अहिले माहौल होलीको छ । केही दिनयता थुप्रै मेसेज तथा कलहरू आइरहेका छन् । सबैको प्रश्न एउटै छ, होलीमा के छ प्लान ? यो वर्षमा होली सँगै मनाउन पर्छ ल ।
मेरो जवाफ पनि त एउटै छ— हुन्छ ।
तर, यो जवाफमा त्यति रौनक छैन, खुसी छैन । र, सम्भावना पनि छैन । सबैलाई सकारात्मक जवाफ फर्काए पनि म भने अरू नै केही चाहन्छु यो फागुमा ।
म चाहन्छु— यस वर्षको होलीमा पुराना बिछोडिएका साथीहरूलाई भेट्न पाउँ, उनीहरूसँग एकै दिन भए पनि पुराना यादहरूलाई पुनर्ताजगी गर्न पाउँ ।
विगतदेखि आजसम्मको यात्रामा धेरै साथीहरू परिवर्तन भए । कति भेटिए, कति छुटिए । ती भेटिएका र छुटिएका सबैसँग केही न केही याद त पक्कै छ मसँग । उनीहरूसँगको छाप त पक्कै छ मसँग । २०७६ सालमा एसईई दिएकी थिएँ, अनि प्लस टू २०७८ मा सकिएको थियो ।
१० वर्ष सँगै खेलेका, कुदेका, बसेका र सिकेका साथीहरू कता गए, कस्ता भए ? के गरिरहेका छन् ? यी र यस्तै प्रश्नहरूले मलाई कोट्याइरहेका छन् । धेरैले त विवाह गरिसके होलान्, कतिपय बिदेसिए होलान् ।
कोहीले नेपालमै केही व्यवसाय सुरू गरे होलान्, कसैले जागिर खाए होलान् । कोही भने म जस्तै अझै पढिरहेका होलान् । यो होलीकै बहाना गरेर भए पनि उनीहरूसँग भेट्न पाए पनि हुन्थ्यो । ११ र १२ मा सँगै पढेका साथीसँग पनि सम्पर्कमा छैनन् हिजोआज ।
उनीहरू पनि कता छन् होलान् ? उनीहरूमध्ये सम्भावना भएका साथीहरूसँग यो वर्षको होली मनाउन पाए, यी र यस्तै कुरा सोच्दै म विगतलाई सम्झन्छु ।
हुन त अरूको सम्झनामा घोत्लिइरहने मान्छे त म पनि हैन । तर, केही दिनदेखि उनीहरूको धेरै याद आइरहेको छ । बाल्यकालमा बिताएका ती चकचकेपन र उपद्रोलाई पनि धेरै मिस गरेको छु ।
शुक्रबारको दिन परेकाले दिन खासै विशेष हुन्छ जस्तो त लागेको थिएन । तर, पनि क्याम्पसमा होली विशेष सानो कार्यक्रम भएको जानकारी आएकाले अनुहार देखाउनलाई नै भए पनि कलेज गएँ । कलेज पुग्दा ८ बजिसकेको रहेछ । दुई वटा मात्र विषय पढ्न पाएँ ।
क्याम्पसमा कार्यक्रम पनि नहुने जानकारी आयो । कक्षा सकाएपछि रेगुलर रुटमा कार्यालय प्रस्थान गरियो । फेरि कार्यालयमा पनि उही माहौल । होलीमा के छ ? कता जाने ? कार्यालयका सहकर्मीहरूमध्ये कोही परिवारसँग घुम्न जाने, कोही साथीहरूसँग र कोही कार्यक्रममा जाने कुरा चलिरहेको थियो । मैले कुनै प्रतिक्रिया जनाइनँ । बरु पुराना साथी खोज्ने योजना बनाएँ ।
मेरा पुराना साथीहरू कता छन्, त्यो त थाहा छैन मलाई । खोज्ने माध्यम भनेको सामाजिक सञ्जाल मात्र छ । त्यसमा पनि टिकटक बन्द भएपछि धेरै साथीहरू लापत्ता भएका छन् मबाट ।
फेसबुकमा सबै साथीहरू अटेका छैनन् । भएका साथीहरू पनि सक्रिय छैनन् । कसरी खोज्ने ? यो मेरो लागि निकै कठिन थियो । फेसबुकमा लगभग ४ हजार साथीहरू छन् । त्यसमा ती पुराना साथीहरूलाई खोज्नु मेरो लागि चुनौतीकै काम थियो ।
इच्छाशक्तिको सामु चुनौतीले घुँडा टेक्छन् भनेजस्तै ती चारहजार साथीहरूमा मेरा पुराना साथीहरूलाई खोज्न थालेँ मैले । अब त धेरै साथीहरूको नाम बिर्सिसकेछु । फोटो देख्दा एकछिन एकटकले हेर्छु र याद आउँछ उसको नाम । खोज्दै जाने क्रममा १०-१२ जना मात्र पुराना साथीहरूलाई भेटेँ ।
उनीहरूको प्रोफाइल भिजिट पनि गरे र सबैलाई एसएमएस छोडेँ, ‘हेल्लो कता छौ यार, यो होलीमा भेट्नुपर्छ ल ! धेरै भइसक्यो भेट पनि नभएको, रमाइलो हुन्छ । बरु तिमीले चिनेको हाम्रा साथीहरू छन् भने पनि लिएर आउँ ल !’
सबैलाई एसएमएस छोडेको करिब १ घण्टा बित्न लाग्दा पनि कसैबाट रिप्लाई आएन । म पनि अन्य काममा व्यस्त भएँ । निकैपछि मोबाइल भाइब्रेट भयो । हेरेको, साथी रञ्जनाले रिप्लाई गरेकी रहेछिन्, ‘भृकुटीमण्डपतिर आए भने भन्छु नि है, त्यति आजभोलि मलाई भीडमा हिँड्न मन लाग्दैन ।’
मैले पुराना साथीहरूलाई भेट्ने इच्छा भएको र यसको लागि होली पर्व विशेष हुने भएको कुरा पनि बताएँ ।
उनले फेरि लेखिन्, ‘तिमी नरिसाऊ ल, खासमा हामी होलीमा अन्त कतै जाने प्लान भइसक्यो क्या, बरु मेरो बर्थडे आउँदैछ । म सबैलाई पार्टी दिन्छु तिमी जसरी पनि आउनुपर्छ त्यही भेटौँ ल ।’
उनको यो एसएमएस पढिसकेपछि खल्लो त लाग्यो । तर, पनि उनलाई कर गर्न मन लागेन । ‘हस्’ मात्र भनिदिएँ । एक छिनमा अर्की साथी सुजिता शाक्यको पनि रिप्लाई आयो । उनी प्लस टू पढ्दाका मिल्ने साथी हुन् मेरी ।
होलीमा भेट्ने मेरो प्रस्तावमा उनी पनि सकारात्मक थिइनन् । उनले रिप्लाईमा लेखेकी थिइन्, ‘मलाई त सन्चो नै छैन यार, बिरामी छु यसपालि जाँदिनँ, तिमीहरू जाऊँ ।’
म फेरि चुप भएँ र जवाफ फर्काएँ, ‘ओके, रेष्ट गर गेट वेल सून । अर्का कलेजकै साथी विजय सुनुवारले एसएमएस सीन गरेर छोडेको थियो ।
मलाई निकै नराम्रो लाग्यो र फेरि लेखेँ, ‘के हो निकै बिजी छौ जस्तो छ नि, सीन गरेर छोड्दिने ?’ एक छिनमा उसको रिप्लाई आयो, ‘त्यस्तो होइन, म काममा छु बिजी थिएँ ।’
मैले फेरि लेखेँ, ‘होलीमा भेटौँ ल साथी ।’ जवाफमा आयो, ‘म त बिहान मात्र भ्याउँछु । दिनभर काम हुन्छु ।’ उसको यो जवाफ पाएपछि म फेरि चुप भएँ । बाल्यकालदेखि सँगै पढेकी साथी सुनिताको पनि रिप्लाई आयो, ‘म त गाउँ आको छु नि ।’
बाँकी साथीहरूको रिप्लाई आएन । सायद व्यस्त छन् होला सबै । हाम्रो सहयात्रा टुङ्गिएको त धेरै भएको छैन । तर, पनि समयले हामीबीच धेरै फाँटाे ल्याइसकेछ । सबै साथीहरू आ-आफ्नो जीवनमा निकै व्यस्त हुन थालिसके छन् ।
अब सायद उनीहरूसँग एकमुष्ट रूपमा कहिल्यै भेट हुने छैन । मैले सोचेको जसरी हामी कहिल्यै भेट्न पाउँदैनौँ । त्यसैले बाँकी साथीहरूलाई खोज्ने प्रयत्न गरिनँ । उनीहरूबाट जवाफ के आउँछ त्यो मैले अनुमान लगाइसके ।
त्यसैले साथीको साथ जहाँसम्म छ, त्यहाँ कदर गर्नुहोस् । साथीसँग भरपुर रमाइलो गर्नुहोस् । समयसँगै तपाईँका ती साथी र तपाईँ स्वयम् पनि अहिलेको जस्तो रहनुहुने छैन । जिन्दगीका मोडहरूले साथीहरूबाट धेरै टाढा उछिट्टाउने रहेछ ।
Facebook Comment
Comment