फेसबूक पोस्टमा दलित समुदायलाई होच्याउँदै अभिनेता जयकिशन, हुनसक्छ ३ वर्षसम्म कैद र डेढ लाखसम्म जरिबाना

पुजार सार्की फिल्म युनिटलाई भने- ‘बालबलात्कारीको ग्याङ’

जयकिशनले फेसबूकमा पोस्ट गरेको आफ्नो अभिव्यक्तिमा विरोध भएपछि हटाएका छन् । तर, माफी भने मागेका छैनन् ।

नेपालभ्युज

फेसबूक पोस्टमा दलित समुदायलाई होच्याउँदै अभिनेता जयकिशन, हुनसक्छ ३ वर्षसम्म कैद र डेढ लाखसम्म जरिबाना

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुन अनेक तिकडम गर्दै आएका र चलचित्र क्षेत्रमा ‘भाइरलम्यान’ भनेर चिनिएका अभिनेता जयकिशन बस्नेतले दलित समुदायप्रति अपमान गर्दै फेसबूकमा पोस्ट गरेका छन् ।

आइतबार दिउँसो पोस्ट भएको उनको स्टाटसप्रति सामाजिक सञ्जालमा चर्को विरोध भएपछि भने उनले स्टाटस हटाएका छन् । उनले आफ्नो विभेदकारी स्टाटसलाई हटाए पनि माफी भने मागेका छैनन् ।

जयकिशनले अहिले चलिरहेको ‘पुजार सार्की’ फिल्मका नायकहरू पल शाह, आर्यन सिग्देल र प्रदीप खड्कालाई लक्षित गर्दै निश्चित समुदायलाई उल्लेख नै गरेर स्टाटस लेखेका थिए । स्टाटसमा उनले भनेका छन्, ‘…सिद्ध्याउँछु भन्दै आएका थिए । आफैँ सकिए । अब यो पोस्टमा डलरेहरू फेरि खनिन्छन् तर, एउटा कुरा याद राख, गफ र साइबर सेना अरिङ्गालहरूको भरमा न फिल्म चल्छ, न राजनीति ।’

सोही पोस्टमा उनले अन्य अप्रमाणित र गम्भीर आरोपयुक्त भाषा पनि प्रयोग गरेका छन् । उनको अभिव्यक्तिले दलित समुदायमाथि अपमान भएको भन्दै मानव अधिकारकर्मीले टिप्पणी गरेका छन् । कतिपयले भने उनलाई सम्हालिन सुझाव दिएका छन् ।

जयकिशन लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छन् । धेरै फिल्ममा अभिनय गरेका छन् । धेरै फ्यान तथा फलोअर्स बटुलेका छन् । तर, उनीजतिको सार्वजनिक व्यक्तिले जाति तथा समुदायमाथि भने धावा बोलिरहेका देखिन्छन् । उनको यस्तो हर्कतबाट दलित समुदायप्रति अपमान मात्र होइन, कानूनविपरीत सामाजिक सञ्जालमा लेखेर फौजदारी अपराध गरेको भन्दै मुद्दा हाल्ने कतिपयले चेतावनी दिएका छन् ।

जयकिशनले फेसबूकमा गरेको पोस्ट । जुन, अहिले हटाइसकेका छन् ।

यस्तै उनले सोमबार पनि अर्काे जातद्वेषी पोस्ट गरेका छन् । जयकिशनले अभिनेता सिग्देलप्रति आपत्तिजनक पोस्ट गरेका छन् । सिग्देलको टाउकामा कपाल छैन । उनले नक्कली कपाल लगाएर हिँड्छन् । त्यो लक्षित गर्दै उनले पोस्ट गरेका छन्, “श्रीकेस तेलले कपाल उमार्छ रे लौ अब त्यसोभए तैँले नै स्पोन्सर गरेको फिल्म… को नक्कली कपाल हालेर फुर्ती लाउने शिक्षा नै नभएको शिक्षित तालुखुइले हिरोको कपाल उमारेर देखा त सक्छस् !”

किन लेखे यस्तो ?

बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका फिल्म हुन्, ‘फर्की फर्की’ र ‘पुजार सार्की’ । देशभरका हलमा दुवै फिल्मले सोचेकोभन्दा राम्रो दर्शक पाइरहेका छन् ।

तर, फिल्मकर्मीहरू दुई फ्याकमा विभाजन भएका छन् । कसैले ‘फर्की फर्की’ त कसैले ‘पुजार सार्की’लाई समर्थन गर्दै प्रचार गरिरहेका छन् । उनीहरूले आफूनिकटका कलाकार र लगानीकर्ता रहेको फिल्मलाई समर्थन त गरेकै छन्, सँगै  प्रतिस्पर्धामा रहेको फिल्मलाई गालीसमेत गरिरहेका छन् ।

फिल्म प्रदर्शनमा आउनुअघि नै जयकिशनले अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिका रहेको ‘फर्की फर्की’ लाई समर्थन गर्दै पोस्ट गरिरहेका थिए । उनले आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह अभिनित फिल्म ‘पुजार सार्की’लाई गाली गर्दै आएका थिए ।

जयकिशनले ‘पुजार सार्की’का तिनै तीनजना अभिनेता सिग्देल, खड्का, शाहलाई लक्षित गर्दै स्टाटस लेखेका हुन् ।

पुजार सार्की टिमलाई गम्भीर आरोप

बस्नेतले यो पोस्टमा दलितद्वेषी मात्र लेखेका छैनन्, फिल्मको सिङ्गो टिमलाई गम्भीर आरोपसमेत लगाएका छन् । उनको पोस्टमा भनिउको छ, “म काठमाडौं फर्केपछि त झन् धेरै कुरा बाँकी छ । तयार भएर बस् … ग्याङ । तिमीहरूको कमेन्टले मेरो रौँ पनि हल्लिँदैन ।”

पुजार सार्कीमा पल शाह पनि छन् । उनी एक नाबालिग बलात्कार प्रकरणमा वर्षदिन जेल बसेपछि निर्दोष ठहर भएर निस्किएका हुन् । कानूनत: उनी निर्दोष ठहर भइसकेका हुन् तर, जयकिशनले उनै पल शाह र उनको फिल्मको समूह सबैलाई ‘… ग्याङ’ भनिदिएका छन् । यो भनाइ पनि गैरकानूनी मानिन्छ ।

विषेशत: यस विषयमा धेरैले प्रतिवाद नगरे पनि दलित समुदायमाथि अपमान गरेको भन्दै उनको आलोचना भइरहेको छ । दलित समुदायको पक्षमा वकालत गर्ने संवैधानिक निकायदेखि विभिन्न व्यक्तिले उनलाई माफी माग्न सुझाइरहेका छन् । तर, उनले पोस्ट सुटुक्क हटाए पनि माफी भने मागेका छैनन् । उल्टो फिल्म पुजार सार्की र अभिनेताहरूमाथि खनिइरहेका छन् ।

पुजार सार्की फिल्मको प्रचार सामग्री ।

उनी आर्यन सिग्देलविरुद्ध अश्लील शब्द लेख्दै व्यक्तिगत रूपमा गालीगलौजमा उत्रिएका छन् । सिग्देलले भने स्तरहीन टिप्पणीप्रति आफ्नो कुनै प्रतिक्रिया नरहेको बताएका छन् ।

उनले नेपालभ्युजसँग भने, “स्वस्थ आलोचनाप्रति म प्रतिक्रिया जनाउँदछु, स्तरहीन किसिमका गालीगलौज म हेर्दिनँ, हेरेको पनि छैन । कुनै प्रतिक्रिया पनि छैन ।”

वर्ष दिनअघि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि दलित समुदायबारे यस्तै विवादित पोस्ट गरेका थिए । दलित आयोगले जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई कारबाहीको सिफारिस गरेपछि पोस्ट हटाउँदै माफी मागेका थिए ।

के छ कारबाहीको कानूनी व्यवस्था ?

नेपालको संविधानको धारा १८ समानताको हकको व्यवस्था गरिएको छ । जसको उपधारा २ मा सामान्य कानूनको प्रयोगमा उत्पत्ति धर्म, वर्ण, जात, जाति, लिङ्गका आधारमा भेदभाव गर्न नपाइने भनिएको छ ।

धारा २४ मा छुवाछूत भेदभावविरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जात, जातिको आधारमा विभेद गर्न नपाइने व्यवस्था छ ।

यसै धाराको उपधारा ५ मा यदि कसैले जात, जातिकै आधारमा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गरेमा गम्भीर सामाजिक अपराधका रूपमा कानूनबमोजिम दण्डनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था पनि गरिएको छ ।

सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ मा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको मानिनेबारे उल्लेख गरेको छ ।

जसअनुसार ‘भाइरलम्यान’ तथा अभिनेता जयकिशनले गरेका गतिविधि पनि जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ विपरीत रहेका जानकारहरू बताउँछन् ।

उक्त दफाको उपदफा १२ मा भनिएको छ— कसैले कुनै पनि व्यक्ति वा समुदायलाई श्रव्यदृश्य सामग्री, लेख रचना, चित्र, आधार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा विद्युतीय माध्यमबाट वा अन्य कुनै तरिकाले कुनै व्यक्ति वा समुदायलाई त्यस्तो व्यक्ति वा समुदायको उत्पत्ति, जात वा जातिको आधारमा उच्च वा नीच दर्साउन, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठहर्‍याउन वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न वा गराउन हुँदैन ।

सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ ।

जयकिशनको पोस्टविरुद्ध कसैले कानूनी उपचार खोजेमा र ठहर भएमा कानूनअनुसार दुई महिनादेखि ३ वर्षसम्म कैद र २0 हजारदेखि डेढ लाखसम्म जरिवाना हुनसक्ने कानूनका जानकारहरू बताउँछन् । यति मात्र नभएर अदालतले कसुरदारबाट पीडितलाई दुईलाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved