अन्तर्वार्ता

यो अधिवेशनमा सरकारलाई सच्चिन समय दिन्छौँ, नसच्चिए ‘छोड’ भन्छौँ : सचेतक बर्तौला 

'संसद् अवरोध पनि हुनसक्छ'

यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने यो अधिवेशनमा सशक्तरूपमा उपस्थिति जनाउने तयारी गरेको छ ।

यो अधिवेशनमा सरकारलाई सच्चिन समय दिन्छौँ, नसच्चिए ‘छोड’ भन्छौँ : सचेतक बर्तौला 

काठमाडौं । सोमबार (आज) बाट संसद्को हिउँदे अधिवेशन सुरू हुँदैछ । यो अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे संसद् भवन नयाँबानेश्वरमा बस्दैछ । अधिवेशनको प्रारम्भ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर गर्दैछन् ।

यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने यो अधिवेशनमा सशक्तरूपमा उपस्थिति जनाउने तयारी गरेको छ । सुशासन, विकास, आर्थिक विकास, सामाजिक न्यायलगायतका विषयमा सशक्त आवाज उठाउने एमालेको तयारी छ ।

यी विषयहरूमा सरकारले अहिलेसम्म कुनै काम नगरेको तर, अब एमालेले सच्याउँदै/सम्झाउँदै लाने र थप काम नगरे ‘छोड’ भन्ने स्थितिमा आफूहरू पुग्ने नेताहरू बताउँछन् । त्यसो त नेताहरूले संसदीय प्रक्रियामा रहेर सरकारलाई उसको त्रुटि देखाउँदै सशक्तरूपमा सच्चिन दबाब दिने बताइरहेका छन् ।

यी नै विषयहरूका सन्दर्भमा एमाले सचेतक महेशकुमार बर्तौलासँग गरिएको कुराकानी प्रस्तुत छ—

आजबाट संसद्को हिउँदे अधिवेशन सुरू हुँदैछ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कसरी अगाडि बढ्दैछ ?

सशक्तरूपमा अगाडि बढ्छौँ, सरकारलाई सच्याउँदै अगाडि बढ्छौँ । सरकारका गलत कामहरूको भण्डाफोर र राम्रा कामहरूमा सघाउँदै अगाडि बढ्छौँ, अहिलेसम्म अगाडि बढेको पनि यसैगरी हो । एमाले एउटा जिम्मेवार प्रतिपक्ष हो । आफ्नो धर्म निभाउँदै अगाडि बढ्दै आएको छ र अब पनि यसैगरी अगाडि बढ्छौँ ।

तर, यदाकदा एमालेको प्रतिपक्षी-भूमिका भएन भनेर पनि आलोचना हुने गरेको छ नि ?

एमालेले प्रमुख प्रतिपक्षको भूमिका रहेर जे गर्नुपर्ने हो, त्यो गरिरहेकै छ । तर, अब अझ सशक्तरूपमा अगाडि बढ्नेछौँ, सहभागिता जनाउनेछौँ । त्यसमा संसदीय दलका नेताले निर्देशनसमेत गरिसक्नुभएको छ । त्यसैगरी हामी अगाडि जान्छौँ । विगतभन्दा अझ रचनात्मकरूपमा अगाडि बढ्न सकिन्छ कि भनेर हामी छलफलरत छौँ ।

अझ सशक्त भनेकोचाहिँ के हो ? कसरी हो ?

यसअघिको संसद् अधिवेशनमा पनि हामीले सरकारलाई सच्चिन सक्दो सुझाव र दबाब दिएका हौँ । त्यसबेला हामीले गल्तीहरू, त्रुटिहरू यहाँ-यहाँ छ सच्याऊ भनेर भनेका थियौँ । तर, सरकारका कदमहरू सच्चिएनन् । अहिले सरकार कहाँ छ भनेर खोज्नेबेला भएको छ । हामीले संसदीय प्रक्रियाबाट सरकारलाई झक्झक्याउने र अगाडि बढाउने काम गर्नेछौँ । खासगरी सुशासन, सामाजिक न्याय र विकासका सन्दर्भमा केही कामहरू भएका छैनन् । अबको अधिवेशनमा यी विषयहरूलाई हामीले सशक्तरूपमा उठाउनेछौँ र सरकारलाई ती कामहरू गर्नका लागि दबाब दिनेछौँ । यदि सरकार सच्चिएन भने त्यसपछि बाँकी कदमहरू छँदैछन् ।

यदाकदा एमालेले यी नै विषयहरूलाई लिएर संसद् अवरोधसम्म गर्ने भन्ने सुनिन्छ नि ?

संसदीय प्रक्रियाअनुसार अगाडि बढ्दा त्यहाँसम्म पुगिन्न भन्ने हुँदैन । संसदीय प्रक्रियाअनुसार सरकारलाई सच्चिन र जनपक्षीय काम गर्नका लागि भन्छौँ । हामी दबाब मात्रै दिने पनि होइन, त्रुटिहरू यहाँ-यहाँ छन्, यसलाई सच्याऊ भनेर भन्छौँ । त्यसपछि पनि सुनेन भने थप कदम चाल्छौँ ।

थप कदम भन्नाले के ?

अब त ‘सक्छौ गर, सक्दैनौ छोड’ भन्ने ठाउँमा पुग्नुपर्ने हुन्छ । तर, सच्चिन र काम गर्नका लागि समयचाहिँ दिने हो । तर, सक्दै सक्दैन भने त किन बिच्यैमा स्थान ओगट्ने अनि किन समय खेर फाल्ने, छाड्ने नि ! गठबन्धन टिकाउने मात्रै काम गरेर त भएन । मुलुकका समस्याहरू तपाईं आफैँ हेर्नुस् त, कति छन् । अब यसलाई यत्तिकै छाड्ने होइन ।

भनेको अहिलेको सरकारकै विकल्प खोज्ने दिशातिर पुग्छ एमाले ?

होइन, अहिल्यै खोजिहाल्ने, सरकार अहिल्यै हटिहाल्नुपर्छ भन्ने पनि होइन फेरि । यो अतिरञ्जित नहोस् । तर, गर्नै सक्दैन भने त जनताले नै हट्नुपर्‍यो भन्नुपर्‍यो नि होइन र ?

भनेपछि यो अधिवेशनमा एमालेले सरकारलाई सच्चिने समय दिन्छ र थप काम गर्न सकेन भने हटाउनतिर लाग्छ ?

पक्कै !

अहिलेसम्म पनि त एमालेले सरकार ढाल्नका लागि सक्दो प्रयास त गरेको होइन र ?

त्यस्तै पनि होइन । एमालेले त गुण र दोषका आधारमा विरोध र समर्थन पो गर्दै आएको छ त । कतिपय कुराहरूमा त हामीले सरकारलाई धन्यवाद नै दिएका छौँ नि ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved