काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन निम्तो दिएका छन् ।
उनले केही दिनपहिले अध्यक्ष राउतलाई सरकारमा सहभागी हुनका लागि निम्तो दिएका हुन् । तर, अध्यक्ष राउतले बजेटपछि मात्रै सरकारमा सहभागी हुने जवाफ दिएका छन् ।
“प्रधानमन्त्रीज्यूबाट कुरा आएको हो तर, मैले बजेटपछि मात्रै भनेको छु,” अध्यक्ष राउतले भने । उनले आफू भने सरकारमा सहभागी नहुने बताएका छन् । “पार्टीबाट कसलाई पठाउने भन्नेबारे छलफल हुन्छ,” उनले नेपालभ्युजसँग भने, “म बाहिरै बस्ने कि भन्न मनस्थितिमा छु ।”
सङ्घीय सरकारमा सहभागी हुने सर्तमा मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनेको छ । त्यहाँ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) समर्थित दलका रूपमा छन् । उनीहरू सङ्घीय सरकारमा सँगै छन् ।
प्रधानमन्त्री प्रचण्डले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई पनि सरकारमा सहभागी हुन निम्तो दिइसकेका छन् । यसअनुरूप प्रधानमन्त्री प्रचण्ड आफ्नो दल माओवादी केन्द्र र प्रमुख सत्ता साझेदार दल एमालेबाट एक/एक मन्त्री फिर्ता बोलाउने र त्यहाँ जनमत-नाउपाबाट पूर्ति गर्ने र सरकार थप बलियो बनाउने मनसायमा छन् ।
तर, एक मन्त्री फिर्ता बोलाउनेबारे एमाले अध्यक्ष केपी शर्मा ओली भने खासै सकारात्मक छैनन् । त्यसमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग संवाद गरिसकेका छन् । तर, अन्तिममा एमालेले सहज रूपमा प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गर्ने माओवादी केन्द्रका नेताहरूको ठम्याइ छ ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा भन्छन्, “गठबन्धन सरकार हो । जस-अपजस सबैको हो । त्यसमा अर्थमा एमालेले मान्नुपर्छ र मान्छ भन्ने विश्वास छ ।”
एमालेबाट जुन मन्त्रालय खाली हुन्छ, त्यो नाउपालाई र माओवादी केन्द्रबाट खाली हुने मन्त्रालय जनमतका लागि भनेर प्रधानमन्त्री प्रचण्डले मिलाएको उनीनिकट नेताहरूले बताएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उनले आफ्नो दल माओवादी केन्द्रको तर्फबाट परराष्ट्र मन्त्रालय खाली गराउन खोजेका छन् ।
अहिले यो मन्त्रालयमा नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन् । उनी उपप्रधानमन्त्रीसमेत हुन् । त्यसैले यो मन्त्रालय खाली गराएर जनमतका अध्यक्ष सीके राउतलाई नै सामेल गराउने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तर, उनले सरकारमा सामेल नहुने बताइसकेका छन् । बरु अरु कसैलाई पठाउने बताएका छन् ।
जनमतका प्रवक्ता शरदसिंह यादव पनि पार्टी अध्यक्ष राउत सरकारमा सहभागी नहुने बताउँछन् । “उहाँ नै मन्त्रीका रूपमा सरकारमा रहने कुरा सम्भवत: हुँदैन । कुन मन्त्रालय मिल्छ, त्यसअनुसार अरुबाट छनोट गर्ने कुरा अध्यक्षको छ,” उनले भने ।
श्रेष्ठ प्रचण्डको नेतृत्वमा सरकार बनेयता नै मन्त्रीका रूपमा छन् । सुरुमा उनी भौतिक पूर्वाधारमन्त्री थिए भने त्यसपछि गृह मन्त्रालयको जिम्मेवारीमा आए । अहिले उनी परराष्ट्र मन्त्रालयमा छन् ।
अब उनलाई मन्त्रीबाट हटाएर पार्टीलाई ‘भाइब्रेन्ट’ बनाउन लगाउने तयारीमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड छन् । बाहिर माओवादीका प्रमुख नेता सरकारमा भएको र पार्टी/सङ्गठन निर्माणमा ध्यान नदिएको आलोचना हुन थालेको छ । त्यसो त श्रेष्ठ पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष-वरिष्ठ उपाध्यक्ष सरकारमा हुँदा सङ्गठन निर्माणमा ध्यान नदिएको कतिपय पार्टीकै नेताहरूले पनि बताउने गरेका छन् ।
माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, “प्रधानमन्त्रीले जसरी सोच्नुभएको छ, त्यो ठीकै हो । पार्टीका दुवै सिनियर नेता सरकारमा हुँदा सङ्गठनमा ध्यान नै गएन भन्ने बाहिर आलोचना छ ।”
यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले जनमतका लागि परराष्ट्र मन्त्रालय पारेका छन् । नाउपाका लागि भने एमालेबाट खाली हुने मन्त्रालय छुटाइने भएको छ । बजेटलगत्तै जनमत सरकारमा सहभागी हुनेछ । त्यहीबखत नाउपा पनि सहभागी हुने नेताहरूले बताएका छन् ।
Facebook Comment
Comment