गठबन्धनले नसमेटे रोइकराइ गर्दैनौँ, आफैँ चुनावमा जान्छौँ : सचेतक गिरी (अन्तर्वार्ता)

यसको ‘इनिसियसन’ प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिइरहेका छन् । उनले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने मनाइसकेका छन् ।

गठबन्धनले नसमेटे रोइकराइ गर्दैनौँ, आफैँ चुनावमा जान्छौँ : सचेतक गिरी (अन्तर्वार्ता)

काठमाडौं । सत्तारूढ गठबन्धनमा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई पनि समेटेर लाने विषयमा छलफल चलिरहेको छ ।

यसको ‘इनिसियसन’ प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिइरहेका छन् । उनले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने मनाइसकेका छन् ।

तर, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरू भने सकारात्मक छैनन् । त्यसमा पनि खासगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मानेका छैनन् । एमालेबाट छुटिएर एकीकृत समाजवादी गठन गरेका नेपालले एमालेलाई समेटेर अगाडि बढ्न नहुने अडान राखेका छन् ।

यसअघि बुधबार साँझ ५ बजे पनि एमालेसहितको गठबन्धनको बैठक बसेको थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय सभामा एमालेलाई बाइपास गरेर नजानुस्’ भनेर आग्रह गरेका थिए । बिनानिष्कर्ष सकिएको उक्त बैठकपछि पुन: बिहीबार बिहान बालुवाटारमा गठबन्धनका ४ ठूला दलको बैठक बसेको थियो । तर, उक्त बैठक पनि बिनानिष्कर्ष सकिएको छ । यसपछि दलहरू आन्तरिकरूपमा छलफल गर्ने र पुन: शुक्रबार बिहान बस्नेगरी उठेका छन् ।

ङ्क्रमणकालीन न्यायको मुद्दा टुङ्ग्याउने उद्घोष गर्दै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड एमालेलाई पनि समेटेर जान चाहन्छन् । सङ्क्रमणकालीन न्यायको मुद्दा टुङ्ग्याउने सन्दर्भमा एमालेको साथ खोजिरहेका प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा सहमति जुटाउन कोसिसरत छन् । तर, यस सम्बन्धमा गठबन्धन विभाजित भइसकेको छ ।

स्रोतले बताएअनुसार एमालेले कम्तिमा ६ सिट मागेको छ । त्यसबारे गठबन्धनमा सहमति जुटिसकेको छैन । यही पृष्ठभूमिमा नेपालभ्यूजले एमालेका प्रमुख सचेतक पदम गिरीसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ—

राष्ट्रियसभा निर्वाचनलाई लिएर एमाले सत्तारूढ गठबन्धनसँग छलफलरत छ, तपाईंहरूको दाबी कति सिट हो ?

यति-उति भनेका छैनौँ हामीले, हामीले भनेको कति मात्रै हो भने एमालेजस्तो जनमत भएको पार्टीलाई ‘बाइपास’ गरेर नजानुस् । किनकि राष्ट्रियसभा भनेको माथिल्लो सदन हो, जुनचाहिँ सर्वपक्षीयरूपमा बन्नुपर्छ । हाम्रो आग्रह यति हो ।

अहिलेको छलफल त स्वाभाविकरूपमा भागबन्डा नै हो नि होइन र ? त्यसो हुँदा एमालेको दाबी यति हो भनेर भन्न किन गाह्रो तपाईंलाई ?

होइन, अहिले पनि हामीले गठबन्धन दलहरूलाई एमालेजस्तो लोकप्रिय पार्टीलाई ‘बाइपास’ गरेर नजानु भनेर आग्रह गरेका मात्रै हौँ । अहिलेसम्म हामीले यति वा उति सिट चाहियो भनेर भनेका छैनौँ । सौहार्दपूर्णरूपमा छलफल भइरहेको छ । त्यसलाई निरन्तरता दिनुपर्छ ।

उसोभए यहाँ खुलाउनुस् न, कति सिट हो एमालेको दाबी ?

छलफल गर्दैछौँ । अहिल्यैचाहिँ यति वा उति भन्न सकिँदैन ।

यदि गठबन्धन दलहरू एमालेलाई समेटेर जान तयार भएनन् भने के गर्नुहुन्छ ?

केही गर्दैनौँ । उम्मेदवार उठाउँछौँ, चुनाव लड्छौँ । हार-जीत आफ्नै ठाउँमा छ । एमालेजस्तो जनताको पार्टी चुनावसँग डराउँदैन ।

तर, एमाले आफैँ चुनावमा होमियो भने त ‘शून्य हात लाग्ने’ अवस्था छ नि होइन र ?

एमाले लोकप्रिय मत पाएको पार्टी हो । मैले भनिहालेँ, हार-जीत आफ्नै ठाउँमा छ । तर, हामी चुनाव लड्छौँ । एक्लै भएपनि हामी जान्छौँ ।

अहिले गठबन्धन दलहरूले समेटेनन् भने तपाईंहरूले फेरि टीआरसीमा च्याँखे थाप्ने होला नि ?

एमाले त्यस्तो पार्टी होइन । टीआरसीमा एमालेले कसैसँग सौदबाजी गर्दैन । हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्छौँ । भूमिका निभाउँछौँ । तर, त्यो अदालतको सुझावअनुसार, अन्तर्राष्ट्रिय मान्यताबमोजिम र पीडितहरूलाई केन्द्रमा राखेर त्यो काम हुनुपर्‍यो । अहिले पनि अड्किएको त गठबन्धन दलहरूकै कारण त हो नि टीआरसी । एमालेको माग यति हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved