व्यवसायी भन्छन्- अर्थतन्त्र डामाडोल भयो, अर्थमन्त्रीको जवाफ- अलि खस्केको मात्रै हो, बिग्रिसकेको छैन

पछिल्लो समय देशको अर्थतन्त्रबारे अनेकखाले टिप्पणी भइरहेका छन् । उद्योगी व्यवसायीले अर्थतन्त्र डामाडोल भएको बताइरहेका छन् । सरकारले पनि उद्योगीमैत्री नीति तथा कार्यक्रम नल्याएको उनीहरुको आरोप छ । तर अर्थमन्त्री भने उनीहरुको कुरा स्वीकार्दैनन् ।

व्यवसायी भन्छन्- अर्थतन्त्र डामाडोल भयो, अर्थमन्त्रीको जवाफ- अलि खस्केको मात्रै हो, बिग्रिसकेको छैन

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रबारे अनेकखाले टिप्पणी भइरहेका छन् । उद्योगी व्यवसायीले अर्थतन्त्र डामाडोल भएको बताइरहेका छन् । सरकारले पनि उद्योगीमैत्री नीति तथा कार्यक्रम नल्याएको उनीहरुको आरोप छ । तर अर्थमन्त्री भने उनीहरुको कुरा स्वीकार्दैनन् । भन्छन्– देशको अर्थतन्त्र खस्केको हो तर बिग्रिसकेको छैन ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाले सरकारकै कारण देशको अर्थतन्त्र कमजोर भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा ढकालले निजी क्षेत्रलाई बेवास्ता गर्दा मुलुकको अर्थस्थिति नै डामाडोल भएको तर्क गरे ।

‘बजेटसँगै अर्थनीति बनाउँदा निजी क्षेत्रको सुझावलाई समेटिएन’, उनको गुनासो छ, ‘राष्ट्र बैंकले पनि मौद्रिक नीति बनाउँदा निजी क्षेत्रलाई बेवास्ता गरेका कारण अर्थतन्त्र अझै खस्कियो ।’

देशको अर्थतन्त्र राजस्वले धानेको उनको तर्क छ । उनी भन्छन्, ‘राजस्व उठ्ने भनेकै निजी क्षेत्रबाट हो तर सरकारले निजी क्षेत्रको सुभावहरुलाई नै समेट्न सकेन । र राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा निजी क्षेत्रलाई अपहेलना गर्याे जसको असर अर्थतन्त्रमा देखिएको छ ।’

उनले देशमा लगानीको वातावरण बन्नुपर्ने र निजी क्षेत्रको लागि सरकारले खुुकुलो नीति ल्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले घरजग्गा कित्ताकाटमा रोक्का गरेसंगै अर्थतन्त्र सुस्ताउँदै गएको बताए ।

‘सरकारले घरजग्गा कारोबार रोक्का गरेपश्चात यसको असर अर्थतन्त्रमा पर्याे । जुन कुरा सरकारले अहिले महसुुस गर्याे । त्यसैले भर्खरै कित्ताकाट खुलाएको छ’, उनले भने, ‘यतिले मात्र पनि पुग्दैन, सरकारले घरजग्गा कित्ताकाटका लागि खुकुलो नीति पनि लिन आवश्यक छ ।’

उनले अर्थतन्त्र जोगाउनको लागि आयात कम गर्दै निर्यातमा जोड दिन पनि आग्रह गरे ।

अर्थमन्त्री भन्छन्– डामाडोल भएको छैन, भ्रम नछरौं

अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र डामाडोल नभएको दाबी गरेका छन् । उनी भन्छन्, ‘बाहिर हल्ला भएजस्तो अर्थतन्त्र शिथिल भइसकेको छैन, हाम्रो देशको अर्थतन्त्रमा केही समस्याहरु त छन्, त्यसलाई सुधार्नका लागि हामी लागि परिरहेका छौं ।’

उनले आफू अर्थमन्त्री बन्ने बेलाको भन्दा देशको अर्थतन्त्र निकै सुधार भएको दाबीसमेत गरे । उनले निजी क्षेत्रलाई नआत्तिन पनि आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले पनि अर्थतन्त्र संकटग्रस्त भइनसकेको बताए । मन्त्री रिजालले भने, ‘अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरासँग म सहमत छैन । हामीले अर्थतन्त्रलाई उँभो लगाउन नसके पनि उँधो लागिहाल्न चाहिँ दिएको छैनौं ।’

उनले नीजि क्षेत्रलाई नीति निर्माताहरुले प्राथमिकतामा राखेर अघि बढे मात्र अर्थतन्त्रमा सुधार देखिने बताए ।

राष्ट्र बैंकले गर्ने हरेक कार्यमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेको कायम मुकायम गभर्नर बमबहादुर मिश्रले बताएका छन् । उनले भने, ‘राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको छ । त्यसले केही अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ । बैंकले डिजिटाइजेसनमा काम गरिरहेको छ ।’

उनले बजारमा प्रशस्त तरलता हुँदा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved