ब्लग

फेरिएको काँठ समाज र हराएको मौलिकता

सहर निर्माण हुँदैमा यहाँका मौलिक कुरा मास्नु भनेको साँच्चै काँठलाई मार्नु हो । काँठ जोगाउनु छ भने यहाँको संस्कृतिको अभिलेखीकरण गर्नु र पृथक सांस्कृतिक विम्बको निर्माण गर्नुपर्छ ।

फेरिएको काँठ समाज र हराएको मौलिकता

काठमाडौं । माओवादी सशस्त्र क्रान्ति र देशमा विभिन्न समयमा भएका ठूला आन्दोलन  र विद्रोहले सबैभन्दा बढ्ता प्रभाव पारेको क्षेत्रमध्ये एक हो राजधानी वरपरको काँठ । म आफू स्वयम् पनि यही काँठ क्षेत्रको बासिन्दा भएकोले  जाने/बुझेसम्मका कुरा र हाल भएका परिवर्तन, त्यसका कारणबारे प्रसङ्ग उठान गर्न प्रयास गरेको छु ।

भैंसेपाटी (केही अघिसम्मको काठ क्षेत्र अहिले घना शहर) मा भेटिए सर्लाहीको मलङ्गवा नजिकैको गाउँका राधेश्याम काफ्ले, काफ्ले गाउँमा भूमिपति कहलिन्थे ।

उनी घरमा ८ हल गोरु, १७ बिघा खेत, धान मिल, ४ वटा गोरुगाडा, २ बिघा जमिनमा माछापोखरी, १ बिघा आँप, लिची, कटहरको बगैँचा, घरमा काम गर्ने मान्छे राखेर शान्दार जीवन व्यतीत गर्थे ।

९९ प्रतिशत मधेसी समुदाय बसोबास गर्ने सो क्षेत्रमा उनी जिम्मावाल कहलिन्थे । कसैप्रति वैरभाव राख्दैनथे । सबैको राम्रो चिताउने र दु:खमा सहयोग पुर्‍याउने हुँदा उनको घरमा हरेक बिहान चिया पिउने र ‘राम राम हो, राधेश्याम बाबु’ भन्न आउनेको ताँती नै लाग्थ्यो ।

पुस्तैनी सम्पत्ति उनको त्योभन्दा धेरै थियो । पछि छोरालाई राम्रो पढाउन र बहिनीलाई दाइजो दिँदा झन्डै आधा सम्पति बेचे र बाँकी क्यानडा, अमेरिका र साइप्रस रहेका छोरीका लागि छुट्टयाए ।

जब माओवादी युद्ध भयो, मधेसमा उनी जस्ता धेरैसँग चन्दा असुली बढ्न थाल्यो । उनले विद्रोहीलाई धेरै पटक अनाज, नगद र खाना खुवाएर सहयोग गरे । नगरे धाकधम्की सहनुपर्थ्यो । माओवादीलाई भात खुवाएको कुरा तत्कालीन सरकारले थाहा पायो । त्यसपछि उनलाई राज्य पक्षबाट पनि खेद्न थालियो ।

दुबैपट्टिको मारमा परे पनि उनले आफ्नो जन्मभूमि कहिल्यै छाडेनन् । कसैको कुभलो गरेर जोडेको सम्पत्ति नभएको कारण उनी सबैसँग सीधा आँखाले हेरेर कुरा गर्न सक्थे ।

पछि शान्ति सम्झौता भयो । माओवादी शान्ति प्रक्रियामा आयो, उनले केही समय मुक्तिको सास फेरे । केही समयपछि मधेस आन्दोलनको नाममा तराईतिर बस्ने पहाडी मूलका मानिसप्रति कुदृष्टि राख्न थालियो । त्यसपछि भने उनीहरू त्यहाँ टिक्नै सकेनन् ।

मधेसी आन्दोलनकारीले ‘मधेससे पहाडिया सब के भगाउ’ अभियान चलाए । एक रात उनीहरू सुतेका बेला घरमा आगो लगाइयो ।

छिमेकीको सहयोगका उनीहरू बँचे । परिवारका केही सदस्य जलनमा परे । छिमेकीले नै उनीहरूलाई अस्पताल पुर्‍याए ।

त्यो खबर पाएपछि विदेशमा रहेका छोराहरू नेपाल आए । त्यसपछि भएका सबै सम्पत्ति कौडीकै भाउमा बेचेर उनीहरू काठमाडौं उपत्यकाको ललितपुरस्थित ३ आनामा बनेको साढे २ तल्ले घर किनेर सरे ।

परिवारका सबै सदस्य ३ आनाको घरमा खुम्चिनुपर्‍यो । उनीहरूले पहिलेको फराकिलो घर झल्झल्ती सम्झन्छन् ।

ठैबको खेतमा भेटिए अष्टानारायण महर्जन 

उनी केही समयअघिसम्म पनि खर्पनमा तरकारी बोकेर सानेपादेखि कोटेश्वरसम्मको गल्ली चाहार्थे ।

उनी पहिले २१ रोपनी जग्गामा तरकारी खेती गर्थे, अहिले २ रोपनीमा मात्रै छ । “त्यो पनि कान्छो छोरोले प्लटिङ गरौँ भनेको-भन्यै गरेकाले गरेको,” उनी भन्छन् ।

लामाटारमा भेटिए भक्तबहादुर गोले 

उनी पहिला बबरमहलको किताबखानामा सेक्युरिटी गार्डको काम गर्थे । पहिला-पहिला सधैँ पाटनसम्म हिँडेरै गएर त्यहाँबाट सिंहदरबारसम्म बसमा चढेर ड्यूटी जाने गर्दथे । अहिले त त घरआँगनमै बस आइपुग्छ ।

“दु:ख गर्ने बेलामा हिँडेर गरियो, अहिले रिटायर्ड जीवनमा चाहिँ आँगनमै मोटर आएको छ,” तामाङ लवजमा उनी सुनाउँछन्, “छोरोले खासै पढेन । अहिले जग्गाको काम गर्छ, कारमा पो हिँड्छ त । जस्तो पायो, त्यस्तो खाँदैन । ठमेलतिर नाच्ने र गाउने होटल खोलेको छ रे ! अबेर सुत्न मात्रै घर आउँछ ।”

सिरुटारको एक चिया पसलमा भेटिए मिनप्रसाद पोखरेल

पोखरेल दश गाउँका पूरा नामी पुरोहित, पहिले शस्तै खेती गरेका उनले पाँच आना जग्गा बेचेर ५ तल्ले घर बनाएका छन् । त्यो पनि पूरै एसी फिटिङवाला ।

“के नै पो दु:ख छ र जजमानी गर्दै हिँड्नु, त्यसमाथि छोराछोरीलाई साथीहरूले टपरे बाहुन भनेर जिस्काउन सक्छन् । १ आना जग्गाकै भाउ अहिले ४० लाखभन्दा माथि छ, आफूसँग साढे ४ रोपनी जग्गा अझै छ । आफ्नो एकमात्र छोरो, त्यसले नि इञ्जिनियर पढाइ सक्यो । जागिर गर्न खासै मन गरेको छैन । र, पनि टक्शन ब्राण्डको कार किनेको छ । नेपालमा जागिर गरेर कति नै कमाइन्छ र,” उनी जुङ्गामा ताउ लगाउँदै भन्छन् ।

जोरपाटीमा भेटिए कालिचरण परियार

परियारको आफ्नै प्रसिद्ध टेलर्स अनि कपडाको गोदाम छ । उनको कारोबार अहिले छोरोले हेर्छ । कालिगढ अधिकांश भारतीय मुस्लिम समुदायका छन् ।

कालिचरण र उनको बुवा-बाजेले समेत केही अघिसम्मै बालिघरे प्रथामा आफ्ना विष्टहरूमा कपडा सिलाउँथे । तर, अहिले उनी कालो सन ग्लास, लबेदा सुरुवाल, कोट पाइन्ट लगाएर सेन्ट्रो कारमा यात्रा गर्छन् । न्यूरोडतिर मारबाडी साहूकहाँ सामान अर्डर गर्न जान्छन् ।

“२ रोपनी जग्गा छ । त्यसको मूल्य करोडौंमा छ । आफूलाई नपुग्दो केही छैन । त्यसकै चमत्कार हो यो,” उनी सुनाउँछन् ।

चपलीहाइटमा भेटिए धमेन्द्र यादव

यादव सो स्थानमा बसेको ३९ वर्ष भइसक्यो । जतिबेला उनी आए, त्यसबेला महाराजगञ्जदेखि घरसम्म आउँदा धान खेतै-खेत काँधमा बोकेर समान किनमेल गरी ल्याउनुपर्थ्यो ।

४ दशकदेखि कवाडको काम गर्दै आएका भारतीय मूलका धमेन्द्रसँग नेपाली नागरिकता मात्रै नभई २ वटा घर छ । एक छोरो डाक्टर अनि अर्को चार्टर एकाउण्टेन्ट छन् ।

अहिले उनीसँग २५ जना स्टाफमात्रै छन् । यहाँका धेरै कवाडसम्म आएर सामान बेचेर ५०, १००, २०० लगेर दैनिक उपभोग्य सामान किनेर लान्छन् ।

जतिबेला यादवले कवाड उठाउने व्यवसाय गर्दै थिए, उनकी श्रीमतीले चना, चटपटे र चिया पसल चलाउँथिन् । उनीहरू जुन डेरामा बस्थे, त्यही घर किने ।

“अहिले हेर्नुस्, जग्गा-जमिन उबेला बचाएर राख्नेहरू यहाँ सबै करोडपति छन्, यो करिस्माको एउटै कारण हो जग्गाको भाउले आकाश छुनु,” उनी गफिन्छन् ।

टोखामा भेटिए दिलबहादुर रम्तेल

रम्तेलको त्यहाँ आफ्नै जुत्ता कारखाना छ । १३ जना कालिगढका साहु उनलाई पहिला-पहिला हातमुख जोड्नै सकस हुन्थ्यो ।

त्यसकै लागि उनले वीर अस्पताल अघिल्तिर जुत्ता सिलाउने काम गर्दथे । जब नुवाकोट जाने बाटो बन्यो, त्यसपछि त उनीहरूको जग्गा सुनको भाउमा बिक्री हुन थाल्यो । त्यसयता आफूले प्रगति गरेको उनी सुनाउँछन् ।

पहिला बालाजुसम्म हिँडेर गई त्यहाँबाट मोटर चढी काममा जाने उनी अहिले आफ्नै पल्सर बाइकमा हिँड्छन् । छोरी र श्रीमतीसँग भेस्वा ब्राण्डको स्कूटर छ । एक छोरी अस्ट्रेलियामा छिन् ।

“अहिले त सुखै सुख छ बाबु,” रम्तेल आइफोन निकालेर युट्यूबमा गीत बजाउँदै सुनाउँछन् ।

रामकोटमा भेटिए दीपजङ्ग खड्का

खड्का पहिला सितापाइलाको एक गलैँचा कम्पनीमा पालेको काम गर्दथे । पछि खै के कारणले हो, कारखाना बन्द भयो अनि उनी बेकामे बने ।

कामको खोजीमा भौँतारिँदै गर्दा उनी जग्गा कारोबारीसँगको सङ्गतमा पुगे । त्यसपछि त्यसैलाई पेशा बनाएर आफूले प्रगति गरेको सुनाउँछन् उनी । अहिले उनी सुन्तला रङ्गको कारमा हिँड्छन् । बडेमानको ५ तल्ले घर बनाएका छन् ।

बालबालिकालाई महङ्गो बोर्डिङ स्कूलमा पढाएका छन् । गर्धनमा सिक्री मात्र १० तोलाभन्दा बढीको छ । “कहिलेकाहीँ राम्रैका लागि हुँदोरहेछ । त्यसबेला त्यो कम्पनी बन्द नभएको भए म त्यतै हुन्थेँ होला,” उनी भन्छन् ।

मच्छेगाउँमा भेटिए सोमप्रसाद बाँस्तोला

बाँस्तोला केही समय अघिसम्म खेती-किसानी गर्दथे, गाई पालेका थिए, दुध घर-घरमा एकाबिहानै पुर्‍याउनु उनको मुख्य काम थियो । अहिले न त उनीसँग खेतिपाती छ, न वस्तुभाउ नै बाँकी छन् । त्यसो त जागिर पनि छैन ।

भेट्ने बेलामा उनी सानो कदको बेलायती कुकुर डोर्‍याउँदै मोर्निङ वाक गर्दै थिए । कुकुरको नाम ‘टमी’ रहेछ । उनका छोरा-बुहारीले न्यूरोडमा होलसेल खोलेका छन् । बूढाबूढी घरमै बस्छन् । बुहारी बैंकमा जागिरे छन् ।

छोरी अमेरिका पढ्दैछिन् । “छोरीको कन्भोकेशनमा म अमेरिका पुगिसकेको छु । पहिले गाईपालन गर्दा खुबै खटियो । अहिले त गोबर पनि गन्हाउँछ । अब त त्यस्तो नाथे दु:खका दिन के सम्झनु,” उनी भन्छन् ।

के हो काँठ समाज ?

समाजशास्त्री नारायण ढकालका अनुसार काँठ समाज अलग्गै किसिमको पहिचान, रहनसहन र ठाडो लवज बोल्ने समाज हो । अन्य पहाडी जनजीवनभन्दा फरकपन देखिने राजधानीको बीच नेवारी समाजभन्दा बाहिरको समुदाय नै काँठ क्षेत्र हो ।

काठमाडौं मात्र होइन, कास्कीलगायत केही जिल्लामा समेत यसैलाई टेकेर सहरबाहिरको भूभागलाई काँठ भन्न थालिएको पाइन्छ । असन इन्द्रचोकेहरूले पहिला चाबहिललाई काँठ भन्थे, अहिले चाबहिलेहरूले साँखुतिरकालाई काँठ भन्दछन्, केही समयपछि यस्तो दिन आउँछ कि साँखुका बासिन्दाले मेलम्ची नजिककालाई काँठ भन्छन् ।

किनकि, सहरको विकासले काँठ क्षेत्र दुब्लाउँदै/खिइँदै गरेको देखिन्छ । तथापि, सामान्यतः काँठ शब्दले उपत्यकालगायत यसले छुने सीमावर्ती जिल्ला जहाँ यहीँको जस्तो रहन सहन अनि परम्परा पाइएता पनि मूलत: यसले काठमाडौं, ललितपुर अनि भक्तपुर जिल्लाकै पहिलाका ग्रामीण भूगोललाई बुझिने गरिन्छ ।

अर्थशास्त्रीय परम्परा

अवसर पाउनेहरू दरबार पसेर जजमानी वा अन्य सेवा पनि गर्थे । टन्न जग्गा-जमिन हुने केहीको जमिनदारी जीवनशैली हुन्थ्यो । कम जग्गा-जमिन भएका केही दलित भनिएका समुदायका मानिस उनीहरूसँग आश्रित हुन्थे । आज यही समुदाय व्यापार, व्यवसाय वा जागिरमा रमाएका छन् । यो समयले ल्याएको बदलाव हो ।

अहिले काँठ क्षेत्र अधिकांश घरैपिच्छे जग्गाको काम गर्न राम्रै सीप हासिल गरेकाहरू छन् । कुनै दिन फेला पारिहाले दह्रै कमिसन भेट्छन्, कुनै बेला महिनौं रित्तै चप्पल खियाउँदै भौँतारिने गर्दछन् । क्याटरिङ र पार्टी प्यालेसले गर्दा सामूहिक भोज लोप भयो, मोबाइलको विकासले जम्मा भइकन जुम्रा मारेर भलाकुसारि गर्ने प्रचलन हराएरै गयो ।

ब्रोइलर कुखुराको आगमनले मासु खान हप्ता पनि कुर्नु परेन । बजार विस्तारले गर्दा चुल्होमा साग, स्कुस, घिरौला मात्र पाक्नु परेन । हरेक सरसमान घर-आँगनमै उपलब्ध छ । प्राय: सबैसँग केही न केही कमाइ छ, पैसा छ ।

केही समय पहिलेसम्म काँठ क्षेत्रमा गतिला स्कूल, अस्पताल थिएनन् । जसले गर्दा आफ्ना लालाबालालाई उही सामान्य स्कूल-कलेजमै पढाउने चलन थियो । हुने खानेले सहरमा कोठा लिई पढाउँथे । किनमेल गर्न चाडबाड नै कुर्नुपर्थ्यो । बजारतिर निस्कनुलाई सहर जाने भन्दथे । बजार जाँदा आफ्नो खेतबारीको फसल डोकाभरि बोकेर गई सो बेचेर त्यहाँबाट आएको पैसाले घरका लागि सरसमान किन्ने चलन थियो ।

सहरमा जमिन कम हुने अनि भाडा पनि महङ्गो हुने हुँदा प्राय: नाम चलेका महङ्गा स्कूल-कलेज, अस्पताल काँठ क्षेत्रमा खुले । पहिलेको तुलनामा आफ्ना छोराछोरी पढाउने चलन व्यापक देखिन्छ । राजधानीको नाम चलेका महङ्गा स्कूल-कलेजमा काँठ क्षेत्रकै विद्यार्थीको वर्चस्व देख्न सकिन्छ ।

पढेपछि देश-विदेश बुझ्दै र जान्दै गए । सूचना, सञ्चार अनि पब्लिक सम्बन्ध विस्तार हुँदै गएपछि टाठा-बाठा हुँदै गए । राम्रो राम्रो जागिर अनि व्यापार-व्यवसाय गर्दै गए । अहिले उनीहरूको प्रगति यसरी व्यापक भयो कि जुन ३ दशक अघिसम्म कल्पनै गरिन्न्थ्यो ।

पहिले केही अघिसम्म पैसाको मुख देख्न भोगटे, आरुबखडा बेच्नेहरूले अहिले घर भाडा लगाएर, जग्गा जमिनको कारोबार गरेरै करोडौंको सम्पत्ति जम्मा गरेका छन् । पहिले पहिले मोटर देख्न सहरै पुग्नुपर्ने मानिसका अहिले घरैपिच्छे दुईरचार पाङ्ग्रे मोटर छन् ।

सांस्कृतिक परम्परा

काँठका विभिन्न भूभागमा जग्गा प्लटिङ वा इँटा पार्ने प्रयोजनका लागि खन्दा फेला परेका पुराना संरचनाको खोजीनीति छैन ।

गोकर्ण क्षेत्रमा मृत्यु संस्कारमा शङ्ख बजाउँदैनन्, असारमा रोपाइँ हुँदा काँठमा गाउने असारे भाका बेग्लै छ । यसमा प्रयोग हुने शब्दहरू बेग्लै छन् । टन्न जग्गा-जमिन हुँदा पनि बिसाउनु परेको दुःखको भाका बेग्लै छन् ।

बिहेमा गाउने रत्यौली भाकाका शब्द, लय र भावहरू बेग्लै छन् । रत्यौलीमा लाहुरे परम्परा र त्यसबाट व्यक्त गरिने भावनाका कथा पनि छन् । धार्मिक पर्वमा सिलोक गाउनेदेखि बिहेमा जगाउने खाँडो परम्परा छन् । मेला जात्रामा गाइने छुट्टै भाका हुँदाहुँदै पनि अहिले ति सङ्कटोन्मुख छन् । मानिसहरु सहरतिरभन्दा बढी फेसेनेबल ड्रेस लगाएर हिँड्छन् ।

‘जाइफूलको बासना’ भाका लोप हुँदै सैयाजीको आज ‘मैने ब्रेकअप करदिया’ मा नाच्ने युवा पुस्ता बढ्न थालेको छ । जात्रामात्रा, मेला, पर्व करिब-करिब सकिनै लागेको छ (नेवारी समुदायलाइ छोडेर हेर्ने हो भने) ।

प्राय: सबैको पहुँचमा सेवा-सुविधा छन् । बाटो-घाटो निर्माणले गर्दा एकैछिनमा मूल सहरमा पुगेर आउन कुनै समय नै लाग्दैन । अन्य जिल्लाबाट आउने मानिस बडो मुस्किलले देख्न सकिन्थ्यो । केही तराई मूलका मानिस समान बोकी बेच्न आउँथे । परिवार नियोजन गर्ने सङ्घसंस्था एवम् पोलियो खुवाउने स्वयम्‌सेवक एकाध देखिन्थे । कोही मिठाईवाला पनि आउँथे ।

उनीहरूले ल्याएको मिठाई केही अभिभावकले किनिदिन्थे । किन्न नसक्नेले पनि हेरेर रमाइलो मान्थे । बाहिरि पब्लिक रिलेशन र सूचना-सञ्चारको आदान-प्रदान कमै हुने भएकाले मानिसहरू असाध्यै इमान्दार थिए, छलकपट अनि झुट बोल्नु पाप मानिन्थ्यो, धर्म-कर्ममा असाध्यै लगाव राख्दथे । गाईवस्तु अधिकांशको घरमा हुन्थ्यो । हरेक घरमा पूजा गर्न तुलसीको मोठ अनि पूजा कोठा हुन्थे ।

जाति-जातिका बीच छोइछिटो बार्ने कुसंस्कार अन्य ठाउँतिरभन्दा बढ्ता देखिन्थ्यो । चाडवाड, पर्व, जात्रा असाध्यै रमाइलो हुन्थ्यो । प्राय: नयाँ कपडा दशैंतिर मात्र फेर्ने चलन थियो । बालिघरे प्रथा, फेरी लगाउने जोगी, अर्मपर्मको आनुपम अनुमान नै थियो काँठ क्षेत्र । बिहे-बटुल, ब्रतबन्ध, शुभ-अशुभ कार्यमा झुरुप्प गाउँले भेला हुन्थे ।

गुठी एवम् समूहहरूबाट सर-सहयोग गरी सबैको समस्या टारिदिने संस्कृति थियो । रत्यौली, जुहारी, काँठे भाका सायद त्यसबेला अरु कुनै भाकाभन्दा कम थिएनन् । सहर पुगेर आएको दिन भुरा केटाकेटीको साथी-भाइ माझ सान-सौकत नै छुट्टै हुन्थ्यो । अझै कसै-कसैको आफन्त सहरबाट पाहुना आएको थाहा पाउँदा छिमेकीहरू हालखबर सोध्न र आफ्ना छोरा-छोरीलाई पनि सहरतिर काम मिलाइदिन अनुरोध गर्नेको कमी हुन्नथ्यो ।

आपसमा आमा- दिदी जम्मा भएपछि काँठे भाकामा आफ्नो मनको दु:ख-सुख साटासाट गर्ने, बत्ती कात्ने, दुना टपरी बुन्ने, एकले अर्काको जुम्रा हेरिदिने चलनले गर्दा भावनाहरू एक आपसमा साटिन्थे । जसले मन हलुङ्गो बनाउँथ्यो ।

जनै पूर्णिमा, ठूलो एकादशी, महाशिवरात्रि, नवरात्रितिर अर्कै उमङ्ग छाउँथ्यो । दशैं झन्डै एक महिना अघिदेखि लाग्थ्यो । दशैंका लागि खसी-बोका, रांगा, सुँगुर, केराको जोहो धेरै अघिदेखि नै गरिन्थ्यो ।

घटस्थापना अघिल्तिरैबाट घरमा कमेरो, गेरु माटोले लिपपोत गरी चिटिक्क सिङ्गारिन्थ्यो । बाबियो र बाँसको व्यवस्थापन गरी लिङ्गे पिङ बनाउन युवाहरू १ महिना अघिदेखि नै योजना बनाउँथे । दशैंमा आफन्तकोमा पैदलै हिँडेर टीका लगाउन गइन्थ्यो । टिका लगाइ आएको पैसा खुत्रुकेमा हाल्ने चलन थियो ।

नासपाती, बिमिरो, भोगटे, सुन्तला, अम्बा, हलुवाबेद्, आरुबखडा, प्राय: सबै किसिमका पहाडी फलफूल करेसामा फल्थ्यो । केही खान्थे भने केही सहर पुर्‍याइ बेचेर त्यहाँबाट गर्जो टारिन्थ्यो ।

बिहे-बटुलमा जन्ती जान पाउनु केटाकेटीका लागि धेरै ठूलो पर्वझैँ मानिन्थ्यो। बिहे-बटुलको भोज बारीको गह्रामा भर्लाको पातमा खाने चलन थियो । भोजमा पनि तुर्लुङ्गे झोल, टपरीमा हाल्दा चुहिएर बचेको जति खान पाइन्थ्यो ।

तिहार सुरु हुनु धेरै पहिलादेखि नै देउसी-भैलो टिम गठन भइसक्थ्यो । त्यसबाट आएको पैसाले तिहारपछि वनभोज जाने चलन थियो । ब्रोइलर कुखुरा भित्रिइसकेको थिएन । जसले गर्दा मासु खान मुख्य चाडबाड नै कुर्नुपर्ने हुन्थ्यो ।

रेडियो, टेलिभिजन सबैको घरमा नहुने हुँदा त्यो हेर्न हुनेहरूको घरमा पुगी रामायण, महाभारत हेर्ने गरिन्थ्यो । हेरालुहरूको अघिल्तिर टिभी साहुनीले मकै ल्याएर राखिदिन्थिन्, त्यो छोडाउँदै हेर्ने चलन धेरै पछिसम्म पनि थियो ।

अधिकांश मानिस किसानी भएको र माटो पनि असाध्यै उर्वर हुने हुँदा खेतिपाती साह्रै राम्रो हुन्थ्यो । प्राय: मानिस खेतिपातीमै व्यस्त हुन्थे। फुर्सद कसैको हुँदैनथ्यो । बिहान डेरीमा दूध पुर्‍याएर चिया पसलमा पुगी देश-दुनियाँको खबर जिम्मावाल र मुखिया या रिटायर्ड कर्मचारीको मुखबाट सुन्ने चलन थियो ।

अन्त्यमा

अहिले सायद अन्य ठाउँभन्दा सबैभन्दा बढी परिवर्तन भएको क्षेत्र नै काँठ होला । पहिले-पहिले भन्ने काँठको भूभाग खुम्चिएको छ । पहिले मूल सहरलाई छोडेर सो बाहिरको राजधानी वरपरका भूभागलाई भन्ने भएता पनि अहिले चक्रपथ (रिङ रोड) बाट १० किमिभन्दा परसम्म त घना वस्ती नै भइसकेको छ ।

हरेक सेवा-सुविधा राजधानीमै केन्द्रित भएको हुँदा अध्ययन, रोजगार, काम विशेषले गर्दा मानिसहरूलाई राजधानी नै थुप्रिनुपर्ने बाध्यता छ । जसले गर्दा जनसङ्ख्याको चाप यसरी बढ्यो कि सहरमा नअटाएर विस्तारै काँठ क्षेत्र प्रवेश गर्‍यो ।

काठमाडौं उपत्यकामा ३ आना जग्गामा १ घर हुनु भनेको सम्पन्नताको सूचक हो भन्ने मानसिकताले गर्दा तराई, पहाड, हिमालतिर बिघौं-बिघा जमिन बेची मानिसहरू राजधानी आउन थाले ।

सबै वर्गले सहरमा त किन्न सक्दैनन् । तसर्थ, कम पुँजी भएकाहरू काँठ क्षेत्रतिर पुगे र त्यसपछि काँठको चहलपहलमा कायापलट नै आयो । अर्थात छोटकरीमा भन्नुपर्दा काँठ समाज अब सहरिया समाज भइसकेको छ ।

पहिलाको रीति, परिस्थिति, चालचलन, मनस्थिति, अवस्थामा पूरै परिवर्तन भइसकेको छ । जुन नेपालको अन्य क्षेत्रको तुलनामा यो भेग सबैभन्दा बढ्ता फेरिएको हुँदा अझै २ दशकपछि कस्तो अवस्था आउला र बढ्दो जनघनत्वको उग्र चापले निम्त्याइरहेको विकृति र भविष्यमा निम्त्याउन सक्ने स्थितिको आकलन अहिले नै गर्न सकिन्न ।

सहर निर्माण हुँदैमा यहाँका मौलिक कुरा मास्नु भनेको साँच्चै काँठलाई मार्नु हो । काँठ जोगाउनु छ भने यहाँको संस्कृतिको अभिलेखीकरण गर्नु र पृथक सांस्कृतिक विम्बको निर्माण गर्नुपर्छ ।

सहर तन्किँदै जाँदा काँठ मर्दै जान्छ भन्ने आम बुझाइ छ । काँठ सभ्यता केही मुर्झाएको जरुर हो तर, मरिसकेको होइन । यसको जगेर्ना गर्न हामी सबैले पहल गर्नुपर्ने समय आएको छ ।

काठमाडौंका सबै भित्तासम्म सहरको विस्तार भयो भने पनि काँठ सकिँदैन । बरु यसको मौलिक संस्कृति नै थिएन र छैन भन्ने तर्कसँग सहमत हुन थालियो भने काँठ सभ्यता मृत अवस्थामा पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved