रविको पत्रकार सम्मेलन : निर्मम प्रश्न सोध्नुस् भन्दै कार्यक्रम स्थगित गरेर हिँडे

गृहमन्त्री लामिछाने पत्रकार सम्मेलन स्थगन गरेर उठ्दा कतिपय पत्रकारले एकोहोरो सोधिरहेका थिए, ‘सम्भव सिरोहियाले समाचार रोक्न बार्गेनिङ गरेको भनेका छन्, यो के सत्य हो ? बार्गेनिङ गरेर समाचार रोक्न भनेको हो ?’ यस्तैयस्तै प्रश्न पत्रकारहरूबाट आइरहँदा लामिछाने सुन्दै नसुनी हलबाट बाहिरिए ।

नेपालभ्युज

रविको पत्रकार सम्मेलन : निर्मम प्रश्न सोध्नुस् भन्दै कार्यक्रम स्थगित गरेर हिँडे

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरेलगतै पत्रकारको प्रश्न नै नसुनी कार्यक्रम छाडेर हिँडेका छन् ।

गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकारको प्रश्नको नसुनी हिँडेका हुन् ।

सहकारीका हजारौँ बचतकर्ताको अबौँ बचत अपचलन प्रकरणका झन्डै एक दर्जन आरोपीमध्येका एक उनै लामिछाने पनि हुन् ।

यो प्रकरणमा उनको संलग्नताका केही प्रमाण सतहमै आइसकेको छ । तर, यस्ता प्रश्न पन्छाइरहेका उनले शुक्रबार यस्तो अनौठो पत्रकार सम्मेलन गरे कि पत्रकार आफैँलाई डाकेर प्रश्न समेत सुनेनन् ।

सायद उनीसँग जोडिएका अरू धेरै प्रश्नहरू पत्रकारसँग थिए, होला । जसको सामान गर्न गृहमन्त्री लामिछाने तयार भएनन् ।

एक छिनअघि उनले पत्रकारहरूलाई ‘निर्ममभन्दा निर्मम प्रश्न गर्न’ आग्रह गरेको थिए । आफूलाई खबरदारी गर्न आग्रह गरेका लामिछालेले कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी कार्यक्रम हलबाट बाहिरिए । बोली र व्यवहारबीच एकैछिनमा विरोधाभास देखियो ।

लामिछाने तीनै व्यत्ति हुन्, जो हरेक सार्वजनिक कार्यक्रममा भन्ने गर्छन्, ‘मेराबारेमा उठाइएका प्रश्नबाट आत्तिएको र तर्सिएको छैन, हरेक प्रश्नको सामना गर्न सक्छु ।’

शुक्रबार पत्रकार सम्मेलन निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरेका लामिछानेले करिब डेढ घण्टा पत्रकार सम्मेलन गरे । साढे २ बजे गृहमन्त्रालयमा बोलाएर उनले करिब साढे ४ बजे सुरु गरे ।

गृहमन्त्रालयका प्रवक्ता, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशकलगायतले बिफ्रिङ गरे ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन’ भनिए पनि गृहमन्त्रालयका प्रवक्ता तथा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशकलगायतले पहिल्यैदेखिको कामको विवरण सुनाए । उनीहरूले सुनाएका कतिपय विवरणहरू लामिछाने गृहमा आउनुभन्दा पहिलैदेखि निरन्तर हुँदै आइरहेको थियो ।

अन्तमा गृहमन्त्री लामिछानेले सम्झिप्तमा बोले । उनले आफ्नो सय दिने कार्यकालका उपलब्धि सुनाए । ‘यहाँहरूले निरन्तर हाम्रा कुरा, काम सार्वजनिक गरिदिएर नागरिककहाँ पुर्‍याइदिएर जुन साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगामी दिनमा तपाईँहरूको निर्ममभन्दा निर्मम प्रश्नहरू रहुन् । तपाईँका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको, कसो भएको चुनौतीका साथ भन्नुहोला’ उनले भने ।

यति भनेर लामिछानेले मन्त्रालय मातहतका निकायलाई धन्यवाद दिएर कार्यक्रम रोक्दै उठे । अगाडिबाट पत्रकारहरूले प्रश्नको जवाफ दिन आग्रह गरे । ‘गृहमन्त्रीज्यू, जवाफ दिनुस्, जवाफ दिनुस् ’ पत्रकारहरू भन्दै थिए । कतिपयले उनको बाटो छेक्दै भनिरहेका थिए, ‘पत्रकारले प्रश्न सोध्न पाउनुपर्छ, तपाईँले जवाफ दिनुपर्छ ।’

गृहमन्त्री लामिछानेले बहाना बनाउँदै भने, ‘यो प्रेस मिट होइन, प्रेस ब्रिफिङ हो । निमन्त्रणामै हेर्नुस् न ।’

यति भनेपछि मन्त्रालयका विभिन्न अधिकारीले १९ पृष्ठमा आफ्नो मन्त्रालयका उपलब्धिहरूको एकएक प्रति केही पत्रकारलाई बाँडे ।

गृहमन्त्री लामिछाने पत्रकार सम्मेलन स्थगन गरेर उठ्दा कतिपय पत्रकारले एकोहोरो सोधिरहेका थिए, ‘सम्भव सिरोहियाले समाचार रोक्न बार्गेनिङ गरेको भनेका छन्, यो के सत्य हो ? बार्गेनिङ गरेर समाचार रोक्न भनेको हो ?’

यस्तैयस्तै प्रश्न पत्रकारहरूबाट आइरहँदा लामिछाने सुन्दै नसुनी हलबाट बाहिरिए ।

केही दिनअघि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले ‘गृहमन्त्री लामिछानेले समाचार लुकाउन धेरै अनुरोध गर्नुभएको र नमानेपछि बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको’ आरोप लगाएका थिए । सोलगायत केही प्रश्न पत्रकारले गर्ने तयारी गरेपछि लामिछानेले प्रश्नको सामना नगरी हिँडेका हुन् ।

उसो त लामिछानेको बोली र व्यवहारबीच यसअघि नै कैयौँ विरोधाभास नदेखिएको होइन ।

सहकारीका हजारौँ बचतकर्ताको ७ अर्बभन्दा बढी रकम अपचलन प्रकरणका झन्डै एक दर्जन आरोपीमध्येका एक उनै लामिछाने पनि हुन् । पोखरा र बुटवलमा मा उनीविरुद्ध प्रहरीमा उजुरी नै परेको छ ।

गृह मन्त्रालयअन्तर्गतकै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग पनि छानबिनमै थियो । यस्तो गम्भीर आरोपी उनै लामिछाने गृहमन्त्री बनेपछि प्रश्न उठ्नु स्वाभाविक थियो । तर, उनले ती सबै प्रश्नहरू पन्छाउँदै आइरहेका छन् ।

स्टन्टको राजनीति गर्दै आएका रविले आफूमाथि उठेका कानुनी, राजनीतिक र नैतिक प्रश्नहरूलाई बेवास्ता गरिरहेकाछन् । अघिल्लो कार्यकालमा आफूमाथि उठेका प्रश्नलाई पन्छाउन खोज्दा उनले भएभरका सबै पद गुमाउनुपरेको थियो । नागरिकता प्रकरणमा पद गुमाएका उनको दोहोरो पासपोर्ट प्रकरण पनि थियो । अहिले झन् सहकारीको बचत अपचलन मुद्दा थपिएको छ ।

उनको यस्तो स्वभाव देखेका जानकारहरू भन्छन्, ‘प्रश्नको सामना गर्न नसक्ने राजनीतिकर्मीलाई त्यो प्रत्युत्पादक हुन सक्छ ।  सोसल मिडियाको भेलले भोलि उनीभन्दा ठूलो गफ दिने कसैलाई राजनीतिमा नल्याउँला भन्न सकिन्न । त्यो बेला उनी विस्थापित हुन सक्छन् । यसैले प्रश्नबाट नभाग्दा राम्रो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved