भोटको भीख माग्दै घर-घर डुलिरहेका रामायणका ‘राम’ !

तिनै ‘राम’ उर्फ अरुण गोविल मतदाताको घर-घर पुगे, चर्को गर्मीमा गम्छाले पसिना पुछ्दै। भगवान् राम घरमा भोट माग्न आएको दृश्य धेरैलाई अनौठो लागिरहेको छ । कुनै बेला दर्शक रामको एक झल्को दर्शनका लागि तड्पिन्थे, आज राम आफैँ घर-घर आएका छन् ।

नेपालभ्युज

भोटको भीख माग्दै घर-घर डुलिरहेका रामायणका ‘राम’ !

काठमाडौं । सन् १९८७ मा रामानन्द सागरले धार्मिक महाकाव्य रामायणमा आधारित टिभी शृङ्खला बनाउन सुरु गरे । भारतीय सरकारी टेलिभिजन दूरदर्शनले प्रसारण गर्‍यो । समग्र भारत मात्र हैन, सिङ्गो दक्षिण एशिया र विश्वभर पनि यसको ठूलो प्रभाव पर्‍यो ।

यसबारे एक रोचक किंवदन्ती छ— रामायण टिभी शृङ्खला निर्माणको योजना र गृहकार्य निर्देशक सागरले करिब एक दशक अघिबाट सुरुवात गरेका थिए ।

रामानन्द सागरले यो परियोजना प्रारम्भ गर्दा भारतीय राष्ट्रिय कांग्रेस सत्तामा थियो र प्रधानमन्त्री थिइन्, इन्दिरा गान्धी । भारतीय जनता पार्टी (भाजपा) प्रमुख विपक्षी दलका रूपमा विकसित हुँदै थियो । भाजपाको पार्टी अभिवादन नै थियो— जय श्रीराम ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले टिभी शृङ्खला नबनाउन रामानन्द सागरलाई ‘कन्भिन्स’ गर्न गान्धीलाई सुझाव दिएका थिए । उस्तै परे प्रतिबन्ध लगाउनसमेत भनेका थिए । तिनले भनेका थिए— सबै भारतीयले किताबको रामायण पढेका हुँदैनन् । सुनेका कुराको प्रभाव थोरै हुन्छ । जब टिभी शृङ्खला बन्नेछ, रामभक्ति र जय श्रीरामको अभिवादन घर-घर पुग्नेछ । कांग्रेसलाई धेरै ठूलो राजनीतिक नोक्सानी हुनेछ । टिभी शृङ्खलाको प्रसारणपछि भाजपा ह्वात्तै बढ्नेछ ।

सल्लाहकारको यस्तो सुझाव सुनेर प्रधानमन्त्री गान्धी रिसाइन् । उनले भनिन्— रामायण भारतमा नबने कहाँ बन्छ ? कहाँ चल्छ ? पाकिस्तानमा ? बरु कांग्रेस सकिए सकियोस्, म यस्तो पाप गर्न सक्दिनँ ।

गान्धीले भाजापा बलियो भएको हेर्न परेन । सन् १९८४ मा अक्टोबर ३१ मा प्रधानमन्त्री पदमा बहाल छँदै आफ्नै असन्तुष्ट शिख अङ्गरक्षकले हानेको गोलीबाट उनको निधन भयो । तर, उनका सल्लाहकारको अनुमान भने त्यसपछिका दिनमा पुष्टि भयो । रामानन्द सागरको रामायण यतिधेरै लोकप्रिय भयो कि त्यसको कुनै सीमा रहेन । दूरदर्शनका अतिरिक्त विश्वका १७ देशका २० भन्दा बढी टिभी च्यानलले रामायण देखाए ।

नभन्दै त्यसपछिका दिनमा भाजपा ह्वात्तै विस्तार भयो । रामायण टिभी शृङ्खलाको प्रसारणअघि सन् १९८४ को लोकसभा चुनावमा भाजपाले २ सिट मात्र जितेको थियो । सन् १९८९ मा ८५ र सन् १९९१ मा १२० सिट जित्यो । त्यसपछि भाजपा निरन्तर बढिरहेको छ ।

टिभी शृङ्खलामा ‘राम’ को भूमिका गरेका थिए कलाकार अरुण गोविल । सीता बनेकी थिइन् दीपिका चिखालिया । लक्ष्मण बनेका थिए सुनिल लहरी र हनुमान बनेका थिए दारा सिंह ।

त्यो एक दशक यस्तो समय थियो कि भगवान् रामको नाम लिँदा मान्छेको आँखामा अरुण गोविलको अनुहार आउँथ्यो । सक्कली राम कसैले देखेन । रामायणमा रामको शब्दचित्र मात्र थियो, त्यसले अनुहारको आकृति प्रष्ट हुन्थेन । तसर्थ, दर्शकले अरुण गोविलको अनुहारलाई नै भगवान रामको अनुहार ठान्नु कुनै अनौठो कुरा थिएन ।

तिनै ‘राम’ उर्फ अरुण गोविल अहिले मेरठ निर्वाचन क्षेत्रमा भाजपाको तर्फबाट लोकसभा सदस्यको उम्मेदवार छन् । उम्मेदवार भएपछि उनी रोड शो गर्दै मतदाताको घर-घर पुगे, चर्को गर्मीमा गम्छाले पसिना पुछ्दै। भगवान् राम गम्छाले पसिना पुछ्दै आफ्नो घरमा भोट माग्न आएको दृश्य धेरैलाई अनौठो लाग्यो । कुनै बेला दर्शक रामको एक झल्को दर्शनका लागि तड्पिन्थे, आज राम आफैँ घर-घर आएका छन् ।

आदर्श पात्रको मानकबाट समाजमा स्थापित हुनुका आफ्नै पीडा हुन्छन् । सीता बनेकी दीपिकाले यो पीडा एक अन्तर्वार्तामा यसरी पोखेकी थिइन्— दर्शक मलाई साँच्चैकी सीता ठान्दछन् । अरु प्रकारका सिनेमा र भूमिका नगरोस्, सीताकै मर्यादामा बसोस् भन्ने ठान्दछन् । त्यसरी त मेरो जीवन चल्दैन । यो मेरा लागि निक्कै ठूलो असजिलो हो ।

दीपिकालाई सीताजस्तै अरुण गोविललाई साँच्चैको राम ठान्ने धेरै थिए । सार्वजनिक स्थलमै उनको खुट्टा छोएर ढोग्ने दर्शक थुप्रै हुन्थे ।

सन् १९५२ मा जन्मिएका गोविल त्यो बेला ३५ वर्षका थिए । अहिले ७२ वर्षको उमेरमा भोट माग्दै घर-घर हिँडिरहेका छन् । सन् १९७७ मा उनले पहेलीबाट अभिनय सुरु गरेका थिए । त्यसपछि रामानन्द सागरकै विक्रम और बेताल शृङ्खलामा काम गर्ने अवसर पाए । यही अवसरले उनलाई रामायणसम्म पुर्‍यायो । रामानन्द सागरले जब रामायण बनाउने निर्णय गरे, गोविललाई रामको भूमिकामा अनुबन्धित गरे ।

जारी लोकसभा निर्वाचनमा भाजापाले उत्तर प्रदेशको मेरठ निर्वाचन क्षेत्रबाट उनलाई उठाएको छ । मेरठ गोविलको गृहनगर पनि हो । प्रदेश राजनीतिमा निकै महत्त्वपूर्ण अर्थ राख्ने मेरठ निर्वाचन क्षेत्रमा टिकटका दाबेदार थुप्रै थिए । दशकौं सक्रिय राजनीति गरेका नेता कार्यकर्ता थुप्रै थिए । तर, मोदी-शाह-नड्डाको छनोटमा परे— रामायणका राम ।

भाजपा नेताको अपेक्षा थियो— भगवान् रामलाई नै टिकट दिएपछि आफ्ना नेता कार्यकर्ता खुसी होलान् । तर, उल्टो भयो । राजनीतिमा कुनै भूमिका र योगदान नभएका गोविल टिकट लिएर गएपछि मेरठको भाजपा पङ्क्ति पार्टी नेतृत्वसँग असन्तुष्ट भयो ।

अहिले भगवान् ‘राम’ ले आफ्नै भक्तहरूलाई बारम्बार स्पष्टीकरण दिनुपरेको छ— मैले टिकट मागेको होइन, मैले कसैको भाग खोसेको हैन । नेताहरूको निर्णय स्वीकार गरेको मात्र हुँ ।

मेरठ निर्वाचन क्षेत्रको मतदान दोस्रो चरणमा शुक्रबार भएको छ । मेरठ निर्वाचन क्षेत्रमा पछिल्ला तीन चुनाव लगातार भाजपाले जितेको थियो । धेरैको अपेक्षा छ कि गोविलले पनि जित्ने छन् । तर, स्थानीय भाजपा कार्यकर्तामा जुन असन्तुष्टिको लहर देखिएको छ, गोविल हारे भने कुनै आश्चर्य हुने छैन ।

‘भगवान्’ रामको भाग्य अब जनताको हातमा पुगेको छ । जुन ४ तारिखमा भारतका सबै निर्वाचन क्षेत्रको परिणाम घोषणा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved