विदेश जान पाएनन् अनि मौरीमा देखे सम्भावना

विदेश जान पाएनन् अनि मौरीमा देखे सम्भावना

काठमाडौं । दैनिक सयौंको संख्यामा युवाहरूले देश छाडिरहेका हुन्छन् । त्रिभुवन विमानस्थलमा देखिने भीडले युवाहरूको विदेश मोह/बाध्यता बुझिन्छ ।

उच्च शिक्षा, रोजगारी र राम्रो भविष्यको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँको संख्यामा नेपाली युवाले देश छाड्ने गरेको तथ्यांकले देखाउँछ ।

उनीहरूमध्ये कैयौंको गुनासो हुन्छ, ‘नेपालमा रोजगारीको अवसर नै छैन ।’

सरोकारवालाहरूले युवाहरूको विदेश पलायनलाई चिन्ताको रुपमा प्रस्तुत गरिरहेका हुन्छन् । युवाहरूलाई स्वदेशमै रोक्नु प्रमुख चुनौतीको रुपमा देखाइरहेका हुन्छन् । तर देश छाड्नेहरूको लर्को घटेको कुनै तथ्यांक आएको छैन ।

राजनीतिक नेतृत्वले शिक्षालाई रोजगारीमा जोड्ने भनेर भाषणहरू गरिरहेका हुन्छन् । तर, त्यसले पनि युवाहरूमा आशा बढाएको देखिँदैन । त्यसो त त्यस्तो भाषणहरू भाषणकै लागि मात्र हुने तीतो यथार्थ पनि छँदै छ ।

यद्यपि, विदेश जान रहर नगर्ने वा रहर गरेर पनि पछि हटेका कैयौं पात्रहरू समाजमा भेटिन्छन् । नेपालमै आफ्ना लागि रोजगारी सिर्जना गर्दै अरुका निम्ति पनि रोजगारी दिलाउनेहरू पनि भेटिन्छन् । तिनैमध्येका एक हुन्, कैलालीका मोहनराज खनाल ।

विदेश जाने सपना
कैलालीको विकट ठाउँमा जन्मिएका खनालले त्यतै एसएलसीसम्म पढेका थिए । त्यसपछि के गर्ने, कसो गर्ने र कता पढ्ने भइरहेको थियो । आफ्ना दौँतरीहरू प्राय सबैले गाउँ छोडेसँगै उनको चञ्चले मन पनि गाउँमा अडिएन ।

उनी उच्च शिक्षाका लागि काठमाडौं आए । र आरआर कलेजमा भर्ना भए । भविष्य खोज्दै सहर पसेका मोहनले विद्यार्थी जीवनमा धेरै आर्थिक संकट झेल्नुपर्‍यो । उनले त्यही दौरानमा पैसाको महत्त्व बुझे र विदेश जाने सपना देखे । ‘त्यति बेला नेपालमा केही गर्न नसकिने रहेछ भन्ने लाग्यो’, उनले भने, ‘सबैतिरको ढोका बन्द भएजस्तै लाग्यो ।’

विदेश जाने निर्णयमा पुगेपछि उनले पासपोर्ट बनाउने लगायतका आवश्यक प्रक्रियाहरू सुरु गरे । खाडीको कुनै देश जाने उनको तयारी थियो । ‘त्यही समयमा संकटकाल लाग्यो’, दुई दशकभन्दा अघिको समयमा फर्किँदै उनले भने, ‘भिसा पनि लागेन ।’

तत्कालीन नेकपा माओवादी सिर्जित द्वन्द्व उत्कर्षमा पुगेको बेलामा उनीमाथि काठमाडौंमै गोली प्रहार भयो । जबकि उनी द्वन्द्वसँग सम्बन्धित व्यक्ति थिएनन् । तर समय नै त्यस्तो थियो । कोही सुरक्षित थिएनन् । धन्न ! उनलाई प्रहार गरिएको गोली खुट्टामा थोरै छोएर गयो । उनी बाँचे ।

त्यसपछि विदेश जाने सपनालाई बाटोतिरै सेलाइदिए । लगत्तै, उनी गाउँ फर्किए ।

उनको पढाइ पनि रोकियो । उनी गाउँतिरै बसे । गाउँमै नयाँ सम्भावना खोज्न थाले ।

व्यावसायिक यात्रा
खनाल अहिले उमेरले ४० वर्ष पुगिसकेका छन् । र मह व्यवसायीको रूपमा परिचित छन् । मेहनती स्वभावको खनालले मह खेती गर्न थालेको १५ वर्ष भयो ।

उनले आफ्ना बुवाले अँगालेको पेशालाई आफ्नो पनि पेशा बनाएका हुन् । उनका बुवा यो पेशामा २५ वर्षदेखि जोडिएका छन् ।

‘सुरुमा आफ्नो घरमा खानको लागि मात्रै बुवाले मौरी पाल्ने गर्नुहुन्थ्यो’, केही दिनअघि एउटा मेलामा सहभागी हुन काठमाडौं आएका उनले सुनाए, ‘पछि मौरी थपेर त्यसैलाई व्यावसायिक ढाँचा दिने सोच आयो ।’

सुरुसुरुमा मौरी पालनका लागि लगानी थिएन । एउटा दुइटा वटा मात्रै घार हुन्थ्यो । त्यतिबेला १५/२० किलो मह बेच्न पनि गाह्रो हुन्थ्यो । ‘बिस्तारै स्थानीय सहकारीबाट ऋण लिए र व्यवसायलाई थप बिस्तार गरेँ’, आफ्नो व्यावसायिक यात्राका प्रारम्भिक दिनलाई उनी सम्झिन्छन् ।

तर सुरुवातमा उनको महले अपेक्षित बजार पाउन सकेन । तर, उनी आत्तिएनन् । बरु स्थानीय विशेषता बुझेका गाउँका ठूलाबडा र बुद्धिजीवीसँग सुझाव लिए । व्यवसायीहरूसँगको चिनजान बढाउन थाले ।

विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै अघि बढे । सोही क्रममा उनले नेपाल मौरी पालक संघसँग सम्बन्ध बढाए । त्यसपछि उनलाई बजारीकरणमा खासै समस्या आउन छाड्यो । लगत्तै उनका महको माग पनि बढ्न थाल्यो ।

सफलता पाउँदा
‘विद्यार्थी जीवनमा झेलेको ती घटनाहरूले म निकै रन्थनिएको थिएँ । सपना त धेरै देखियो । के-के नै गरौँला जस्तो लाग्थ्यो तर समयले मलाई बुबाकै पेशा अँगाल्न लगायो’, मोहन भन्छन् ।

मह व्यवसाय सुरु गर्दा पाएको ठक्कर र चुनौतीहरूले आफूलाई थप बलियो बनाएको उनको अनुभव छ । अहिले उनले महको साथै घार पनि उत्पादन गर्छन् ।

उनी भन्छन्, ‘मह व्यवसायमा म आफैं काम गर्छु । घर परिवारहरूले सघाउनुहुन्छ । अनि घार बनाउनमा चाहिँ गाउँकै तीन जनालाई रोजगारी दिएको छु ।’

बुबाको व्यवसाय सम्हाल्न थालेका मोहनले अहिले आफू सन्तुष्ट हुने कमाइ गर्न सकेका छन् । अरुलाई रोजगारी दिन सकेका छन् ।

उनको काम देखेर परिवार मात्र नभएर गाउँले नै खुसी छन् । युवा अवस्थादेखि नै मह व्यवसायमा लागेका उनले यही व्यवसायमा डेढ दशक बिताइसके । उनी अहिले गाउँकै एक उदाहरणीय युवा व्यवसायीसमेत बनेका छन् ।

बुढेसकाल लागेका बुवाआमाको साथमा बसेर यतिको आम्दानी गर्न पाउँदा स्वयं पनि खुसी छन् । उनी भन्छन्, ‘पैसा थोरै भए पनि आमाबुबासँग बस्न पाएको छु । पैसा नै ठूलो कुरा हैन ।’

तर नेपाली उत्पादनलाई आयातित वस्तुहरूले विस्थापित गर्न लागेकोप्रति उनी चिन्ता व्यक्त गर्छन् । ‘नेपाली बजारमा स्वदेशी महभन्दा बढी आयातित महले ठाउँ ओगटेको छ । त्यसले पनि हामी व्यवसायीलाई कता कता निरुत्साहित बनाइरहेको छ ।’
नेपाली उत्पादनको तथ्य निकालेर मात्र विदेशी सामानलाई स्थान दिनुपर्ने उनको माग छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved