नबिलको पीएसएले बल्झाएको उनको याद- हरेक आमालाई पहिचान बनाउने अधिकार छ !

नबिलको पीएसएले बल्झाएको उनको याद- हरेक आमालाई पहिचान बनाउने अधिकार छ !

काठमाडौं । ‘आमा’ शब्द नै काफी छ । यो शब्दको परिभाषा दिन कोही विज्ञको आवश्यकता पर्दैन । आज विशेषत् मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ।

बिहानैबाट सामाजिक सञ्जालका भित्तामा आमाहरूका तस्बिर टाँगिने क्रम जारी छ । आमाका लागि शब्दहरूको माला बुन्नेको ताँती छ । अझ अर्को वाक्यमा पनि भनौँ, सामाजिक सञ्जाल आमामय भएको छ ।

उनको त्याग

खोटाङको एक ग्रामीण भेगमा जन्मिएकी उनी समाजको रीतिले जीवन बुझ्न नपाउँदै वैवाहिक बन्धनमा कसिइन् । स–सानो कलिलो उमेरमा अरूको घरमा गई रुझ्नु उनको बसको कुरा थिएन । बुहारीको कर्तव्य र जिम्मेवारी पूरा गर्दा गर्दै उनी ११ वर्षको कलिलो उमेरमै आमा बनिन् । यो स्टोरीमा तपाईंले उनको नाम पाउनुहुन्न । किनकि, उनी आफ्नो नामभन्दा बढी अरु नै सम्बोधनले बोलाइन्छिन् ।

बाल्यकालकै उमेरमा बच्चा जन्माउनु उनको लागि सहज पक्कै थिएन । तर समाजको संस्कार र मान्यताले भने उनी आमा बन्न परिपक्व थिइन् । उनमा अझ जिम्मेवारी र दायित्व थपियो । उनी बुहारी मात्र रहिनन्, अब उनी आमा बनिन् । समयले उचाल्दै पछार्दै ठोक्काउँदै उनलाई धरान झार्‍यो ।

समय बितेसँगै उनको आफ्नै परिवार बन्दै गयो । उनले एकपछि अर्को सन्तान जन्माउँदै गइन् । ऊ बेला धेरै सन्तान जन्माउन पर्छ भन्ने मान्यता थियो रे ! सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने आशिष् दिइन्थ्यो रे ! बित्दै गएको समयसँगै उनले विगत बिर्सिइन् या बिर्साइयो ।

उनले आफ्नो कोखबाट ६ सन्तानलाई जन्म दिइन । अहिले उनी निकै वृद्ध भइसकेकी छिन् । उनलाई आफ्नो नाम बाहेक परिवारको बारेमा केही थाहा छैन ।

‘तपाईंलाई आफ्नो घर जान मन लाग्दैन ममी ?’ भन्ने हाम्रो प्रश्नमा चाउरिएका छालामा भासिएको आँखा यसो तन्काउँदै उनी भन्छिन्, ‘आ! मन लाग्दैन नानी, अब त कोही पनि छैनन् होला, आमाबाबा पनि बितेर गइसके होलान् । दाइ भाइहरू सबै बितिसके होला । उनीहरूको छोराछोरीहरू कस्ता भए होलान्, मलाई चिन्दैनन् अब त ।’

वास्तवमा उनी कति वर्ष भइन्, त्यो उनी स्वयंलाई पनि थाहा छैन । नेपालकी नागरिक हुन् उनी, तर उनको नागरिकता छैन । नागरिकताको विषयमा उनी भन्छिन्, ‘अहिलेको जस्तो जमाना थिएन । पढेलेखेका कोही हुँदैन थिए । छोरीलाई पढायो भने बोक्सी मन्त्र सिक्छन् भन्थे । त्यसैले बाउआमाले स्कुल पठाएनन् ।’

विद्यालयमा पाइला नराखेकी उनी हामीलाई भने सधैँ पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने गर्थिन् । तर उनको हिसाबमा ठूला मान्छे कस्तालाई भन्छन्, त्यो भने उनैलाई पनि थाहा छैन । परिवारका लागि आफ्नो सपना, इच्छा, आकांक्षा र रहरको त्याग गरेकी उनी सन्तानको खुसीमै आफू समाहित हुन्छिन् ।

छोराछोरीको सफलताले उनमा नौलो चमक ल्याउँछ । सन्तानको विजयीमा उनी जसम मनाउँछिन् । विवाहपछि नपुकारिएको उनको नाम अहिले छोराछोरीको कागजपत्रमा मात्र उल्लेख छ । जीवनको कलिलो उमेरदेखि परिवारको निम्ति लागि परेकी उनको यात्रा अहिले पनि जारी छ ।

उनले आफ्नो पहिचान आफै कहिल्यै बनाइनन् । या भनौँ, बनाउन चाहिनन् । उनले उनको पहिचान मात्र अरूबाट पाएकी छिन् । उनको वास्तविक नाम लोप भइसकेको छ । कसैकी छोरी, बुहारी, श्रीमती, आमा त्यसपछि हजुरआमा यति नै हो उनको परिचय र पहिचान ।

नबिलको पीएसए

मातातिर्थ औंशीको अवसर पारेर नबिल बैंकले तयार पारेको पीएसए भिडियोले उनको सम्झना थप बल्झियो । उनको त्याग र परिश्रमप्रति उच्च सम्मान जागृत भयो ।

एउटी आमाले विवाहपश्चात् परिवारको लागि त्यागेको आफ्नो सपना, रहर र पहिचानलाई देखाइएको उक्त भिडियोले धेरैको मन छोएको छ । भिडियोमा भएको स्टङ्हुकले धेरैलाई तानेको छ ।

भिडिओ रिभ्यु ‘म्यामदेखि मामुसम्मको यात्रा’

हतार हतार अफिस जाने श्रीमान् र स्कुल जाने छोरीको लागि ब्रेकफास्ट तयार पारिरहेकी सुधाबाट भिडिओ सुरु भएको छ । यत्तिकैमा उनको ढोकाको बेल बज्छ । उनलाई हेर्दा लाग्छ उनी निकै असल र राम्री हाउस वाइफ हुन । परिवार सम्हाल्न उनी खप्पिस छिन् ।

तर, बाहिर उनको लागि आएको पार्सलले उनी भावुक हुन्छिन् । उनलाई छोरी र श्रीमानले योजनाबद्धरुपमा उनलाई सरप्राइज दिएका हुन्छन् । जसबाट हामीलाई थाहा हुन्छ, उनी एक असल हाइसवाइफ मात्र नभएर शिक्षिका पनि हुन् ।

विवाहपश्चात् आफ्नो शिक्षिका पेसा छाडेपछि उनी म्यामबाट मामु बनेकी हुन्छिन् । ‘मलाई कसैले मेरै नामबाट नबोलाएको पनि धेरै भएछ, झन् मेरो नामको पछाडि म्याम नजोडिएको त कति भयो’, उनी भन्छिन् , ‘म्यामदेखि मामुसम्मको यो यात्रामा मैले मलाई चाहिँ बिर्सिएकी जस्तो पनि लाग्छ ।’

भिडिओमा प्रयोग गरिएका यी शब्दले हरेकलाई छुन्छ । तर पनि उनी खुसी छिन् । जसरी एक आमा आफ्नो सन्तानको लागि जति दुख गरे पनि थाक्दिनन्, गल्दिनन् र हार्दिनन् ।

भिडिओमा भनिएको छ, ‘हरेक आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्ने पुरा अधिकार छ, र अघि बढ्ने सोच राख्ने हरेक आमालाई हामी नमन गर्छौ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved