‘नीतिगत विषयमा मेरो सल्लाह नसुनिएपछि राजीनामा दिएँ’

कतिपयले आफ्नो सल्लाहअनुसार प्रधानमन्त्री नचल्दा सल्लाहकार गजुरेलले राजीनामा दिएको ठान्छन् भने कतिपयले गजुरेलले राष्ट्रियसभामा जान चाहेकाले राजीनामा बुझाएको रूपमा बुझ्छन् ।

‘नीतिगत विषयमा मेरो सल्लाह नसुनिएपछि राजीनामा दिएँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिए । यो थाहा भने २४ गते नेपालभ्यूजले समाचार लेखेपछि मात्रै भयो । त्यसपछि विभिन्न कोणबाट उनको राजीनामाबारे चर्चा सुरू भयो, जुन अहिलेसम्म जारी नै छ ।

कतिपयले आफ्नो सल्लाहअनुसार प्रधानमन्त्री नचल्दा सल्लाहकार गजुरेलले राजीनामा दिएको ठान्छन् भने कतिपयले गजुरेलले राष्ट्रियसभामा जान चाहेकाले राजीनामा बुझाएको रूपमा बुझ्छन् । कतिपयले त गजुरेलले सरकारमाथि उठेका प्रश्नहरूको भागीदार बन्न नचाहेकाले उनको राजीनामा आएको रूपमा अर्थ्याउँछन् ।

संसदीय निर्वाचनमा सधैँ जितिरहेको सिन्धुलीबाट टिकट नपाएर पार्टी नेतृत्वसँग खुसी नभएका गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका पाउँदासमेत खासै खुसी भएनन् । सरकार बनेको एक महिनापछि २०७९ माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका गजुरेलले १० महिनापछि हठात् राजीनामा दिनुपर्ने अवस्था कसरी आयो ?

त्यसो त उनले सार्वजनिक सञ्चारमाध्यममा यसबारे बोल्न चाहेका छैनन् । आफूले सबै विषय राजीनामापत्रमा नै उल्लेख गरेको र प्रधानमन्त्रीबाट स्वीकृत भएपछि नै त्यो सार्वजनिक हुने उनी बताउँछन् । यद्यपि पनि नेपालभ्यूजले थप जिज्ञासा राखेको छ । प्रस्तुत छ—

तपाईंले मंसिर २० गते नै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिनुभएछ, किन दिनुभएको ?

मलाई त्यहाँ बसिरहन उचित लागेन, त्यो भएर राजीनामा दिएको हुँ ।

किन उचित लागेन तपाईंलाई ?

विभिन्न कारणहरू छन्, मैले राजीनामापत्रमा उल्लेख गरेको छु । त्यो प्रधानमन्त्रीबाट स्वीकृत भएपछि नै आउँछ, थाहा हुन्छ ।

तपाईंले राजीनामा दिँदा प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो थियो ?

ठीकै छ, तपाईंले जिम्मेवारीबाट हट्छु भन्दा मैले के भन्ने हो र भनेर भन्नुभयो । सहजरूपमै लिनुभयो ।

तर, स्वीकृत भएको छैन नि तपाईंको राजीनामा ?

खै किन हो उहाँले स्वीकृत गर्नुभएको छैन । त्यसपछि मैले उहाँलाई फोनमार्फत पनि भनेको थिएँ । भेटेरै कुराकानी गरौँ र अघि बढौँ भन्नुभएको हो । मैले उहाँलाई राजीनामा दिँदा नै तपाईंको र मेरो पनि हित हुन्छ भनेर भनेँ । उहाँले विचार गरौँला भनेर भन्नुभएको छ । पार्टीको जिम्मेवारीबाट निष्कृय नहुन भन्नुभएको छ । म हुन्न पनि ।

तपाईंको पनि र मेरो पनि हितमा हुन्छ भनेर के भन्न खोज्नुभएको तपाईंले ?

मैले त्यस्तै देखेँ । म त्यहाँ बसिरहँदा प्रधानमन्त्रीलाई, देशलाई, जनतालाई, पार्टीलाई अनि सबैलाई उचित हुने देखेँ । मैले कतिपय नीतिगत कुरामा आफ्नो अडान राखेको थिएँ, सल्लाह राखेको थिएँ । त्यो पालना भएजस्तो लागेन । हुन त प्रधानमन्त्रीको आफ्नै कतिपय कुराहरू होलान्, विषयहरू होलान् । त्यसपछि मैले हट्दै नै ठीक हुन्छ भन्ने बुझेँ । म त्यहाँ बसिरहँदा मलाई र प्रधानमन्त्रीलाई घाटा हुने देखेँ । तर, हट्दा त हाम्रो सम्बन्ध पनि राम्रै भइरहने भयो । त्यसैले म त्यहाँबाट हट्नुपर्छ भन्ने निष्कर्षका साथ हटेको हुँ ।

घाटा भनेकोचाहिँ कस्तो घाटा हो ? प्रष्ट भन्नुस् न ।

होइन, भोलि कतिपय ठाउँमा प्रश्नहरू उठ्छन् सरकारमाथि, पार्टीमाथि नै पनि । त्यसको जिम्मेवारी किन लिने ? नीतिगत कुराहरूमा प्रश्नहरू उठ्छन् । मैले आफ्नो तर्फबाट राम्रोका लागि प्रयत्नहरू गरेकै हुँ । त्यो नभएपछि म त्यहाँ बसिरहन उचित ठानिनँ । मैले सल्लाहकारको रूपमा रहेर राम्रैका लागि प्रयत्न गरेको हुँ । तर, भएन ।

भनेपछि तपाईंको निष्कर्ष प्रधानमन्त्रीले राजनीतिक सल्लाहकारको भन्दा पनि अरुकै सल्लाहमा चलेको भन्ने हो ?

होइन, अरु नै नीतिगत कुराहरू हुन् । अहिलेको सन्दर्भमा त्यस्तो केही होइन ।

भनिदिनुस् न के हो तपाईंको निष्कर्ष ? 

यसबारे अलिक पछि भन्छु, मैले मेरो राजीनामापत्रमा यसबारे विस्तृतरूपमा उल्लेख गरेको छु । तपाईंहरूले पाउनुहुन्छ पछि । प्रधानमन्त्रीले त्यसलाई स्वीकृत गर्दै हुनुहुन्छ ।

अहिलेचाहिँ तपाईंले राष्ट्रियसभामा जान चाहनुहुन्छ, त्यसैले राजीनामा दिनुभएको भनेर अर्थ्याइन्छ, यो साँचो हो ?

विषयहरूलाई जसरी अर्थ्याएपनि हुन्छ । अहिलेको सन्दर्भमा यो पनि होइन । पछि थाहा पाइहाल्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved