भ्युजटक

एमाले सरकार ढाल्न चाहँदैन : उपाध्यक्ष पाण्डे (भिडिओवार्ता)

'सरकारको एक वर्ष खेर गयो'

“सरकारमा ५/६ वटा दलहरू छन् आ-आफ्नै दिशातिर फर्किएका छन् । अब एमालेले सरकार अर्को गठन गर्नुपर्‍यो भन्दैमा हुँदैन । यो भनेकोचाहिँ प्राप्त हुने कुरा हो, मागेर पाइने होइन ।”

काठमाडौं । एक वर्षअगाडि वर्तमान सरकार गठन हुँदा नेकपा (एमाले) सत्ताधारीकै हैसियतमा थियो । आफ्नै प्रमुख सत्ता साझेदारीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको एमाले अहिले प्रमुख प्रतिपक्षको बेञ्चमा आइपुगेको छ ।

दुई महिना पनि राम्रो नपुग्दै सत्ताबाट बाहिरिएको एमालेले पछिल्लो समय सरकारले गर्नुपर्ने काम केही नगरेको भन्दै आलोचना र विरोध गर्दै आएको छ । वर्तमान सत्तासमीकरण चाँडै नभत्किने र आफूहरूको नेतृत्वमा सरकार बन्ने सम्भावना कम देखेका एमाले नेताहरूले ‘मिसन-८४’ को नारालाई प्राथमिकतामा राखेका छन् ।

खासगरी मिसन-८४ लाई नै केन्द्रमा राख्दै २० दिने झुलाघाट-चिवाभञ्ज्याङ ‘सङ्कल्प यात्रा’ गरेको एमाले भर्खरै मात्रै सङ्घीय राजधानी काठमाडौं फर्किएको छ । काठमाडौं फर्किएर यात्राबारे प्रारम्भिक समीक्षासमेत गरिसकेको एमालेले अब राष्ट्रिय राजनीतिमा पनि सार्थक हस्तक्षेप बढाउने बताएको छ ।

अब यस सन्दर्भमा क्रमश: पार्टी कमिटीहरूको बैठक राख्ने र सशक्तरूपमा अघि बढ्ने नेताहरूले बताएका छन् । यही मेसोमा यी यावत् प्रश्नहरूको जवाफ हामीले पूर्वमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेबाट खोजेका छौँ । त्यसका आधारमा सम्पादित यो सामग्री—

‘सङ्कल्प यात्रा सफल भयो’

उपाध्यक्ष पाण्डे झुलाघाट-चिवाभञ्ज्याङ ‘सङ्कल्प यात्रा’ उत्साहजनकरूपमा सफल भएको बताउँछन् । यात्राका क्रममा आफूहरूले ३० जिल्लाका नागरिकसँग अन्तरक्रिया गरेको उल्लेख गर्दै उनले भने— हामीले प्रारम्भिक समीक्षा गरिसकेका छौँ, जहाँ हाम्रो यात्रा सफल भयो भनेर निष्कर्ष निकालेका छौँ ।

सङ्कल्प यात्रा एमालेको मात्रै एजेन्डा नभएको जिकिर उपाध्यक्ष पाण्डेको छ । “हामीलाई झन्डै एक बोरा लिखित सुझाव प्राप्त भएका छन् । त्यहाँ जनताको स्तरबाट विभिन्नखाले आशा, गुनासा र सुझावहरू प्राप्त भएका छन् । जसलाई समेटेर हामीले एउटा प्रतिवेदन बनाउने छौँ र त्यहीअनुसार पार्टी निर्णयहरू गर्दै अगाडि बढ्नेछौँ,” उनले भने, “त्यसकारण यो एजेन्डा सिर्फ एमालेको मात्रै होइन । त्यहाँ जनताको अपार साथ छ । यो जनताको एजेन्डा हो ।”

ती सुझाव आत्मसाथ गर्दै एमालेले अबका निर्णय गर्ने उनको भनाइ छ । “यात्राका क्रममा पार्टीप्रति, पार्टीका नेतृत्वप्रति जनताको बेग्लैखाले आकर्षण देख्यौँ । उहाँहरूले हाम्रो पार्टीप्रति देखाउनुभएको श्रद्धा पनि देख्यौँ । अब यसलाई समेटेर लानेछौँ । त्यसको प्रभाव कहीँ न कहीँ हाम्रो पार्टीले गर्ने निर्णयहरूमा झल्किनेछन्,” उनले भने ।

‘एमाले चाहेर सरकार ढल्दैन, मध्यावधि हुँदैन’

उपाध्यक्ष पाण्डे आफूहरूले चाहेर सरकार ढल्ने वा मध्यावधि नहुने प्रष्ट्याउँछन् । “अहिलेको कम्पोजिसनमा नै भर पर्ने हो । हामीले चाहेर वा चाहियो भन्दैमा सरकार ढलिहाल्ने अथवा मध्यावधि हुने हुँदैन,” उनले भने ।

स्वयम् गठबन्धनभित्रै समस्या आएको खण्डमा चाहिँ अर्को सरकार बन्नसक्ने उनी बताउँछन् । “सरकारमा ५/६ वटा दलहरू छन् आ-आफ्नै दिशातिर फर्किएका छन् । अब एमालेले सरकार अर्को गठन गर्नुपर्‍यो भन्दैमा हुँदैन । यो भनेकोचाहिँ प्राप्त हुने कुरा हो, मागेर पाइने होइन,” उनले भने, “मध्यावधि पनि एमालेको माग होइन, चाहना होइन । गठबन्धनमा आन्तरिकरूपमा किचलो आयो भने त्यसबेला हुनसक्छ । त्यो छुट्टै कुरा हो । अहिले हामी यी सबै कुराबाट टाढै छौँ ।”

तर, वर्तमान सरकार अझै धेरै रह्यो भने अझ धेरै समस्याहरू खडा हुने बताउँछन् उनी । “अहिलेचाहिँ सरकार छ, परिणाम छैन भन्नेजस्तो भएको छ । यो सरकार जनपक्षीय धारमा उभिएको छैन । सरकार छ भन्नुमात्रै जस्तो भएको छ,” उनले भने, “यो सरकार अझै रह्यो भने मुलुकले अझ धेरै क्षति बेहोर्नुपर्छ ।”

‘सरकारले एक वर्षमा केही गरेन’

उपाध्यक्ष पाण्डे सरकारले एक वर्षको समय खेर मात्रै फालेको टिप्पणी गर्छन् । सरकारको एक वर्ष १० गते पुग्दैछ, तपाईंको समीक्षा के छ ? भन्ने प्रश्नमा उनी भन्छन्— अरु धेरै हेर्नै पर्दैन, अर्थतन्त्रको अवस्था हेरे पुगिहाल्यो । सरकारले गर्नुपर्ने केही काम गरेको छैन ।

उनी थप्छन्— यो एक वर्षमा नेपालको अर्थतन्त्र ज्यादै गम्भीर अवस्थामा पुगेको छ । ५५/५६ वर्षपछि अर्थतन्त्र यस्तो अवस्थामा पुगेको छ । खर्च भएको छ, खर्चलाई राजस्वले धानेको छैन । सरकार १ खर्ब ३१ अर्ब ऋण लिएको छ भन्छ । त्यो पनि ७ प्रतिशतमा ब्याजमा । सरकार ऋण लिएर तलब खुवाइरहेको छ । राजस्वले पुगेन त्यसपछि ऋणबाट तलब खुवाउनुपर्‍यो । पुँजीगत खर्च छैन, ठेक्कापट्टाहरू लाग्दैनन् । अनि के गर्‍यो त यो सरकारले ? तपाईं आफैँ पनि हेर्न सक्नुहुन्छ ।

उपाध्यक्ष पाण्डे अहिले देशमा सैनिक हिसाबको आदेश चाहिएको बताउँछन् । तर, प्रधानमन्त्री निरीह भएको भनाइ उनको छ । “धेरै दलहरू छन् सरकारमा, साना-साना दलहरू छन् । एउटा मात्रै फुत्क्यो भने समस्या हुने अवस्था छ । त्यो भएर प्रचण्डजी जे पनि मान्न मजबुर हुनुहुन्छ । अब यस्तो सरकारले के गर्छ र ?,” उनले भने ।

‘पहिचानमा अल्झिने समय होइन यो’

उपाध्यक्ष पाण्डे पूर्वमा जारी पहिचानवादी आन्दोलनप्रति त्यत्ति सकरात्मक छैनन् । उनी यो आन्दोलनलाई ‘भ्रम’को संज्ञा दिन्छन् । पहिचानवादी आन्दोलनका अगुवा नेताहरूलाई उनको सुझाव छ— भ्रममा नहिँड्नुस्, सत्यतामा आउनुस्, यथार्थतामा आउनुस् । सत्यता, यथार्थतामा आएपछि भ्रमहरू, अन्योलहरू आफैँ मेटिन्छन् ।

उनी आजको विश्व-परिवेश पहिचानभन्दा धेरै अघि बढिसकेको सुनाउँछन् । “जातीय कुरा वा पहिचानको कुरा भनेको अब निकै सानो कुरा हो । विश्व-परिवेश हिजोजस्तो छैन, नेपाली परिवेश हिजोजस्तो छैन । जमाना, परिवेश र समयानुसार चल्नुपर्छ,” उनले भने ।

उनी थप्छन्— पहिचानको आफ्नो व्याख्या छ । अहिले २ सय वर्ष अगाडिको युरोपमा जस्तो राष्ट्रिय राज्यको परिकल्पनाभन्दा विश्व धेरै माथि पुगिसक्यौँ । अहिले राज्यभन्दा कर्पोरेसनहरू बलिया देखिन्छन् । जस्तो अमेरिकामा सरकारभन्दा त्यहाँका कर्पोरेसनहरू बलिया देखिन्छन् । त्यहाँ गूगलहरूले राज्य चलाइदिन्छन् । अस्ति यूक्रेनमा रसियाले इन्टेरनेट इन्टरेसेप्ट गर्‍यो, त्यहाँ एलन मक्सले म दिन्छु भनिदियो । अब कर्पोरेसनहरूबाट रुल हुने यो जमानामा पहिचान भनेर, भाषिक कुरा गरेर, जातीय कुरा गरेर कहाँ हन्छ र ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved