो जुन चर्चित अनुहार बिनै स्थापना भयो र आफ्नो कामले गर्दा २०७२ साल वैशाख १२ पछि पूरै संस्था चर्चित हुन थाल्यो । यति सम्मको चर्चित कि विवेकशीलको सदस्य भनेपछि समाजमा छुट्टै किसिमको नजर आउन थाल्यो, सम्मान पनि उत्तिकै। तर, त्यो चर्चा २०७४ सालको निर्वाचनसम्म जिताउन अलिक कम थियो, निरन्तरता भएको भए २०७९ सम्म माहोल अर्कै हुन सक्थ्यो । वैकल्पिक राजनीतिमा व्यक्ति प्रधान पार्टी होइन, काम, पद्धति र दृष्टिकोण प्रधान हुनुपर्दछ ।

विवेकशील साझाले देखाएको बाटो

२०७४ सालमा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण पश्चात प्रतिस्पर्धा गरेको निर्वाचनमा २ लाख भन्दा धेरै समानुपातिक भोट आयो । जुन साङ्गठनिक भोट थिएन, किनभने सङ्गठनहरू निर्माण भइसकेका थिएनन् । निर्वाचनपछि क्रमैसँग वैचारिक र व्यावहारिक बेमेलका कारण १ पटक पार्टीको एकीकरण भङ्ग भयो भने दोस्रो पटक पनि फुटको सङ्घारमा गयो । तर, जेनतेन पार्टी साङ्गठनिक रूपमा नफुटे पनि आन्तरिक किचलोहरू सबै छरपष्ट हुँदा सदस्य, कार्यकर्ताबीच भावनात्मक र मनोवैज्ञानिक हिसाबमा छिन्नभिन्न भयो । जसको स्पष्ट आकार २०७९ सालको स्थानीय, सङ्घीय निर्वाचनमा विभिन्न चिन्हमा चुनावी प्रतिस्पर्धा गरेर देखियो । 

सो निर्वाचनमा विवेकशील साझा पार्टी संसद्‌मा निर्वाचित नभएपनि यसले रोपेको बिउले कामपा र सङ्घीय संसद्‌मा नयाँ दल रास्वपाबाट सांसदहरू निर्वाचित हुनुलाई स्वागतयोग्य परिणाम मान्न सकियो । सार के कस्तो हो थाहा नभएपनि रूप मात्रै मिलेको देख्दा पनि जनताले विश्वास गर्ने कुरालाई ‘कनेक्टिङडट्स’ का रूपमा लिन सकिन्छ । र, त्यो डट विवेकशीलले बनाउन सुरु गर्‍यो ।

अन्त्यमा,

असलमा वैकल्पिक राजनीति भनेकै बिस्तारै नवीन सोच, पृथक कदम चाल्दै समाजमा नागरिकहरूको मनस्थिति र बानी परिवर्तन गर्ने राजनीति रहेछ ।  यो राजनीतिले झ्वाट्टै एकैफेरमा निर्वाचन जिताउन पनि सक्छ, बिस्तारै केही दशकमा विचारमा परिवर्तन ल्याएर नागरिकस्तर बाटै राइट टु रिजेक्ट, रिकल, भुइँ स्तरसम्म विकासमा सहभागिता, करको पारदर्शिताजस्ता अत्यावश्यक नागरिक जिम्मेवारी स्थापना गराई आफ्नो अधिकार प्रयोग गर्न सकिन्छ भन्ने चेतनाको बिउ रोप्न पनि सक्दो रहेछ । 

चुनाव लोकतन्त्रको प्रमुख अभ्यासमा पर्दछ जसमा नागरिकले आफ्नो सहभागिता देखाउँछन् । आफ्नो विचार मिल्ने, पिरमर्का बुझेर समाधान दिनसक्ने उम्मेदवारलाई भोट हालेर जिताउने नै मुख्य अभिप्राय हुन्छ । तर, लोकतन्त्रको यो सुन्दर अभ्यासमा नागरिकले जबसम्म आफूलाई जीवनपर्यन्त भोट मात्र हाल्ने काम हो मेरो भनेर सोच्छन् तबसम्म यो आधा लोकतान्त्रिक अभ्यास मात्र हुन्छ । पूरा लोकतन्त्रमा लोकले आफ्नो भलोकुभलो बारे सोचेर भोट हाल्ने, आफैँ पनि चुनावी मैदानमा उठ्नेबाहेक पनि क्रिटिकल्ली सोच्नसक्ने हुन्छन् । वैकल्पिक राजनीतिले नागरिकलाई नै वैकल्पिक राजनीति स्वीकार्ने सतहसम्म लानुपर्ने कारणले पनि यो लामो दूरीको यात्रा हो भन्ने लाग्दछ ।

खासमा वैकल्पिक राजनीति ‘कनेक्टिङ द डट्स’ रहेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved