साझा विषयमा कर्णालीका प्रमुख दल एकै ठाँउमा

नेपालभ्युज

साझा विषयमा कर्णालीका प्रमुख दल एकै ठाँउमा

सुर्खेत । साझा विषयमा कर्णालीका प्रमुख राजनीतिक दलहरु एकै ठाँउमा उभिएका छन । मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार आव्हान गरेको सर्वदलीय बैठकमा सिद्धान्त र विचार जे भएपनि कर्णालीका साझा विषयमा एकै ठाँउमा उभिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिको लागी एक्लै हिडेर कुनै गन्तव्यमा पुग्न सकिदैन भन्ने आफू प्रष्ट रहेको भन्दै आफूले सबैको साथ खोजेको बताए । ‘विचारमा विविधता भएपनि सबै राजनीतिक दलको उदेश्य विकास, सुशासन र समृद्धिमा केन्द्रित भएकोले विकासलाई सबैको साझा बनाएर लैजाने छौं’ उनले भने,‘सबैको एकमतबाट मात्र कर्णालीका साझा मुद्दालाई केन्द्रसम्म लैजान सकिन्छ ।’

सर्वदलीय बैठकले संघीय सरकारसँग सरोकार राख्ने विभिन्न ६ वटा विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । जसमा कर्णाली करिडोर (सुर्खेतदेखि हुम्लासम्म), भेरी करिडोर (सुर्खेतदेखी डोल्पासम्म), कर्णाली राजमार्ग (कालिकोटदेखी मुगु—रारा हुँदै नाञ्चेनाग्लासम्म) आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरि कार्यान्वयन गर्ने निकायको छुट्टै संरचनासहित द्रुत गतिमा सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्ने रहेको छ  ।

यस्तै सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलको विस्तार र थप पूर्वाधारको विकास गर्न तथा सुर्खेतबाट कर्णालीका अन्य जिल्ल्लाहरुमा नियमित रुपमा हवाइ सेवा संचालन गर्न तथा प्रदेश प्रवेशद्धारको रुपमा रहेको कोहलपुर—सुर्खेत सडकलाई चार लेन बनाउने योजना कार्यान्वयन गर्ने रहेका छन ।

भेरी बबई डाइभर्सन आयोजनाको प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएकोले त्यस आयोजनाबाट उत्पादन हुने बिजुलीको रोयल्टी कर्णाली प्रदेशले पाउने कानूनी र नीतिगत व्यवस्था गर्ने रहेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको लागी अस्थायी आवासको लागी छुट्टयाइएको दोश्रो किस्ताको रकम तत्काल वितरण गर्न र पुर्ननिर्माणको काम तत्काल प्रभावकारी रुपमा संचालन गर्ने ।

वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागी भेरी लिफ्टिङ खानेपानी आयोजनालाई द्रुत गतिमा संचालनको कार्यान्वयनको प्रक्रिया आगाडी बढाउन रहेका छन । त्यस्तै, बैठकले प्रदेश सरकारलाई संस्थागत, पारदर्शी, परिणाममुखी हुने गरी योजना छनौट गर्न र कार्यान्वयन पक्ष कमजोर भएकोले बजेटको प्रभावकारी कार्यान्वयनको लागी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण जिसी, एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाह, सचिव धुर्वकुमार शाही, एकिकृत समाजवादीका प्रदेश अध्यक्ष तथा संघीय सांसद अम्मरबहादुर थापा, प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका केन्द्रीय सदस्य मातृका भुसाल, जिल्ला अध्यक्ष कबिराम पुरी लगायतका नेताहरुले कर्णालीको विकास र समृद्धिमा आफूहरुको साथ प्रदेश सरकारलाई रहने भन्दै मुख्यमन्त्री कँडेलले कर्णालीको विषलाई सर्वदलीय बैठकको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved