अघिल्लो साल यही बेलातिर लमजुङबाट एक पुरानो मित्रको कल आयो– ‘भिरमौरीको मह चाख्न आउनुस् है, निम्तो छ है !’
यो सुन्नासाथ म रोमाञ्चित भएँ । ‘मह चाख्ने मौका, त्यो पनि भिरमौरीको !’ उनको निमन्त्रणाले म रोमाञ्चित भएँ । किनकि पहिलो त मह, त्यसमाथि पनि भिरमौरीको । यो कुनै सजिलो मह सङ्कलन होइन ।
मित्रको निम्तोले मेरो मनमा ‘हनी हन्टिङ’को रोमाञ्चक चित्रहरू गुन्जन थाले । ज्यान हत्केलामा राखेर उफ्रिने ती भिरका सिकारीहरू सम्झिएँ ।
भिर पहरामा सिकारीले ‘हनी हन्टिङ’ गरेका दृश्यहरू मानसपटलमा खेल्न थालेँ । जुन, केही ठाउँमा प्रत्यक्ष देख्ने अवसरसमेत पाएको थिएँ ।
त्योभन्दा बढी त युट्यूबर र टेलिभिजनका डकुमेन्ट्रीमा पनि देखिरहेको थिएँ । साथीको निमन्त्रणाले ‘हनी हन्टिङ’का रिल मेरा दिमागमा घुम्न थालेँ ।
कहालीलाग्दो भिरमा डोरीमा झुन्डिएका मान्छे एकाएक स्मृतिपटमा आए । म भित्रभित्रै रोमाञ्चित भएँ । ती सिकारी मान्छेलाई नजिकबाट भेट्ने, भलाकुसारी गर्ने र भिरमौरीको गाथा सुन्ने इच्छा जागृत भयो । साथमा ताजा मह चाख्ने इच्छा भयो ।
केही दिनपछि मित्रको निम्तो मान्न एकजना साथी लिएर लमजुङ हुंइँकिएँ । काठमाडौंदेखि तनहुँ पुगेँ । त्यहाँबाट साँघुरो बाटो हुँदै लमजुङतिर हुइँकियौँ ।
‘हनी हन्टिङ’को पहिलो गन्तव्य थियो लमजुङको बेसी सहर तालफाँटका भिर पहरा ।
त्यो भिर, जहाँ दिनरात नसकी ‘महको रस’ सङ्कलन गरिन्छ । त्यहाँको मह दुनियाँभर पुर्याइन्छ । कतै अस्ट्रेलिया, कतै अमेरिका, लमजुङको यो महको स्वादले दुनियाँका मानिसको मन जितिरहेको थियो ।
जुन भिरबाट संसारभरका ग्राहकलाई हजारौँ जार जङ्गली मह ‘डेलिभर’ भइरहेको थियो । भिरमह काढ्ने ठाउँमा जति नजिक पुग्दै गयौँ, त्यति नै रोमाञ्चकता बढ्दै गयो ।
०००
कालीगण्डकीको किनाराको भिरमा त्यही पुरानो साहसिक दृश्य देखियो, भिरका अग्ला चट्टानमा डोरीमा झुन्डिएका थिए सिकारीहरू । आफ्नो जीवनलाई दाउमा राखेर भिरमौरीको मह निकाल्न जुटिरहेका थिए ।
ती सिकारीहरू कुनै पनि साधारण साहसी होइनन्, उनीहरू डोरीमा लट्किएर भिरबाट मह निकाल्दै थिए ।
साधारण काठको भर्याङ, जस्तो देख्दा पनि खतरनाक लाग्थ्यो, उनीहरूको मुख्य सहारा त्यही थियो । भिरको टुप्पामा गाडिएको एउटा किलाले चोयाको डोरीलाई बाँधिएको थियो ।
यदि केही भएमा उनीहरू मर्स्याङ्दीको भङ्गालामा खस्न सक्थे । गाउँलेहरूबाट सुनेँ— ‘जुनसुकै बेला चक्कर लाग्न सक्छ त्यो भिरमा ! यी भिरका भीम बहादुरहरू न हुन् ।’
हामीले उनीहरूलाई हेर्दा डर लाग्थ्यो । तर, उनीहरूको अनुहारमा डरको सट्टा एक किसिमको जीतको गर्व थियो, मानौँ त्यो भिर तिनका पुर्ख्यौली चिरपरिचित साथी हो ।
सिकारीहरू एकपछि अर्को डोरीमा झुन्डिएर मह निकाल्न व्यस्त थिए । कोही डालोमा मह तान्दै थिए । कोही माहुरीको घार खोप्दै थिए । कोही आगोको धूवाँले घारमा रहेको माहुरीलाई भगाउनमा व्यस्त थिए ।
माहुरीको घार सुरुमा कालो देखियो । बिस्तारै धूवाँको असरले माहुरीहरू उड्न थाले, अनि घार पहेँलपुर देखियो । त्यो दृश्यले मुखै रसायो ।
अनि त्यो पहेँलो घार धारिलो हतियारले काटियो । बोरामा राखियो । र, डोरीको सहायताले तानेर तल ल्याइयो । भिरमा सिकारको ती साहसिक दृश्यलाई निकै रोमाञ्चक मानेर हेरिरहेका थिए बटुवाहरू । म पनि त्यो दृश्य खुब रमाइलो मानेर हेरेँ । भिडिओ क्यामरामा कैद गरेँ ।
एक स्थानीयले सुनाए— ‘वर्षमा दुई पटक मह काढिन्छ । पहिलो पटक जेठको पहिलो साताबाट सुरु हुन्छ र असारको अन्तिम सातामा सकिन्छ । अहिले अर्को सिजन कात्तिकबाट सुरु हुन्छ ।’
मह काढ्ने समयको कुरा सुनाउँदै केही निराशासमेत उनले निकाले । उनले थपे— ‘हरेक वर्ष यस्तै हो तर, यो रोमाञ्चक दृश्य अब लामो समयसम्म देख्न पाइएला जस्तो छैन ।’
उनले विभिन्न कारणले हरेक वर्ष मौरी र घारको सङ्ख्या घटिरहेको नमिठो अनुभव र आँकडा सुनाए । उनले सुनाए— ‘भिरमा चार/पाँच वर्षअघि मौरी निकै थिए ।’
सडक निर्माणको क्रममा मौरी विस्थापित भए । ‘अहिले मौरीको सङ्ख्या र घार घटिरहेको छ । अहिले बनजङ्गल विनाश र खेतीपातीमा कमी भएकाले पनि घटिरहेको छ,’ उनले भने ।
म्यानुका मह बन्न सक्ला भिरमौरी मह ?
यही भिरमौरीले नेपाललाई विश्वभरि परिचित गराएको छ । लमजुङ मात्रै होइन, अरू ठाउँका भिर, पहाड र हिमाली भेगमा बसोबास गर्ने मानिसहरूले सदियौंदेखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका छन् ।
यो मह सङ्कलन गर्ने कार्य नेपाली परम्पराको एक महत्त्वपूर्ण हिस्सा हो ।
तर, आजको प्रतिस्पर्धात्मक बजारमा के नेपालका भिरमौरीहरूले न्युजिल्यान्डको प्रसिद्ध ‘म्यानुका मह’सँग प्रतिस्पर्धा गर्न सक्छन् ? त्यसभन्दा पहिला जानौँ, न्युजिल्यान्डको प्रसिद्ध म्यानुका महबारेमा ।
नेपालको धेरै भिर, पहाड र हिमाली क्षेत्रका बासिन्दाले सदियौंदेखि जङ्गली मौरीको मह सङ्कलन गर्दै आएका छन् । यो मह सङ्कलन हाम्रो परम्पराको एउटा महत्त्वपूर्ण अङ्ग हो ।
नेपालको भिरमौरी मह प्रायः पहाडी तथा हिमाली क्षेत्रमा हुने लालीगुराँस जस्ता जङ्गली फूलहरूको रसबाट सङ्कलित गरिन्छ ।
यसमा पाइने विविधता र गुणहरूले यसलाई अद्वितीय बनाउँदछ । यो महको रङ्ग, सुगन्ध र स्वादमा विशेषता गहिरो र गाढा हुने गर्दछ ।
अर्कोतर्फ, न्युजिल्यान्डको म्यानुका मह विशेष रूपमा म्यानुका (Leptospermum scoparium) फूलको रसबाट बनाइन्छ । स्वास्थ्यमा पुर्याउने लाभका कारण म्यानुका मह विश्वभरि प्रसिद्ध छ ।
यसमा एन्टिसेप्टिक र एन्टिभाइरलका गुणहरू छन्, जसले गर्दा यो मह उच्च मूल्यमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ ।
म्यानुका महको गुणस्तर र प्रमाणित स्वास्थ्य लाभले उपभोक्ताहरूलाई आकर्षित गर्दछ, जसको परिणामस्वरूप यसले अन्तर्राष्ट्रिय बजारमा धेरै स्थान ओगटेको छ ।
संरक्षणको अभावमा हराउँदै भिरमौरी
म्यानुका महकै अवस्थामा भिरमौरीको महको बजार प्रवर्द्धन हुनै लाग्दा चिन्ताको विषय यो छ कि धेरै ठाउँमा भिरमौरी हराउँदै गएका छन् । संरक्षणको अभावमा भिरमौरी हराउँदै गएका हुन् ।
जसकारणले गर्दा मह सिकार संस्कृति नै लोप हुने खतरामा रहेको विज्ञहरूले औंल्याइरहेका छन् ।
भिरमौरी पहराको काप अर्थात् पानीले नभिज्ने र सकेसम्म हावा हुरीले पनि बढी नसताउने स्थानमा बस्ने गर्दछन् ।
पहाडको आकाशे भिरहरू जहाँ जो कोही जाने कल्पनासम्म पनि गर्दैनन्, त्यस्तो स्थानमा भिरमौरी बस्दछन् ।
तर, हिजोआज डढेलो लगाउने, खेतबारीमा विषादीको प्रयोग र मह सिकारका बेलामा भिरमौरीका माउलाई मारिन्छ । माउ मरेसँगै बच्चा पनि हुर्कन सक्दैनन् ।
यसकारणले गर्दा भिरमौरी हराउँदै गएका भिरमौरीको रस काढ्दै आएका पाका मानिसहरू बताउँछन् ।
अर्कोतर्फ भएका मौरीबाट पनि मह उत्पादनमा कमी आइरहेको छ ।
वैज्ञानिक प्रविधिहरूको कमीले गर्दा उत्पादनमा कमी आइरहेको जानकारहरू बताउँछन् ।
मह सङ्कलक किसानहरूमा प्राविधिक ज्ञानको अभाव, उचित वासस्थान र खाद्य स्रोतको कमी, र मौरीको रोग र संक्रमणको समस्या जस्ता चुनौतीहरूले पनि मह उत्पादनमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।
यसमा सुधार गर्नको लागि मौरीको प्रजनन र संरक्षणमा ध्यान दिनु अत्यावश्यक छ ।
नेपालमा मौरीका प्रजातिहरूको घट्दो सङ्ख्या र बासस्थानहरूको विनाशले अझ बढी चुनौती थपिरहेको छ ।
यदि यसमा सुधार गर्न सकिएन भने भविष्यमा उत्पादनमा अझै गिरावट आउने निश्चित छ ।
वितरण, ब्रान्डिङ र पर्यटन
विश्वका धेरै देशमा गइरहेको भए पनि भिरमौरीमो महलाई अझ वितरण र ब्रान्डिङमा सुधारको आवश्यकता छ ।
अहिले नेपालको भिरमौरी महलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउने कार्य गर्दै आइरहेको संस्थामध्ये एक हो, मेडिशिनल म्याड हनी कम्पनी ।
मेडिशिनल म्याड हनीकी संस्थापक रश्मी कँडेलले हनी हन्टिङ समुदायसँग काम गर्दै आइरहेकी छिन् ।
उनले नेपालको भिरमौरी महलाई विश्वव्यापी रूपमा चिनाउनका लागि प्रयासरत छिन् ।
रश्मी भन्छिन्, “हामीले भिरमौरीको मह उत्पादनको गुणस्तरलाई सुधार गर्नका लागि वैज्ञानिक र प्रविधि प्रयोग गर्नु आवश्यक छ ।
नेपाली भिरमौरीको मह विश्वभर मात्र जाँदैन, यसले नेपालमा पनि आर्थिक विकासमा सहयोग पुर्याउनेछ । यसको लागि हामीले भिरमौरीको मह ब्रान्डिङ गर्दै आएका छौँ ।”
नेपालको भिरमौरी महले दिने स्वास्थ्य लाभ र यसको प्राकृतिक गुणस्तरले अन्तर्राष्ट्रिय उपभोक्ताहरूलाई आकर्षित गर्ने क्षमता राख्ने रश्मी बताउँछिन् ।
अर्कोतर्फ नेपालका भिरमौरी मह उत्पादनमा सामुदायिक संलग्नता र सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।
भिर महको उज्यालो भविष्य
मौरीको संरक्षणसहितका केही गतिविधि गर्न सकियो भने नेपालको भिर महको भविष्य उज्यालो छ । त्यो बेलामा नेपालका परम्परागत भिरमौरीले न्युजिल्यान्डको म्यानुका महसँग पनि प्रतिस्पर्धा गर्न सक्छन् ।
धेरै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नका लागि नेपालका भिर महलाई उचित तरिकाले प्रस्तुत गर्नुपर्छ । गुणस्तरको प्रमाणीकरण, विशेष प्याकेजिङ र प्रभावकारी ब्रान्डिङले महको मूल्य वृद्धि गर्न मद्दत गर्न सक्छ ।
यसका लागि भिर महका स्वास्थ्य लाभ र यसको गुणस्तरको बारेमा जनचेतना फैलाउने अभियान चलाउनु पर्ने देखिन्छ ।
यस यात्राको पहिलो कदम भनेको उत्पादनको गुणस्तरमा सुधार ल्याउनु हो । यसका लागि विभिन्न मौरी प्रजातिको संरक्षण र प्रजननलाई प्राथमिकता दिँदै मह सङ्कलक तथा किसानहरूलाई नयाँ प्रविधि र प्राविधिक सीपहरूमा प्रशिक्षित गर्नु आवश्यक छ ।
यसका साथै बजारको डिमान्ड बढाउन र भिर महलाई विशेष रूपमा विश्वसामु प्रस्तुत गर्न प्रभावकारी प्रचार र वितरण रणनीतिहरूको आवश्यक छ ।
सही प्रचार र ब्रान्डिङले अन्तर्राष्ट्रिय बजारमा यसको अलग स्थान बनाउन सहयोग पुर्याउन सक्छ । त्यस बेला मात्र नेपालको भिर महले उच्च मूल्य र माग पाउन सक्छ ।
Facebook Comment
Comment