प्रधानमन्त्रीसँग ‘बदला’ लिने देउवाको प्रयासमा नेपालको साथ !

देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नाउपाको ३ जोड्दा १३८ सिट कट्छ । जुन, सरकार गठनका लागि पर्याप्त सङ्ख्या हो ।

प्रधानमन्त्रीसँग ‘बदला’ लिने देउवाको प्रयासमा नेपालको साथ !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेका छन् ।

बुधबार साँझ देउवा-नेपालबीच कांग्रेस नेता डा. नारायण खड्काको घरमा भेटवार्ता भएको थियो । त्यसक्रममा वैकल्पिक गठबन्धन बनाएर अघि बढ्ने सहमति नै भएको कांग्रेस नेताहरू बताउँछन् ।

यसको सुरुवात सुदूरपश्चिम प्रदेश सरकार गठनको सन्दर्भबाट गर्ने उनीहरूबीच सहमति भएको कांग्रेसका एक नेता बताउँछन् । त्यसकै लागि सुदूरपश्चिममा कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषणा नै गरिसकेको छ ।

त्यहाँ एमालेले एकीकृत समाजवादीलाई समर्थन गर्न आनाकानी गरिरहेको थियो । तर, बिहीबार भने ऊ तयार भयो । जसका कारण सुदूरपश्चिममा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका छन् ।

तत्काल उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन गरेका छन् । तर, कांग्रेसले पनि विश्वासको मत दिने सम्भावना छ ।

कांग्रेसका ती नेता भन्छन्, “उहाँ (माधवकुमार नेपाल) ले कांग्रेससँग सहकार्य गर्न चाहनुभएको छ । त्यसअनुरूप नै सँगै रहने भन्ने कुरा भएको हो ।”

त्यसो त नेपाल वर्तमान सत्ता गठबन्धनमा खुसी छैनन् । पछिल्लोपटक सुदूरपश्चिम-प्रकरणबाट उनी थप झस्किएका छन् । सुरूमा सत्ता गठबन्धनभित्र सुदूरपश्चिम एकीकृत समाजवादीलाई दिने सहमति थियो । तर, पछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाउपाको नाममा सहमति  जनाए । यसपछि चिढिएका नेपाल कांग्रेससँग वार्तामा बसे ।

उनले खासगरी गठबन्धनका दुई ठूला दलहरू एमाले र माओवादीले आफ्नो पार्टीप्रति हेपाहा प्रवृत्ति देखाउने गरेको आरोप लगाउँदै आएका छन् । कांग्रेस नेपालको सत्ता गठबन्धनप्रतिको आक्रोश र असन्तुष्टिमा खेलेर  फाइदा लिने प्रयासमा देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सत्ता गठबन्धन परिवर्तन गर्दा आफूसँग सल्लाह नगरेको र त्यो पहिलोपटक नभएको गुनासो गर्दै आएका नेपाल निकैपछि मात्रै आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा मिसाउन तयार भएका थिए ।

कांग्रेस त प्रधानमन्त्री प्रचण्डसँग ‘बदला’ नै लिन चाहन्छ । पछिल्लो निर्वाचनपछि २०७९ पुस १० गते सरकार बनेयता नै चिढिएको कांग्रेसको कन्पारो पछिल्लो सत्ता गठबन्धन परिवर्तनसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ ।

यसकारण अहिले देउवा-नेपालको ‘स्वार्थ’ मिल्छ । त्यसो त कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन निकै प्रयास गरिरहेको कतै छिपेको छैन । एकीकृत समाजवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मक्ति पार्टी (नाउपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दललाई वैकल्पिक गठबन्धनका लागि उसले मनाउन खोजिरहेको छ ।

यद्यपि रास्वपा र जसपा वर्तमान सत्ता गठबन्धनमा पनि छन् । कांग्रेसले यसअघि पनि वैकल्पिक गठबन्धन बनाउन प्रयास गरेको थियो तर, सफल भएन । कांग्रेसले रास्वपा सभापति रवि लामिछाने र नेपाललाई त प्रधानमन्त्रीकै ‘अफर’ गरेको समाचार बाहिरिएको थियो ।

एकीकृत समाजवादीका नेताहरु ठूला दलको व्यवहारअनुसार आफ्नो जवाफ हुने बताउँछन् । उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, “उहाँहरूले जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै उत्तर दिनेछौँ । हामीलाई विश्वास गरे त्यहीअनुसार चल्छौँ, कुनामा पार्न खोजे त्यहीअनुसार हाम्रो कदम हुन्छ ।”

यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डसँग ‘बदला’ लिने देउवाको प्रयासमा नेपाल पनि साथ दिन पुग्ने त हैनन् भन्ने आशङ्का उत्पन्न भएको छ ।

देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नाउपाको ३ जोड्दा १३८ सिट कट्छ । जुन, सरकार गठनका लागि पर्याप्त सङ्ख्या हो ।

तर, अहिल्यै सत्ता गठबन्धनमा गडबड हुने सम्भावना भने कम छ । यद्यपि कांग्रेस त्यसकै पर्खाइमा छ । वर्तमान सत्ता गठबन्धन ठीकठाक नै चल्छ भन्ने नभएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका ती नेता भन्छन्, “कतिबेला के हुन्छ थाहा हुँदैन । अहिलेको गठबन्धन पनि कहिलेसम्म हो भन्ने चिन्ता पर्न थालेको छ । त्यसबेला कांग्रेसले पनि विभिन्न तवरले भूमिका खेल्नुपर्ने हुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved