सम्झना

सम्झनामा थारु भाषाका अगुवा महेश चौधरी

उनले लेखेको छारा गीति नाटक अझै मञ्चन हुन जरुरी छ । उनले नेपाल संस्कृत विश्वविद्यालयको लागि लेखेको थारु महाकाव्य ‘गउँटेह्वा’ अधुरै भए पनि प्रकाशित गरिनुपर्छ । महेशहरूलाई मृत्युपछि पनि सम्मान गर्न सकिए बल्ल भाषिक अभियानमा अरू महेशहरू आउने डगर बन्नेछ ।

सम्झनामा थारु भाषाका अगुवा महेश चौधरी

थारु भाषी पहिलो पत्रकार । साहित्यिक पत्रिकाका सम्पादक । नेकपा (एमाले) को राजनीतिमा आबद्धता । पूर्वराज्यमन्त्रीदेखि पार्टीको केन्द्रीय सल्लाहकारसम्म जिम्मेवारी बहन । महेश चौधरीको संक्षिप्त परिचय यही हो । अझैँ थप्ने हो भने क्षमताका हिसाबले सृजनशील र लगावका हिसाबले अध्ययनशील थिए महेश चौधरी ।

आजभन्दा ठीक दुई वर्षअघि २०८० जेठ २४ गते महेश चौधरी बितेर गए । जीवित रहँदासम्म थारु भाषा, नेपाली पत्रकारिता, देशको राजनीति, सिर्जना र अध्ययन–चिन्तनको क्षेत्रमा योगदान पुर्‍याएका उनलाई समाजले बितेर गएपछि पनि सम्झिरहनु पर्ने हो । उनको व्यक्तिगत सम्मानका लागि मात्रै होइन, उनले पुर्‍याएको योगदानका खातिर पनि ।

तर, उनी यति चाँडै गुमनाम भए । यसरी गुमनाम होलान् भन्ने मलाई लागेको थिएन । उनी सम्बद्ध पार्टीले वार्षिक पुण्य तिथिका दिन वर्षमा एकपटक सम्झिने कर्मकाण्ड जिल्ला पार्टी कार्यालय, दाङमा ससानो कार्यक्रम आयोजना गरेर झारा टार्छ । जो यस वर्ष पनि गर्‍यो ।

मलाई लाग्छ– उनी राजनीतिक पार्टीका मात्रै थिएनन्, चिन्तन, अध्ययन र सिर्जनाका पनि साझा थिए । त्यसैले, मेरो मनमा बारम्बार प्रश्न उठ्छ– उनलाई सिर्जनात्मक ढङ्गले सम्झिने कार्यक्रम खै ? यस आलेखमा महेश चौधरीको राजनीतिक जीवनभन्दा पनि उनले थारु भाषाको उत्थानका लागि गरेको सत्प्रयास र उनीसँगका मेरा सम्झनाका तरेलीहरू बिसाउने प्रयास गरेको छु ।

मेरो लेखनको आइडल

यो पङ्क्तिकार पत्रकारितामा जिन्दगी घिसारेको र लेखनको लिपापोतीमा लागेको तीन दशक बित्यो । मैले बिताएको जिन्दगीको यो उर्वर समयको लेखन कर्मका लागि मेरा ‘आइडल’ मान्छु महेशलाई । मेरो मातृभाषा थारु हो । थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’ विसं २०२८ सालमा दाङबाट प्रकाशित भएको थियो । त्यस पत्रिकाका प्रधानसम्पादक थिए महेश । मेरो जन्म पनि २०२८ सालमा नै भएको हो ।

महेश चौधरी

गोचालीको पहिलो अङ्क जन्मिएको सालमै दाङमा जन्मिएकाले गोचाली पत्रिका र आफूलाई दाजुभाइ जस्तो लाग्छ मलाई । किनकि, थारु भाषामा निरन्तर रूपमा ‘लावा डग्गर’ साहित्यिक पत्रिका निकालिरहेका छविलाल कोपिलालाई अपवादको रूपमा लिने हो भने मैले थारु साहित्यिक पत्रिकालाई जति भाइप्रेम दर्साएँ, त्यति शायदै अरूले गरे । बिहान वार्षिक, लावा बिहान चौमासिक, अग्रासन मासिक सम्पादनदेखि लावा डग्गर त्रैमासिक, पहुरा दैनिकमा अतिथि सम्पादनको भूमिकामा मैले काम गरेँ । अहिले पनि नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन थारु भाषाको वार्षिक पत्रिका ‘लवाङ्गी’मा मेरो सम्पादनले दाजु गोचाली पत्रिकाको नियाँस्रो यो भाइ सर्वहारीले मेटाइरहेको महसुस हुन्छ ।

२०३९ सालमा म ५ कक्षामा पढ्दै गरेको बेलाको कुरा हो, बुबाले सङ्कलन गरेको पुस्तकको थाकमा मैले महेश चौधरीबाट सङ्कलित थारु समुदायको विवाहको अवसरमा गाइने माँगर (मंगल गीत) को सङ्कलन फेला पारेको थिएँ । कुनै थारु लेखकको थारु भाषामै लेखिएको पुस्तक जिन्दगीमा पहिलो पटक मेरो हातमा परेको थियो । यसलाई मैले धेरै दिन ओल्टाइ पल्टाइ गरेँ । मेरो हजुरबाले सानोमा धेरै लोककथा सुनाउनु हुन्थ्यो । यो पुस्तकको प्राप्तिपछि मलाई लाग्यो, यो माँगर गीतको सङ्कलनझैँ हजुरबाले सुनाएका थारु लोककथाको पनि पुस्तक हुनसक्छ । नभन्दै मैले कनीकुथी हजुरबा निवुलाल चौधरीले सुनाएका थारु लोककथा सम्झिएर कापीमा उतारेँ । कक्षा ७ मा पुग्दासम्म (२०४१ साल) यसको पाण्डुलिपि तयार भयो । महेश चौधरीको पुस्तकको कभर सुमसुम्याएर मेरो परिकल्पनाले पङ्ख फिँजाएको १९ वर्षपछि बल्ल थारु लोककथाको पुस्तक मैले प्रकाशन गर्न सकेँ । यसरी महेश चौधरीको पुस्तक मेरो लेखनीको प्रेरणाको स्रोत बन्यो ।

महेशको पुस्तक देखेर लेखनमा डोरिएको म साझा प्रकाशनको थारु भाषा सिकौँ (२०६८) शीर्षकको पुस्तकमा उनैसँग संयुक्त लेखन सहकार्य गर्ने अवसर पाएँ । यही पुस्तक लेखकको नाताले मलाई साझा प्रकाशनको अंशियार बनाएको छ ।

थारु गल्लीको अस्तित्व

दाङ, घोराहीको नेत्रलाल अभागी चोकको उत्तर पश्चिम गल्लीको प्रवेशमा लेखिएको छ– भगवती टोल जाने बाटो । सोही बोर्डमा अक्षर चिन्न मुस्किल पर्ने गरी तल कोष्ठमा लेखिएको छ– थारु गल्ली । यही थारु गल्लीमा छ, महेश चौधरीको घर भन्ने भुलभुलैयामा थिएँ म । घोराहीमा अन्तर्राष्ट्रिय लोक कलाकारहरूको प्रस्तुति रहेको दिन २०८० फागुन २१ गते म त्यही थारु गल्लीमा घुस्रिएको थिएँ ।

थारु लोक साहित्यको पुस्तक माँगर, गुर्वावक् जन्मौटी, बर्कीमार मात्रै होइन, अनुसन्धानमूलक कृति नेपालको तराई तथा यसका भूमि पुत्रहरू तथा स्थविरहरूको प्राचीन इतिहास र संस्कृति, Hidden Treasures of the Low Land Nepal नेपाली, अङ्ग्रेजी भाषामा समेत पुस्तक प्रकाशन गरेका महेश चौधरीको घर पच्छ्याउँदै छिरेको थिएँ म । पश्चिमतर्फ दुई घर छाडेर एउटा भव्य भवन बन्दै रहेछ, मलाई महेशको घरको अवशेष ठम्याउन गाह्रो भयो ।
घर नजिकै उभिएका एक व्यक्तिसँग महेशको घरबारे सोधेँ । परिचयको क्रममा उनी मेरा मित्र थम्मन चौधरीका दाजु रहेछन् । उनले निर्माणाधीन भव्य भवन देखाउँदै भने, ऊ यही त थियो महेशको घर ।

महेश चौधरीको त्यो घरप्रति मेरो गहिरो लगाव थियो । त्यो घर खण्डहर भएर अहिले अर्कैको बंगला बन्ने क्रममा थियो । (अहिले त त्यहाँ रंगरोगनसहित भव्य घर ठडिइसक्यो होला ।) महेशले निकै पहिल्यै बेचिसकेका रहेछन्, घडेरीसहित घर ।

बन्द रहेको महेशको प्राङ्गारिक मल कारखाना

आइ.ए. पढ्ने क्रममा २०४५ सालको कुनै एक दिन म घोराहीको राप्ती सिनेमा हलमा फिल्म हेर्न जाँदै थिएँ । अचानक चप्पलको फिता चुँडियो । फिल्म छुट्ने समय घर्किनै लागेकाले मैले चुँडिएको चप्पल राख्न त्यही घरको सहारा लिएको थिएँ । अनि नाङ्गो खुट्टा फिल्म हेर्न हुइँकिएको थिएँ । त्यसअघि र त्यसपछि पनि म महेश चौधरीको घर निकै पटक गएको हुँ ।

महेश चौधरीको जेठो छोरा कृष्ण चौधरी शायद १–२ कक्षामा पढ्दा हुनुपर्छ । डेनी डेङ्जोम्पाको फिल्म साइनो लागेको बेला थियो त्यो । साइनो फिल्ममा एक बालपात्र थिए, जो डेनीका मितज्यू थिए । नाम पनि मिल्ने भएकाले मैले साइनो फिल्मको ह्याङओभरले महेशको छोरा कृष्णसँग मितज्यूको साइनो गाँसे । अहिलेको लक्का जवान कृष्णलाई यो कुरा के थाहा होला र ? घोराहीको त्यो खण्डहर घरले हाम्रो मितज्यूको कथा पनि खण्डहरमा परिणत भएको छ । सालिक त महेशको पनि ठडिनुपर्ने हो, उनले सङ्घर्ष गरेको घोराहीको थारु गल्लीमा । तर, मलाई डर छ, थारु गल्ली लेखिएको सानो साइनबोर्ड पनि कुन दिन नामेट भएर भगवती टोल मात्रै हुने हो ?

गोचाली र महेश

पचासको दशकमा स्नातक पढ्ने क्रममा मैले घोराहीको जनता बुक स्टलमा गोचाली पत्रिकाका केही अङ्क फेला पारेको थिएँ । कुनै बुक स्टलमा थारु पत्रिका झुन्डिएको देख्नु मेरा लागि त्यो पहिलो परिघटना थियो । गोचालीको छुटपुट केही अङ्कको लागि महेशको घोराही थारु गल्लीस्थित घर पस्दा मैले कुनै नयाँ अङ्क फेला पार्न सकिनँ । पहिलो अङ्कपछि महेशले गोचाली पत्रिकालाई माया नै गरेनन् भन्दा हुन्छ । उनले पछिल्ला केही अङ्कमा रचना दिए, तर सम्पादनमा हात बटाएनन् । फलस्वरूप गोचालीको पहिलो अङ्क जति खँदिलो छ, त्यत्ति पछिल्ला अङ्क हराभरा छैनन् । प्रगतिशील चेतकै लागि निकालिएको थियो गोचाली, तर पछिल्ला अङ्कले ती लय पक्रिन सकेनन् ।

पछि बर्दियाको बारबर्दिया नगरपालिका–१० सेमरह्वा बस्ने सगुनलाल चौधरीका छोराहरू कृष्ण चौधरी, निरन्जन चौधरी, मोतीकुमार चौधरी र जग्गुप्रसाद चौधरीले दुब्लाएकै भए पनि गोचालीका केही अङ्क निकाले । गोचाली परिवार बर्दियाका अध्यक्ष दशरथ उर्फ सुदिनले पनि केही अङ्क निकाले । अहिले यो गोचाली पत्रिका महेशको घर हराएजस्तै भएको छ । हराएको महेशको घर अब भेटिने छैन । तर, गोचाली पत्रिकालाई पुनः ब्युँताउन सकिन्छ । यसलाई उभ्याउन सक्नु यसको ऐतिहासिकतालाई डोर्‍याउनु हो ।

एक विदेशीको सहृदयीले राखेको २०२८ साल गोचालीको पहिलो अङ्क गुगलमा पीडीएफ भर्सन अहिले पनि फेला पार्न सकिन्छ । यसको छापिएको अङ्क एक प्रति पनि फेला पर्दैन । मैले गोचाली परिवार बर्दियाका सदस्यहरूलाई गोचालीको पहिलो अङ्क पुनः प्रकाशनको लागि धेरै पटक अनुरोध गरेको थिएँ । उहाँहरूले जाँगर नदेखाएपछि मैले आफूले सम्पादन गर्ने गरेको ‘बिहान’ पत्रिकामा गोचालीको पहिलो अङ्क पुनः प्रकाशन गरेँ । सोही अङ्कमा गोचाली प्रकाशनको क्रममा खेपेको सास्ती अनि थारु भाषा साहित्यमा केन्द्रित रहेर मैले महेश चौधरीसँग गरेको कुराकानी पनि समेटिएको छ । त्यसो त २०६१÷०६२ मा ‘हमार सैडान’ रेडियो कार्यक्रमको लागि पनि मैले महेशसँग लामो कुराकानी गरेको थिएँ । त्यसको सम्पादित अंश हमार सैडान रेडियो कार्यक्रमको स्मारिकामा पनि प्रकाशित छ ।

महेशबारे खै स्मारिका ?

प्रत्येक वैशाख १ गते अहिले पनि बर्दियामा गोचाली दिवस मनाइन्छ । जसमा गोचाली पत्रिका प्रकाशनमार्फत जागरण ल्याउने, थारु शिक्षकहरूलाई एकजुट गर्ने सगुनलाल चौधरी, संस्थापक महेश चौधरी, भगवती चौधरी लगायतको सम्झना गरिन्छ ।

म २०८० चैतको पहिलो साता बर्दियाको बारबर्दिया नगरपालिकामा बरघरहरूबारे अध्ययनको क्रममा पुगेको थिएँ । चैत ३ गते मैले गोचाली परिवारका सदस्यहरूको भेला डाक्न लगाउँदा केही खास पदाधिकारी उपस्थित भएका थिए । मैले गोचाली पत्रिकालाई जसरी भए पनि निरन्तरता दिन आग्रह गरेँ । २०८१ वैशाख १ गते जसरी पनि अर्को अङ्क निकाल्ने मिति तय गरियो । गोचाली पत्रिकाको आगामी अङ्क महेश चौधरीको बारेमा स्मारिका निकाल्ने प्रस्ताव पनि आयो । तर मैले थारु कल्याण कारिणी सभा दाङले महेश चौधरीबारे स्मारिका निकाल्ने तयारी गरेको बताएपछि सामान्य अङ्क निकाल्ने, कोसँग कस्तो रचना माग्ने भनेर तय गरियो ।

महेश चौधरीको घरको भित्तामा उनले पाएका पुरस्कार

उता, केही सातामै पत्रिका वैशाख १ मा निकाल्न नसकिने तर सो दिन गोचाली दिवस भव्यतापूर्वक मनाउने, सगुनलालको नाममा स्थापित पुरस्कार वितरण गर्ने जानकारी निरन्जन चौधरीले दिए । थारु समुदायको छाता सङ्गठन थारु कल्याण कारिणी सभा (थाकस) दाङले महेश चौधरीबारे निकाल्ने स्मारिका कति खँदिलो हुने हो, म व्यग्र प्रतीक्षामा छु । तर, दुःख लाग्छ यी पङ्क्ति लेख्दासम्म र उनी बितेको २ वर्षको अवधिमा स्मारिका प्रकाशनको एक सिन्को भाँचिएको छैन ।

थारु साहित्यिक मेला र महेश

२०७३ साल वैशाख ३ र ४ गते दाङको घोराहीमा भएको पहिलो थारु साहित्यिक मेलाको समुद्घाटनमा हामी आयोजकले गोचाली प्रकाशनमा संलग्न स्रष्टाहरूलाई सम्मान गर्ने क्रममा महेश चौधरीलाई पनि सम्मान गरेका थियौँ । थारु साहित्यिक मेलाको दोस्रो दिन राजपुर गाउँमा भएको कार्यक्रममा महेशले सार्वजनिक तथा पछि व्यक्तिगत अभिव्यक्तिमा यो पङ्क्तिकारको खुलेर प्रशंसा गरे । सारमा उनको भनाई थियो, मेरो शेषपछिको थारु साहित्यिक अभियन्ता मैले तपाईँलाई फेला पारेँ । अब थारु साहित्यिक गतिविधि अगि बढ्छ भन्नेमा म ढुक्क छु ।

नभन्दै महेश चौधरीको आर्शीवचनले थारु साहित्य राष्ट्रिय सम्मेलन हालसम्म नवौँ संस्करण पार गरेको छ । बर्दियाको राजापुर नगरपालिका जोतपुर गाउँमा २०८१ फागुन १५ देखि १७ सम्म नवौँ संस्करण भव्यताका साथ सम्पन्न भयो । पर्सा जिल्लामा गरिने दसौँ संस्करणको सम्मेलन तयारीमा छ । थारु लेखक सङ्घ यो पङ्क्तिकारको संयोजनमा गठन भएको छ ।

२०७५ (सन् २०१९) सालमा रुपन्देहीको सैनामैनामा भएको चौथो थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु मानक भाषा बहसको सेसनमा भने महेश खुसी थिएनन् । उनले यो पङ्क्तिकारलगायत केहीले थारु भाषा लेखनशैली बिगारेको आरोप लगाए । आफूले २०२८ सालमा प्रकाशित गरेको गोचाली पत्रिकाकै थारु भाषा लेखनशैली ठिक रहेको उनको जिकिर थियो ।

थारु भाषा लेखनशैली बिगारेको आरोप

२०६४ असोजदेखि २०७७ साउन मसान्तसम्म म गोरखापत्रमा थारु भाषाको पृष्ठ संयोजक रहेँ । २०७७ साउन १० मा महेशले ‘थारु भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा गोरखापत्रमा नेपाली भाषामा लामो लेख लेख्दै मैले गोरखापत्र थारु भाषा पृष्ठमा लेखेको एक लेखको ११८ शब्द गलत भएको तर्क गरे । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘डंगौरा थारु भाषाको वर्ण निर्धारण’ गोष्ठीमा आएको सुझाव अनुसारको शैली अनुसरण गर्दै मैले गोरखापत्रमा लेख्न थालेको थिएँ । यसैलाई आधार बनाई ‘सर्वहारीले थारु भाषा बिगार्‍यो, उसलाई हटाउनु पर्छ’ भन्ने ठूलो दबाब महेशले गोरखापत्रका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक कृष्णमुरारी भण्डारीलाई दिए ।

‘गोरखापत्रमा थारु भाषा लेखन शैली कस्तो अपनाउनु पर्छ ? म सो अनुसार लेख्न तयार छु,’ मैले मौखिक स्पष्टीकरणमा भनेको थिएँ । पछि स्पष्टीकरणको लागि लिखित प्रश्न आउला भनियो । तर, एकैपटक गोरखापत्रमा थारु भाषा पृष्ठका लागि मैले तयार गरेका सामग्री रोकियो । त्यसको २ महिनापछि उदयपुरका पत्रकार सहदेव चौधरीलाई पृष्ठ संयोजकको जिम्मेवारी दिइयो ।

अहिले गोरखापत्रमा ४५ भाषामा विभिन्न भाषा भाषीको पृष्ठ प्रकाशित हुने गरेको छ । राई भाषाको एक मात्रै पृष्ठ प्रकाशन हुने गरेकोमा पछि चाम्लिङ, बान्तवा, वाम्बुले भाषा गरी राई जातिको ३ वटा भाषामा पृष्ठ बन्न थालेको छ । थारु भाषामा पनि राईहरूको झैँ विविधता रहेको छ । केही महिना पहिलेदेखि राना थारु भाषा छुट्टै प्रकाशित हुन थालेको छ । रेडियो नेपालबाटै पश्चिमा थारु भाषामा दाङबाट अनि पुर्बिया थारु भाषामा धनकुटाबाट समाचार, कार्यक्रम प्रसारण हुन्छ । गोरखापत्रमा पनि पश्चिमा र पुर्बिया थारु भाषा छुट्टाछुट्टै पृष्ठ थप्न सके, लेखन शैलीमा एकरूपता दिन सके, बढीभन्दा बढी थारु भाषामा कृति प्रकाशन गर्न सके बल्ल महेशहरूको सपना पुरा हुनेछ ।

सर्वहारीले थारु भाषा बिगार्‍यो भनेको वर्ष दिनपछि बल्ल थाकस केन्द्रबाट गठित थारु मानक भाषा मस्यौदा समितिले एउटा खाका बुझाएको छ । तर, त्यो समितिले बुझाएको शैलीअनुसार अहिले गोरखापत्रमा प्रयोग भइरहेको छैन । महेशले अन्तिम घडीमा थारु भाषा लेखनको सवालमा ममाथि टिप्पणी गरे । एक अभियन्तालाई अर्को अभियन्ताको लेखनशैली ठीक नलाग्न सक्छ । लेखन पद्धतिको विकासमा भर्खर भर्खर टुसा पलाउँदै गरेको बेला प्रयोगमा आउँदै गरेपछि बिस्तारै लेखनशैली खारिँदै जाने कुरा हो । महेश आफै पनि पछिल्लो पटक थारु भाषामै लेखनमा सक्रिय थिएनन् । मप्रति उनको नजरिया जे जस्तो भए पनि थारु भाषा साहित्यको संरक्षणमा उनले खनेको गोरेटोमा ग्रेभलिङ गर्ने कार्यमा म जीवनपर्यन्त लाग्नेछु ।

महेशले देखाएको बाटो

थारु भाषा अभियन्ता, पुस्तक लेखन, स्कुलको मास्टरी, क्याम्पसको लेक्चररमा सफल व्यक्तित्व हुन् उनी । तर, कुखुरा मल दाना उद्योगी, प्राङ्गारिक मल उद्योगी, राजनीतिमा समेत असफल व्यक्ति हुन् उनी । २०४८ सालमा राष्ट्रिय सभा सदस्य बने । ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री भएका थिए । तर, राजनीतिमा उनलाई अहिले कसैले नोटिस गरेको छैन । प्राङ्गारिक मल उद्योगले उनको घरवास सकाइ दियो । कुनै बेला पचासौँ बिगाहा जग्गाका मालिक दाङ, बैवाङका जमिनदार महेशको परिवार अहिले सुकुम्वासीझैँ दाङको बेलभारमा जग्गा भाडामा लिएर सामान्य घर बनाएर बसेको छ ।

दाङ, बेलभारस्थित महेश चौधरीको भाडाको जग्गामा रहेको घर

उद्योगका कारण कारोबार बिग्रिएपछि महेश असल अभिभावकको जिम्मेवारी पूरा नगरी सदाका लागि अस्ताए भन्नेहरू त धेरै छन् । तर, उनको परिवारलाई मलहम लगाउन दुई शब्द मीठो बोल्न जाने शुभेच्छुकहरूको लाइन पातलिँदै गएको छ । पछिल्लो पटक २०८१ चैतको दोस्रो साता उनको परिवारको बसोबास रहेको दाङको बेलभार पुग्दा उनकी धर्मपत्नी शान्ति चौधरीले भनेकी थिइन्, ‘उहाँको नाममा प्रतिष्ठान खोलेर केही सिर्जनात्मक काम गर्न सके उहाँको आत्माले शान्ति पाउने थियो ।’

थारु लोक साहित्य सङ्कलनको मियो थिए, महेश । विडम्बना नै भन्नुपर्छ, उनको परिवारबाट लेखनमा कोही आएनन् । उनको कान्छो छोरा सुशील कुनैबेला उनले शिक्षण गरेको पेसा डोर्‍याइरहेको छ । उनले सङ्कलन गरेका माँगर, बर्किमार, गुर्वावक् जल्मौटिलगायत पुस्तक जति सङ्कलन गरिएका छन्, हाल सकिएका छन् । यसको पुन: प्रकाशन हुनु जरुरी छ । यसको चर्चा चरिचर्चा, व्याख्या, विश्लेषण जरुरी छ ।

महेशकी धर्मपत्नी शान्ति चौधरी र उनका दुई छोराहरू कृष्ण र सुशील

उनले लेखेको छारा गीति नाटक अझै मञ्चन हुन जरुरी छ । उनले नेपाल संस्कृत विश्वविद्यालयको लागि लेखेको थारु महाकाव्य ‘गउँटेह्वा’ अधुरै भए पनि प्रकाशित गरिनुपर्छ । महेशहरूलाई मृत्युपछि पनि सम्मान गर्न सकिए बल्ल भाषिक अभियानमा अरू महेशहरू आउने डगर बन्नेछ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको थियो । उनको घरको आर्थिक अवस्था तङ्ग्रिएको हुँदो हो त विदेश गएर उपचार गराउँदा हुन् । शायद अझै बाँच्दा हुन् । भाषा-भाषा भन्दै भासिएका महेशको नियति अरू स्रष्टाहरूको जस्तै नहोस् । वर्तमान राज्य सञ्चालनको धुरीखाम्बोमा बसेकाहरूकै पार्टीमा आजीवन रहे महेश । के तिनले उनकी धर्मपत्नी शान्ति चौधरीको चाहनाझैँ उनको नाममा प्रतिष्ठान खोलेर केही सिर्जनात्मक काममा होस्टेमा हैँसे गरिदिन सक्तैनन् ? यहाँ त राज्य सञ्चालकहरू जिउँदो नेताको नाममा प्रतिष्ठान खोलेर सर्प पालनका लागि रकम छुट्याएर भ्रष्टाचारमा लिप्त छन् । अनि परलोक गएकाहरूको वास्ता कसले गर्नु ? भाषा सेवी महेशहरूको सम्मान गरेर अरू महेशहरू कसरी जन्माउनु ?

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (२०७६) गरेका लेखक सर्वहारी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् । पत्रकारिता पृष्ठभूमिका उनी थारु समुदायको अध्ययन अनुसन्धानमा गहिरो रुचि राख्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved