काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै सधैँ डाटा अन गरे पनि ब्यालेन्स नकाटिने योजना सार्वजनिक गरेको छ । ‘सधैँ अन’ नामको यस योजनामा ग्राहकहरूले सधैँ डाटा अन गरे पनि आफ्नो ब्यालेन्स सकिने डर नहुने बताइएको छ ।
“उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै छन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकोले उनीहरूलाई ‘सधैँ अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।
नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ ।
हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरू सेवा प्रदायकका प्लानहरू हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरूको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग बापत ब्यालेन्स कटाइदिई रहेको हुन्छ ।
यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको बताइएको छ । ‘सधैँ अन’मार्फत एनसेल ग्राहकहरूका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकहरूका सुझावहरूलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ ।
‘सधैँ अन’ मा के छ ?
एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समय सीमा हरेको ९८ रुपैयाँबाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् ।
हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैँ अन’सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् ।
आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठुलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ ।
Facebook Comment
Comment