‘गण्डकी प्रकरण’बारे देउवाले भने- गलत भइरहेको छ

नेपालभ्युज

‘गण्डकी प्रकरण’बारे देउवाले भने- गलत भइरहेको छ

काठमाडौं । गण्डकी प्रदेश सभाबाट मुख्यमन्त्री खगराज अधिकारीले पाएको विवादास्पद विश्वासको मतका सन्दर्भलाई लिएर गण्डकीका सांसदहरूले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने लगायतको समूह बुधबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठ पुगेको थियो। भेटमा आफूहरूले मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक रहेको जानकारी गराएको न्यौपानेले नेपालभ्युजलाई बताए।

‘असंवैधानिक तबरबाट जसरी गण्डकी प्रदेश सरकार अगाडि बढिरहेको छ। यस सन्दर्भमा भए गरेका घटनाहरू हामीले सभापतिलाई जानकारी गराएका हौँ’, उनले भने।

जवाफमा देउवाले आफूले पार्टी केन्द्रबाट भूमिका खेल्ने बताएको उनले बताए। ‘उहाँले गण्डकीमा जुन गतिविधि भइरहेको छ, त्यो ठीक भइरहेको छैन। गलत भइरहेको छ। संविधानको उल्लंघन गर्ने काम ठीक भएन भन्नुभयो’, उनले भने।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा उनको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यसलाई बहुमत मानेर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

विश्वासको मत पाएको भनिएको सो प्रक्रियाविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पनि गएको छ। मंगलबार दायर गरिएको रिटमा कांग्रेस संसदीय दलका नेता पाण्डेले संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेशको माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved