अन्तर्वार्ता

टेस्ट राष्ट्र बलिया छन् तर, टी-२० विश्वकपमा जे पनि हुनसक्छ : शक्ति गौचन

नेपालको आगामी विश्वकपमा प्रदर्शन कस्तो होला ? नेपाल रहेको समूहका अन्य राष्ट्र कस्ता छन् ? टिमले कस्ता पक्षमा बढी ध्यान दिनुपर्ला ? यस्तै विषयलाई लिएर सन २०१४ को विश्वकपका सदस्य समेत रहेका शक्ति गौचनसँग गरिएको कुराकानी ।

टेस्ट राष्ट्र बलिया छन् तर, टी-२० विश्वकपमा जे पनि हुनसक्छ : शक्ति गौचन

काठमाडौं। आईसीसीले टी-२० विश्वकप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक गरेसँगै यसको चर्चा बढ्न थालेको छ । दोस्रो पटक टी-२० विश्वकपमा पुगेको नेपालको प्रदर्शन कस्तो होला भन्ने आकलन पनि सुरू भइसकेको छ ।

नेपाले सन् २०१४ को टी–२० विश्वकपमा हङकङ, बङ्गलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । त्यसबेला नेपाल बङ्गलादेशसँग हारेको थियो भने अफगानिस्तान र हङकङलाई हराउन सफल भएको थियो । नेट रनरेटका आधारमा मात्रै नेपाल फाइनल चरणमा पुग्न असफल भएको थियो ।

नेपालले १० वर्षपछि फेरि टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ । यसपटक पहिलजस्तो फर्म्याट छैन । विश्वकपमा छानिएका सबै २० राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ । ति समूहको शीर्ष स्थानमा रहने २-२ टिम सुपर एटमा प्रवेश गर्नेछन् । त्यसैले नेपालले समूह चरणमै बलिया टेस्ट्‌ राष्ट्रको सामना गर्नुपर्नेछ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । यीमध्ये नेपालबाहेकका तीनवटै देश टेस्ट्‌ मान्यता प्राप्त हुन्।

नेपालको आगामी विश्वकपमा प्रदर्शन कस्तो होला ? नेपाल रहेको समूहका अन्य राष्ट्र कस्ता छन् ? टिमले कस्ता पक्षमा बढी ध्यान दिनुपर्ला ? यस्तै विषयलाई लिएर हामीले सन् २०१४ मा टी-२० विश्वकप खेलेका तथा नेपाली क्रिकेटको ग्रासरुटमा योगदान पुर्‍याउँदै आएका शक्ति गौचनसँग कुराकानी गरेका छौँ ।

विगत १० वर्षमा नेपाली क्रिकेट कहाँ पुगेको जस्तो लाग्छ ?

विगत १० वर्षमा धेरै उतारचढाव आए । कता-कता नेपाली क्रिकेट समस्यामा परेको पनि महसुस भयो । एकदिवसीय मान्यता नै खतरामा परेको क्षण पनि भोग्यौँ । तर, जसरी अन्तिम क्षणमा नेपाली क्रिकेटले कमब्याक गर्‍यो, त्यो प्रशंसनीय रह्यो । त्योभन्दा अगाडिको ४-५ वर्षलाई हेर्ने हो भने टोलीलाई गाह्रो नै भएको थियो । एकैचोटी सिनियर टोलीका धेरै खेलाडीले विभिन्न कारणले सन्न्यास लिनुपरेको थियो ।

तथापि, विस्तारै सोमपाल, करण केसीको सक्रियता देखिन थाल्यो । युवा खेलाडी पनि आउन थाले । रोहितकुमार पौडेलको निरन्तरतासँग टोलीले एउटा आकार लिन थाल्यो । यही अवस्थामा मोन्टी देशाई सरले टोलीलाई एउटा दिशा दिन थाल्नुभयो । खुसीको कुरा हो कि टोलीले नतिजा पनि दिन थाल्यो ।

विगत ४-५ वर्षमा खेलाडीमा एकअर्का प्रतिको विश्वास पनि बढ्दै गइरहेको छ । जुन नतिजा ल्याइरहेको छ, यसले पनि हाम्रो टोलीको लेभल बढीरहेको देखाउँछ । हामीले एसिया कप पनि खेल्यौँ, विश्वकप पनि क्वालिफाइ गरेर अघि बढिरहेका छौँ । प्रदर्शनको रूपमा हेर्ने हो भने पनि नेपाली टोलीले स्ट्यान्ड लिइरहेको छ।

सन् २०१४ र अहिलेको अवस्थालाई हेर्ने हो भने नेपाली क्रिकेट एक स्टेप माथि बढेको भन्न सकिन्छ । यसलाई नै निरन्तरता दिएर लगातार ३ पटक एकदिवसीय मान्यतालाई जोगाउन सक्यौँ, राम्रो नतिजा ल्याउन सक्यौँ भने हाम्रो लागि टेस्ट्‌ मान्यता धेरै टाढा छैन ।

अहिलेको राष्ट्रिय टोलीलाई कसरी हेर्नु भएको छ ?

अहिलेको जुन टोली छ, त्यो निकै लामो समयसम्म जाने टोली हो । यो कम्तिमा पनि ८-१० वर्ष खेल्न सक्ने ब्याच छ ।

कुनै चोट वा अन्यथा नभएमा रोहित, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल, करण, सन्दीप जोराजस्ता खेलाडी जति छन्, सबैले लामो समय खेल्छन् । अहिले जुन २०-२५ जनाको स्क्वाड छ निकै राम्रो छ । सबैको निरन्तरता हुनुपर्‍यो । एकआपसमा विश्वास गर्नुपर्‍यो ।

प्रतिद्वन्द्वीले दबाब सिर्जना गर्दा हाम्रो ब्याटिङमा सधैँ समस्या पर्छ, यसको समाधान कसरी गर्न सकिएला ?

अहिले हामीले ब्याटिङमा जुन प्रदर्शन गर्दै आएका छौँ, त्यो नै ठूलो कुरा हो । ब्याटिङलाई हामीले ग्रासरुटबाट नै मिलाउनुपर्ने हुन्छ । नभए हाम्रो ब्याटिङ संघर्षरत नै रहनेछ ।

किनभने अन्डरएज क्रिकेटदेखि सिनियर टोलीसम्म आइपुग्दा एकजना खेलाडीले मुस्किलमा १०० खेल खेल्छ होला । छिमेकी राष्ट्र भारतलाई हेर्ने हो भने उसले एक वर्षमा नै १५० खेल खेल्छ । त्यो भएर हाम्रो ‘क्रिकेटिङ स्ट्रकचर’ लाई नै मिलाउनु पर्ने देखिन्छ ।

अब अहिले केही आशा जागेको छ । अहिलेको नयाँ नेतृत्वमा चतुर सर, पारस छन् । यो टिमले जुनियर क्रिकेटलाई केन्द्रमा राखेको देखिन्छ । हालै सार्वजनिक भएको क्यालेन्डर एउटा राम्रो निर्णय पनि हो । क्यालेन्डरमा सिनियर टोलीलाई मात्र नभई जसरी जुनियर टोलीलाई क्लब टुर्नामेन्ट समावेश गरिएको छ, त्यो निकै राम्रो छ । किनभने सिनियर टोलीले विभिन्न प्रतियोगिता खेलिरहेका हुन्छन् । जुनियर टोलीको लागि भने सधैँ अवसरको कमी भएको देखिन्थ्यो ।

मेरो रूपन्देही जिल्लालाई नै हेर्ने हो भने क्रिकेटको खानी भनिन्छ । तर, यू-१९ को टोलीले मुस्किलले अफिसियल १० म्याच पनि खेल्दैनन् । यू-१६ र यू-१४ को कुरा त परै जाओस् । अनि यस्तो अवस्थामा हामीले कसरी ब्याटिङमा स्ट्यान्ड लिन्छौँ त ? त्यही भएर यू-१६ देखि यू–१९ सम्म एकजना खेलाडीले कम्तिमा ५०० खेल खेल्न पाए पो उसको प्लस र माइनस थाहा हुन्छ । उसको बलियो पक्ष कमजोर पक्ष अनि छर्लङ्ग देखिन्छ ।

ब्याटिङ सुधार्ने खेलाडीले अत्यधिक खेल खेलेर नै हो । कुन परिस्थितिमा कसरी खेल्ने भन्ने ज्ञान अनुभवले दिने गर्छ । जबकि हाम्रा खेलाडीले अभ्यास खेलको आधारमा नै आफूलाई तिखार्न पर्ने बाध्यता छ । यो बाहेक कुनै विकल्प पनि त भएन । त्यही भएर पनि ब्याटिङमा समस्या देखिरहने गर्छ ।

तपाईंलाई यसपटक टी-२० विश्वकपमा नेपाल परेको समूह ‘डी’ कतिको चुनौतीपूर्ण छ जस्तो लाग्छ ?

टेस्ट्‌ प्लेइङ राष्ट्रहरू त पक्कै पनि हामीभन्दा माथि नै हुन्छन् । तापनि टी-२० हो, एउटा आशा भने छ । टी-२० को शैलीमा सुरुवाती चरणमा दबाब सिर्जना गर्‍यौँ भने राम्रो नतिजा ल्याउन सकिन्छ । किनभने जुनसुकै राम्रो टोलीलाई पनि टी-२० मा कमब्याक गर्न गाह्रो हुने गर्छ ।

त्यहीअनुसारको अभ्यास र तालिम चलिरहेको होला । कुनै पनि खेलमा यसैले नै जित्छ त भन्न सकिन्न । तर, सुरुवाती दबाब सिर्जना गरेर कस्तो परिस्थितिमा कसरी खेलिन्छ भन्ने पक्षले नै महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

समूह ‘डी’मा नेपाल र अन्य राष्ट्र दाँज्दा नेपाल र अमेरिकाको अर्थिक स्थितिबीच तुलना गरेको जस्तो हुन सक्छ । नेपाल खेल्दैछ, आफ्नो देशले नै जितोस् भन्ने सबैलाई लाग्छ । तर, यथार्थलाई पनि ध्यान दिनुपर्छ। धेरै अपेक्षा पनि नगरौँ तर, खेलाडीको प्रदर्शन कस्तो हुन्छ त्यसले पनि निकै प्रभाव पार्न सक्छ । क्रिकेटमा हो जहाँ मिराकल हुन सक्छ । सकारात्मक नतिजाको अपेक्षा गरौँ ।

सन् २०१४ मा पनि टी-२० विश्वकप खेलेका सोमपाल कामीको भूमिका यसपटक कस्तो हुन सक्ला त ?

सोमपाल टोलीको एक अनुभवी खेलाडी हो । उसलाई टोलीको धेरै कुरा थाहा छ । उसको अनुभवले फरक पार्न सक्छ । अहिले धेरैले टप लेभलको क्रिकेट खेलिसकेका छन् । टोलीबीच विश्वास छ । मोन्टी सर ब्याकअपको रूपमा नै हुनुहुन्छ ।

प्रशिक्षकको अनुभवले पनि धेरै ठाँउमा फरक पार्छ । कस्तो खेल्दै गर्दा कस्तो निर्णय लिइन्छ, त्यसले पनि फरक पार्छ । अमेरिका र वेस्ट इन्डिजको पिचले पनि फरक पार्छ । खेलाडीले त्यो परिस्थितिमा आफूलाई कसरी ढाल्छन् ? त्यसलाई पनि ध्यान दिनुपर्छ । खेलाडीले जति सक्दो चाँडो आफूलाई ढाल्छ, त्यति नै मुख्य खेलमा फाइदा पुग्नेछ । जुन टोलीले त्यो परिस्थिति छिटो अपनायो, उसले राम्रो नतिजा निकाल्नेछ ।

आगामी विश्वकपले नेपाली क्रिकेटलाई कस्तो फाइदा पुर्‍याउँछ ?

नेपाल तथा नेपाली क्रिकेटको लागि विश्वकप निकै ठूलो प्लेटफर्म हो । यदि हामीले बलियो टोलीलाई हराउन सक्यौँ भने आईसीसीलाई एउटा सन्देश जानेछ कि— नेपाल एउटा उदियमान टोली हो, यसले अवसर पाए राम्रो गर्न सक्छ ।

टोली त भइहाल्यो तर व्यक्तिगतरूपमा हरेक खेलाडीलाई विश्वसामु आफ्नो क्षमता देखाउने सुनौलो अवसर पनि हो। नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, र बङ्गलादेशविरुद्ध अर्धशतक प्रहार गर्न सके पनि विश्वको फ्रेन्चाइज लिगमा ढोका खुल्न सक्छ । चाहे ब्याटर होस् वा बलर, विश्व क्रिकेटमा छाप छोड्ने गरी यो अवसरको सदुपयोग गर्न म आग्रह गर्न चाहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved