काठमाडौं । १२ वैशाख २०७२, शनिबार बिदाको दिन । केही दिनअघि मात्रै काठमाडौं आइपुगेकी रामेछापकी रमिला श्रेष्ठ फिल्म हेर्ने योजनामा थिइन् । साथी सञ्जीवसँग जान उनी बिहानको खाना खाएर बल्खुबाट वसन्तपुर लागिन् । बिहानको साढे ११ बज्दा वसन्तपुर पुगिन् ।
सञ्जीव श्रेष्ठ वसन्तपुर बस्थे । उनि पाटन, कृष्ण गल्लीको एउटा रेस्टुरेन्टमा काम गर्थे। रमिला र सञ्जीवबीच ललितपुरको गुण सिनेमा हलमा फिल्म हेर्ने योजना थियो । सोही अनुसार रमिला सञ्जीवलाई भेट्न वसन्तपुर पुगेकी थिइन् । दुई जनाको भेट भयो । आकास धुमिलो थियो । घाम लागेको थिएन ।
गाडी चढ्न वसन्तपुरबाट न्युरोड हुँदै सुन्धारा पुग्नुपर्थ्यो । न्यूरोड गेट हुँदै उनीहरु सुन्धारा बसस्टप पुगे । रमिलाको लागि काठमाडौंमा धेरै कुरा नौला थिए । सुन्धारा पुगेपछि उनीहरु ग्वार्काे जाने गाडी कुर्न थाले । गाडी कुर्दै गर्दा रमिलाको नजर पर्यो, सेतो अग्लो धरहरामा ।
गाउँमा छँदा उनले धरहराबारे धेरै सुनेकी थिइन् । अगाडि नै देखेपछि उनले सञ्जीवसँग चढ्न मन लागेको बताइन् । त्यति बेलासम्म ग्वार्काे जाने गाडी आइसकेको थियो । तर, रमिलाको धरहरा चढ्ने हुटहुटी पुरा गर्न सञ्जीव तयार भए । उनीहरु उतै लागे ।
केहीबेरमै धरहरामा पुगेर टिकट काटे । त्यतीबेला करिब पौने १२ बजेको थियो । शनिबारको दिन भएकाले मानिसको चहलपहल बाक्लै थियो । उनीहरु धरहराको भर्याङ उक्लन लागे ।
रमिला ठुलो उत्साह बोकेर साँघुरो सिँढी चढ्दै माथि गइन्, साथीसँगै । उनी आठौँ तलाको रेलिङमा पुगिन् । र, काठमाडौंको बाक्लो सहर हेर्न थालिन् । यति नै बेला उनलाई एक्कासि रिँगटा लागेजस्तो भनन्न भयो । घटटट, कटटट आवाज आयो । धरहरा रोटे पिङजस्तै मच्चिन थाल्यो ।
०००
रमिला भन्छिन्,
‘‘पहिलाको यादहरू धेरै छैन । केही मात्र छ । कोही मान्छे उक्लँदा र ओर्लर्दा अर्को मान्छेले छेउ लागेर साइड दिनुपर्थ्यो । साँघुरो थियो । म सबैभन्दा माथिल्ला तलामा थिएँ । साँघुरो ठाउँमा मानिसको भीड थियो । माथिबाट हेर्नेहरू थिए । तल उक्लने र ओर्लने पनि धेरै थिए । ढोकाबाट निस्कनासाथ बारमा पुगेँ । त्यहाँबाट तल हेरेको थिएँ । तल पार्क गरिएका ट्याक्सी साना देखिन्थे । मान्छेहरू पनि कमिला जस्तै देखिन्थे । मैले साथी सञ्जीवलाई भन्दै थिएँ, ‘यहाँबाट तल हेर्दा कति सानो सानो देख्दोरहेछ है ।’ यति भन्नासाथ हल्लायो । के भयो भनेर बार समाएर भूँइमा बसेँ । बाँस हल्लिएजसरी हल्लियो । साथी सञ्जीव भित्तामा गएर खुट्टा पसारेर बस्यो । म भूँइमै थिएँ । मानिसहरू चिच्याए । म पनि धेरै डराएँ । हल्लिँदाहल्लिँदै हामी बसेको ठाउँ ड्याम्म गरेर भासिएर तल गएको जस्तो लाग्यो । फेरि एकै छिन अड्किएको जस्तो लाग्यो । अनि फेरि तल गएर अड्किएजस्तो भयो । फेरि तल गयो । २ स्टेप भासिएको जस्तो भयो । त्यसपछि के भयो मैले थाहा पाइन ।’’
०००
रमिलालाई कसैले घाँटी थिचेजस्तो भएर आयो । सास फेर्न गाह्रो भयो । त्यही बेला रमिला झसङ्ग ब्युँझिइन् । ब्यूँझदा भूँईमा ढलेको पाइन् । इँटाको टुक्रा र धुलो माथि थिइन् उनी ।
वरपर मान्छेहरू चिच्याइरहेका थिए । अनुहार छामिन् रगत आइरहेको थियो । आँखा खोलेर हेर्दा केही देखिनन् । आँखामा धुलो र रगत लतपतिएको थियो । खुट्टा चलाउन खोजिन् । बायाँ खुट्टा चलेन । सुन्निएको रहेछ । पछि थाहा भयो भाँचिएको रहेछ । अब बल्ल उनलाई लाग्यो । धरहराबाट खसिएछ ।
रमिला भन्छिन्, ‘‘अनि म बेस्सरी चिच्याएर रोएँ । पुलिसहरू भन्दै थिए, ‘यो मान्छे जिउँदै रहेछ ।’ खातमाथि खात लगाएर गाडीमा मान्छे हालियो । गोजीबाट फोन निकालेर परिवारसँग कुरा गर्न थाल्दा बेहोस भएछु । अस्पताल पुगेपछि होस् आयो ।’’
000
उपचारकै क्रममा ट्रमा सेन्टरमा रमिलाको सञ्जीवसँग भेट भयो । जाे उनीसँगै धरहराबाट खसेका थिए । धन्य उनी पनि बाँचेछन् । उनको पनि खुट्टा भाँचिएछ । रमिलाले महसुस गरेजस्तो धरहरा पटक–पटक रोकिँदै, खस्दै गरेको सञ्जीवलाई याद छैन । ठुलो आवाजमा धरहरा पड्केजस्तो लागेको उनको अनुभव छ । अहिले उनीहरु दुवै जना काठमाडौं बस्छन् ।
सञ्जीव रेस्टुरेन्टमा काम गर्छन् । उनी सेफ हुन् । रमिला पनि रोजगारी गर्दै आएकी छिन् ।
जुन धरहराबाट उनीहरू खसे, अहिले त्यसको अवशेष मात्र बाँकी छ । ठुटे अवशेषलाई साक्षी राखेर छेउमा नयाँ धरहरा ठडिएको छ । त्यो नयाँ धरहरा पनि उनिहरूले चढिसकेका छिन् । अहिले पनि धरहराको बाटो हिँड्दा उनिहरूलाई त्यही क्षणको सम्झना आउँछ । आङ जिरिङग हुन्छ । कसरी बाँचे हुँला भन्ने कुरा मनमा खेलिरहन्छ ।
त्यो दिन मौसम धुम्म थियो । अहिले पनि धुम्म मौसम हुँदा रमिलाको आँखाअगाडि २०७२ वैशाख १२ को त्रासदीपूर्ण क्षण नाच्न थाल्छ । त्यस्तो बेला कहालिन्छिन् उनी । भन्छिन्, ‘‘फेरि भूकम्प आउने पो हो कि ।’
Facebook Comment
Comment