हेटौँडा । उमेरले ८० वर्ष पुग्नै लागेका कृष्णप्रसाद तिमल्सिनाको दैनिकी खुवा घोटेर सुरु हुन्छ, साँझपख खुवा घोटेर दैनिकी सकिन्छ । ‘दूधलाई खुवा (कुराउनी) बनाउन लागेको लगभग ६ दशक पुग्न लाग्यो,’ उनी भन्छन्, ‘तर हात खुवा घोटेर थाकेको छैन, यसमै रमाएको छु । बटुवालाई दूधबाट बनेको स्वादिष्ट परिकार खुवा खुवाउन पाइरहेको छु ।’
तिमल्सिनाले खुवा घोट्न थालेको २०३६ सालदेखि हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोला खुवाका लागि प्रख्यात छ । यसलाई प्रख्यात बनाउनेमध्येका एक हुन् तिमल्सिना । काभ्रेबाट २२ वर्षको उमेरमा मकवानपुर झरेपछि उनले दूधबाट खुवा बनाउने काम थालेका थिए । अहिले त पेसाको पुस्तान्तरण पनि भएको छ — उनका छोराबुहारी पनि खुवा व्यवसायमा छन् ।
‘यही व्यवसायबाटै छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएँ । सन्तुष्ट नै छु,’ खुवा घोट्दै गफ गरिरहेका तिमल्सिनाको फुर्तीमा पनि सन्तोष झल्किन्थ्यो, ‘थकाइ लाग्दैन । पेसा पनि यही हो, दिनचर्या पनि यही हो । आम्दानी राम्रै छ ।’
उनका अनुसार चुच्चेखोलामा पहिले भैँसी पालन गर्ने चलन थिएन, डेरीको त झन् के कुरा !

अहिले यहाँ १५ भन्दा बढी खुवा पसल खुलेसँगै दूध सङ्कलनका लागि डेरी पनि सञ्चालनमा आएका छन् । ‘भैँसी पालन गर्ने किसानको पनि आयस्रोत बढेको छ,’ उनी भन्छन् ।
धेरै नेताहरूले आजभोलि निकै प्रयोग गर्ने ‘हब’ नै बनेको छ, अहिले चुच्चेखोला — खुवा उत्पादनको ‘हब’ ।
तिम्सिनालाई पछ्याउँदै श्यामकृष्ण मानन्धरले पनि २६ वर्ष पहिला खुवा व्यवसाय सुरु गरेका थिए — ‘कृष्ण कन्हैया खुवा भण्डार’।
‘करिब दश हजार रुपैयाँबाट सुरु गरेको व्यापार अहिले दश गुणा नाघेको छ,’ श्यामले भने । भाडाको घरबाट व्यवसाय सुरु गरेका उनले अहिले आफ्नै घरमा दुईवटा खुवा पसल सञ्चालन गरिरहेका छन् । खुवा पारखीहरूका लागि ‘श्याम दाइ’ पर्याय जस्तै बनेको छ । ‘दैनिक करिब दुई सय पचास लिटर दूध घोटेर ३० किलो जति खुवा बिक्री हुन्छ,’ उनी भन्छन् ।

व्यापारको सिलसिलामा २०३६ सालमा भक्तपुरको थिमीबाट बुबासँगै मकवानपुर झरेका हुन् श्याम । ‘करिब ३० वर्षको हुँदो हुँ मैले खुवा पसल सुरु गर्दा,’ उनी सम्झन्छन् ।
श्याम खुवाका लागि आवश्यक जोहो गरेर काम लगाउँछन् भने श्रीमती शोभाले पसलमा आएकालाई चिया खाजा दिन्छिन् । हाल उनीहरूले ६ जनालाई रोजगारीसमेत दिएका छन् । ‘यही व्यवसायबाट मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ शोभाले बताइन् ।
दूधलाई बाक्लो फलामको कराहीमा लगातार रूपमा चलाउँदै र उमाल्दै गर्दा पानीको मात्र भाप बनेर निस्किँदै गरेपछि बच्ने अर्ध–ठोस दुग्ध पदार्थलाई खुवा भनिन्छ । यो सिधै पनि खान सकिन्छ भने, कतिपयले यसलाई विभिन्न प्रकार को मिठाई बनाउन पनि प्रयोग गर्ने गर्दछन् ।
कान्तिलोकपथ र धरान–चतरा सडक सञ्चालन भएसँगै चुच्चेखोलामा खुवाको व्यापार अहिले झनै फस्टाएको छ। मकवानपुर गढी दरबार र द्रुतमार्गको जानकारी लिन आउनेहरू पनि खुवाको स्वाद लिएर फर्किन्छन् । कतिपयले कोसेलीका रूपमा घर लैजान्छन् ।
‘कान्तिलोकपथ सञ्चालन भएसँगै खुवा विक्री राम्रै सँग बढेको छ,’ अर्का खुवा व्यापारी राममणि तिमल्सिनाले भने । राममणि पछिल्लो २० वर्षदेखि खुवा व्यवसाय गरेर बसेका छन् ।
तर, हरेक कुराका दुई पाटा हुन्छन् भने झैँ खुवाको व्यवसाय फस्टाएसँगै एउटा परम्परा भने हराएर गएको छ । पहिला दूध तातिएपछि काठको ठेकीमा दही जमाउन हालिन्थ्यो । तर, अहिले खुवा बनाउन कराइमा घोटन थालिएपछि, ठेकी भने लोप हुँदै गएका छन् । कुनैबेला ठेकी पाइने जिल्लाका नामले प्रख्यात मकवानपुरमा अहिले ठेकी बनाउनै छाडिएको छ, पाउनै छोडेको छ । उपादेयता नभएपछि कसरी कुनै पनि कुरा असान्दर्भिक हुँदै लोप हुने स्थिति पुग्छन् भन्ने उदाहरण पनि हो यो ।

अहिले ठेकी यदि कहीँ देखिन्छ भने त्यो हो हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्र । त्यहाँ ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण गरिएको छ । धन्न त्यसैले अहिले स्मरण गराउँछ कि मकवानपुर कुनै बेला ठेकीका लागि प्रसिद्ध थियो ।
ठेकी एक विशेष प्रकारको काठ (दार) बाट बनाइन्छ । यही दारको प्रवर्द्धनका लागि वन डिभिजन कार्यालयले अभियान पनि चलाएको थियो ।
अभियानअन्तर्गत पकेट क्षेत्रकै रूपमा विकास गर्ने गरी भीमफेदी १, बुङदलस्थित दरबारडाँडा सामुदायिक वनमा करिब १५०० बिरुवा रोपिएको पनि थियो ।
आजभोलि, खुवा व्यवसायको विस्तार भएसँगै ठेकीको सम्झना सायदै कसैलाई आउँछ। खुवाले स्थानीयलाई आर्थिक रूपमा सबल बनाएको छ, उद्यमी बनाएको छ । अनि मकवानपुरको पहिचान बनेको ठेकीलाई बिर्साएको छ ।
तिमल्सिना भन्छन्, ‘दैनिक ३ सय ५० लिटर दूध को ४० देखि ४५ किलोसम्म खुवा बनाउँछन् । १५ रुपैयाँबाट सुरु गरेको खुवा अहिले प्रतिकेजी ७०० रुपैयाँसम्म बिक्री हुन्छ ।’
उनका छोरा–बुहारीले हेटौँडा उपमहानगरपालिका २ संगम चोकमा खुवाको पसल खोलेका छन् । ‘हेटौँडा नगरवासीलाई खुवा लिन चुच्चेखोला जान नपरोस् भनेर करिब १० वर्षदेखि यो आउटलेट चलाइ रहेका छौँ,’ बुहारी वर्षाले भनिन ।
Facebook Comment
Comment