३९ वर्षपछि बन्यो विमानस्थल, उडान भने परीक्षणमा नै सीमित

निर्माणका क्रममा मारिए ३५ मजदुर

३९ वर्षपछि बन्यो विमानस्थल, उडान भने परीक्षणमा नै सीमित

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका १ कोटबाडामा निर्माण कार्य सुरु भएको ३९ वर्षपछि बन्यो— सुनथराली विमानस्थल । विसं २०४२ सालमा निर्माण कार्य थालिएको विमानस्थल ३९ वर्षपछि मात्रै बनिसक्यो तर, उडान भने परीक्षणमा नै सीमित छ । नियमित उडान हुन सकेको छैन ।

दर्जनौं नेताहरू पुगेर त्यहाँ नियमित उडानको भाषण छाँटेका छन् तर, उनीहरूको भाषण भाषणभन्दा माथि कहिल्यै उठेन ।

शेरबहादुर देउवादेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णालीका पूर्वमुख्यमन्त्रीहरू जीवनबहादुर शाही, महेन्द्रबहादुर शाही, राजकुमार शर्मादेखि दर्जनौं मन्त्री/नेताहरूले नियमित उडानको प्रतिबद्धता नै गरेपनि त्यो झुटभन्दा केही सावित भएन ।

उनीहरू सबैले भन्थे— ‘परीक्षण उडान गर्ने, त्यसपछि नियमित उडान गर्ने ।’ पछि दुईवटा परीक्षण उडान त भए तर, नियमित उडान भने हुन सकेन । स्थानीय विमल विष्ट भन्छन्, “ठूला-ठूला नेताहरूले नियमित उडानको व्यवस्था गर्ने बाचा गरेका हुन् तर, त्यो अझै भएको छैन ।”

दुईपटक परीक्षण उडान

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २०७३ माघ २९ गते एउटा परीक्षण उडान भएको थियो । तर, नियमित उडान भने भएन ।

त्यसपश्चात् गत फागुन १४ सोमबार पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटन गर्दै पूर्वउपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताएका थिए । चाँडै नियमित उडानको व्यवस्था मिलाउने भाषण गरेर फर्किएका उनलाई अहिले कुनै मतलब छैन ।

खड्काले मात्रै होइन, त्यहाँ पुगेका सबै मन्त्री/नेताले नियमित उडानका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले नै मिलेर काम गर्ने बताएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिबद्धता जनाएका थिए त्यसबेला । तर, उनीहरूको प्रतिबद्धताअनुसार का हुन सकेन ।

विमानस्थल परीक्षण उडानमा नै सीमित छ । त्यति मात्रै होइन, उनीहरूले कामका क्रममा मारिएका मजदुरहरूको शालिक बनाउने प्रतिबद्धता पनि गरेका थिए । त्यसको प्रक्रियाबारे अहिले कुनै खबर छैन ।

खर्चको छैन लेखाजोखा

विमानस्थल निर्माण कार्य सुरु भएदेखि अहिलेसम्मको खर्चको कुनै लेखाजोखा छैन । कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो भन्नेबारे कुनै लेखाजोखा नरहेको जिल्ला समन्वय समिति, कालिकोटका ईन्जिनियर चक्रबहादुर शाही बताए ।

“कहिले ठेक्कामार्फत त कहिले उपभोक्ता समितिमार्फत काम भयो । अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन,” उनले भने ।

त्यहाँ सुरुमा काम गर्नेहरूले दैनिक ३ रुपैयाँ पाउँथे । पछि काम सम्पन्न हुँदासम्म उनीहरूको ज्याला २५ सय रुपैयाँ पुगेको थियो । कामको गतिको मापन मजदुरहरूको ज्यालाको अनुपातले गर्ने जिल्ला विकास समितिका पूर्वसदस्य कटबहादुर विष्ट बताउँछन् ।

“विसं २०४२ सालमा निर्माण कार्य सुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला तीन सय थियो,” उनले भने, “अहिले यो बढेर १५ सय पुगिसकेको छ । तर, काम अझै सम्पन्न भएको छैन ।”

कसरी मारिए ३५ मजदुर ?

विसं २०५८ साल फाल्गुन ४ गते अछामको सदरमुकाम मङ्गलसेन र साफेबगरमा माओवादीले हमला गरे । त्यसपछि माओवादी जनमुक्ति सेना कालिकोट हुँदै आए । माओवादी कालिकोट पुगेको खबर पाएपछि तत्कालीन शाही नेपाली सेनाका हेलिकप्टर कोटबाडा निमार्णाधीन विमानस्थल फागुन ११ गते बस्न खोजे ।

तर, माओवादीका सेनाले बस्न लागेका हेलिकोप्टरमा गोली प्रहार गरे । माओवादी लडाकु फागुन १२ गते राति भागेपछि फागुन १३ गते तत्कालीन शाही नेपाली सेनाका हेलिकप्टर बसे ।

हेलिकप्टर अवतरण भएपछि त्यहाँ काम गर्ने मजदुरहरू डराएर स्थानीय गङ्गा विष्टको घरमा खाना खाइरहेको बेला सेना उनीहरूलाई गोली हानेर मारेको स्थानीय विमल विष्टले बताए ।

त्यसबेला ३५ मजदुरसँगै ६ स्थानीय मारिएका थिए । मारिने स्थानीयहरूमा नाबालक नवीन विष्टसहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट र गङ्गा विष्ट थिए ।

यस्तै मजदुरहरूमा धादिङ जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टङ्कबहादुर गुरूङ, गोकण गुरूङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामलगायत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved