प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

नेपालभ्युज

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ माघ ९ गते आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

उनले गत बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । यद्यपी गजुरेलको राजीनामा स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गजुरेलले नेपाल भ्युजसँग कुरा गर्दै आफूले पदबाट राजीनामा दिएको स्वीकार गरे । उनले भने, ‘मैले २० गते नै राजीनामा बुझाइसकेको छु, तर स्वीकृत भएको खबर अझै आएको छैन ।’ उनले राजीनामा दिनुको कारण भने खुलाएनन् ।

‘पहिले राजीनामा स्वीकृत होस अनि त्यसबारे औपचारिक रुपमा भनौंला नि ‘ उनले नेपाल भ्युजसँग भने । प्रमुख राजनीतिक सल्लाहकार भए पनि गजुरेल नेतृत्वसँग सन्तुष्ट थिएनन् ।

गत आम निर्वाचनमा सिन्धुलीमा टिकट नदिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । सिन्धुली २ बाट निरन्तर जित्दै आएका गजुरेललाई गत चुनावमा टिकट नदिएर माओवादी नेतृत्वले तत्कालिन जिल्ला अध्यक्ष राजन दाहाललाई अघि बढाएको थियो ।

प्रमुख राजनीतिक सल्लाहकार बनाएर प्रधानमन्त्री प्रचण्डले उनलाई मनाउन प्रयास गरेका थिए । तर, यो पद पनि उनको रोजाइको थिए । उनले कार्यकारी पद अपेक्षा गरेका थिए ।

स्रोतका अनुसार उनले राजीनामा पत्रमा अहिलेको अवस्थामा यो पदमा बसेर कुनै उल्लेखनीय काम गर्न सम्भव नभएको भन्दै पार्टीको काममा फर्कने उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved